Friday, May 30, 2008

'Happy Ganatantra' को एसएमएस

गणतन्त्र घोषणा हुनु अघिल्लो दिन, राजतन्त्रको सुर्य अस्तसँगैको गणतन्त्रिक अभिवादन।
Basanta, Asmina and Me at Baneshwor.

अस्तीको दिनको गणतन्त्र उत्सवको ह्याङओभरले राती २ बजेतिर सुतिएको हुनाले हिजो बिहान अबेरसम्म ओछ्यानमा मस्त निद्रामै थिए। मोबाइलको घण्टी बजेको बज्यै भएपछि आँखा नउघारीकनै चुर्मुरीदै मोबाइल ताने टेबलबाट। 'लौ देशमा यत्रो गणतन्त्र भन्ने चीज ल्याएर यत्तिका बेरसम्म सुत्ने?' भन्ने आवाज आयो। कुराकानी सकिएपछि मोबाइलमा हेरेको त राती नै देखि आएको एसएमएसको लाइन थियो। त्यसमाथी सबका सब त्यही गणतन्त्रको शुभकामना अनि बधाई लेखिएको। कुनै साधारण रुपमा लेखिएको। कुनैमा साहित्य मिसिएको। कुनै भने कलात्मक ढाँचामा सजीसजाउ गरेर ठेलिएको एसएमएसहरु। सबै पढ्दै लगे। तर कसैलाई फर्काउने मूड बनाइन।

त्यसमध्ये अन्तिममा ओपन गरेको एसएमएस रमाइलो लाग्यो मलाई। केटा साथीको थियो त्यो एसएमएस। लेखिएको थियो "हाई डियर! प्लीज नरिसाउनु है कसैगरी पनि, धेरै पहिलेदेखि तिमीलाई एउटा कुरा भन्नु थियो, लाखौ पल्ट कोशीस गरे तर असफल भए, भन्ने हिम्मत नै जुटाउन सकिन मैले, अनि बेला पनि घर्केको छैन भन्ने पनि लाग्थ्यो, अब त अति भो, किनकी आज पनि भनिन भने जिन‌्दगीमा कहिल्यै पनि भन्न सक्दिन होला... फेरी अहिले त गणतन्त्र पनि आइसकेको छ।"

बाँकी भाग अर्को पल्टको एसएमएसमा थियो "धेरै मान्छेहरुले गणतन्त्र र संविधानसभाको चुनावसँगै आफ्नो ठुल्ठूला धोको पूरा गरेका छन्। जस्तै गगनले बिहे गरे। प्रकाश सार्वजनिक भए। देशमा गणतन्त्रले हिम्मत दिएको छ अनि मौका पनि। त्यसैले आज जे होला-होला म तिमीलाई भनेरै छाड्छु, I Love, I really and deeply Love............... गणतन्त्र, अनि Happy Ganatantra to you."

यस्तो लाग्दैनः कसैको एकोहोरो मायामा उकुसमुकुस हुँदाहुँदा साहस बटुलेर प्रस्ताव पो राख्दै छ कि क्या हो आफ्नो sweetheart लाई!!!!!!!! Anyway, Happy Ganatantra to all the People, who love/really love and want the ganatantra.

Thursday, May 29, 2008

गणतन्त्र महाउत्सव क्लिपिङ

बानेश्वरको सम्मेलन केन्द्र बाहिर हिजो (जेठ १५ गते)मनाइएको गणतन्त्र महाउत्सवमा घुमघाम गर्दाका केही क्लिपिङस्‌हरुः


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाहिर सतर्क पोजिसनमा तैनाथ प्रहरीहरु।

दिल-दिमागमा बसेको गणातन्त्रात्मक हर्षोउल्लास गालामा अक्षरस उतार्दै।

उत्साहित, बिन्दास अनि स्वतन्त्र हाँसोसाथ 'औपचारिक गणतन्त्र घोषणा'को पर्खाईमा।

गणातन्त्र जिन्दावाद! जिन्दावाद! जिन्दावाद! भन्दै रौसिइरहेका जमात।

सारङ्गी र मादलको धुनसँगै गणातान्त्रिक लोकभाकामा रमाइरहेका समूह।

Young Communist League का साँच्चीकै योङ कमरेडहरु, योङ मात्रै हो र निकै लजालु पनि पो त!

'हामी पनि YCL' यी नानीहरुलाई हेर्दा बुझ्नुपर्ने त्यही त होला नि!

