Thursday, September 24, 2009

२०६६ सालको दशैँको मंगलमय शुभकामना



२०६६ सालको विजयादशमीको उपलक्ष्यमा कुटीका सम्पूर्ण सारथी, आगन्तुक तथा ब्लगर मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आफू र आफ्नो वरपरका अनेकौ दुःख-कष्ट, रोगव्याधी, लन्ठाहरुसँग लड्न सक्ने क्षमता दुर्गामाताले प्रदान गरुन् भन्ने प्रार्थना छ। महंगी, प्रदुषण, तनाव, बेरोजगार, रोग-शोक-भोकले किचिएर लघु मानव भइसकेका हामीमा यी सब कुरासँग जुध्ने सक्षमता अझ पलाओस्।

जय होस् सबैको! मंगल होस् सबैको!
शुभ दिन, शुभ रात, शुभ समय!

Friday, August 28, 2009

मस्तीको माइला.com

एउटा स्टेज। नाटकमा निर्देशकले एउटा ल्यापटपको संज्ञा दिएका छन् स्टेजलाई। ल्यापटप 'ओपन' हुन्छ। माइला र साहुनीको निजी अनुभूति र मनोभाव देखिन्छ- माइला डट कमद्वारा। ती अनुभूति र मनोभावलाई दर्शकले आफ्नै निजी बुझाई राख्न सक्छन्। माइला र साहुनी कफी सपमा आ-आफ्‍नै काममा व्यस्त हुन्छन्। दिनहुँ उही काम।

एकाविहानै सटर खुल्छ। साहुनी धुपधुवाँर गर्छिन्। पुछ्‍पाछ्‍ गर्छिन्। सरसामान मिलाउँछिन्। ग्राहकसँग डिल गर्छिन्। हरहिसाब गर्छिन्। माइला रौसिदै आफ्‍नो काममा खटिरहन्छ। शहरको कफी सपमा तीन दिन लगातार उस्तै क्रियाकलापहरु भइरहन्छन्। तर साहुनी र माइलाबीचको घटना र व्यवहार भने क्रमश: बदलिदै जान्छ। १२/१३ वर्षे किशोर माइला र २०/२२ वर्षे युवती साहुनीका आ-आफ्‍नै फरक फरक बुदझाई र मनोभाव तीन दिनमा व्यक्त हुन्छ। शुरुको दिन साहुनी र माइलाबीचको दुरी प्रष्ट देखिन्छ। दोस्रो दिन उनीहरुको क्रियाकलाप र हाउभाउले दुरी घट्‍न थालेको संकेत गर्छ । तेस्रो दिन, असामान्य रुपमा नजिक हुन पुग्छन्। र, माइला कफि सपबाट लखेटिन्छ। सामान्य मानिसको जीवनचर्यामा उनिएको कथावस्तुमा आधारित नाटक माइला डट कमको कथासार यति हो।

सरुभक्तको लेखन र अनुप बरालको निर्देशनमा 'सिरुमा रानी' नाटकमा अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेका दयाहाङ राई यसका निर्देशक हुन्। उनले 'बुद्ध हराएको सूचना', 'मुर्दाहरुको महाभोज', 'बाँकी उज्यालो', 'टलकजंग भर्सेज टुल्के', 'चेरीको बगैचा', 'कोरा' जस्ता नाटकमा अभिनय गर्नुका साथै बेपत्ता नागरिकसम्बन्धी 'दुवाली' नाटक निर्देशन समेत गरिसकेका छन्।

सर्वसाधारण मानिसको दिनहुँ क्रियाकलापको अर्थ खोज्दै माइला डट कम देखा परेको छ। नाटकमा दुईजना पात्र, एकदमै कम संवाद, कम ध्वनी, चाहिँदो साजसज्जा तथा प्रकाश र अत्याधिक हाउभाउँ छ। माइलाको हाउभाउँ र क्रियाकलापले दर्शकलाई तानिरहन्छ। कुनै ठूलो घटना र विशेष क्रियाकलाप बिना दिनहुँ सामान्य ढंगले नित्य कर्म गर्दागर्दै नजानिदो तवरले माइलाको यौन मनोविज्ञान झल्किन्छ। साहुनीको मिठो बोली र मुस्कानले माइलाभित्र मिठो तरंग पैदा गर्छ। अन्जानमै साहुनीसँग छोइन/ठोक्किन पुगेमा साहुनीले आफूप्रति राखेको प्रेम/यौनका रुपमा बुझ्छ। काम गर्दागर्दै साहुनीको ध्यान आफूमा खिच्ने र घरीघरी साहुनीतिर नजर डुलाउनेजस्ता क्रियाकलाप माइलाको यौन मनोविज्ञानको संकेत हो। माइलामा राजन खतिवडा र साहुनीमा सृजना सुब्बाले भूमिका निभाएका छन्। माइलाको 'इन्जोइङ्‍ क्यारेक्टर' सबैभन्दा रोचक लाग्छ नाटकमा।

