Friday, May 02, 2008

मे १: श्रमिक वर्गसँग डराउनुपर्दैन

धनीका महलका लागि गरिबको धुरन्धुर श्रम

अनुमान लगाउन मन पर्‍यो कि तस्बीरमा देखिएका मध्ये कतिलाई श्रमिक दिवस र श्रमिक अधिकारबारे जानकारी छ ? मेरो विचारमा धेरैजसोलाई थाहा छैन। किनकी उनीहरु विहान वेलुका हातमुख जोड्‍ने र आफ्ना परिवार कसरी पाल्ने भन्ने सोच र ध्यानभन्दा बाहिर निस्कन सकेका छैनन्।

कार्ल मार्क्सले भनेका थिए: यो समाजमा एक न एक दिन हुनेखानेका दिन ढल्नेछ र सर्वहारा वर्गको जित र राज चल्नेछ। मार्क्सको यहि कथनलाई नेपाली समाजमा टिपेर राख्ने हो भने सत्य सावित हुन बाँकी नै छ। तर यसको शुरुआत हुन लागेको हो कि भन्ने कुराको संकेत कता कता भएझैँ लाग्छ मलाई। हुन त अधिकारको कुरामा आशा हैन आन्दोलित र सचेत हुनुपर्छ भनिन्छ। तैपनि आशाको मुना पलाउने वातावरण निर्माण हुनु पनि एक कदम अगाडि पुग्नु सरह नै हो। सबैको मनमा पलाएको त्यो आशा कत्तिको साँचो हुन्छ कुन्नी ? केही समयमै त्यसको लक्षणहरु देखा पर्नेछ।

१८८६ मा अमेरिकाको सिकागोबाट मजदुरहरुले शुरु गरेका आन्दोलनकै विस्तार रुप हो मे १ अर्थात् विश्व श्रमिक दिवस। हरेक सालको श्रमिक दिवसमा झैँ आज पनि नेपाल ट्रेड युनियन र अन्य श्रमिक संघसंगठनको अगुवाइमा र्‍याली तथा सभालगायतका कार्यक्रमहरु भए। तर अन्य वर्षको कार्यक्रमभन्दा यो बर्ष केही बेग्दै महत्व बोकेको छ। श्रमिक वर्गकै राष्ट्र नेपालमा संविधानसभाको सभासद छान्ने चुनाव भर्खरै सकिएको छ। त्यसैको मौका छोपेर विभिन्न राजनैतिक दलका व्यक्तित्वहरुले चुनावमा सहभागी भएवापत श्रमिक वर्गलाई धन्यवाद दिए। साथै उनीहरुको हक हितका लागि संविधानमा नीति निर्माण गरिने कुरामा समेत जोड दिए। हुन त श्रमिक वर्गकै व्यक्तिहरु पनि संविधान सभासदको स्थानमा पुग्न सफल भएका छन्। साथै समानुपातिकको कोटाबाट पनि अरु थप पुग्ने कुरा निश्चित छ। धेरै संख्यामा श्रमिक वर्गकै व्यक्तिहरु आफ्नो लागि आफै संविधान निर्माण गर्ने भएका छन्। श्रमिक वर्गको यो कदमबाट अरु डराउने पो हुन कि भनेर पनि हुनसक्छ कृष्ण महराले आज, ११९ औँ विश्व श्रमिक दिवसको अवसरमा भने: श्रमिक वर्गसँग कसैलाई डराउनुपर्ने जरुरी छैन।

1 comment:

Dilip Acharya said...

श्रमिक वर्गसँग कसैलाई डराउनुपर्ने जरुरी पक्कै छैन। डर त श्रमिकको श्रम खोस्ने र श्रमिकलाई भडकाएर राजनिति गर्ने अनी श्रमिकको सहाराले पदमा पुगेपछि श्रमिकलाई नै भुल्ने संग मात्र लाग्छ ।