Wednesday, April 30, 2008

थकाइ मेट्‍ने र गफ गर्ने चौतारी

गाउँघरमा मेलापात, घाँसदाउरा या गोठालोबाट फर्कदा चौतारीमा बसेर थाकाइ मार्नु, साथीभाईसँग भेटेर गफ गर्नुको मजा बेग्लै हुन्छ। टन्टलापुर घाममा चुईकिँदै उकालो-ओरालोमा घाँस-दाउराको भारी बोकेर लोत थाकेको बेला शीतल चौतारामा बसेर सर्रर चिसो बताससँगै सुस्ताउन घोर आनन्दको अनूभुति हुन्छ। थकान मेटिएर शरिरमा पुन जोशजाँगर भरिन्छ। अनि गन्तव्यतिर लम्किइन्छ।

शहरको सन्दर्भमा शहरीकरणको अनेकौँ लन्ठासँग पौठेजोरी खेल्दाखेल्दा कहिलेकाहीँ दिक्क लाग्न सक्छ। शहरी क्षेत्रको तीब्र विकाससँगै नयाँ नयाँ समस्या तथा सवालहरु पैदा भइरहेका हुन्छन् हरेक पल। त्यत्तिका विधि समस्या र विकासको चेपुवामा परिरहेको बेला ती दुवै पक्षबारे गफगाफ गर्दै दिमागलाई फ्रेस बनाउन शहरी ढाँचामा चौतारीको चलन बसीसकेको छ, उपत्यकामा। त्यसको थालनी १९९१ मा काठमाडौंको थापाथलीस्थिति एउटा घरको एउटा कोठाबाट शुरु भयो। गाउँघरको हाटबजारको नामकै आधारमा गफ गर्ने चलनको न्वारन पनि गरियो- मंगलबारे छलफल। अनि विस्तारै विस्तारै आइतबारे, विहिबारे गफ पनि थपिँदै जाँदा सबैको लागि एउटा गतिलो चौतारी बन्न पुग्यो। नाम पनि जुराइएको छ- मार्टिन चौतारी। संयोग नै मान्नुपर्छ, कुनै मृत व्यक्तिको नाममा सम्झनास्वरुप बनाइने चौतारीको चलन यहाँ पनि लागू हुन्छ। मार्टिन ती व्यक्ति हुन्, जसले विभिन्न क्षेत्र, समुदाय र विषयसँग चासो राख्नेहरुको लागि गफ गर्ने साझा चौतारीको खाका कोरे। जहाँ विभिन्न विषयसँग सरोकार राख्ने जुनसुकै वर्ग, क्षेत्र, समुदाय, लिङ्गका व्यक्तिहरु जमघट भइ एकअर्काका कुराकानी साट्‍ने गर्छन्।

जाने नजानेका अनगिन्ति विषयवस्तु तथा परिवेशको साथै द्रुत गतिमा चलिरहेको समाजबारे जानकारीको लेनदेन गर्दा समाजका धेरै पक्षसँग साक्षात्कार हुने मौका दिन्छ। अनि दिमागमा पुन नयाँ नयाँ विचार तथा अनुभवको उत्पत्ति हुन्छ। शहर भनाउँने ठाउँमा एउटै घरमा बसेका वल्लो र पल्लो कोठाका मानिसबीच चारकोष दुरी रहने ठाउँमा विविध क्षेत्रका साथीहरुसँग घुलमेल हुने मौका त छँदैछ। शरिरको साथै दिमागको थकान मेट्‍ने र नयाँ जोश जाँगर भर्ने काममा गाउँको होस् या शहरको होस्, दुवै चौतारीको महत्व निकै नै छ। अहिलेको सन्दर्भमा हेर्ने हो भने त शहरको चौतारीले थुप्रै काममा धेरै भूमिका खेलीरहेको छ। गफ गर्ने चौतारीकै सिको गर्दै अन्य थुप्रै गफ गर्ने समूह बनीसकेको देख्दा यसको महत्व बढ्‍दै गइरहेको स्पष्ट छ।

अब हेरौँ गफ गर्ने थलोको केही भौतिक अनुहार, मतलब केही तस्बीर ।

विभिन्न गन्थनमन्थन गुन्दै-उन्दै शहरका बेग्लाबेग्लै कुनाकाप्चाबाट भेला भएका व्यक्तिहरु पलेटी मारेर छलफल गरिरहेका छन् यहाँ । तपाईहरु पनि यस्तै गरी जुनसुकै विषयमा छलफल गर्न वा सुन्न रुचाउनुहुन्छ भने बेफिक्रीसँग आउँनुस् ।

सबैजना गफ सकेर गइसक्नु भएको छ । अघिसम्म बहस चलेको यो ठाउँ अहिले शान्त छ । तर चिन्ता नगर्नुस् । अर्कोदिन फेरी सबैजना भेला भइकन छलफल हुन्छ नै । कहिलेकाहीँ आँखाको काम पनि हुन्छ । तस्बीरमा देखिएको सेतो पर्दाले पनि देखाउँछ कि यहाँ वृत्तचित्र तथा चलचित्र पनि हेर्न पाइन्छ ।

बाहिर निस्केपछि हलतिर फर्केर हेर्दा यस्तो देखिन्छ । छ्वालीले छाएको तीनधुरे छानो, चिटिक्क परेको मुखद्वार । राम्रो छैन त ? यो भन्दा बाहिरको अन्य दृश्यहरु पनि देख्न पाइन्छ । तर अर्को पल्ट है ।

No comments: