Thursday, April 17, 2008

चौकोट देवी थान र केही तस्बीर

प्रत्येक वर्षको वैशाख १ गते र मंसीर पुर्णेमा विशेष पूजाआजा गर्नको लागि भीडभाड लाग्ने गर्छ चौकोटदेवी थानमा । नयाँ वर्ष २०६५ को सुनौलो विहानीमा चम्पादेवी, घ्याम्पादेवी र चौकोटदेवी ३ ओटा देवी थानमध्येको चौकोटदेवी थानमा पुग्ने अवसर जुर्‍यो । जुन काठमाडौंको पीँधमा रहेको, दक्षिणकाली मन्दिर नजिकैको छैमले गाविसको सिरानमा अवस्थित छ । मकवानपुर र काठमाडौंको सीमानामा निकै उचाइमा रहेको चौकोटदेवी थानबाट ललितपुर, काठमाडौं र मकवानपुरको केही रमणीय भूभाग र दृश्यहरु सजिलै देख्न सकिन्छ । बाइसे चौबिसे राज्यको अवशेष र केही एेतिहासिक पृष्ठभूमिकै कारण पनि चौकोटदेवी थान आसपासका स्थलहरु महत्वपूर्ण छन् ।

विशेषागरी पानी मागिने देवीथानको रुपमा प्रचलित चौकोटदेवी थान र त्यस आसपासका एेतिहासिक स्थलहरुको महत्व समयको अन्तरालसँगै विस्तारै विस्तारै घट्‍दै गइरहेको छ । स्थानीय एक बृद्ध आफ्नो जवानीको क्षण सम्झन्छन्- 'रातभर जागेर, नाचगान र रमाइलो गथ्र्यौ हामी त्यत्तिबेला । टाढा टाढाबाट मान्छेहरु आउँथे मेला भर्न । खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो डाँडाँ-पाखाभरि । तर ४० सालपछि विस्तारै मान्छे कम हुन थाले अनि त्यो चलन पनि हट्‍दै गयो ।' साँच्चै नै अहिले आएर त्यहाँ स्थानीय बासिन्दाहरु मात्रै आवतजावत गरेको भेटिन्छ । वैशाख १ गते र मंसीर पुर्णेको दिनमा भीडभाड लाग्ने भएपनि पहिलेको तुलनामा 'केही हैन' भन्छन् बूढापाकाहरु । अहिलेको पाली त चुनावले गर्दा झन् मान्छेहरुको भीड एकदम कम रहेको भनाई धेरैको थियो । अब हेरौँ केही तस्वीरहरु ।

यो पल्ट एकदमै कम मानिस। मन लागेजत्ति प्रार्थना गर्ने सुवर्ण मौका। अन्य देवताहरुको माझमा कुन चाही हो त चौकोटदेवी? जहाँ नरिवालको गाँठो छ त्यही ढुंगा हो चौकोटदेवी भन्ने बुझ्नु होला है।


अन्यत्र जस्तै पूजाआजामा बलि दिने चलन त्यहाँ पनि रहेछ । त्यसैले कुखुराको भालेलाई भोग चढाउँदैछन् त्यहाँका एक स्थानीय बासिन्दा । एउटा कुरो, त्यहाँ पूजाआजा गर्ने पूजारी भने छैन ।

देवी देवतालाई काँचो रगत त चढाइन्छ नै। त्यत्ति मात्रै कहाँ हो र, त्यो भालेको मुटु-कलेजो-पाङ्‌ग्रा पोलेर पनि चढाउने चलन छ । त्यसैको मौका छोपेर आफूहरुले पनि त खानै पर्यो। त्यसैले धेरै नै पोल्दा बेस।

देवीलाई कुखुरा या हासको अण्डा चढाउने पनि प्रचलन रहेछ। चढाएपछि पोलपाल या त पकाएर आफ्नै च्यापु हल्लाउने त हो नि। जंगलको टुप्पोमा थान भएकोले आगो बाल्ने दाउराको समस्या भएन। त्यहीमाथी जाँड रक्सी जस्ता पेय पदार्थ पनि चढाइने गरिएको रहेछ। त्यसैले व्यवस्थित सँग घरबाट सरसामान लिएर जाने अनि त्यही बसेर मजाले खाँदा अर्कै मजा हुन्छ कि क्या हो?

पूजाआजा र देवीको दर्शन सकियो । निकै उकालो बाटो भएकोले भोक-तीर्खा पनि त लाग्छ नि । त्यसैले अब देवीको प्रसादलाई ग्रहण गर्दा भोक पनि मेटिने, बन भोज पनि हुने, मन मोज पनि हुने । अनि रमाइलो भएन त । ल HAPPY NEW YEAR 2065 त्यसरी मनाउँदा पनि स्वाद बेग्लै भो । धन्य चौकोटदेवी ।

3 comments:

Dilip Acharya said...

काठमाण्डौं नजिक भएर पनि ओझेलमा परेको देवि स्थानको जानकारीको लागी धन्यवाद। यो विल्कुलै नया कुरा हो मेरो लागी। पानिको लागी काकाकूळ हुन लागेको काठमाण्डौको लागी यो देवि खुशि पारे केहि राहत मिल्थ्यो की!

NETRA ACHARYA said...

Thanks for publishing this beautiful New Year memoir. May be, Chaukot Devi inspired u to write. (I am not sure, Bhale ko mutu-kalejo-pangra and local jand might have inspired you!) However, your art of story telling has clicked in me several ideas.–NETRA ACHARYA

Arati Lohorung said...

I don't like the system of sacrificing animals to gods.
Nice flow of writing!!