Monday, February 16, 2009

म त अझै कलिली, कुटी चाहि वर्षदिनको

वर्षदिनभरी कुटीमा कैलाश नामधारीकै हालीमुहाली चलीरह्यो। त्यसैले आजको कैलाश र कुटीको विशेष संवाद चलिरहेछ। यी दुईको संवादप्रति तपाई पनि उत्सुक हुनुहुन्छ कि? हुनुहुन्छ भने अति उत्तम। हुनुहुन्न भने पनि... अति उत्तम। संवाद के के हुँदैछ त्यतै लागौ है त।

कुटीः आज के हो तिमीलाई थाहा छ?
कैलाशः आज? ए, अँ त ठ्याक्कै आजकै दिन। तर पोहोर साल तिम्रो जन्म भएको। त्यसैले आज तिम्रो पहिलो जन्मदिन। (ए पुरापुरी याद रहेछ)

कुटीः त्यसो भा खै त मेरो जन्मदिनको उपहार?
कैलाशः खै उपहार सुपहार त लिने दिने मेरो चलन छँदैछैन। तिमीलाई मनभरिको शुभकामना अनि आगामी दिनको लागि फलेर फुलेर रहनु भन्ने दुई कुरा मात्रै दिनसक्छु अहिले। भोलिदेखि फेरी तिमी र म एउटै भएर उही गफ चुट्नु त छँदैछ नि। अनि वर्षदिनमा तिमीले बनाएका साथीहरुको पनि शुभकामना पक्कै पाउँछौ। (क्या बाठो बाई)

कुटीः म किन जन्मे?
कैलाशः मेरो इच्छा भएर। (ए बा कुरा यस्तो पो परेछ)

कुटीः त्यसो भा म जन्मेपछि के भो त?
कैलाशः ठूलै केही हुन्छ भन्ने ध्येय थिएन। हुँदैन पनि। तर एउटा सुन्दर काम भयो। तिम्रो-हाम्रो एउटा दुनियाँ बन्यो- कैलाशकोकुटी भन्ने। अनि हामी ब्लगिङको दुनियाँमा झुल्कियौ तिमी ब्लग बनेर म ब्लगर बनेर। (गज्जब भएछ। भयो त होला नि अब?)

कुटीः ब्लगर बन्दा र ब्लगिङको दुनियाँ कस्तो लागिराछ?
कैलाशः रमाइलो। गजब। (त्यसो हो भने त राम्रो नि)

कुटीः रमाइलो किन लागिराछ?
कैलाशः नमान्नुपर्ने कारण के छ र? बरु मान्नुपर्ने थुप्रै कारण छन्। अरु ब्लगर मित्रहरुसँग शब्द संवाद गरिन्छ। विचार र अभिव्यक्तिको लेनदेन गरिन्छ। घरीघरी एकअर्काको दिमाग पनि चाटिन्छ। अनि रमाइलो भएन त? (लु लु भयो भयो)

कुटीः ए। त्यसो भा कुटीभित्रभन्दा बाहिर पनि ब्लगरहरुसँग शब्द संवाद गरिन्छ हो?
कैलाशः गरिन्छ। आजकालको दुनियाँमा त्यही शब्द संवाद नै त ठूलो कुरो रहेछ नि। अनि किन नगर्नु। गर्दैमा के बिग्रिन्छ र हैन? (बिगार्ने नै भए त के ठेगान? तै तै बुद्धि त पलाएकै होला नि)

कुटीः कस्ता कस्ता छन् त ब्लगर मित्रहरु?
कैलाशः माहिर छन्। मजाका लाग्छन्। तर महिला ब्लगर मित्र चाहिँ एकदम कम छन् मेरा। (ए। अरुतिर जस्तै यहाँ पनि महिला कम)

