Showing posts with label घुमघाम. Show all posts
Showing posts with label घुमघाम. Show all posts

Wednesday, April 21, 2010

कोदास्की, गुराँस र हिउँसँग कालिञ्चोकमा नयाँ वर्ष

वैशाखको याम, तैपनि तुवाँलो र कुहिरोको मुस्लो। प्राय तुवाँलो र कुहिरोभित्रै ढाकिएर बस्ने गौरीशंकर, कालिञ्चोक डाँडा अनि त्यहाँबाट देखिने ठाउँहरु। मनमोहक दृश्यहरु। हिम शृंखलासँग नजिकिने, मनमोजी भएर प्राकृतिक सुन्दरतासँग ओद्यी रम्ने धोको अधुरै रहने हो कि भन्ने आशंका थियो मनमा। मंसीरदेखि माघसम्म हिउँले ढाकिने ३,८४२ मिटर उचाईमा रहेको कालिञ्चोक डाँडो, कुरी भञ्याङ, घ्याङ डाडो र अन्य थुम्काहरुमा माघयता हिमपात परेको थिएन। संयोग, चैत मसान्त र नयाँ वर्ष थालनीको संयुक्त रात गडगडाएर असिना-पानी पर्यो। त्यो रात हामी चरिकोट बजारमा थियौँ। तुवाँलो र कुहिरो हट्यो। हामी पुग्ने गन्तव्य स्थल चिमालले सेतै थियो। हिउँले ढाकेर थप सेताम्मे र मोहक भयो। बुर्कुसी मारेर उत्ति नै खेर हिउ खेल्न पुगौँ भन्ने मन भो। (कालिञ्चोक भगवतिको आँगनमा हाम्रो समूह - १ जना फोटो खिच्ने साथी छुटेको छ)।

वैशाख १ गते गन्तव्यमा पुग्न उकालो लागियो एकाविहानै। डाँडैडाडा, भीरपाखाहरु, लेकाली वनस्पति। बनपाखाभरी लाली गुराँस। उचाई बढ्दै गएपछि सेतै फुलेका चिमाल। सेतो पहिरनमा आफूलाई सजाएर प्रकृतिले हामीलाई पाइला चाल्न लोभ्याइरहेका थिए। जति उकालो लाग्यो, उति नै अग्ला गगनचुम्बी डाँडा अघिल्तिर नै उभिन पुगिन्छ। पार गर्ने डाँडाहरुको शृंखला नसकिए पनि जति माथि चढ्यो उति नै रमाइलो। प्रकृतिको वास्तविक र सुन्दर छटाहरुका लोभलाग्दो दृश्यलाई मनभरी अंकमाल गर्दै, तिनको सुगन्धको मजा लिदै तीब्र श्वासप्रश्वास र मिठो थकानसँगै उकालो लागिरहृयौँ हाम्रो समूह। हाम्रो समूहमा ६ वर्षकी प्राष्टा पनि थिइन्। प्रत्येक अग्लो डाँडाको शीरमा उभिन पुग्दा एउटा बेग्लै उचाई छोएको अनुभूतिले पुन उकालो चढ्ने उर्जा दिइरहृयो। ती डाँडाहरुमाथि उभिएर हेर्दा एकाविहानै कुहिरोको घुम्टो खोलेर कुमारी गौरीशंकर हिमाल आडैमा उभिएर मुस्काउँदै स्वागत गरिरहेझैँ लाग्थ्यो।
(चरिकोटबाट देखिएको कुहिरोको घुम्टोबाट बाहिर निस्केर निष्फिक्री हाँसेको गौरीशंकर हिमाल)।

अधिकांश डाँडाहरु आफू सामुन्ने आफ्नै उचाईमा उभिएझैँ देखिए। तन केही थाकेझैँ भएपनि मन त त्यसै फुरुङ्ग। त्यहीमाथि प्राष्टाको फुर्ति, त्यो नाकै ठोक्किने उकालो र मुटु चिसो हुने भिरालोमा पनि आफ्नो आमा बाबुभन्दा कुशलतापूर्वक हिडीदिँदा हामीलाई थप उर्जा मिल्यो। उनलाई न लेक लाग्यो न थकान लाग्यो। न खुट्टा दुख्यो। केही बेर गले भनेर बिसाए पछि पुनः उस्तैगरी फूर्ति जागेको देख्दा हामीलाई पनि थप जोश आउँथ्यो।
(फायर क्याम्प गरेपछि प्राष्टासँग रमाउँदै)।

