ईँटाको चाङ राखेझै ठडिएका काठमाडौका घरहरु, अनि ती घरभित्रका कोठाहरुमा कोचिएर बस्नुपर्नै धेरैको बाध्यता । त्यस्तो उकुसमुकुसबाट एकैछिन फुत्किएर फुर्सदसँग खुला ठाउँमा पुग्दा त गज्जबै हुन्छ। फराकिलो चउर, हरियो र खुल्ला वातावरण, वरिपरि अनेक दृश्य हेर्न पाइने, अहो कत्ति आनन्द हगि! म काठमाडौभित्रकै कुरा गर्दैछु।
शहरको जीवनशैली काम पनि छैन, फुर्सद पनि छैन भनेझै हुन्छ। त्यसैले आज फुर्सदकै गफ गरौ क्यार? साथीहरुसँग घुमघाम गरिसकेपछि भृकुटी मण्डप परिसरमा रहेको चउरमा बस्दै ताल-बेतालको कुरामा गफिँदा कस्तो होला? रमाइलै होला हगि? हामी सबै त्यही चउरतर्फ लागौ अहिलेलाई- चउरको एक छेउमा एउटा कुकुरको आसन हेर्नलाई। कुकुरको अनेक आसन देखेपछि मलाई टुडीखेलको 'योग अभ्यास'को याद आयो। यद्यपि कुकुरको आसनसँग योगालाई दाँजेर योगा जगत तथा योगा गर्नेहरुलाई नकारात्मक ढंगले वा नराम्रो हुने कुनैपनि खालको कुरा गर्न खोजेकी भने पक्कै पनि होइन (कृपया यसलाई कसैले पनि अन्यथा नलिइदिनुहोला)। मात्र एकदिन म पनि योगा अभ्यास गर्न पुगेकी थिए। तर म नियमित र भाँती पुर्याएर योगा गर्दिन। या भनौ म योगा नै गर्दैगर्दिन। तैपनि त्यो एकदिनमा मैले जे देखेँ अनि गरे, कुकुरको चर्तिकला पनि झण्डै उस्तै देखे। फुर्सदमा कुकुरको त्यो क्रियाकलापलाई नियाले। वातावरण, स्थान, केही आसन र मेरो उडन्ते दिमागको तालमेलले गर्दा मलाई त्यसो लागेको हुनसक्छ। केही तस्बीर हेरौ। (तस्बीरको लागि साथी चिरनप्रति अनुग्रही छु।)

यो आसन देखेपछि योग गुरुले भनेको कुरा सम्झे 'शरिरलाई आरामसँग तन्काउनुस्, सम्पूर्ण शरिरलाई स्वतन्त्र ढंगले छाड्नुस् र रिल्याक्स गर्नुस्, निश्चिन्त हुनुस्। मनमा भएका सबै राग, द्वेष त्याग्नुस्'।

त्यस्तैगरी यो आसनले 'तपाईको शरीरको कम्मरमाथीको भागलाई विस्तारै दाहिले मोड्नुस्'।

'र, फेरी देब्रेतर्फ लैजानुस्, यही क्रियालाई केही बेर निरन्तरता दिनुस्'भन्ने दृश्य दिमागमा आयो।

सामान्यतय योगा गरिसकेपछि गुरुवर्गको वाणी सुन्ने पालो हुँदोरहेछ। त्यही अनुरुप योग गुरुको 'शारीरिक अभ्यासपश्चात अन्य कुराबारेमा जानकारी लिनुस्, जसले योग अभ्यासलाई मात्र हैन तपाईको समग्र क्रियाकलाप तथा व्यवहारमा सहयोग दिन्छ। त्यसैले हतार नगर्नुस् केही ज्ञानगुणका कुराहरु सुन्नुस्' भन्ने आग्रहलाई स्वीकार्दै सबैजना गुरुको वाणीतर्फ केन्द्रित हुन्छन्।
यहाँहरुलाई कस्तो लाग्यो त? स्वतन्त्र रुपमा भन्न सक्नुहुन्छ आफ्नो विचार।