नाटक सकिएर मञ्चबाहिर कुराकानी गर्दा आधा दर्जन नाटक निर्देशन र दुई दर्जन नाटक अभिनय गरेका राजन खतिवडाले मन खोले, 'अलग क्यारेक्टर गरेको हुनाले दर्शकसँग कनेक्टेड हुन्छ कि हुन्न भन्ने ठूलो डर थियो मनमा। कता कता राजनको उमेरले ढाक्न खोज्दो रहेछ'। मुसुक्क हाँस्दै साहुनी बनेकी सृजना सुब्बाले ठट्‍टा गर्दै भनिन्, 'छिप्पिएको माइला पर्‍यो नि त'।

नाटकमा घच्चीको 'conflict' हुनुपर्छ। शुरुवात, मध्य र अन्त्यको संरचनामा सन्तुलन हुनुपर्छ भन्ने मान्यतालाई पछ्‍याउँदैन माइला डट कमले। तैपनि नाटकमा साना साना 'conflict'हरु नभएका भने हैनन्। माइला र साहुनीको बुझाई र हेराईले मेल नखानु एकप्रकारको 'conflict' हो। चेतन/अचेतन मनबाट साहुनीको यौवनअनुरुप सोच बोक्नु माइलाको निजी मनोभाव हो। मानवीयताको उदारभाव बोकेर माइलाप्रति माया दर्शाउनु, चोटमा मल्हम लगाइदिनु, नयाँ ह्याट र जुत्ता आफ्‍नै हातले लगाइदिनु साहुनीको निजी सोचअनुरुपको व्यवहार हो। एकले अर्कालाई जे देख्छन् र सोच्छन् त्यो मेल खादैन। फलत: तेस्रो दिन सटर बन्द गर्ने क्रममा आमनेसामने हुँदा माइलाले एक्कासी साहुनीको गालामा चुम्बन गर्छ। यो घटनासँगै माइला पसलबाट निकालिन्छ र नाटक सकिन्छ। निर्देशक दयाहाङ राई भन्छन्, 'यो एउटा लुज कनेक्टेड नाटक हो। यसमा ठूलो 'conflict' पनि छैन। यसमा धेरै रिपिटेसनहरु छन्, जसरी हाम्रो जीवनमा रिपिट भइरहन्छन्। तिनको केही अर्थ नहुन पनि सक्छ। तपाईहरुको जीवनको 'ननसेन्स' कार्यहरुले अर्थ पाए भने माइला डट कमको कार्यले पूर्णता पाउँनेछ'।

डेढ वर्ष पहिले एकपल्ट मञ्चन भएको यो नाटकमा त्यत्तिबेलाका माइला रवीन पाण्डे थिए। लक्ष्मीपुजाको दिन दुर्घटनामा परेर उनको मृत्यु भयो। त्यसपश्चात दोस्रो पटक मञ्चन भइरहेको नाटकमा माइला बनेका हुन् राजन। यो नाटक काठमाडौंको त्रिपुरेस्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा भदौ महिनाभरी हप्ताको तीन दिन मञ्चन भइरहेछ। भारतको उडिसामा हुने अन्तर्राष्ट्रिय नाट्‍य महोत्सवमा समेत यो नाटक छानिएको छ।

कुनै न कुनै रुपमा गाउँबाट शहर छिरेका कैयौँ होटल मजदुर किशोरहरुको प्रतिनिधित्व गरेको छ माइला पात्रले। नाटकको कथावस्तुअनुरुप एक, विपरित लिंगप्रतिको आकर्षण नियतबस मात्र हैन प्राकृतिक रुपमै उत्पन्न हुन्छ। र दोस्रो, व्यक्तिको वैचारिक हैसियतले धेरै कुरा निर्धारण गर्छ। र त्यसले नयाँ क्रियाकलाप र घटनाको जन्म दिन्छ। पात्रहरुको फुर्तिलो र हसिलो हाउभाउँ, कफीसपका मानक ग्राहकहरुसँगको रसिलो व्यवहार, मानक सरसरदाम पकाइतुल्याईको क्रियाकलापको स्वाद र माइलाको 'मस्ती'को 'body language' हेर्न लायक छ यो अनुभूतिजन्य नाटकमा। शुरुमा सडक पेटीबाट पसल भित्र छिर्न समेत धक मान्ने माइलाले साहुनीको आफूप्रतिको राम्रो व्यवहारको प्रतिउत्तरमा अचानक चुम्बन गर्छ। यो घटनाले 'माइला पात्रहरुलाई (बढी ?)माया गरेमा मात्तिन्छन्‌‍' भन्ने भाव पनि बोकेको छ। 'मस्तीको माइला'ले अन्त्यमा सास्ती खेप्नुपर्छ।