चरिकोटबाट उकालो लागेपछि प्राकृतिक दृश्यावलोकन र रसापन त छँदैछ। त्यसको साथमा देउराली, थाङसा, गैरी, कुरी भञ्याङलगायतका बिसाउनीहरुमा कोदास्कीको स्वाद लिँदै केही साथीहरु जोशिइरहे। कोदोको रक्सी र आधुनिक हृवीस्कीको नामबाट फ्युजन गरेर साथीहरुले स्थानीय कोदोको रक्सीको न्वारान त्यसरी गरे। 'चुरोटले खाइमारेको फोक्सोलाई कोदास्कीको टेको लाएर उकालो चढ्ने हो नि' जस्ता वहाना बनाउँदै कोदास्कीको घुट्को लिए साथीहरुले। हामीले बाटोमा चाहिने सबै सामानहरु बोकेका थियौँ- मिस्री, चक्लेट, लसुन, बिस्कुट, ग्लुकोज, काजु, बदाम, पानी पर्दा ओढ्ने प्लाष्टिकको घुम, छोकडा आदि। त्यसको अलावा काठमाडौँ उपत्यकाको हावापानी, प्रदुषण, अस्तव्यस्त दिनचर्याबाट मुक्त हुँदै कालिञ्चोकतर्फलाग्दा कोदास्की, लोकल कुखुराको मासु, चौरीको दुध र छुर्पीले पनि यात्राको मिठास थप्यो। चिसो मौसममा अखबरे/डल्ले खुर्सानीकोको स्वादमा तात्तातो थुक्पा। त्यस्तैगरी ढिडो, आलु र अन्य दुग्धजन्य परिकारको स्वाद। आहा ! मुखैमा झुण्डिरहने स्वाद। बाटो आसपास पहेलो पाकेको ऐँसेलुको स्वाद पनि धेरै पनि लिन पाइयो। (आहा ऐँसेलु !)

केही थकान र धेरै उत्साहसँगै कालिञ्चोक भगवतीको डाँडो फेदैमा रहेको फलामे गौँडामा पुग्यौँ हामी। त्यहाँबाट हेर्दा कालिञ्चोक डाँडाबाहेक अरु सबै फुच्चाफुच्ची देखिन थाल्यो। फलामे गौडासँगै रहेको कुरीमा बास बस्ने योजनाअनुरुप हामी त्यहाँ पुग्यौँ। नयाँ वर्षर जनै पूणिर्मामा कालिञ्चोकको विशेष पूजाआजा गरिने हुनाले बास बस्ने थलोहरुमा मान्छेको घुइँचो थियो। त्यही घुइँचोमा हामीपनि मिसियौँ। एकातिर थामी जातिको परम्परागत नाचगान/साँस्कृतिक झाँकी थियो। अर्कोतिर कुरी भञ्याङका पसले र तीर्थालुहरु तामाङ सेलो र आधुनिक गीतको तालमा महिला-पुरुष सालाखाला नाच्दा कुरी भञ्याङ रातैभरी घन्कियो। हामी भने लोकल कुखुराको मासुसँग टन्न खाना खायौ। र चौरीको दुध खाएर सुस्तायौँ। तन सुतेको थियो। मन र कान चाहिँ सुतेन। (कुरी भञ्याङबाट उकालो लागेपछि कालिञ्चोक चुचुरोमा टेक्दै गरेका यात्रुका लस्कर)।

भोलिपल्ट विहानै कुरी भञ्याङबाट कालिञ्चोकको डाँडो उक्लिने लस्कर लाग्यो। त्यही लस्करमा थियौँ हामी पनि। नाकै ठोक्किने उकालो, बाक्लो कुहिरोको, भुइभुइबाटै छुन सकिने श्वेत चिमाल, पाखा नाङ्गो देखिने तर भुइभरी थरीथरीका रंगीचंगी फुल बुट्टा। गन्तव्यमा पुग्नै लाग्दा हाम्रो समूहका दुइ साथीलाई लेक लाग्यो। लेक लाग्दा गर्नुपर्ने सामान्य उपचार गर्दै जसोतसो चुचुरोमा पुग्यौँ हामी। (कालिञ्चोक भगवतिको मन्दिरमा रहेको खाल्डो, जहाँ बाह्रैमास पानी सुक्दैन)।