कुटीः ए। अनि महिला ब्लगर मित्र चाहि कसरी कम भए तिम्रा?
कैलाशः अन्य क्षेत्र सरह ब्लगिङमा पनि तुलनात्मक हिसाबले हेर्दा महिला ब्लगर कमै रहेछन्। त्यसैले कम भएका होलान्। तर सबै कुराको योगफल निकाल्दा त जति छन् त्यति पनि ठूलै कुरा हो भन्ने लाग्छ मलाई। (अँ! कुरा त्यसो पनि त होला नि)

कुटीः तिमीलाई कस्तो लाग्यो मेरो कुरा?
कैलाशः वर्षभरि मैले मात्रै कुरा गरिरहे। कुरा गर्नु तिम्रो पनि नैसर्गिक अधिकार हो भन्ने कुरा याद दिलायौ। (हो नि त!)

कुटीः अनि तिमी र म मा के फरक देख्यौ त?
कैलाशः तिमी वर्षदिनको भयौ। म चाहि कलिलै छु। (लौ के कुरा हो यो?!)

कुटीः तिमी म भन्दा कलिलै रे? कस्तो कुरा हो यो? केही बुझेको भए त मरिजाउँ।
कैलाशः उमेरले त तिमीभन्दा कतिऔ गुणा छिप्प्या नि। तिमी वर्षदिनको भयौ। तर यो वर्षदिनमा मैले तिमीमार्फत जे जति कुरा ओकले, हौ त्यो चाहि कलिलै, काँचै छ भन्न खोजेको नि। स्पष्ट भो होला नि अब त? (ए कुरा त त्यसो पो)

कुटीः ए बुझे। ल तिमीलाई नि बधाई, अब हाम्रो संवाद थन्क्याउ है?
कैलाशः हुन्छ। तिमीलाई पनि बधाई छ। (ल ल, गरि खाउँ, गरि खाउँ)

फेरी पालो कैलाशकैः
ब्लगिङको दुनियाँमा मेरो कदम परेको। ख्यालख्यालमै वर्षदिन पुगेछ। यस अन्तरालमा कुटीमा बसेर खालपरि/मनपरि फलाके। किनकी आफ्नै मनको आँगनमा टेकेर कुटीमा त्यस्तै उस्तै लेखिरहे/फलाकिरहे। मैले फलाक्दा फलाक्दै केही छिमेकी साथीहरुसँग एक खालको साइनो बन्यो। चिनारी बन्यो। सञ्जाल बन्यो। शब्द संवादकर्ताको चिनारी। भावना र विचार सम्प्रेषण तथा लेनदेनको सञ्जाल। रमाइलो। छुट्टै अनुभूति र आनन्द छ यसमा।

Never Stop Dreaming का दीपेन्द्रजीको ब्लगमा केही समय पहिले पढेथे- ब्लगिङ गर्नु भनेको आफैले आफैलाई अन्तर्वार्ता लिनु जस्तै हो। मेरो लागि सही लाग्यो। वर्षदिनको अन्तरालमा अधिकांश समय ब्लगिङ गर्ने निहुँ पारेर मैले पनि यही गरे हुँला। तर खासमा म किन ब्लगिङ गर्दैछु भन्ने प्रश्नमा आजसम्म घोत्लिएकै रहेनछु। यसो घोत्लिदा यसको जवाफ एकभन्दा बढी भन्नैपर्दा जति बढाएपनि हुने रहेछ। मन लागेर, ठाउँ पाएर, फुर्सदको समय सदुपयोग गर्न, मन/मष्तिस्कको कुरा/विचार व्यक्त गर्न, लेख्ने कला सिक्न, ब्लगरहरुसँग शब्द संवाद गर्न यस्तै यस्तै खै के के हो के के। लेख्न बस्नु अघि सोतरै पारेर लेखौला भन्ने थियो। लेख्न बसेको त कन्नु पर्ने स्थितिमा पुगेको छु। त्यसैले भन्छु म त अझैपनि साह्रै कलिली (मेरो उमेर त कहाँ पुग्यो नि? समाउने नसक्नै गरी। झूठो प्रचार होला फेरी आफ्नै! वर्षदिनको समयावधि र त्यसभित्र पस्किएको खुराकहरुको प्रसङ्गमा स्वमूल्याङ्कनको भावभंगीमा बोलेको नि)।