Friday, August 21, 2009

सरकारको विवाह पुरस्कार नीति

आर्थिक वर्ष 0६६/०६७ को बजेटमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'दलित' र 'विधवा' विवाह गर्नेलाई क्रमश: एक लाख र पचास हजारको पुरस्कार घोषणा गरे। अन्तरजातीय र विधवा विवाहसम्बन्धमा पैदा हुने र भइरहेका विभिन्न खालका समस्याहरूको निदान खोज्ने, त्यस्ता विवाह गर्न प्रोत्साहन गर्ने र त्यसप्रति आकर्षण पैदा गराउने सरकारको नियत हुन सक्छ। यद्यपि यसलाई जतिसुकै सकारात्मक दृष्टिकोणले नियाले पनि यसको सकारात्मक पक्ष खुट्ट्याउनै गाह्रो छ। सरकारले अगाडि सारेको अन्तरजातीय विवाह र विधवा विवाहको नीति सम्बन्धित समुदायको समस्या कम गर्नेभन्दा बढाउने र समुदायगत तथा लैङ्गिक सद्भाव बढाउने भन्दा घटाउने कडीको रूपमा आएको छ। बजेट घोषणा सकिन नपाउँदै 'एक लाख चाहिए दलितसँग र पचास हजार चाहिए विधवासँग बिहे गर्दा भो अब' भन्ने खालको सनसनी फैलिएको सुनिन्थ्यो सर्वसाधारणमाझ। र यो नीतिले बढी प्रभावित हुने पनि सर्वसाधारण नै हुन्।

अन्तरजातीय विवाह छुवाछुत तथा जातीय विभेद अन्त्य गर्ने एक उपाय हुन सक्छ। तर अन्तरजातीय विवाह र विधवा विवाहको नाममा तोकिएको निश्चित मूल्यले हाम्रो समाजको सामाजिक मान्यता, सामाजिक सुरक्षा र सामाजिक सरोकारका विषयलाई थप फितलो र जटिल बनाइदिएको छ। मानवीय मर्यादामा गहिरो ठेस पुर्याएको छ। विभिन्न पक्ष तथा दृष्टिकोणबाट अनुत्तरित प्रश्नहरू उब्जाएको छ। अन्तरजातीय विवाह र विधवा महिलाहरूको पुनर्विवाहलार्इ मान्यता दिनु, मान मर्यादा गर्न, प्रोत्साहन गर्नु र स्थापित गर्नु पक्कै पनि राम्रो कुरा हो। छुवाछुत मुक्त, जातीय विभेदमुक्त, विधवामाथि हुने/गरिने विभेदमुक्त समाज निर्माण गर्ने सरकारको उद्देश्यलाई सह्राना गर्नैपर्छ। तर उद्देश्य प्राप्तिको प्रत्रिmया वा सरकारले अपनाएको विवाह अनुदानको मार्ग भने समस्यामुक्त छैन। यसले सुरक्षित र सहज अन्तरजातीय वैवाहिक सम्बन्ध या सुरक्षित पुनर्विवाहको सम्बन्धलाई निर्माण गर्ने भन्दा स्वार्थपूर्ण, खतरायुक्त र 'जाली' सम्बन्धमा जोड दिएको छ।