Tuesday, May 27, 2008

साकेलाः एक नजर टुडीखेलतर्फ

बैशाख पुर्णिमाको दिनदेखि शुरु भएको साकेला उभौली पर्वले किरातीहरुमा बेग्लै रौनाक छाएको छ। त्यही रौनकलाई पछ्याउँने क्रममा गत शनिबार (जेठ ११ गते)म पनि पुगेको थिए- काठमाडौको मुटुमा रहेको टुडीखेलमा। जहाँ साकेला पर्वको उल्लासमय बातावरणमा रमाइरहेका थिए किरातीहरु। उम्रेदेखि खुम्रेसम्मका सबैजना भेला भइ रमाइलोसँग चाड मनाइरहेका थिए। त्यहाँ भएका केही क्रियाकलापतर्फ फेरीपनि एक नजर लगाईलिउँ न हामीसबै मिलेर, है त!

भद्रकालीनेरको आकाशे पुलबाट एक नजर लगाउँदा देखिएको दृश्य। लाग्छ कुनै गज्जबको मेला लागिरहेको छ- ठेलमठेल।

किराती संस्कारअनुरुप शिरमा फेटा पहिराएपछि एकअर्कोलाई ढोग्दै। राईहरुको प्रतिनिधि संगठन 'किरात राई यायोक्खा'द्वारा पाका किराती व्यक्तित्वहरुलाई सम्मान स्वरुप बृद्धहरुलाई फेटा र वृद्धाहरुलाई दोसल्ला ओढाइएको थियो।

साकेला लाङसिली (विशेषगरी खुट्टाको चाल र हाउभाउद्वारा नाचिने नाच)को भिडियो खिच्दै।

परम्परागत भेषाभूषा तथा गहनामा साकेला नाच्दै एक महिला। मेरो हेराईमा त बिछट्टै सुन्दर अनि मनमोहक पो देखिन्छिन् त हौ।
तालमा ताल मिलाउँदै। क्यूट बाच्चाले बजाएको ढोलको तालतर्फ ध्यान दिँदै साथ दिँदै गरेको अर्को ढोल बजाउँने युवा र नाच्दै गरेका युवतीहरु।
माहुरीको रानोलाई घेरेझैँ कमरेड प्रचण्डको आगमन हुनासाथ मान्छेहरु एक्कासी झुमिए। सबैजना निकै उत्साहित हुँदै उनीतर्फ बढ्न थाले। उनले ढोल बजाउँदै नाच्दै गर्दाको भीडभाड हो यो।

'प्रचण्डसँग नाच्ने धोको छ, आज नाचिएन भने कहिले पनि पाइदैन' भन्दै युवायुवतीहरु अगाडी बढ्दै थिए। त्यसै क्रममा कसैले खुट्टामा प्वाल पारीनै दिएझैँ नमिठोगरी टेकीदिए। बस्नु न उभिनू, चिच्याउनु न चुप बस्नु भए, अनि सास थुनेर चुपचाप भीड बाहिर निस्के। भीड छेउ निस्केर उभिँदा परम्परागत भेषभूषामा सजिएका ३ जना महिलाहरु एकअर्कोसँग कुराकानी गर्दैगरेका थिए- 'केटाकेटीहरुको बीचमा खुट्टा जोगाउनै साह्रो, यस्तो बेलामा पनि ज्यानमारा जुत्त-चप्पल लगाउछन्'। शुक्रबारको दिन मात्रै एउटा साथीले 'खुट्टा चाहीँ जोगाउनुहोला' भन्ने सल्लाह दिँदाखेरी 'म नाच्ने होइन नि' भनेको कुरा झ्वास्स सम्झिए। तर समग्रमा निकै रमाइलो थियो है।

Wednesday, May 21, 2008

आक्कुई... मेरो कुटीको मेहेनती आलु

एउटा साँच्चीकै कथा लेख्न मन लाग्यो आलुको। लेखौ है त।
काठमाडौको महंगीमा एउटा कोठा काफी छ ज्यानलाई। चुल्होचौका-ओछ्यान-टिभी हर्ने-पढ्ने-पाहूना बस्नेलगायतका all in one झक्कासको कुटी- अलिक अँध्यारो, अलिक साँगुरो, अलिक सेपिलो पाराको। गाँठे हो ! एउटै कोठामा सबै कुरा हुँदा पनि गज्जबै पो त। कुनै कुनै बेला गज्जब नहोला। खैर त्यो त अर्कै कुरा हो।