किंवदन्तीअनुसार तीन दिदीबहिनीमध्ये सबैले पुज्ने ठाउँ रोज्ने महांकाल भगवति, अर्को, त्रिपुरासुन्दरी भगवति, र कसैले नभेट्ने ठाउँ रोज्ने देवी कालिञ्चोक भगवति हुन्। साँच्चै त्यहाँ पुगेपछि कसैले नभेट्ने ठाउँ नै रोजेकी रहिछन् ती भगवतिले भन्ने लाग्यो। तर अचम्मको कुरा कसैले नभेट्ने भनेर हिडेकी देवीकै खातिर त्यत्रो भीड लागेको थियो र प्राय लाग्ने गर्छ। कालिञ्चोक भगवतिमा पाठी बली चढाइदो रहेछ। त्रिपुरासुन्दरीलाई कसैले पनि हेर्न नहुने मान्यता र विश्वास गरिन्छ भने महांकाल भगवतिलाई सामान्य रुपमा पूजाआजा गरिदै आइएको छ। यी दुबै भगवति दोलखा बजार आसपास नै छन्। दोलखा भिमसेनको दर्शनमा जाँदाखेरी त्रिपुरासुन्दरी भगवतिको मन्दिर पनि जाने जिद्द गरे। त्यसो त मेरै जिद्दले आसपासका ओढार, गुफा, ढिस्कादेखि ढुंगाहरु समेत चाहारियो। (त्रिपुरासुन्दरी भगवतिको मन्दिर, जहाँ भगवतिको दर्शन गरिएमा रगत छादेर मरिने किंवदन्ती छ। र यहाँ बली दिइएमा यो घरभन्दा बाहिर निकाल्न नहुने, परिवारजनबाहेक अरुले प्रसाद खान नहुने हुनाले यो घरको भुइतलामा खाने र बाँकी रहेको भित्रै गाँड्ने गरिन्छ। माथिल्लो तलामा भने भगवतिलाई थुनेर राखिएको विश्वास गरिन्छ)।

कालिञ्चोक डाँडामा उभिदा कुहिरोसँग गज्जबको लुकामारी चल्यो। एकनजर हेर्न नभ्याउँदै दृश्यहरुलाई कुहिरोले छोप्थ्यो। अनि एकैछिनलाई कुहिरो हट्थ्यो। त्यो उचाइमा खेलेको लुकामारी र हिउँसँगको सामीप्यताले उकालो चढ्दाखेरीको सबै अप्ठ्यारा पनि कत्ति मिठो लाग्यो। अझ चुचुरोबाट गौरीशंकर, सगरमाथा, रोल्वालिङ हिमशृंखलाका साथै अनगिन्ती हिमालहरु देख्दा कस्को मन नरमाउँला? लुकामारी खेल्दाखेल्दै डाँडाबाट वरपर हेर्दा उन्मादका साथ मिलेर बसेको भीर पहरा, चौर/नागीहरु हेर्दाको बेग्लै मज्जा। चुचुरोदेखि फर्कदा नागीमा बसेर फायर क्याम्पको मजा समेत लिन चुकेनौ हामी। त्यो उकालो, त्यो थकान, त्यो दुखाई सबै एकपलमा कहाँ बिलायो कहाँ। ओहो ! मान्छेको थकान, पीर, चिन्ता भगाउने प्रकृतिमा कत्रो शक्ति। आफूभित्रै इन्द्रधनुषी चमात्कार सँगाल्ने कत्रो सामिप्यता। कालिञ्चोक चुचुरोबाट फर्केर यी पाइलाहरु ओरालो लागे। तर मन भने त्यही चुचुरोमा, त्यहीका दृश्य र वातावरणमा अडिइरहृयो। नयाँ वर्षको अवसर पारेर कालिञ्चोकको यात्रा गर्दाको आनन्द यी शब्दहरुमा कहाँ र ? तर यसो हेर्दा त्यहाँका बनजंगल बिस्तारै मासिदै गएको देख्दा भने मनमा चिसो पस्यो।
(कालिञ्चोक चुचुरोबाट देखिने हिमदृश्य)

Wednesday, December 31, 2008

नयाँ वर्षमा नाम्चि महोत्सव घुमौ है

दक्षिण सिक्किमस्थित नाम्चिमा १६-१८ डिसेम्बरमा भएको सांस्कृतिक तथा पर्यटकीय महोत्सबका केही दृश्यहरुद्वारा नयाँ वर्ष मनाउँने चाँजोपाँजो मिलाइदिनु भएको छ- दाजु रमेश राईले। नयाँ वर्ष २००९ को उपहार भनौ या शुभकामनास्वरुप उहाँले जानकारीसहित तस्बीरहरु कुटी र कुटीका आगन्तुकलाई दिनुभएको छ। हामी पनि उतै लागौँ भन्ने मेरो आग्रह छ। र, कुटीमा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई नयाँ वर्ष २००९ को उपलक्ष्यमा मनभरिको शुभकामना।