सरकारले अन्तरजातीय विवाहको पक्षपोषणमा प्रत्येक दलितसँग बिहे गर्ने जोसुकै गैर दलितलाई एक लाख पोल्टामा हालिदिने वचन गरेको छ। र, अन्तरजातीय विवाहको विस्तृत स्वरूपलाई दलित र गैर दलितबीचको विवाहभित्रको साँघुरो घेरामा सीमित पारिदियो। 'विधवा'सँग बिहे गर्ने व्यक्तिलाई पचास हजार पुरस्कारको हकदार बनाइदियो। यस हिसाबले दलितसँग बिहे गर्ने कुनै गैर दलित र विधवासँग बिहे गर्नासाथ कुनै पुरूष स्वत: सरकारी अनुदानमा एक लाख वा पचास हजारको मालिक बन्यो। नि:स्वार्थ या स्वत: स्फूर्त अन्तरजातीय या पुनर्विवाह गर्नेहरूमा समेत यसले लालच पैदा गर्न सक्छ। यो अनुदान नीति दलित समुदाय र विधवाहरूको लागि भन्दा पनि दोस्रो पक्ष (जो उनीहरूसँग बिहे गर्छन्)का लागि अपनाइएको हो। यसरी दलित र विधवालाई फेरि पनि 'परित्यक्त' मान्दै उनीहरूसँग विवाह गरेमा उद्धारकर्ताको रूपमा सम्मान स्वरूप पुरस्कारको घोषणा गरियो। यहाँनेर दलित र विधवाहरुका लागि उत्तm बजेट छुट्टाइएको हो भन्ने कुनै आधार देखिँदैन। बरू उनीहरूलाई बिक्री गरिने 'सस्तो वस्तु' मानिएको छ।

मानौँ यस्तो अनुदान रकमले अन्तरजातीय तथा पुनर्विवाह दर बढ्यो। त्यसपछि छुवाछुत, जातीय भेदभाव, विधवामाथि गरिने भेदभावमा कमी आउँछ भनेर तर्क गर्न सकिने ठाउँ कहाँ छ? सम्बन्धित समूह/समुदाय ढुक्क हुने कुन त्यस्तो संयन्त्रको निर्माण हुन्छ? उक्त विवाह सम्बन्धद्वारा सृजना हुने विभिन्न खालको समस्याहरूको उक्त अनुदान रकमले समाधान गर्न सम्भव छ? सामाजिक तथा लैङ्गिक सद्भाव, वैवाहिक तथा पारिवारिक सम्बन्धको निरन्तरता, सम्बन्धित व्यक्तिको व्यक्तिगत सुरक्षा, अधिकारजस्ता कुराहरू स्थापित होलान्? यी र यस्ता कुराहरू स्थापित हुन नसकेको खण्डमा जिम्मेवार को हुने? र त्यसवापत के कस्तो नीति अवलम्बन गर्ने? त्यस्ता अनेकौँ बोझ सरकारलाई भन्दा सोझै सम्बन्धित व्यक्ति/समुदायमाथि थुप्रिन्छ। त्यसबखत सरकारको कदम के हुने? जनआन्दोलनका घाइतेको नाममा छुट्टाइएको भत्तासमेत नक्कली कागजपत्र र प्रमाण पेश गर्दै कुम्लो पार्ने प्रवृत्ति यस नीतिमा लागू हुँदैन भन्न सकिने ठाउँ छैन।

व्यावसायिक प्रतिस्पर्धाको दौडधुपमा व्यवसायीले कुनै विशेष उपलक्ष्यमा विशेष उपहार योजनाद्वारा ग्राहक लोभ्याएझैँ गरी यो सरकारी नीतिले लोभ्याएको छ । यसले सरकारको दयनीय बुझाइलाई प्रस्ट्याउँछ। यो नीतिले सीमित व्यक्तिलाई सही तवरले लोभ्याउला, थोरै व्यक्तिहरूमा सकारात्मक प्रभाव पर्ला। तर हामीकहाँ दिनहुँ छुवाछुत र जातीय विभेदका घटनाहरू भइरहेका छन्। दाइजोको कारण महिलाहरू कुटिने, पिटिने, जलाइनेजस्ता हिंसात्मक क्रियाकलाप पनि भएकै छन्। यसअघिको सरकारले दाइजो प्रथा उन्मूलन गर्ने घोषणा गरेको थियो। तर वर्तमान सरकार आफैले दाइजो प्रथालाई विशेष रूपमा प्रश्रय दिदैँ दाइजो दान गर्ने नीति लियो । सामान्यतया बोलचाल र बुझाइकै कुरा गर्दाखेरि पारपाचुके भएका/गरेका तथा विधवा महिलाहरूका लागि 'सेकेण्ड ह्याण्ड' जस्ता अमानवीय शब्दको प्रयोग भइरहेको र त्यही अनुरूपको दृष्टिकोण रहेको छ। दिनानुदिन देशमा सामाजिक सुरक्षा कमजोर बन्दै गएका प्रमाणहरू यत्रतत्र छन्। यस्तो अवस्थामा नागरिकको सामाजिक सुरक्षा सुदृढ पार्ने नीति ल्याउनुको सट्टा सुरक्षा विथोल्ने खालको नीति अवलम्बन गर्नेतफ सरकारको यो कदम अग्रसर देखिन्छ।