ब्लगिङको दौरान मैले अनुभव गरेका, मलाई लागेका केही कुराहरु लिएर आज फेरि कनीकुथी फत्‌फताए (आखिर फत्फताएरै वर्षदिन बिताइदिएकै रहेछु)। ब्लगिङ गर्छु नै भनेर मैले सुनियोजित रुपमा शुरुआत गरिन। तैपनि ब्लगर मित्र दीलिपजीले भनेझैँ ब्लगिङको संक्रमणमा ख्यालख्यालैमा फसियो। तर स्वाद लागेको छ। स्वाद लागुञ्जेल र मेरो बूताले धानुञ्जेल ब्लगिङ गर्छु भन्ने सोच छ अहिलेसम्मलाई।

ब्लगिङले कमाएको कुरा के कति छन्? पहिलो कुरा त मनमा जे आयो त्यही, जे देख्यो त्यही, जे भोग्यो त्यसैलाई शब्दमा उतार्ने बानी बसेको छ। अनि अन्य ब्लगर साथीसँगी भेट्टाइदिएको छ। सबैभन्दा मुख्य कुरा ब्लगिङ गर्दा एक प्रकारको सन्तुष्टी मिलेको छ। अनि १०/१२ वर्षपहिलेदेखि भेट नभएको साथी तथा दाजुभाईहरुसँग यही ब्लगिङमार्फत भेट हुन पाए मैले। त्यसले गर्दा मेरो बाल्यकालको स्कूले साथी/दाजुहरुसँग पुन मिलन पनि गराएको छ। अनि के के गुमाए भन्ने चाहिँ लेखाजोखा गरेको छुईन मैले। जरुरी नपरुञ्जेलसम्म लेखाजोखा किन गर्नु बेकारमा। आऽऽ छाड्दिउँ। नजाने गाउँको बाटो... भनेझैँ।

अन्त्यमा, ब्लगिङको यो माहौलमा मलाई साथ दिँदै आइरहनुहुने सम्पूर्ण मित्रहरुलाई हृदयदेखिको आभार व्यक्त गर्छु। किनकी धेरै साथीहरु हुनुहुन्छ। जसले मलाई साथ दिनुभएको छ। मेरो ब्लगिङलाई आफ्नो प्रतिक्रिया, विचारले हौसला बढाइरहनुभएको छ। नामै लिनुपर्दाखेरी कसैको नाम छुट्न जाला भनेर म केही अप्ठ्यारोमा परेको छु। दुम्माली ब्लगका चन्द्र दाई, भोजपुरे ब्लगका बि जे, साहित्य संसारका दीपक, विचार अभिव्यक्तिको साझा चौतारीका दीलिप, आकारपोष्टका आकार, नो ह्वेर गोज टु एभ्रिह्वेरका बसन्त, गफगाफको उजेली, सोचाई, विचार र रहरबाट सृजना गर्ने बेदनाथ, मगरमिगिनकी मनु, क्याफेका धाइवा, चौतारीका संगम किराती, नेभर स्टप ड्रिमिङका दीपेन्द्र, मझेरीका कुमार, गन्थनमन्थनकी सिर्जना, सिकारु, सिलीचुङका विमल, स्वप्निल संसारका नरेन्द्र, लुना, बिगिनिङका द किरात, कुनाकानीका बसन्त, सिर्जनाहरुका प्रदीप, वेलकमका प्रीतम, लगायतका (कोही छुट्न गएमा क्षमा पाउँ है)नाम छुटेका अन्य सबैलाई धन्यवाद। र बेलामौका कुटीमा फोटो उपलब‌ध गराउनुहुने साथी चिरन र रमेशप्रति आभारी छु। कुटीमा छिर्ने तर प्रतिक्रियामार्फत सुईको नदिने मित्रहरुलाई पनि धन्यवाद। एकदमै लास्टमा मार्टिन चौतारीप्रति म विशेष आभारी छु। तपाईहरु सबैको साथ पाइरहुँ आगामी दिनहरुमा पनि।