एउटा किराँतीको बच्चा भएकोले अस्तीको दिन जेठ ६ गते यानि किराँतीहरुको चाड उभौली पर्वको दिन काम गर्न गइन। छुट्टी नै थियो नि त। त्यसको सट्टा साकेला पर्व मनाउन जाने सोच थियो। तर घरमा पाहुनाको आगमनले गइएन। अनि त खानपानको बन्दोबस्त गरे। खानपान भयो। गफगाफ पनि भयो। पाहुना पन्छाइयो। अनि आफ्नो कुटीको कुनाकाँप्चा मजाले सफा गर्ने जोश आयो। लौ न त भनेर शुरु गरे। मैले राखेको सामान मात्रै कुटीमा होला भनेको त फोहोरमैला पनि थुप्रै रहेछ। टिभीको दराज भएको ठाउँबाट दराज सारे। अनि यसो निहुरिए, हातको कुचोसँगै। कलिलो लहरै लहरा पो छ ए गाँठे। हैन क्या हो? म त दंग परे। कुटी अलिक अँध्यारो भनेको थिए नि माथी नै। त्यसैले बत्ती बाले। लहरालाई पछ्याउँदै लाँदा त चाउरी परेको आलु पो फेला पर्यो। हातमा उचाले अनि मजाले हेरे ओल्टाइ पल्टाइकन। सायद मुसाले भोजन गर्न त्यहाँ पुर्याएको थियो कि? विचरा त्यो सिमेन्टीको चिसो सेपिलो भुईमा कत्रो मेहेनतले रहराएछ त्यो आलु। हावा र सेपकै भरमा टुसाएर निकै लामोगरी हिडेछ। त्यो आलुको मेहेनत देख्दा म त दंग परे। ठीक ठाउँमा परेको भए उसको मेहेनत खेर जाने थिएन- उसको लागि पनि हामी खन्चुवा मनुवाको लागि पनि।

केही वर्ष अघि पढेको सिसिपसको कहानी याद आयो मलाई। पहाडको फेदबाट ढुंगा ठेल्दै चुचुरोमा पुर्यायो। ढुंगा गुडुल्केर तलै झरीजाने। तैपनि उसले त्यो काम दोहोर्याउन छाडेन। भएभरको बल गर्दै त्यही काममा तल्लीन रह्यो। त्यही कारणले त सिसिपसको कथा बन्यो। त्यो कथाको अगाडि यो कथा सानै सही तर पनि भरपुर मेहेनत गरेर त्यत्रो लहरायो। मेरै कुटीमा आफ्नो उत्पादन शक्तिलाई खर्च गरीरह्यो। अब के त? त्यत्तिकै फ्याकीदिनु मनले मानेन। अनि त आलुको मेहेनतको थौरैभएपनि कदर गर्दै त्यो कुटीको कुरा यो कुटीमा छिराइदिए। साथीहरु, तपाईहरुपनि हेर्नुस है त्यो मेहेनती आलुको अनुहार। के थाहा, कतै तपाईहरुको दिमागमा पनि कुनै कुराको याद आइ पो हाल्ला कि?


Thursday, May 15, 2008

पुस्तक मेलामा खगेन्द्र संग्रौला अनि The Secret

गत हप्ता(शुक्रबार)देखि काठमाडौँको भृकुटी मण्डप परिसरमा शुरु भएको पुस्तक मेलामा गएर मज्जाले किताब हेर्न र बुताले भ्याए किन्ने धोको थियो। त्यही तलतल मेट्‍न हिजो (बुधबार) त्यहाँ पुगियो। किताब हेर्दै जाँदा मन परेका लेखकका पुस्तक तथा विषयवस्तु थुप्रै भेटिए। तर पैसोले कम बास गर्ने गरेको खल्तीले मारमा पार्छ जहिले पनि।

पुस्तक मेलाको आकर्षणको रुपमा चर्चित लेखक र पाठक आमनेसामने भएर कुरा गर्ने र हस्ताक्षर लिन सकिने चलन राम्रो लाग्यो। जसले पाठक र लेखक दुवैलाई नजिकाउने त छँदैछ। आयोजक तथा बिक्री बितरणकर्ताहरुलाई पनि फाइदै फाइदो रहेछ। दिउँसो ३-४ बजे 'सम्झनाका कुइनेटोहरु'का लेखक खगेन्द्र संग्रौला आउने कुरा निकै नै फैलाइएको थियो। म त्यहाँ पुग्दा ५ बजिसकेको हुनाले भेट्‍ने आशा थिएन। तैपनि त्यहाँ पुग्दा उनी व्यस्त भेटिए। फ्यानहरुले आफ्नो अगाडि हस्ताक्षरको लागि तेर्साएको किताब पल्टाउँदै 'तपाईको शुभनाम के होला' भनी सोध्दै भट्टाभट हस्ताक्षर धस्काउँदै थिए। भलै आफ्नो फ्यानको नाम केही बेरपछि नै पनि याद नहोस्। तर पाठक र लेखक दुवैको नामसहित हस्ताक्षर गरी पाठकहरुको मन फुरुङ्ग पारेको चाहि मन पर्‍यो यो ज्यानलाई। आखिर म पनि उनको लेखाई र साधारण व्यक्तित्वप्रति झुकाव राख्ने एउटा फ्यानै हुँ।
लेखक खगेन्द्र संग्रौला आफ्नो महिला फ्यानको लागि हस्ताक्षर गर्दै ।
उनको आफ्नै पुस्तक 'सम्झनाका कुइनेटोहरु'मा हस्ताक्षर गर्दै।
फ्यानसँग सतर्क पोजमा फोटो खिचाउँदै।