दलित समुदाय र विधवा महिला, यी दुबैको आ-आफ्नै, विशिष्ट खालको समस्या र पीडाहरू छन्। सरकारले यी दुबैको लागि एकै उपाय अघि सार्यो- विवाह । सामाजिक मूल्य मान्यताद्वारा संरक्षित विवाह संस्कारलाई 'अतिरिक्त संरक्षण'को व्यवस्था गर्नमा सरकार लागि परेको छ। विभेद र हेलाहोचोको अन्त्य गरी नागरिक अधिकार दिलाउन सरकारी बजेटले गर्न सक्ने अन्य उपयुक्त र प्रभावकारी उपायहरू प्रशस्तै छन्। तर सरकारले अन्य उपयुक्त मार्गहरूको सट्टा अन्तरजातीय विवाह र विधवाहरूको पुनर्विवाहलाई 'प्रायोजित विवाह' को रूपधारण गराइदियो। प्रायोजित विवाहले दलित तथा विधवाहरूको जीवनसँग खेलवाड गर्न सकिने थप एउटा आधार निर्माण गरिदियो। दलित र विधवासँग विवाह गर्नेहरूको सन्दर्भमा सरकारले देखाएको उदार(?) नीति दलित समुदाय र विधवा महिलालाई 'निश्चित धनराशी' मा किनबेच हुने 'वस्तु' मा रूपान्तरण नहोस्। के सदिऔँदेखि भोग्दै आएको जातीय विभेद, छुवाछुतको अन्त्यको लागि दलित समुदायको आन्दोलन र राज्य तथा सरकारसँग दाबी गर्दै आएको क्षतिपूर्तिको स्वरूप र प्रक्रिया यही हो त? दलित समुदायद्वारा अन्तरघुलनको बहस उठाइरहेको बखतमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नु राम्रो हो। तर प्रायोजित विवाहको अर्थ के र कति छ? कुनै दलितको घरमा या दलितको हातबाट कुनै प्रतिष्ठित गैर दलितले एक गाँस खाएर सामाजिक सद्भाव बाँड्ने 'एजेण्ट' को रूपमा उभ्याइने प्रचलन र दलित र गैर दलितबीच विवाह सम्बन्ध गाँसिनुमा कुनै अन्तर छैन र? यदि त्यसो हैन भने दलित समुदाय र दलित आन्दोलनले यी र यस्ता प्रश्नहरू उठाउनुपर्छ। के लैङ्गिक विभेदको चर्को मारमा परेका, सामाजिक-सांस्कृतिक रूपमा अन्याय सहदै आएका विधवा महिलाहरूको समस्या पुनर्विवाह नहुनु मात्रै हो त? केही निश्चित रकमले समाज या व्यक्तिको मानसिकता र दृष्टिकोण परिवर्तनमा सही प्रभाव पार्ला? विधवाहरूको सशक्तीकरण र सवलीकरणमा पुनर्विवाह सहायक पक्ष हुनसक्छ। तर 'कुनै पनि विधवा महिलालाई पचास हजार लिएर विवाह गर' भन्ने सरकारको आग्रह छ। यसले उनीहरूलाई समाजमा कुनै विवाहित या अविवाहित महिला सरहको समान हैसियत र अधिकारका साथ बाँच्न पाउने अवस्था स्थापित गर्नमा मद्दत पुग्दैन। उनीहरूको स्वास्थ्य, रोजगारी, जीविकोपार्जन आदिमा समेत खासै टेवा पुग्दैन। सरकारको यस्तो गोलमटोल नीतिले प्रत्येक दलित समुदाय र विधवा महिलाहरूको व्यक्तिगत मूल्य निर्धारण गरेर दरिद्रता देखाएको छ । एकातिर विवाह जस्तो सामाजिक सम्बन्धलाई मोलमोलाईको जलप लगाइदिएको छ भने अर्कोतिर त्यही माध्यमद्वारा दलित तथा विधवा महिलाहरूलाई बिकाउ वस्तुको रूपमा निश्चित रकमको तराजुमा राखिदिएको छ। यो नीतिले जातीय छुवाछुत र आत्मसम्मानको निम्ति लामो समयदेखि संघर्षरत दलित समुदायकै आत्मसम्मानमाथि गहिरो प्रहार गरेको छ। विधवा महिलाहरूको आत्मसम्मानमाथि सोझो प्रहार गरेको छ। विवाह अनुदानको चौतर्फी कमजोरी र अव्यवहारिकताले सरकार र नीति नर्माताहरूको कमजोर, रूढीबादी सोच प्रस्ट्याएको छ। विभेदकारी, तिरस्कारपूर्ण र अपरिपक्व नीतिविरुद्ध एकल महिलाहरू विरोधमा उत्रिन थालिसकेका छन्। तर दलित समुदाय, संघसंस्था, अधिकारकर्मीहरू के गर्दैछन्? के सोच्दैछन्? के दलित, के विधवा, हरेक नागरिकले आफ्नो आत्मसम्मान बचाउनको लागि पनि यो नीति लागू हुनबाट रोक्नुपर्छ ।