सामान्य जानकारी
खासगरी सिक्किममा ३ किसिमका जातीय समुदायहरु बसोबास गर्छन्- नेपाली, भुटिया र लेप्चा। भुटिया र लेप्चाबाहेक अन्य नेपाली मूलका जातजातीहरु (राई, गुरुङ, मगर, बाहुन, क्षेत्रीलगायत)'नेपाली' समूहमा पर्दछन्। त्यहाँको जनसंख्यालाई मोटामोटी ४ वटा समूहमा बाँडिएको छ।
a. अनुसूचित आदिवासी (Schedule Tribe)
b. अनुसूचित जाती (Schedule Caste)
c. अति पिछडिएका वर्ग (Most Backward Class- MBC)
d. अन्य पिछडिएका वर्ग (Other Backward Class- OBC)

माथिको अनुसूचित आदिवासी समूहमा 'भुटिया' र 'लेप्चा' पर्छन् भने अन्य ३ समूहमा 'नेपाली' पर्दछन्। भर्खरै लिम्बु र तामाङ जातीलाई भारतीय संविधानले 'अनुसूचित आदिवासी' (ST)मा समावेश गरेको छ।

अब भ्रमणमा लागौः

सामुहिक पहिचानको प्रतिरक्षा कि प्रभुत्वको खोजी?

नयाँ वर्षमा नेवारी भोजमा सामेल हुने हो कि?


लिम्बु समुदायको रीतिथितिको एक दृश्य।

लेप्चा जातीको सुन्दर घरमा relax गर्ने कि?

राई जातीको घर। राई जातीसँग जोडिएको खानाको परिकार 'वाचिप्पा/वासिम'(जसलाई 'तीते' पनि भनिन्छ)निकै नै प्रख्यात मानिन्छ। यो जाडोमा गज्जबको खान्की पो त हौ।

नेपालमा ल्होसारको रमझम अनि नाम्चि महोत्सबमा पनि चिटिक्कको गुरुङ जातीको घर।

लौ त, सन् २००८ लाई बिदाई अनि नयाँ सालको सम्पूर्ण कुरा थाप्लोमा राख्न तम्तयार पर्दै फेरीपनि सबैलाई शुभकामना। सबैको हरेक पल शुभ रहोस्। सबैको जय होस्।

Thursday, December 18, 2008

मनकामना दर्शनको झझल्को

मनकामनाबाट हिमाल हेर्दाको दृश्य।

मनकामना माईसँग जोकिङ
केवुलकारबाट ओर्लेर मन्दिर पुग्ने उकालो चढियो । बाटैभरि फूलपाती लैजान अनुरोध गर्नेको ओइरो । एक व्यापारी एक विदेशी नागरिकलाई जबजस्ती फूलपाती थम्याइरहेको देखे । वास्तै नगरीकन अगाडि बढ्‍दै थिए उनीचाहिँ । मन्दिरमा उक्लिएपछि छेवैको पसलेसँग 'इट इस बेटर देन द राइस, कोकोनट एण्ड अल दिस थिङ्‍स्‍' भन्दै आफ्नै झोलाको साइट खल्तीबाट फुल निकालेर हातमा लिएर हामीभन्दा केही दुरी पछाडि लाइनमा उभिए । लाइनको के कुरा गर्नु र, अस्पताल र मन्दिरको लाइन कहिले पो सुकेको हुन्छ र? लामो लाइन र साह्रै चिसोको कारणले केहीबेरको लागि जुत्ता-चप्पलसँगै लाइन लागेका थियौँ सबैजना । जुत्ता-चप्पल निषेध गरिने ठाउँनेर पुग्न लागेपछि टुक्रुक्क बसेर तिनले जुत्ता खोले, मोजा पनि खोले, प्यान्ट पट्टाएर माथितिर फर्काए । पछाडि भिरेको झोलाबाट झिल्के पोलिथिन निकालेर जुत्ता चप्पल पोका पारे । पोका पारेको जुत्ता र मोजालाई पछाडि भिरेको झोलाभित्र राखे उनले सुरक्षितसँग । झोला एक छेउमा राखेर मन्दिरको कलाकृतितिर उनको आँखा तानियो । त्यत्तिकैमा हामी मन्दिर भित्र छिर्‍यौँ । केहीबेरमा मन्दिरको मूल ढोकाबाट बाहिरिदा त्यही ठूलो झोला उनकै ढाडमा थियो । भाईले कानैनेर मुख ल्याउँदै भन्यो- 'क्या जोकिङ्‍ भो दिदी',
'कस्तो जोकिङ?'
'जुत्ता लगाएर भित्र जानु पो नहुनु त । झोलाभित्र राखेर निस्किनु त हुन्छ नि हैन?'
मन्दिर भित्र छिर्दा पालन गर्नुपर्ने बुँदागत नियमहरु लेखिएको चारपाटे टिनको प्लेट हाम्रो सामुन्ने टाँगिएको थियो । त्यसमा लेखिएको पहिलो बुँदा थियो- 'मन्दिर भित्र जुत्ता चप्पल लगाएर जान मनाही छ।'