स्टलहरुमा किताब हेर्दै जाँदा मेरो आँखा एउटा किताबमा पुग्यो। हातमा लिएर नियालेर हेरे। त्यसै त्यसै त्यो किताबमा दिल बस्यो मेरो। भित्र के छ भन्ने थाहा पाउने हुट्हुटी लाग्यो। स्टल मालिकसँग सोधे। 'त्यसको नामै छ- The Secret। खोल्न मिल्दैन यो त'भन्ने जवाफ आयो। दाम पनि अलिक बेसी नै भएकोले म रनभुल्लमा परे । किताब जति हेर्छु उत्ति राम्रो लाग्छ । अनि त्यसको कलात्मक लेआउटले पनि मन तान्यो । त्यो किताब यस्तो देखिन्छ । अँग्रेजी साहित्यका पाठकहरुको लागि यो पुस्तक नयाँ भने होइन। यसलाई पल्टाएर पछाडीको भागमा सबैभन्दा माथि लेखिएको शब्द पढे। त्यहाँ लेखिएको थियो यस्तो-
You hold in your hands a great secret...

अब त्यस्तो गोप्य कुरा हातमा लिएपछि मनमा कौतुहलता लाग्नु अस्वभाविक होइन सायद। जे होस् मलाई किताबको भित्री अनि बाहिरी दुबै रुप मन पर्यो। त्यसको लागि मेरा एकजना साथीलाई धन्यवाद। धन्यवाद केका लागि? अनि पुस्तक औद्यी मन किन पर्यो त? it's still top secret...

Sunday, May 11, 2008

परदेशी दाजुसँग Roman मा च्याट

हामी हुर्किदै जाँदैछौँ । पाको हुँदै जाँदैछौँ । र तीब्र गतिमा विज्ञान र टेक्नोलोजीको प्रभुत्व बढ्‍दै गइरहेको छ । नेपालमा पनि यसको प्रभाव निकै नै छ । त्यसको प्रभावबारेमा ठूलै छलफल र कुराकानी गर्न सकिन्छ । अहिलेलाई भने म इन्टरनेटको सुविधामध्येकै एउटा सुविधाको कुरा कोट्‍याउँदैछु । जसले सात समुन्द्र पारी रहेको मान्छेसँग नजिकिएको महशुश गराउनुको साथै शब्द र भावना साट्न सजिलो बनाइदिएको छ ।

वर्षादिन भन्दा धेर भयो परेदेशी दाजु कमाउन खाडी मुलुक गएको। परदेशी दाजु हप्ता या पन्ध्र दिनमा एकचोटि शुक्रबारको दिन पारेर अनलाइन बस्छन्। अनि म पनि समय मिलाएर अनलाईन बस्छु। हाम्रो Roman chat शुरु हुन्छ कुशलमंगलको खोजखबरबाट: 'Sanchai 6ou?'। मनले सम्झेको जति सबैको बारेमा हालखबर सोधीसक्छन्। तर आफूले चाहि आफ्नो बारेमा भन्नै बिर्सन्छन् । सायद परदेशमा एक्लिएको महशुश गर्दागर्दा विस्फोट भएको आत्मीयताको स्वरुप होला । एकोहोरो जवाफ दिँदादिँदा 'tapaiko k 6?' भन्ने प्रश्न गर्नु भन्दा पनि एकैचोटि सबैलाई समेट्‍ने गरी भन्नु ठीक भनेर 'aafno barema chahi kehi navanne?' भन्छु। 'kura sodda soddai maile ta birse6u'भन्ने स्वभाविक उत्तर आउँछ । सन्चोविसन्चोको कुराकानी सकिएपछि कामकाजको कुरा सोध्छु ।

'hami jastole garne kam ta tyahi ta ho ni 'kully'. garmi huna thalyo aba 10sa suru vayo'। गर्मीको प्रसङ्गमा भन्छु 'AC nai AC hu6ni re ni haina ra?'। बाध्यता पोख्छन् परदेशी दाजूः'bahira kam parda k ko AC? maruvumima AC ta hamro jiyan po hu6a ta. Nepalko jasto prakritik hawa kaha paunu ra yaha'। हुन पनि हो नेपालको हावापानी अरु देशमा कहाँ पाउनु । त्यसमाथि खाडी राष्ट्रमा जानेहरुको कुरा सुन्दा त उड्‍दै गरेको चरा गर्मीले प्याट्‍ट प्याट्‍ट भुइँमा खस्छ रे ।