थपः केही दिनअघि मात्रै पर्वत जिल्लामा दुई दम्पत्तिले अन्तरजातीय विवाह गरेर अनुदान रकम दाबी गर्न जिल्ला प्रशासन कार्यलय आएको समाचार एउटा न्युजपेपरको पहिलो पृष्ठमै आयो। सरकारले यो नीति लागू भइनसकेको र प्रक्रियागत रुपमा अनुदान दिन सकिने बेला नभएको प्रशासनको जवाफ उनीहरुले पाए। यसबारेमा थप समाचार पढ्न या सुन्न पाए हुन्थ्यो भन्ने लागेको छ अहिले मलाई।

(यो लेख एउटा साप्ताहिक पत्रिकाको लागि महिनादिन अघि लेखेको हुँ। धेरैदिनको झोँक्राईपछि आज म एउटा लेख लिएर आएँ। दश दिनअघि एउटा कार्यक्रममा एकजना दलित साथी भेटिए। 'के छ साथी हालखबर?' मैले सोधे। 'राम्रै छ। आफूलाई अमूल्य ठान्थे पहिले। अहिले एक लाखको नोट या चेक भइएको छ। सरकारलाई सलाम!' सटिक जवाफको गहनता र अर्थले म ठाउँको ठाउँ घोरिन पुगे। त्यसपछि यसबारेमा थप कुराकानी भयो केहीबेर। यो वाक्य आजपनि मेरो कानमा गुञ्जिरहन्छ। त्यसैले यो लेख मैले कुटीमा समेत राखे।)

Wednesday, July 29, 2009

कठै ती महाअभागी इडिपस!

साधा कपडा र रातो प्रकाशको सहयोगमा भोकमरी र महामारीले छट्‍पटाइरहेका मानिसहरुको करुण चित्रणले भरिभराउँ मञ्च। अभिमानले छाती फुल्याउँदै राजा इडिपस मञ्चको बीचमा उभिन्छन्। स्वर्गीय राजा लायसको हत्यारा पत्ता लगाउने, सिफ जनताको भलो चिताउने 'मसिहा'को रुपमा आफूलाई घोषणा गर्छन्। कथा अघि बढ्‍दै जान्छ। रहस्यको चिरफारमा रहस्यकै उदय हुन्छ। केन्द्रविन्दु स्वयं इडिपस भएको कुरा उनलाई थाहा छैन। उनी रहस्यको अन्त्यसम्म पुग्न आतुर छन्। जति जति रहस्यको पर्दाफास हुँदै जान्छ त्यति त्यति इडिपसको स्वाभिमान भत्किदै जान्छ। उनको दुर्भाग्यको सीमा फैलिदै जान्छ। अन्त्यमा उनी आफ्नै बाबुको हत्यारा र आमाको लोग्ने ठहरिन्छन्। आफ्नै आमाबाट सन्तान जन्माउने, नियतिको प्रहारमा परेका राजा, लोग्ने, पिता र हत्यारा सावित हुन्छन्। कठै इडिपस!

