Monday, May 05, 2008

आमाको मुख हेर्न किनमेल गर्नैपर्ला त ?

हिजो एफएममा सुनेथे, राती २-४ बजे उल्का वर्षा हुने भन्ने । उठेर हेर्नु पर्ला भन्ने योजना पनि बनाए । तर आफूलाई कसले सुतीदेओस् । बहानाकै लागि भएपनि भनौँ न है: फेरी यो शहरको प्रदुर्षणले आकाशका तारा पनि राम्ररी देख्नै सकिदैन । गाउँघरमा कति छर्लङ्ग देखिन्थ्यो । एकाविहानै मोवाइल भन्ने जिनिस घ्यार घ्यार कन्न थाल्यो । अनि पो झसङ्ग भएर ब्यिझिएँ । एफएम खोले । उल्का वर्षा त अस्ताएछ, आमाको मुख हेर्न दिन उदाएछ । आहा ... आमा शब्द आफैमा कत्ति सुन्दर लाग्छ मलाई ।

हिन्दु संस्कृतिको महत्व र चलनचल्तीका धेरै कुरा काठमाडौँ पसेपछि पो मैले देख्न पाए, भोग्न पाए । आमा हुने र नहुने दुवैको लागि आजको दिन महत्वपूर्ण मानिदो रहेछ । आमा नहुनेहरु मातातीर्थमा गएर पूजाआजा गर्ने गर्दारहेछन् । मातातीर्थ औँसीको सन्दर्भमा केही लेखौँ- श्री रामको बनबासको समयमा सीता र राम जंगलमा हिड्‍दै थिए । सीतालाई धेरै नै प्यास लाग्यो । वरपर कतैपनि पानी नभेटिएको हुँदा गंगामाताको जप गर्दै रामले वाण हानेछन् । वाण हानेको ठाउँबाट पानी निस्कियो र सीताको प्यास मेटियो । त्यही पानीबाट पोखरी बन्यो । एकदिन त्यही पोखरीको छेउमा सबेर गोठाला खाजा खाने तयारीमा लागे । मुखमा हाल्न लागेको खाजा पोखरीमा खस्थ्यो । त्यही क्रम २, ३ पल्टसम्म दोहोरिएपछि गोठालाले पोखरीमा नियाले । पोखरीमा आफ्नो मरेकी आमाको साक्षात स्वरुप देखेपछि सँगै बसेर मिलेर खाजा खाए । खाइसकेपछि गोठालोलाई आमासँग छुट्टिन गाह्रो भयो । 'हरेक सालको वैशाख औँसीमा म यहि आउँछु' भनी आमाले वाचा गरेपछि गोठालो आफ्नो बाटो लाग्यो । यहि कुरा फैलिदै गएपछि वैशाखै औँसीमा आफ्नो आमालाई भेट्‍नेहरुको घुइँचो लाग्न थाल्यो । केही समयपछि एक महिलाले आफ्नो आमाप्रति माया र प्रगाढ राख्दै त्यही पोखरीमा हाम फाले । त्यसपछि त्यहाँ आमाका साक्षात स्वरुप देखिन छाड्‍यो । स्मरण रहोस्, त्यही ठाउँ मातातीर्थको नामले परिचित छ अहिले । र त्यहाँ चडाइएको बस्तु सिधै मृत आमाले पाउने मान्यता यद्यपि टुटेको छैन ।

अब लागौँ अहिलेको आधुनिक दुनियाँमा । आमाको मुख हेर्दा अनेकौँ सरसामान, गरगहना-आभुषाण लगायतका अनेकवली दिनुपर्ने चलन त हैसियत र इच्छा अनुसार ठिकै हो । तर देखासिखीमा परेर खर्च गर्नु, सरसामान र त्यसको मूल्यसँग तौलिएर हैसियत मापन गर्नु, आफूसँग नभइ नभइ पनि तडकभडक गर्नु त ठीक नहोला । जुनसुकै चाडपर्वमा पनि यस्तो चलन देखिन्छ । कम बेसीको फरक मात्रै छ ।