कुरा गर्दागर्दै ऋणको प्रसङ्ग निकाल्छुः 'aba kati rin baki 6a?'। '3 vagma 2 vag. rinko byagle po garnu gareko 6a ta'। डलरको भाउ घटेकोले पनि निकै असर गरेको छ अहिले । परदेशी दाजु पनि त्यसको मर्का पोख्छन्: '$ko vau ghatera jhan saro pareko 6a ni'। आफ्नो भनेको आफ्नै हो भन्ने भित्रैदेखि महशुश गर्दै परदेशमा बसीराखेका दाजु नेपालको आश नगरीकन राम्रो विकल्पको आश गर्दै अगाडि लेख्छन्: 'rin tirisakepa6i ta ma farkihal6u. ani alik ramro thau khojera feri jan6u. nepalma basera ta k garnu ra, afu 1klai lai ta pugdaina tyahako kamaile'।

यत्तिकैमा नेपालको राजनीतिक परिवर्तनप्रति आशा गर्दै सोध्छन् परेदशी दाजु:'aba ta nepalma hamijastako pani din aaula ni'। 'aasha ganra sakin6a' भन्छु म । परदेशी दाजु सिधै दरबारतिर सोझिन्छन्: 'maila dai ko altimatam k hudai6a? aba usko ta miti pugnu parne haina ra?'। म भन्छु: 'pahilo baithak nai baseko 6aina'। सायद उनले आशा गरेका थिएनन् यस्तो कुरा, त्यसैले भन्छन्: 'lau chunab sakiyeko 21 din vayena ra?'।

म आफैसँग बोल्छु "दिन गन्दा त कहाँ नहुनु र दाजै तर निर्वाचन आयोगले घोषणा गरेको दिनदेखि पो २१ दिन हुनुपर्‍यो त । जितेर आएकाहरुबीच छलफल र सहकार्य हुनुपर्‍यो नि । कहाँ त्यत्ति सजिलो छ र ।" राजनीति विषय टुङ्‍ग्याउने हिसाबले म जवाफ दिन्छु: 'Nepali time vanne 6a ni vanai, tyastai ho kiya yo pani, aba jethko bichma pahile baithak bas6an hola'।

यस्तै यस्तै अनुभूति, बाध्यता र आशाको कुराकानी पछि रिफ्रेसमेन्टको कुराकानी गर्छन् परदेशी दाजु: 'sunko vau ghatdai rahe6a aba mero B-he hun6a jasto 6a'। मेरो हाँसो छुट्‍छ। हास्ने समय लिन र थाहा दिन टाइप गर्छु: 'hahahaha....', 'Sunko vausanga tapaiko B-heko k sambandha haou'। फेरी टाइप गरेर ठेल्छु: 'malai ta 1 chimti sindur vaye pug6a van6a geet po yaad aayo'। फटाफट टाइप गर्छन् उताबाट दाजु: 'tyo ta geet matrai ho. realma ta kaha tyasto hun6a ra gathe', 'ali ali ta sun kinnai paryo ni ta'। अझै जिस्काउँदै भन्छु: 'khai kati man6ele tyatikai B-he garekai 6an ta'।

परदेशी दाजुको जवाफ आउँछ: 'kura alik beglai 6a kiya. behuli arkai jaatko hun6a jasto 6, ani sun-chadi pani alik ruchaune', 'tyasaile ma fase ki kiya ho? hahahaha...'। कुराको बिट मार्दै म भन्छु: 'la dajai ekdam thik 6 hai- samabesi khalko hunu par6a. teeth tikhardai garoula hai'। परदेशी दाजु पनि सहमतिमा कुरा सकाउँछन्:'la la, aba b4 gardai6u'।

भेट्दै गर्ने वाचाका साथ अफलाइन हुन्छौ हामी । जय इन्टरनेट ।

Thursday, May 08, 2008

Real or Creative art?

This is a mysterious tree in Nalgonda, Andra Pradesh of India. Come to close and get the look.






Monday, May 05, 2008

आमाको मुख हेर्न किनमेल गर्नैपर्ला त ?