एथेन्सका महान नाटककार सोफोक्लिजको एक श्रेष्ठ र संसारकै सबैभन्दा वियोगान्त, शास्त्रीय ग्रीक नाटक 'इडिपस रेक्स'को कथा हो यो। नेपाली भाषा र कलाकारहरुको अभिनयमा यो नाटक काठमाडौंको नाट्यघर गुरुकूलमा मञ्चन भइरहेको छ यसबेला। प्राचीन युनान (ग्रीस)मा थिव नाउँको देश थियो। देशका राजा लायस र रानी योकाष्ठा थिए। तीर्थयात्रा गएको लायस डाँकाहरुद्वारा मारिएको खबर आउँछ। त्यहीबेला थिवमा सिंहको शरीर र मान्छेको टाउको भएकी राक्षसनीको आतंक मच्चिन्छ। हरेक व्यक्तिलाई प्रश्न सोध्थी। उत्तर दिन नसक्नेलाई मारिदिन्थी। राक्षसनीको प्रश्न थियो 'त्यो कुन प्राणी हो, जो विहान चार खुट्टा, दिउँसो दुई खुट्टा र साँझ तीन खुट्टाले हिँड्‍छ?'। त्यो प्राणी मानिस हो । जो विहान- वाल्यकालमा चार खुट्टा, दिउँसो- युवावस्थामा दुई खुट्टा र साँझ- बृद्धावस्थामा तीन खुट्टाले हिड्‍छ भन्ने सही उत्तर इडिपसले दिए।

घुम्दै थिव आइपुगेका इडिपसको उत्तरले राक्षसनीको अन्त्य हुन्छ। आतंक मुक्त बनाएवापत इडिपसलाई थिवका राजा बनाईयो । रानी योकाष्ठासँग विवाह गराइयो। उनीहरुका दुई छोरा/छोरी भए। केही वर्ष बित्दा नबित्दै देशमा अकाल, महामारीले हाहाकार मच्चियो। ठ्‍याक्कै यही अवस्थामा नेपाली भाषी इडिपस (सौगात मल्ल) मञ्चमा गौरवका साथ उभिन्छन्। रहस्यभित्र लुकेको आफ्नो दुर्भाग्यको पर्दाफास गर्दै नाटकलाई डोर्‍याउछन्। इडिपसको भूमिकामा सौगात मल्लको अभिनय बेजोड छ। रानीको आत्महत्या र राजाले आँखा फोडेको दृश्य सुसारेको हाउभाउमा देखाइएको छ। दर्दनाक हाउभाउद्वारा सरिता गिरी दर्शकको मन जित्न सफल छिन्। रानी योकाष्ठाको भूमिकामा अरुणा कार्की, राजाको सहयोगी क्रियोनमा प्रविण खतिवडा, अन्धो ज्योतिषी टायरेसियसमा राजकुमार पुडासैनीको अभिनय रहेको छ। अन्य कोरस भूमिकामा रामहरि ढकाल, कमलमणि नेपाल, विष्णुभक्त फुयाल, पशुपति राई, रविन्द्रसिंह बानियाँ, सरस्वती चौधरी, विपिन कार्की र सजन थापामगरको अभिनय रहेको छ।

भाग्यवादमा आधारित वियोगान्त यो नाटकको पृष्ठभूमि पृथक छ। केही समय पहिल्यै जेठो छोरोद्वारा राजा लायसको हत्या हुने र आफ्नै आमा (रानी योकाष्ठा)सँग उसको विहे हुने भविष्यवाणी हुन्छ। श्राप लागेको छोरा जन्मिनासाथ हत्कडी लगाएर गोठालोलार्इ बच्चा मार्ने आदेश दिइन्छ। गोठालोको ममताले बच्चा बाँच्छ। र, छिमेकी देशको निसन्तान राजारानीका सन्तानको रुपमा राजकुमार बन्छ। भविष्यवाणी टार्न इडिपस देश छाडेर भाग्दै हिड्‍छ। त्यहीबेला अचानक जंगलको बाटोमा 'बाटो छोड्‍' भन्दै हप्काउँने तीर्थयात्रीको रुपमा उसले आफ्नै जन्म दिने बाबु मार्छ। दुर्भाग्यको ढोका खुल्छ यहिबाट। श्राप छल्ने भरमग्दुर प्रयासमा डटेका इडिपस पाइलैपिच्छे त्यही भुमरीमा फस्फै फस्दै जान्छन्। नियतिको त्रासदीपूर्ण खेल, अन्त्यमा सबै रहस्य खुल्छ। पीडा र आत्माग्लानीले छट्‍पटिदै 'लोग्नेबाट लोग्ने जन्माउँने र छोराबाट छोरा जन्माउँने' रानी योकाष्ठा झुण्डिएर मर्छिन्। निर्मम तरिकाले योकाष्ठाकै सुनको काँटाले आफ्नो आँखा रोपेर अन्धो बन्छन् इडिपस। र, स्वनिर्वासित हुन्छन्। तर शरिर र आत्माभित्रै रहेको पापबोध, पीडाबोधको जालोबाट मुक्त हुनै सक्तैनन्।

