Monday, June 09, 2008

एक युवाको राष्ट्रिय प्रेममाथि तुषारोः अनागरिक

प्रसङ्ग गत शुक्रबार (६ जुन)देखि चलेको Indigenous film fair 2008 मा देखाइएको एउटा फिल्म 'अनागिरक'को हो। जसको शिर्षक गहकिलो छ। पत्रपत्रिकाहरुमा केही चर्चा पनि चलेको उक्त फिल्म हेर्न केही साथीहरुसँग आइतबारको साँझ हिडियो। गाडीबाट ओर्लनसाथ दर्के अनि छड्के पानीले भिजाएरै छाड्यो। तोकिएको समयभन्दा ढिला 'नेपाली टाइम'मा शुरु भयो। त्यही ग्यापमा भिजेको सिक्‌सिको पन्छाइयो। पानी पर्दापर्दैको वातावरण भएपनि दर्शक बटुल्न सफल थियो अनागरिक।

फिल्म शुरु हुनु अगावै निर्देशकले 'साधारणतय अनागरिक भन्नासाथ नागरिकताविहिन भन्ने बुझिन्छ, तर यहाँ भावनात्मक पाटोलाई समेटीएको छ'। समग्रमा फिल्म राम्रो बनेको छ। गुरुङ समुदायलाई समेटिएको यो फिल्ममा एउटा लाहुरेको परिवार छ। जुन परिवारले लाहुर जानुलाई आफ्नो मान सम्मान, दक्षता र वीरतासँग गाँसेर भावी सन्ततिपनि त्यही बाटोमा जाओस् भन्ने इच्छा राख्छ। त्यही परिवारको युवा (लाहुरेको जवान छोरा)मातृभूमिप्रति अगाढ प्रेम र आस्था राख्दै स्वदेशमै पढेर केही गर्ने दृढतासाथ राजधानी पस्छ। फिल्ममा मुख्य पात्रको साथै बाजे-बोजुको पात्रको अभिनय निकै नै सशक्त छ।

फिल्म हेर्दाको समयावधिमा जम्मा २ पल्ट दर्शकहरु दिल खोलेर हाँसेका थिए। लाहुर जाने आग्रहलाई नकार्दै पढ्न जाने अठोटसाथ 'तिमीहरु मेरो कुरै बुझ्दैनौ' भन्ने युवाको जवाफमा हजुरआमाले बोलेको संवाद 'तेरीमा झ्याक्ने आफै मत्ते जान्ने'ले पुरै हल हाँसोले गुञ्जियो। श्रीमान् श्रीमतिको सम्बन्धमा समझदारिता, मायाप्रेमलाई झल्काउने एउटा दृश्य समेटीएको छ। जसमा कोठाभित्र छिर्नासाथ श्रीमतितर्फ हेर्दै लाहुरेले 'त्यो कहाँ गएछ'भन्दै झोला खोतल्छ। श्रीमतिले नबुझे झैँ गरी भन्छ- 'के नि त्यो?'। 'त्यही क्या'। श्रीमतिको अन्जानपन र श्रीमान्‌को रसरंगमयपूर्ण संवादले पनि दर्कशरुमा उत्तिकै हाँसोको लहर ल्याएको थियो।

देशको द्वन्द्वग्रस्त अवस्थाले गाँजेको परिस्थितमा गुमेको स्वतन्त्रता, द्वन्द्वको चपेटामा खोसिएको पारिवारिक सुख, गुरुङ-मगरलगायतका जनजाति समुदायले विदेशी कमाईमा नै जोड दिनुपर्ने समाजको मान्यता, स्वदेशमा दक्षताअनुरुपको रोजगार प्राप्त नहुनुजस्ता परिस्थितिले युवाको आस्थालाई भत्काउनतिर बारम्बार प्रेरित गर्छ र अन्त्यमा हङकङ उड्छ। उड्नुअघिको संवाद निकै नै मार्मिक छ- 'हाम्रा पुर्खाहरुले दुःख गरेर हाम्रो लागि खुला आकाश मात्रै राखिदिएका रहेछन्, एक पाइला टेक्नलाई पनि जमिन बाँकी रहेनछ'।

यो फिल्मले नेपालको पुर्वी र पश्चिमी भेगका गुरुङ समुदायलाई नजिक्याएको छ। पश्चिमी भेगको सांस्कृतिक रहनसहनलाई समेटेर मौलिकताको उजागर पनि गरेको छ। फिल्म मेकिङका सम्पूर्ण पक्षामा आदिवासी जनजातिकै संलग्नता रहनु, जनजाति समुदायकै वरपर कथाबस्तु तयार हुनु, संवादको लवज, ढाँचा उही अनुरुपको हुनुले जनजाति समुदायको सेरोफेरोमा निर्माण भएको भन्ने सार बोकेको छ। त्यसको बाबजूद गुरुङ समुदायमा रहेको सांस्कृतिक तथा मौलक पहिचानलाई प्रस्ट रुपमा अगाडी ल्याउन नसक्नु फिल्मको कमजोर पक्ष रहेको छ। फिल्ममा संलग्न व्यक्तिहरुको प्रथम प्रयासस्वरुप बनाइएको हुँदा अन्य स-साना त्रुटिहरु प्रष्टै छुट्टिन्छ। फिल्म सकेर बाहिर निस्केपछि एक गैर जनजाति साथीको जिज्ञासा मप्रति सोझियो- 'आदिवासी जनजातिको फिल्म महोत्सव अनि फिल्म पनि उही समुदायको प्रतिनिधित्व गर्ने गरी बनाइएको भनिएपनि यसको धेरै कुरा सबैको जस्तो छैन र?' मेरो विचारमा यो जिज्ञासा गलत पनि होइन। तथापि नेपालका आदिवासी जनजाति समुदायहरु फिल्म तथा वृत्तचित्र निर्माणमा पाइला हाल्ने क्रम बढ्दै गइरहेको छ। साथै आदिवासी जनजाति समुदायको तर्फबाट अर्को एउटा फिल्म थपिएको छ। यो सबैको लागि खुशीकै कुरा हो।

1 comment:

दीपक जडित said...

'हाम्रा पुर्खाहरुले दुःख गरेर हाम्रो लागि खुला आकाश मात्रै राखिदिएका रहेछन्, एक पाइला टेक्नलाई पनि जमिन बाँकी रहेनछ'।

फिल्मको निचोडनै यस्तै निकालेर बनाएको हो भने मलाई चैं चित्त बुझेन है । यथार्थ हो यो तरपनि सम्पुर्ण यथार्थ हैन । हुनत हामी देशछोडेर परदेशीएकाहरुले यसो भन्दा हास्यास्पद लाग्ला तरपनि ।