हिजो एफएममा सुनेथे, राती २-४ बजे उल्का वर्षा हुने भन्ने । उठेर हेर्नु पर्ला भन्ने योजना पनि बनाए । तर आफूलाई कसले सुतीदेओस् । बहानाकै लागि भएपनि भनौँ न है: फेरी यो शहरको प्रदुर्षणले आकाशका तारा पनि राम्ररी देख्नै सकिदैन । गाउँघरमा कति छर्लङ्ग देखिन्थ्यो । एकाविहानै मोवाइल भन्ने जिनिस घ्यार घ्यार कन्न थाल्यो । अनि पो झसङ्ग भएर ब्यिझिएँ । एफएम खोले । उल्का वर्षा त अस्ताएछ, आमाको मुख हेर्न दिन उदाएछ । आहा ... आमा शब्द आफैमा कत्ति सुन्दर लाग्छ मलाई ।

हिन्दु संस्कृतिको महत्व र चलनचल्तीका धेरै कुरा काठमाडौँ पसेपछि पो मैले देख्न पाए, भोग्न पाए । आमा हुने र नहुने दुवैको लागि आजको दिन महत्वपूर्ण मानिदो रहेछ । आमा नहुनेहरु मातातीर्थमा गएर पूजाआजा गर्ने गर्दारहेछन् । मातातीर्थ औँसीको सन्दर्भमा केही लेखौँ- श्री रामको बनबासको समयमा सीता र राम जंगलमा हिड्‍दै थिए । सीतालाई धेरै नै प्यास लाग्यो । वरपर कतैपनि पानी नभेटिएको हुँदा गंगामाताको जप गर्दै रामले वाण हानेछन् । वाण हानेको ठाउँबाट पानी निस्कियो र सीताको प्यास मेटियो । त्यही पानीबाट पोखरी बन्यो । एकदिन त्यही पोखरीको छेउमा सबेर गोठाला खाजा खाने तयारीमा लागे । मुखमा हाल्न लागेको खाजा पोखरीमा खस्थ्यो । त्यही क्रम २, ३ पल्टसम्म दोहोरिएपछि गोठालाले पोखरीमा नियाले । पोखरीमा आफ्नो मरेकी आमाको साक्षात स्वरुप देखेपछि सँगै बसेर मिलेर खाजा खाए । खाइसकेपछि गोठालोलाई आमासँग छुट्टिन गाह्रो भयो । 'हरेक सालको वैशाख औँसीमा म यहि आउँछु' भनी आमाले वाचा गरेपछि गोठालो आफ्नो बाटो लाग्यो । यहि कुरा फैलिदै गएपछि वैशाखै औँसीमा आफ्नो आमालाई भेट्‍नेहरुको घुइँचो लाग्न थाल्यो । केही समयपछि एक महिलाले आफ्नो आमाप्रति माया र प्रगाढ राख्दै त्यही पोखरीमा हाम फाले । त्यसपछि त्यहाँ आमाका साक्षात स्वरुप देखिन छाड्‍यो । स्मरण रहोस्, त्यही ठाउँ मातातीर्थको नामले परिचित छ अहिले । र त्यहाँ चडाइएको बस्तु सिधै मृत आमाले पाउने मान्यता यद्यपि टुटेको छैन ।

अब लागौँ अहिलेको आधुनिक दुनियाँमा । आमाको मुख हेर्दा अनेकौँ सरसामान, गरगहना-आभुषाण लगायतका अनेकवली दिनुपर्ने चलन त हैसियत र इच्छा अनुसार ठिकै हो । तर देखासिखीमा परेर खर्च गर्नु, सरसामान र त्यसको मूल्यसँग तौलिएर हैसियत मापन गर्नु, आफूसँग नभइ नभइ पनि तडकभडक गर्नु त ठीक नहोला । जुनसुकै चाडपर्वमा पनि यस्तो चलन देखिन्छ । कम बेसीको फरक मात्रै छ ।

यही कुरामा म एउटा घटना जोडीहाल्छु । हिजो मात्रै एकजना साथी मसँग पैसा सापटी माग्न आए । के को लागि भन्ने प्रश्नमा उनले भनिन्- आज किनमेलमा जानुपर्ने, पैसा अपुग छ त्यसैले । खास कुरा के भने । उनको दिदीले ४००० को बुट्टे सारी किनिछन् आमाको मुख हेर्नलाई । उनीसँग त्यत्ति पैसा खल्तीमा थिएन । दिदीको भन्दा कम रकमको दिँदा लाज हुने, आमाको नजरमा सानो भइने डर र मानसिकताको कारण उनलाई फसाद पर्‍यो । अड्‍कलमा ४००० हजार बराबर या त्यो भन्दा बढीको सारी, अन्य फलफूल तथा मिठाई गर्दा त खर्च निकै हुने भो । नयाँ जमानामा आमाप्रतिको माया र सदभाव दर्शाउने यस्तो परिपाटीलाई खै के भन्ने ? आमाप्रतिको आदर, सद्‍भाव र माया दर्शाउनलाई अपनाइएको यो बाटो मलाई भने अलिक पचेन । आखिर पैसा र सरसामानको मूल्यले निर्धारण गर्ने त हैन नै आमा र सन्तानबीचको आत्मीयतालाई ।