विज्ञापनको बेजोड शैली
'ए हजुर यतातिर आउनुस्, माइतीमा जस्तै पकाएको लोकल कुखुराको मासु, शुद्ध घ्यू, बासमती चामल, बोटैको ताजा सुन्तला खुवाउछौँ'। थेप्चो नाक, खाइलाग्दो जीउडाल, बाटुलो मुहारधारी एकजना युवक । रेष्टुरेन्टको अघिल्लो भागमा बसेर श्लोक पढेझैँ एउटै गतिमा दर्शनार्थी तथा आगन्तुकहरुको ध्यान खिच्ने प्रयत्नमा मग्न थिए ।
'लौ हजुर यतातिर पाल्नुस्‍, ससुरालीमा जस्तै मिठो खाना, लोकल कुखुराको मासु, ....... खुवाउछौँ' आगन्तुकहरुको भीडमा देखिने महिला या पुरुषको बाहूल्यताको आधारमा माइती र ससुराली शब्द फेरबदल गर्दै एकोहोरो सम्बोधन गर्दै थिए उनी । बजार घुम्ने क्रममा थुप्रै पल्ट उही बाटोबाट ओहोरदोहोर गरियो । ती युवक उस्तै भाकामा, उही आसनमा बसेर, उही कुरा, उही रफ्तारमा बारम्बार दोहोर्‍याइरहेका थिए । मानौ, कुर्सीमा मान्छे हैन एउटा क्यासेट प्लेयर राखिएको छ । र क्यासेटलाई रिवाइन गर्दै प्ले गरिदैछ । खै, रेष्टुरेन्टतिर चियाउँदा मान्छेको चहलपहल चाहि खासै देखिएन । अनि त्यहाँभित्र मान्छे छिरेको पनि देखिएन । सायद आजकाल मान्छेहरुले ससुराली र माइतीको खाना भन्दा अरुतिरकै खाना मन पराउन थालेछन् क्यारे । तैपनि उही कुरा कति मजाले, पटकैपिच्छे स्वाद मानी मानी दोहोर्‍याउनमै मस्त थिए उनी । जे भए नि विज्ञापन गर्ने उनको त्यो शैली, हाउभाउ, लय पृथक लाग्यो मलाई ।

थोरै भूमिका लेख्छु
गत सोमबारको दिन आफन्तहरुसँग मनकामना दर्शन गर्न गइयो । त्यहाँ जानुको मेरो उद्देश्य मनकामना माईको मन्दिरभन्दा माथि लगभग १ घण्टाको पैदल दुरीमा रहेको लखन थापा गुफा र बक्रेश्वरी मन्दिर पुग्नु पनि रहेको थियो । मेरो त्यो उद्देश्य यो पल्ट पुरा हुन सकेन । त्यसैले तत्काल ब्लगमा हालुँ हालुँ लाग्ने कुरा भेटिन जस्तो लाग्यो । त्यहाँबाट फर्किएपछि कोठामा कुरा चल्यो । त्यही बेला माथि उल्लेख गरेको कुरालाई स-दृश्य स्मरण गरे । तब म मनमनै हाँस्न थाले । र छोटो नोट लेखेर राखे । त्यही साँझ दीलिपजीले मनकामनाको यात्राबारेमा ब्लगद्वारा थाहा पाउने कामना गर्नुभएको थियो । तैपनि मलाई यो टाँसो हालुँ भन्ने लागेन । हिजै बेलुकी लोड सेडिङको फाइदा छोप्दै एकजना साथीसँग मैतीदेवी मन्दिरतिर डुल्दै पुग्यौँ । त्यहाँको दृश्य देख्दा पुन: मलाई मनकामनाको त्यही दृश्यको झझल्को आयो । साथीलाई बेलीबिस्तार लगाए । ऊ मरि मरि हाँस्यो । अनि मनमनै सोचे यही कुरा ब्लगमा ठेल्दिन्छु ।

