Wednesday, June 03, 2009

लिङ्कुपिटाङ‌‌... इकु इकु...

केही समय अघि ब्लगर मित्र दीपकजीले "कैलाश जी यो लिङ्कुपिटाङ भनेको के हो?" भनेर सोध्नुभएको थियो। उहाँले सोधेको बखतमा मलाई एउटा अपरिचित ब्लगर मित्रको लिङ्कुपिटाङ नामक ब्लगको याद आएको थियो। उहाँले कहाँ सुन्नुभयो कुन्नी? "मैले सुनेअनुसार त्यो भनेको भोक लाग्यो भनेको रे हो?" भनेर मलाई सुनाउनुभयो। तर मलाई त त्यो शब्दको अर्थ त्यही हो भन्नेमा एकरत्ति पनि हेक्का नै थिएन। न त त्यो शब्द मैले त्यसअघि कतै सुनेको थिएँ।

गत शनिबार साथीहरुको विशेष इच्छाको कारण 'इकु the jungle man' हेर्न सिनेमा हलतिर लाग्यौँ। त्यहाँ पुग्दा ठेलामठेल भीड थियो टिकट काट्ने काउन्टरदेखि बाहिरैसम्म। इकुको टिकट माग्दा 'छैन' भन्ने जवाफ पाएपछि धेरैले अरु नै फिल्मको टिकट लिने या फर्किने बाहेक उपाय थिएन। एउटै भवनमा थुप्रै फिल्म एकैपल्ट चलाएको हुनाले पनि चाहनेहरुले अर्को फिल्म हेर्ने विकल्प तै तै थियो। अरु पनि नेपाली फिल्म त्यही हलमा चलिरहेको थियो। इकु हेर्न नपाएकोमा अर्को नेपाली फिल्मलाई नै विकल्पमा रोज्यौ हामीले। तर आश्चर्य! नेपाली फिल्मको स्तर तथा बजार खस्केको कुरा यत्रतत्र चलेको बेलामा "नेपाली कुनैपनि छैन" भन्ने जवाफ पाउँदा त्यस दिन ठिक उल्टो भयो। कुनैपनि नेपाली फिल्मको टिकट र सीट छैन! आब्बुई!! "हिन्दी त आज नहेरौ क्यारा" भन्ने मेरो अनुरोधमा सबै साथीहरुले सहमति जनाए। त्यसपछि फिल्म हेर्ने बजेटले एउटा रेष्टुरेष्टमा गएर टन्न मःमः खाएर अघाएर आ-आफ्नो कुटीतिर लाग्यौँ।

हल पुगेर त्यसै फर्किनु पर्दा एक हिसाबले झ्याउँ लाग्दैथियो सबैलाई। तैपनि नेपाली फिल्म हेर्न पनि यत्तिका दर्शक हलमा आउँदा रहेछन् भन्ने लागेर हामी दंग थियौँ। नौलो स्वाद र प्रस्तुती लिएर आएको हुनाले नै इकु हेर्न धेरै दर्शकहरु हलसम्म पुगेका छन् सायद। हुन त शनिबार त्यसमाथि पनि बिहानीको शो भएकोले हुनसक्ला त्यत्तिका बिधि भीडभाड।
इकुको पोष्टर हेर्दै विद्यार्थीहरु

नेपाली फिल्म हेर्नेहरुको भीडमा, इकुको टिकट नपाएकाहरुको भीडमा उभिएर गफिरहँदा एउटा स्कूलको नेमप्लेट बोकेको ३ वटा गाडीबाट हुलका हूल विद्यार्थीहरु स्कूल पोशाकमै उत्रिएर हलतिरै आए। तब टिकट नपाउनुको कारण थाहा भयो। नत्र त टिकट काउन्टरमा बस्नेलाई बोल्ने फुर्सद कहाँ र! अनि लाइन लागेरै त्यत्रो सोधीरहने जाँगर पनि हामीमा कहाँ र! अनुशासित भइ लाइनमा बसेरै ती विद्यार्थीहरु खुरुखुरु फिल्म हलभित्र छिर्न थाले। इकु हेर्न लाइनमा बसेर हलभित्र छिर्दै विद्यार्थीहरु।

जंगली मान्छे-इकु प्रमुख पात्र भएपनि बालक अपहरणको कथाबस्तुलाई समेटिएको र ह्युमरस प्रस्तुती भएको चर्चा बजारमा फैलिएकोले पनि होला बच्चाहरुलाई हलसम्म पुर्याउने संयोजन खुद स्कूलले नै गरेको। संयोगबस साँझ कन्तिपुर टेलिभिजनबाट प्रसारण हुने 'पवनकली' शो आउने समयमा टेलिभिजन खोल्न पुगेछु म। त्यस शोमा उही इकु-सुलेमान शंकर फिल्मी पात्रकै रुपमा पाहुना बनेर पवनकलीको कुटीमा झुल्किए- इकु इकु भन्दै । यताउती हेर्दै पवनकालीको घरको भित्तामा झुन्डिएको मकैको घोगातर्फ इशारा गर्दै भोक लगेको जनाउदै भन्छ- लिङ्कुपिटाङ लिङ्कुपिटाङ। तब मलाई दिपकजी र उहाको प्रश्नको याद आयो। त्यो त नेपाली टार्जन इकुको भाषा पो रहेछ। जो नेपाली टेलिचलचित्रमार्फत् ठुलो फिल्मको जगतमा प्रबेश गरेको छ अहिले।

15 comments:

Unknown said...

साँच्चै हो र कैलाशजी ?