Saturday, February 14, 2009

तिमी साह्रै नजाती

सिम्मा,
म अहिले जहाँ बसीरहेछु। जहाँ हिडिरहेछु। जहाँ काम गरिरहेछु। ती सबै ठाउँमा एकखालको उत्सव चलिरहेछ- प्रेमको उत्सव। यस्तो उत्सबमा तिमी मसँगै छौ भावनामा। कल्पनामा। हरेक क्षण। हरेक घडी। त्यसैले म खुशी छु। तर यो मनले तिमीलाई आलिङगनभित्रै भेट्न खोज्छ। आँखाको सामुन्ने राखेर भरपूर माया प्रेमको वर्षातले प्रफुल्लित पार्न खोज्छ। म के गरु सिम्मा? तिमी नै भन न म के गरु? के यो मेरो इच्छा नराम्रो हो र? त्यही माथि यो प्रेमको उत्सबले मायाको भोक बढाइरहेछ मभित्र। म त साह्रै उद्देलित भइरहेछु यसबखत। यहाँको माहौल अनि वातावरणमा तिमीलाई सम्झेर छट्पटीदैछु। म तिमीबाट टाढा छु भनुँ भने म आफैलाई भित्रैदेखि पीडा हुन्छ। म तिमीसँगै छु भनुँ भने यो मनको प्यास बढेको बढेकै छ। सायद तिमीलाई पनि त्यस्तै हुन्छ पक्कै पनि। तिम्रो तिर्सना यो मन अनि मस्तिष्कमा चुलिएको चुलिएकै छ। पलपल। हरपल।

म यहाँ परदेशमा भएपनि म आफैभित्र छैन। आफैसँग छैन। यो ठाउँमा छैन। किनकी म तिमीसँग छु। तिमीभित्रै छु। अनि तिमी पनि आफूमा छैनौ। किनकी मसँग छ्यौ। मभित्र छ्यौ। वास्तवमा हामी एकअर्काभित्र साटिएका छौ। गाँसिएका छौ। भन्नेहरु भन्छन् जुनी जुनीसम्म। तिमी के भन्छ्यौ कुन्नी। तर मैले नदेखेको त्यो अर्को जुनीको म ठेक्का लिदिन। यो जुनीभरिलाई हामी एकअर्कामा समाहित भइसकेका छौ। त्यसैले अहिले मेरो हालत के होला? तिमी आफै सोच्न सक्छ्यौ। र बारम्बार त्यही त सोच्ने गर्छ्यौ तिमी। अनि तिम्रो हालत के होला? मनमनै मायाको असीमित भाव बोक्दै म पनि त्यही सोच्छु। तिम्रै बारेमा सोच्नु, मेरो अंग अंगमा तिम्रै स्पर्श अनुभूत गर्नु, तिम्रै कल्पनामा डुब्नु, हाम्रो हरेक पलको महशुश गर्नु नै मेरो जीवन बनेको छ सिम्मा। तिमी नजाती मान्छे।

ए साँची सिम्मा तिमीलाई अचम्म लाग्ला मेरो कुरा सुनेर कि प्रेमको पनि उत्सब हुँदो रहेछ भनेर। हुँदोरहेछ हैन सिम्मा यहाँ त भइरहेछ। अब तिमी सोध्छ्यौ होला के का लागि यो उत्सब? यहाँ त सबैको लागि यो निकै ठूलो उत्सब रहेछ। तर केका लागि हो कुन्नी मैले पनि चुरो कुरो बुझ्न सकेकै छुईन। हेर न त्यत्रो बुझ्ने मेरो ध्यान कहाँ र? तिमीले नै मेरो ध्यान कही पठाउँदैनौ। तिमीमै केन्द्रित गरिरहन्छ्यौ जतिबेला पनि। अनि? हत्तेरी। तिमी मेरो अघि भइदिएको भए कर्के नजरको वाण हानेर मलाई घाइते पारिसक्थ्यौ नि सिम्मा? किनकी तिमी त नजाती मान्छे। हुन त म सद्दे नै कहाँ छु र अहिले पनि। त्यसैले त म यस्तरी मनको कुरा ओकल्दैछु के केको बहानामा।