Thursday, July 10, 2008

ढिडो र लोकल कुखुराको स्वादमा शनिबारे छुट्टी

कम्प्यूटर बिग्रेको अनि अल्छी लागेकोले पनि मैले कुटीभित्र नयाँ चिज राखेको थिइन। अब कम्प्यूटर पनि बन्यो अनि के लेखौ भनेर गम खाँदा त शनिबार गाउँमा गएर ढिडो र स्वादिलो लोकल कुखुराको मासु खाएको कुरा पो दिमागमा क्लिक भयो। ओहो मुखमा पानी नै आयो नि।

एकजना साथीसँग गएको शनिबारको बिदा मनाउँने निहुँमा दक्षिणकाली मन्दिर छेउको 'छैमले'तिर हुईकियौ शुक्रबारकै बेलुकी। त्यहाँ आफन्तहरु रहेकाले हामीलाई सजिलो भयो। पेट्रोलको अभाव भएकोले गाउँसम्म गाडी नजाने हुनाले दक्षिणकाली मन्दिर छेउको बस स्टपमा उत्रिएर उकालो लाग्यौँ। त्यहाँबाट ४५ मिनेट जति हिड्दा झमक्कै रात पर्यो। आफन्तहरुकोमा पुग्यौ। आँगनबाट यसो नजर घुमाउँदा ललितपुर र काठमाडौको केही भागमा झिलिमिलि बत्ती देखिन्थ्यो। अहो ! साह्रै राम्रो। खानपिन गरियो सुतियो।
शनिबार विहान उठेर यसो आँखा र ज्यानलाई कसरत गराउँदै अलिअलि घुमियो। बारीमा हेर्दा काक्रो, मकै, फर्सीको लहरा जस्ता कुराहरुले मनै फुरुङग हुने। हेर्दैखेरी टपक्क टीपेर कर्याम्म टोकीहल्नु जस्तो। त्यहाँ ९ रुपैयाँ किलो रहेछ। शहरमा आइपुग्दासम्म बासी र ओइलाएकै सही २५/३० रुपैया किलो त पुगी नै हाल्छ। आफुले पनि त्यस्तै किनेर खाने हो। खैर, अगाडी जाऔ- घर छेवैको सिस्नु घारीमा गएर सिस्नु पनि टिप्यौ हामीले। तर त्यो चाहि आफ्नै कोठामा ल्याएर खायौ है हामीले।

विहानको लागि गज्जबको खान्की। सँधै त कुन्नी तर कहिलेकाही मकैको ढिडोलाई लोकल कुखुराको graby तरकारीमा चोब्दै क्वाप क्वाप गाँस हाल्नुको स्वादै बेग्लै नि हौ। हुन त चामलको भात, दात, तरकारी पकाइएको थियो र पनि लोकल कुखुराको तरकारीसँग ढिडो खाने सबैको रुचिले फेरी ढिडो पाक्यो। अनि मजाले खाइयो। त्यसपछि केही बेर गफगाफ अनि यताउती अल्याङटल्याङ गरेपछि दिउँसोतिर शहर फर्कने सूरमा लाग्यौ। थोरै भएपनि गाउँको ताजा र हरियोपरियो तरकारी झोलामा खाँदखुद पारेर बाटो लाग्यौ हामी। अघिल्लै दिनदेखि पानी परेको अनि आजकालको फेन्सी चप्पलको छोटो आयु हुनाले साथीको चप्पलले आधा बाटो अनि 'गलत ट्यम'मा धोका दियो। केही बेर हिडेपछि पसल भेटियो अनि त्यहाँ नयाँ चप्पलको छनौट भयो।