यही कुरामा म एउटा घटना जोडीहाल्छु । हिजो मात्रै एकजना साथी मसँग पैसा सापटी माग्न आए । के को लागि भन्ने प्रश्नमा उनले भनिन्- आज किनमेलमा जानुपर्ने, पैसा अपुग छ त्यसैले । खास कुरा के भने । उनको दिदीले ४००० को बुट्टे सारी किनिछन् आमाको मुख हेर्नलाई । उनीसँग त्यत्ति पैसा खल्तीमा थिएन । दिदीको भन्दा कम रकमको दिँदा लाज हुने, आमाको नजरमा सानो भइने डर र मानसिकताको कारण उनलाई फसाद पर्‍यो । अड्‍कलमा ४००० हजार बराबर या त्यो भन्दा बढीको सारी, अन्य फलफूल तथा मिठाई गर्दा त खर्च निकै हुने भो । नयाँ जमानामा आमाप्रतिको माया र सदभाव दर्शाउने यस्तो परिपाटीलाई खै के भन्ने ? आमाप्रतिको आदर, सद्‍भाव र माया दर्शाउनलाई अपनाइएको यो बाटो मलाई भने अलिक पचेन । आखिर पैसा र सरसामानको मूल्यले निर्धारण गर्ने त हैन नै आमा र सन्तानबीचको आत्मीयतालाई ।

वर्षको १ दिन दिशा पातलो जानेगरी खुवाउनु, घरपरिवारका दिदीबहिनी तथा दाजुभाईसँग सकीनसकी प्रतिस्पर्धा गर्दै सरसामान किनेर थुपार्नुकै लागि मात्रै यो परम्पराको थालनी भएको होला त ? कतिपयको घरमा पुरै परिवार भेला भएको अवसर हुन्छ आजको दिन । तैपनि एकअर्काका दु:खसुख र मनका भावना साटासाट गर्नुको सट्टा फलानाले यत्ति जाने चीज दियो, ढिस्कानाले यत्ति पर्ने वस्तु दियो आमालाई भन्दैमा दिन जाने गरेको पनि देखेकी छु । यद्यपि सबैको घरमा यस्तो भने हुँदैन । कुनैपनि आमाले गरगहना र चीजबीचसँगै आफ्नो सन्तानप्रतिको अमूल्य माया र ममतालाई घटबढ त गर्दिनन् नै । हामी किन महत्वहीन कुरालाई नै बढी महत्व दिन्छौँ आखिर ? के हरेक ठाउँमा धन र सम्मानलाई मुछ्‍नै पर्छ र ?

वरपरको यस्तैयस्तै माहोलमा, खासगरी आजको दिनमा मञ्जुलको शब्द अनि सुनिता सुब्बाको स्वरमा रहेको गीत दिमागमा घुमिरहन्छः

मेरी आमाले कुट्‍ने ढिकी
मेरी आमाले पिध्ने जाँतो
जब सम्झिन्छु तब पल्टिन्छ
मेरै परिवारको पुस्तकको पाटो

3 comments:

आकार said...

हाम्रो संस्कारमा परिवर्तन को जरुरी छ, सुरु को बाट गर्ने अन्यौल यथावत छ । साथै चाडपर्वको नाम मा प्रतिस्पर्धा गर्ने चलनका कारण कति मान्छेहरु को जिवन नै टुङ्गिएका उदाहरणहरु पनि प्रशस्त देख्न अनि सुन्न पाइन्छ, गाँउघर तिर ।

Dilip Acharya said...

कैलाश and Aakar Bro !! I agree with you,

बिहे, ब्रतबन्ध र चाडपर्व त छँदै थियो, हुँदा हुँदा अब आमाको मुख हेर्न पनि प्रतिस्पर्धा ... ... यो पक्कै पनि राम्रो कुरा होईन।

आमाको ममता बर्षमा एकदिन दिईने उपहारले पक्कै घटबढ हुदैन, अझ सिधै भन्दा आ-आफ्नो सन्तानको कुन 'हैसियत' छ त्यो कुरा आमाबाट छिप्ने पनि होईन ।

बरु बर्षको एक दिन होडबाजि बाट गरिने उपहारको बर्षालाई छाडेर ३६५ दिन नै आमाको आदर गर्न सिकौं ।

आमाको मुख हेर्ने भनेको आमा प्रति आदर र कृतज्ञता प्रकट गर्ने संस्कार हो, मलाई लाग्छ यसको लागी प्रतिस्पर्धामा उत्रेर किनमेल गर्नु कुनै जरुरी छैन ।

Nice post!

Basanta Gautam said...

हामी बच्चा हुँदा ऐंसेलु र काफल टिपेर लान्थ्यौं आमाको मुख हेर्न।

यो संसार बिग्रेछ। आमाको मुख हेर्न पनि पैसाको प्रतिस्पर्धाको कुरो आउन थालेछ।