वर्षको १ दिन दिशा पातलो जानेगरी खुवाउनु, घरपरिवारका दिदीबहिनी तथा दाजुभाईसँग सकीनसकी प्रतिस्पर्धा गर्दै सरसामान किनेर थुपार्नुकै लागि मात्रै यो परम्पराको थालनी भएको होला त ? कतिपयको घरमा पुरै परिवार भेला भएको अवसर हुन्छ आजको दिन । तैपनि एकअर्काका दु:खसुख र मनका भावना साटासाट गर्नुको सट्टा फलानाले यत्ति जाने चीज दियो, ढिस्कानाले यत्ति पर्ने वस्तु दियो आमालाई भन्दैमा दिन जाने गरेको पनि देखेकी छु । यद्यपि सबैको घरमा यस्तो भने हुँदैन । कुनैपनि आमाले गरगहना र चीजबीचसँगै आफ्नो सन्तानप्रतिको अमूल्य माया र ममतालाई घटबढ त गर्दिनन् नै । हामी किन महत्वहीन कुरालाई नै बढी महत्व दिन्छौँ आखिर ? के हरेक ठाउँमा धन र सम्मानलाई मुछ्‍नै पर्छ र ?

वरपरको यस्तैयस्तै माहोलमा, खासगरी आजको दिनमा मञ्जुलको शब्द अनि सुनिता सुब्बाको स्वरमा रहेको गीत दिमागमा घुमिरहन्छः

मेरी आमाले कुट्‍ने ढिकी
मेरी आमाले पिध्ने जाँतो
जब सम्झिन्छु तब पल्टिन्छ
मेरै परिवारको पुस्तकको पाटो

Sunday, May 04, 2008

पत्रकार महासंघमा नयाँ नेतृत्व चयन

आज विहानैदेखि सिमसिमे पानीको शीतल मौसमसँगै पत्रकार महासंघको चुनावी वातावरण रन्कियो। हुन त यसबारे सबैलाई थाहै छ। तैपनि मलाई मेरो डायरीमा अलिकति कुरा कोट्याउन मन लाग्यो। लेखु लेखु लाग्यो।

हिजोको टन्टलापुर घामसँगै प्रेस स्वतन्त्रता दिवसको शुरुआत भएको थियो- प्रभातफेरी कार्यक्रमसँगै। जसमा मिडियामा कुनै न कुनै हिसाबले संलग्न भएका व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो। जसको मूल नारा "स्वतन्त्र प्रेस, मौलिक अधिकारको सम्मान" रहेको थियो। हिजोको प्रेस स्वतन्त्रता दिवसको चहलपहलसँगै नेपाल पत्रकार महासंघको चुनावी माहौल पनि तात्तिन पुग्यो। र, 'लोकतन्त्रको आधारः सुरक्षित पत्रकार' भन्ने मूल नाराका साथ नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २२औँ महाधिवेशन शुरु भयो।

यो चुनाव भन्ने नाम लाग्नासाथ जुनसुकै चुनाव होस्, जहाँसुकैको चुनाव होस् लफडा ननिस्किकन त सम्पन्नै हुँदैन गाँठे हो। आर्थिक प्रतिवेदनमा देखिएको अनियमितता र अपारदर्शिताको कारणले विहानैदेखि हुने भनिएको मतदान केही समय रोकिन पुग्यो। जहाँपनि यो अर्थकै चलखेल। हत्तेरीका ! यो अर्थको मामिला साह्रै अचम्मको। धेरैजसो किचलो र झमेलाको जड प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अर्थसँगै गाँसिएको हुन्छ। हुन त हिजोको कान्तिपुरमा पनि पढ्‍न पाइएको थियो यससम्बन्धी। स‌विधान सभाको चुनाव त मजाले सम्पन्न भएको देशमा यो चुनाव रोकिने कुरा हुँदैभएन नि। त्यसैले त केही समय रोकिएपनि अहिले धमाधम मतदान चल्दैछ। साँझसम्म त परिणाम पनि आइहाल्छ पो ।