हिड्दाखेरी साथीको चप्पल चुँडिएपछि बाटोमा रु. १५० को नयाँ चप्पल मिलाउँदै गर्दा त्यतैतिर मैले क्यामेर सोँझ्याए। अनि दक्षिणकाली मन्दिर त आइयो तर मान्छेको हूलले गाडीमा सिट थिएन। अनि त खलासीले गाडीको छटमा चढ्ने सल्लाह दियो। हामी पनि ज्ञानी भएर चढ्यौ। गर्मीमा गाडीको छटमा बसेर हावा खाँदै परपर सम्मको दृश्यहरु हेर्दै शहरको प्रदुषित तर महँगो हावा खाने चक्करमा फेरी होमियौ। अनि शनिबारको छु्ट्टी खत्तम। ढिडो र स्वादिलो लोकल कुखुराको स्वाद भने जिब्रोमा अझै छ क्यार। लौ त जय भुँडी।

Thursday, April 17, 2008

चौकोट देवी थान र केही तस्बीर

प्रत्येक वर्षको वैशाख १ गते र मंसीर पुर्णेमा विशेष पूजाआजा गर्नको लागि भीडभाड लाग्ने गर्छ चौकोटदेवी थानमा । नयाँ वर्ष २०६५ को सुनौलो विहानीमा चम्पादेवी, घ्याम्पादेवी र चौकोटदेवी ३ ओटा देवी थानमध्येको चौकोटदेवी थानमा पुग्ने अवसर जुर्‍यो । जुन काठमाडौंको पीँधमा रहेको, दक्षिणकाली मन्दिर नजिकैको छैमले गाविसको सिरानमा अवस्थित छ । मकवानपुर र काठमाडौंको सीमानामा निकै उचाइमा रहेको चौकोटदेवी थानबाट ललितपुर, काठमाडौं र मकवानपुरको केही रमणीय भूभाग र दृश्यहरु सजिलै देख्न सकिन्छ । बाइसे चौबिसे राज्यको अवशेष र केही एेतिहासिक पृष्ठभूमिकै कारण पनि चौकोटदेवी थान आसपासका स्थलहरु महत्वपूर्ण छन् ।

विशेषागरी पानी मागिने देवीथानको रुपमा प्रचलित चौकोटदेवी थान र त्यस आसपासका एेतिहासिक स्थलहरुको महत्व समयको अन्तरालसँगै विस्तारै विस्तारै घट्‍दै गइरहेको छ । स्थानीय एक बृद्ध आफ्नो जवानीको क्षण सम्झन्छन्- 'रातभर जागेर, नाचगान र रमाइलो गथ्र्यौ हामी त्यत्तिबेला । टाढा टाढाबाट मान्छेहरु आउँथे मेला भर्न । खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो डाँडाँ-पाखाभरि । तर ४० सालपछि विस्तारै मान्छे कम हुन थाले अनि त्यो चलन पनि हट्‍दै गयो ।' साँच्चै नै अहिले आएर त्यहाँ स्थानीय बासिन्दाहरु मात्रै आवतजावत गरेको भेटिन्छ । वैशाख १ गते र मंसीर पुर्णेको दिनमा भीडभाड लाग्ने भएपनि पहिलेको तुलनामा 'केही हैन' भन्छन् बूढापाकाहरु । अहिलेको पाली त चुनावले गर्दा झन् मान्छेहरुको भीड एकदम कम रहेको भनाई धेरैको थियो । अब हेरौँ केही तस्वीरहरु ।

यो पल्ट एकदमै कम मानिस। मन लागेजत्ति प्रार्थना गर्ने सुवर्ण मौका। अन्य देवताहरुको माझमा कुन चाही हो त चौकोटदेवी? जहाँ नरिवालको गाँठो छ त्यही ढुंगा हो चौकोटदेवी भन्ने बुझ्नु होला है।


अन्यत्र जस्तै पूजाआजामा बलि दिने चलन त्यहाँ पनि रहेछ । त्यसैले कुखुराको भालेलाई भोग चढाउँदैछन् त्यहाँका एक स्थानीय बासिन्दा । एउटा कुरो, त्यहाँ पूजाआजा गर्ने पूजारी भने छैन ।

देवी देवतालाई काँचो रगत त चढाइन्छ नै। त्यत्ति मात्रै कहाँ हो र, त्यो भालेको मुटु-कलेजो-पाङ्‌ग्रा पोलेर पनि चढाउने चलन छ । त्यसैको मौका छोपेर आफूहरुले पनि त खानै पर्यो। त्यसैले धेरै नै पोल्दा बेस।

देवीलाई कुखुरा या हासको अण्डा चढाउने पनि प्रचलन रहेछ। चढाएपछि पोलपाल या त पकाएर आफ्नै च्यापु हल्लाउने त हो नि। जंगलको टुप्पोमा थान भएकोले आगो बाल्ने दाउराको समस्या भएन। त्यहीमाथी जाँड रक्सी जस्ता पेय पदार्थ पनि चढाइने गरिएको रहेछ। त्यसैले व्यवस्थित सँग घरबाट सरसामान लिएर जाने अनि त्यही बसेर मजाले खाँदा अर्कै मजा हुन्छ कि क्या हो?