Wednesday, July 15, 2009

संस्कृति कला प्रदर्शनीका कलाहरु

आज म साथीहरुलाई चित्रकला प्रदर्शनीतर्फ भ्रमणमा लैजादैछु। बबरमहलस्थित कला परिषदका हलका भित्ताभरि किराँत संस्कृतिमा आधारित चित्रहरु झुण्डिएका। जहाँ किराँती सृष्टिकर्ता तथा किराँतीहरुको इष्ट देवता सुम्निमा पारुहाङका अनेक रुप, किराँती रहनसहन, परम्परा, जीवनशैलीलाई चित्रमा उतारिएको देख्न सकिन्थ्यो। असार २५ (जुलाई ९) देखि ३० सम्म उक्त चित्रकला प्रदर्शनी चलेको थियो। २४ जना किराती कलाकारहरुको सक्रियतामा विभिन्न शिर्षकका लगभग ४८ ओटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो। "किरात ललितकला समाज"ले आयोजना गरेको संस्कृति कला प्रदर्शनीमा राखिएका चित्रहरुले किराँतीहरुको संस्कार/चाड, जनजीवन तथा पृष्ठभूमिलाई जीवित राखेको अनुभूति दिन्थ्यो। किराँतीहरुको नियतिलाई समेत चित्रमा उनिएको देखिन्थ्यो। किराँतीको नियति बनेको लाहुरे संस्कृतिलाई कलात्मक ढाँचामा उतारिएको एउटा कला थियो। त्यसतर्फ इशारा गर्दै कलाकार रतनकुमार राईले आगन्तुक (मलगायत अरु)को राय जान्न खोज्नुभोः 'यो कलाको के माने होला तपाईको नजरमा? किन हुपसियो लगाइयो होला? अथवा यो कलालाई हेर्दा के गर्या होला यस्तो भन्ने होला?' साँच्चै नै प्रदर्शनीमा राखिएका चित्रकलामा धेरै कुराहरु समेटिएको थियो। क्यामेरामा कैद गरेरको चित्रहरुमध्येका केही चित्रहरु हेरौ अहिलेलाई।

ऊन कात्दै गरेको किराती महिला। अहिले राडी पाखी बुन्ने, तान बुन्नेलगायतका किरातीहरुका मौलिक सीपहरु लोप हुँदै गइरहेको अवस्था छ।

कलाकारको सृजनशीलताः रुखको टोड्कामा बसको सुम्निमा।

कलाकार रतन कुमार राई आफ्नो चित्रमा उठेको जिज्ञासाप्रति जानकारी दिँदै।

कलाकारको कलाकारिताः किराती ईष्टदेवता सुम्निमा र पारुहाङ।

यो चित्रमा के देखिन्छ? राम्ररी हेर्नुस् है। घ्याम्पोभित्रको किराती संसार बाहिरी संसारबाट बिल्कुलै बेखबर! बिन्दास घ्याम्पो संस्कृति!

जन्मदेखि मरणसम्मको किराती संस्कारमा नभई नहुने जाँड छान्दै किराती महिला। यो भन्दा माथिको चित्रले किराती संस्कारभित्र झाँगिएको राजनीतिक तथा कुटनीतिक तिक्ततालाई मार्मिक रुपमा उधिनेको छ। तर यो चित्रले किराती मौलिक संस्कारको सुन्दर रुप बोकेको छ।

यो चित्रमा खुट्टा तान्ने प्रवृत्तिलाई कलात्मक ढंगमा देखाइएको छ। र यो प्रवृत्ति हरेक ठाउँ, वर्ग, जाती, समुदायमा पाइन्छ।

नोटः कलाकार स्वयंले माथिका चित्रहरुमा शिर्षक राखेको भएपनि मैले मेरै अनुरुप यहाँ क्याप्सन राखिदिएको छु। उक्त चित्रकला प्रदर्शनीका कलाकारहरुः अर्जुन खालिङ, किरणकुमार सिगु, धनबहादुर याक्खा, रतनकुमार राई, शान्तकुमार राई, प्रतिमा राई, टेकबीर मुखिया,टीकाबीर राई, टारजंग साङपाङ, पूर्णकुमार राई, सञ्जय बान्तवा, नबेन्द्र लिम्बु, दीपेन्द्र राई, रामकुमार चाम्लिङ, विवेक मुकारुङ, टीकामाया राई, मेखबहादुर लिम्बु, रन्जली राई, नारदमणि हार्तम्छाली, नीरबहादुर याक्खा, सिक्तन राई, बिनिता इजम, लेखबिक्रम राई र हेमसेन जबेगू रहेका छन्।