मैले मेरी बास्सै भन्ने टेली फिल्ममा सुनेर सोधेको थिएँ । लिङ्कुपिताङ्ग/लिङ्कुपिटाङ भनेको भोक लाग्यो नै भनेको हो रहेछ त ? मलाई त अझै विश्वास लागेको छैन । हावदारी तालमै मेरी बास्सैमा राखेको होला त्यो शब्द भन्ने ठानेथें । ठुलो पर्दाको फिल्ममा पनि त्यस्तै त होइन ?

जे होस् नेपाली फिल्म त्यसरी चलेको सुन्दा पनि खुशीले गदगद भएँ पो ।

Anonymous said...

सारै रमाइलो कुरो रहेछ | अब चाहिं भोक लागे आफुले नि "लिंकुपिटांग" भन्नु पर्ला | तर यो शब्द कुन भाषाको परेछ कुन्नि ?

कृष्णपक्ष said...

रमाइलो प्रस्तुति , राम्रो लाग्यो । "लिंकुपिटांग"को अर्थ था नभएर केभो त? "इकु" हेर्न नपाएको झोकमा टन्न म म खाएर अंजानमै "लिंकुपिटांग" पूरा पूरा गर्नु भएछ त ! तर टासोको शीर्षकले चाहि "इकु" हेर्ने भोक लाग्यो भन्न खोजेको होला है न त?

Aakar said...

सायद, यसले पनि नेपाली चलचित्र मा फरक प्रयोग गरेको होला जस्तो लाग्छ, हेर्न चाँहि बाँकि नै छ !
लिंकुपिटांग नयाँ नयाँ शब्द पो बन्यो कि क्या हो ?

बिमल गिरी said...

Likupitang shabdako prayog gari nepali filmko barema thorai bhayepani swad chataunu bhayekoma Kailas jee dhanyabad chhahai.

Ramro Nepali News said...

प्रसँग रोचक छ

Unknown said...

रमाइलो प्रस्तुति कैलाश जी , साहैं राम्रो लाग्यो ।

rajankathet said...

ahile bajaar ma hindi film nachaleko jhok ma "sulemaan" ko Eku le j hos daam tannai osarne bhayo.... Neapli Tarjan tara sikute bhesh maa.....

कैलाश said...

खै यो लिङ्कुपिटाङ भन्ने शब्द चाहिँ दीपकजीले भनेझैँ हावा तालमै आविष्कार गरिएको हो कि हैन कुन्नी। तर त्यो शब्द फिल्ममा चाहि पक्कै प्रयोग भएको छ। मैले फिल्म नहेरे नि हेर्ने साथीहरुबाट जानकारी लिए। अनि यो शब्द चाहिँ नेपाली टार्जनकै भाषाकै होला भन्नुपर्ला नि मिलन जी। उज्यालोको खोजीमा रहनुहुने कृष्णपक्षजीले भन्नुभएको ठीकै हो। पेटको लिङ्कुपिटाङ त जानी मःम ले पूरा गरियो तर इकु हेर्ने लिङ्कुपिटाङ अपुरै रह्यो।

सबैलाई धन्यवाद छ।

Prabesh Poudel said...

नेपाली चलचित्रको टिकट पाइएन भनेको सुन्दा त साह्रै खुसी लाग्यौ हौ कैलाशजी !! हुन त तपाईँले हेर्न पाउनुभएनछ त्यहि पनि !! एकदमै कम बजेटमा बनेको यो चलचित्रले ठूला बजेटका चलचित्रका बारेमा प्रचार गर्नेलाई गतिलो झापड दिएको छ । दर्शकहरू परिवर्तनको पक्षमा छन् भन्ने सन्देश नेपाली निर्माताले बुझ्न सके नेपाली चलचित्र धेरै उँभो लाग्ने थियो ।

Anonymous said...

कैलाश जी र्सवप्रथम अभिवादन,
फिल्म हर्ेन जाँदाको मज्जा नै अर्कै हुन्छ । आजकल शहर बजारतिर नेपाली फिल्महरु हेर्दैनन् भन्ने लख् काट्ने म तपाईको आलेखले नेपाली फिल्म हेर्न दर्शक उत्साहित भएको मैले पाएँ । जे होस् यसरी हामी सबैले नेपाली फिल्म हेरिदिएँ अवश्य नेपाली फिल्म अन्य फिल्मसँग तुलना गर्न र्समर्थ रहला ।


यहाँ इटहरीमा त फिल्म हलै छैन् । फिल्म हेर्नका लागि नजिकका शहरहरु चहार्नुपर्दछ-धरान, बिराटनगर, झुम्का), जे होस् यस क्षेत्रमा इकु चलेपछि अवश्य हेर्न गइन्छ होला ।


अन्त्यमा मेरो ब्लग ठेगाना http://www.onlinekhaskhas.blogspot.com पनि तपाईको ब्लग लिष्टमा राखिदिनुहुन्थ्यो कि !!

chudamani said...

गजबको कुटी छ यो कुटी ! एउटा नविन कुरा थाहा पाइयो यसपल्ट पनि |
जानकारी मूलक लेखका लागि धन्यबाद |

wordflows said...

लिंकुपिटांग भनेको भोक लाग्यो भनेकै हो र? ईकु को interview हेरेको थिए मैले याद नै गरिन तर अब थाहा पाईयो।

Yumesh Pulami said...

कैलाश जी सबै कुरा त ठीकै छ तर फिलिम हेर्न भनेर जानू भो अनि हेर्न पाउनु भएन भन्ने थाहा पाउदा खल्लो लाग्यो किन भने त्यस बारेमा मैले पनी बढी अरु कुराहरु जान्न पाइन नि ! नत्र त हल्का सार लेख्नु हुने थियो होला - होइन र?

Med Chem said...

iku iku...yo ta meribassai ko character hainara bhanya..film pani banisakecha? thanks for sharing the information ..