मतदानका लागि लाइनमा उभिएका खोटाङका जिल्ला सभापतिसँग फोनमा कुराकानी गर्दा थाहा पाइयो- उम्मेदवारीको मैदानमा महिला, जनजाति, दलित पनि उल्लेख्य संख्यामा उत्रिएका छन् रे। महिला, जनजाति तथा दलितहरुको उम्मेदवारी पर्नु राम्रो हो नि। तर केन्द्रीय सदस्यको लागि मात्रै पो त्यत्तिका धेरै उम्मेदवारी। यो कुरामा उनको पनि सहमति थियो। त्यो भन्दा माथिल्लो पद (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत)मा त सिर्फ एकजना महिला 'बीउ' स्वरुप उभिएकी छिन् महासचिव पदमा उम्मेदवारी दिएर। उनले जितुन् भन्ने शुभकामना । तर उनको उम्मेदवारी जित्नलाई हो या कसैलाई हराउनलाई मात्रै हो कुन्नी। त्यो भने भित्री कुरो हो फेरी। जे भएपनि महिलाको प्रतिनिधित्व त हुनेपर्यो नि ।

मुख्य मुख्य पदमा रहँदैआएका र अहिलेको पाली पनि माथिल्लो पदमा भिडन्तमा उत्रिएकाहरुमा विविध जातिको अनुहारै देखिँदैन त हौँ। तर भोट हाल्ने ठाउँमा विविध जातजाति, समुदाय, वर्ग तथा लिङ्ग सामेल छन्। फेरीपनि आशा त छ प्रशस्तै। केन्द्रिय सदस्यको रुपमा महिला, जनजाति, दलित, मधेसी चुनिए भने अर्कोपाली त माथिल्लो तहमा पनि कसो समावेशी नहोला। हैन र?

Friday, May 02, 2008

मे १: श्रमिक वर्गसँग डराउनुपर्दैन

धनीका महलका लागि गरिबको धुरन्धुर श्रम

अनुमान लगाउन मन पर्‍यो कि तस्बीरमा देखिएका मध्ये कतिलाई श्रमिक दिवस र श्रमिक अधिकारबारे जानकारी छ ? मेरो विचारमा धेरैजसोलाई थाहा छैन। किनकी उनीहरु विहान वेलुका हातमुख जोड्‍ने र आफ्ना परिवार कसरी पाल्ने भन्ने सोच र ध्यानभन्दा बाहिर निस्कन सकेका छैनन्।

कार्ल मार्क्सले भनेका थिए: यो समाजमा एक न एक दिन हुनेखानेका दिन ढल्नेछ र सर्वहारा वर्गको जित र राज चल्नेछ। मार्क्सको यहि कथनलाई नेपाली समाजमा टिपेर राख्ने हो भने सत्य सावित हुन बाँकी नै छ। तर यसको शुरुआत हुन लागेको हो कि भन्ने कुराको संकेत कता कता भएझैँ लाग्छ मलाई। हुन त अधिकारको कुरामा आशा हैन आन्दोलित र सचेत हुनुपर्छ भनिन्छ। तैपनि आशाको मुना पलाउने वातावरण निर्माण हुनु पनि एक कदम अगाडि पुग्नु सरह नै हो। सबैको मनमा पलाएको त्यो आशा कत्तिको साँचो हुन्छ कुन्नी ? केही समयमै त्यसको लक्षणहरु देखा पर्नेछ।

१८८६ मा अमेरिकाको सिकागोबाट मजदुरहरुले शुरु गरेका आन्दोलनकै विस्तार रुप हो मे १ अर्थात् विश्व श्रमिक दिवस। हरेक सालको श्रमिक दिवसमा झैँ आज पनि नेपाल ट्रेड युनियन र अन्य श्रमिक संघसंगठनको अगुवाइमा र्‍याली तथा सभालगायतका कार्यक्रमहरु भए। तर अन्य वर्षको कार्यक्रमभन्दा यो बर्ष केही बेग्दै महत्व बोकेको छ। श्रमिक वर्गकै राष्ट्र नेपालमा संविधानसभाको सभासद छान्ने चुनाव भर्खरै सकिएको छ। त्यसैको मौका छोपेर विभिन्न राजनैतिक दलका व्यक्तित्वहरुले चुनावमा सहभागी भएवापत श्रमिक वर्गलाई धन्यवाद दिए। साथै उनीहरुको हक हितका लागि संविधानमा नीति निर्माण गरिने कुरामा समेत जोड दिए। हुन त श्रमिक वर्गकै व्यक्तिहरु पनि संविधान सभासदको स्थानमा पुग्न सफल भएका छन्। साथै समानुपातिकको कोटाबाट पनि अरु थप पुग्ने कुरा निश्चित छ। धेरै संख्यामा श्रमिक वर्गकै व्यक्तिहरु आफ्नो लागि आफै संविधान निर्माण गर्ने भएका छन्। श्रमिक वर्गको यो कदमबाट अरु डराउने पो हुन कि भनेर पनि हुनसक्छ कृष्ण महराले आज, ११९ औँ विश्व श्रमिक दिवसको अवसरमा भने: श्रमिक वर्गसँग कसैलाई डराउनुपर्ने जरुरी छैन।