पूजाआजा र देवीको दर्शन सकियो । निकै उकालो बाटो भएकोले भोक-तीर्खा पनि त लाग्छ नि । त्यसैले अब देवीको प्रसादलाई ग्रहण गर्दा भोक पनि मेटिने, बन भोज पनि हुने, मन मोज पनि हुने । अनि रमाइलो भएन त । ल HAPPY NEW YEAR 2065 त्यसरी मनाउँदा पनि स्वाद बेग्लै भो । धन्य चौकोटदेवी ।

Tuesday, March 25, 2008

अर्को मिनि उपत्यकामा मुन क्याम्प

(बिशंखुनारायण मन्दिरको डाँडाबाट देखिएको विष्टछापलगायतका अन्य गाउँ)

गत चैत ८ गते होलीको अवसरमा विशंखुनारायण गाविस १, विष्ट छाप नामक गाउँ पुग्दा चारैतिर हरियो बनजंगलयुक्त डाँडाकाँडा देखियो । ती डाँडाकाँडाभन्दा माथि खुल्ला र सफा आकाश देखिन्थ्यो भने वरपर फाँटिलो जग्गाजमिनहरु तथा अर्ध शहरीकरण्का नमूना घरहरु देखिन्थ्यो । वरपर आँखा घुमाएपछि मेरो मनले नाम जुरायो- 'मिनि उपत्यका' । युवा अभियान नामक संस्थाको अगुवाइमा होलीको अवसरमा वर्षेनी मुन क्याम्प लाने गरेको सो गाउँमा यो चोटि लगभग ७० जना जति युवाहरुको एउटा समूह थियो ।

काठमाडौं उपत्यकाको कोलाहल, प्रदुर्षण, होलीको लोला आतंकबाट टाढा भइ, केही नौलो अनुभूतिका साथ एकदिन बिताउने मेरो मनोकांक्षा थियो । त्यही मनोकांक्षाले डोर्‍याएर साथीहरुसँग म पनि पुगे 'मिनि उपत्यकामा' । त्यहाँ पुग्दा जाँडरक्सी, जुवातास जस्ता कूलत मुक्त विष्ट गाउँलाई नमूना गाउँ बनाउने कसरत चलिरहेको, छ्‍यालब्याल पानी हुने गोदावरी आसपास भएपनि ३, ४ महिना खानेपानीको लागि दु:ख गर्नैपर्ने बाध्यता रहेछ । लगभग ७५००० लिटरको पानी ट्‍यांकी निर्माण कार्य चलिरहेको थियो । मुन क्याम्पका सहभागीहरुले त्यसमा केही घण्टा आफ्नो श्रम खर्चेर सहयोग गरे ।

त्यस अलावा २४ घण्टाको अवधिमा एकाध घण्टाको हाइकिङ्ग, विभिन्न खालका खेलकुद र साँझको समयदेखि मुन क्याम्पको मुख्य आकर्षण 'चन्द्रमा दर्शन' शुरु भयो । त्यसको केही समयपछि शुरु भएको नाचगानले आधारात बितिसक्दासम्म निरन्तरता पायो । त्यहाँको वातावरणमा युवा जोश जाँगरसहित साथीहरु रौसिएको देख्दा आफू केही बूढो भइएछ भन्ने महशुश पनि गरायो ।

स्थानीय खानपान, अलग वातावरण, नौलो ठाउँ र परिवेशमा पुग्दा, एकदिनमा थुप्रै कुराको अनुभव लिँदा नरमाएका सायदै थिए होलान् । होलीको विकृति बढिरहेको बेला केही युवा जमातले नयाँ ढंगले सदुपयोग गर्ने परम्पराको एउटा सकारात्मक स्वरुप मान्न सकिन्छ मुन क्याम्पलाई । साँझ तथा रातको समयमा स्थानीय बासिन्दाहरुसँग सहकार्य गरी अलिकति व्यवस्थित ढंगले मनोरञ्जन गर्न सकेमा अझ राम्रो हुन्थ्यो कि ?