सुन न सिम्मा, यहाँ हप्तादिन अघिदेखि हरेक चोक, गल्ली अनि बजारमा आफ्ना मायालुलाई दिने उपहार किन्नेहरुको ओइरो लाग्यो। मलाई पनि तिम्रो लागि विशेष कोशेली किन्ने ठुलो धोको लाग्यो। र म पनि भौतारिए केही दिन। मेरो दुर्भाग्य सिम्मा। हाम्रो मायाको भाव बोकेको, तिमीलाई दिउँ दिउँ लाग्ने त्यस्तो चीजै भेटिन। सबैले रोजीछानी अनेकथरीको ठूला-साना, झिल्केमिल्के, ठिकैको-निकैको बस्तुहरु किनेर झिलीमिली कागजले पोका पार्दै थिए। मोलमोलाई गर्दै थिए। बगलीतिर, झोलातिर थन्क्याउँदै बाटो लाग्दैथिए। खै के भाको हो कुन्नी मैले त ती बस्तुहरुले हाम्रो भावनाको एउटा सानो छेस्कापनि छोएको देखिन। त्यसैले म खाली हात छु। अनि तिमी पनि। मेरो नजरै दोषी हो कि? तैपनि तिमीलाई चित्त बुझ्दो उपहार किन्न र दिन मलाई हुट्हुटी लागिरहन्छ सिम्मा। के उपहार दिउँ तिमीलाई सिम्मा? तिमी आफै मलाई एकपल्ट, मात्र एकपल्ट संकेत गरेर मलाई सघाउ। तिमी मलाई सघाउँदैनौ भन्ने थाहा छ। त्यसैले तिमी नजाती भनेको मैले।

तिमीले अहिलेसम्म पहिलो र अन्तिमपल्ट मलाई भनेकी थ्यौ नि 'मेरो लागि अरु केही चाहिदैन सियो-धागो ल्याइदिनुस्'। तिम्रो लागि त्यही सियो धागो निकै महत्वको थियो। हो सिम्मा, तिमीले आफ्नो र मेरो फाटेको, उध्रेको, च्यातेको सबै लुगाफाटा कौशलतापूर्वक जाती पार्थ्यौ। व्यवहारहरु टार्थ्यौ। अनि म र मेरो दुखेको मनलाई, अवस्थालाई राम्ररी सँगाल्थ्यौ। निको पार्थ्यौ। सियो धागोले लुगाफाटा टालेसरह। तिमी भन्थ्यौ 'दुबैको जोडा नमिलुञ्जेलसम्म अ-आफ्नै धूनमा, अ-आफ्नै संसारमा चकमन्न। मिलेपछि नौलो सृजना बन्छ। तपाई र म 'हामी' भएजस्तै सियो धागोले तेस्रो अथवा दुबै मिलेर नयाँ कुराको मिश्रणसहितको सृजना गर्छ। त्यसैले सुन्दर उपहार त्यही हुनेछ मेरोलागि'। हुन त त्यसबेला मेरो ल्याकत पनि थिएन अरु किन्ने। भएपनि तिमीलाई माग्ने छुट मात्रै अधिकार छ। तैपनि तिमी केही भन्दिनौ। के विधि नजाती छ्यौ तिमी त सिम्मा।

एकपल्ट मैले सोधेथे तिमीलाई- 'माया र प्रेमको भण्डार तिमी हौ कि माया र प्रेमको भण्डारभित्र हामी छौ'। चन्द्रमाजस्तो मुहारलाई अझ उज्यालो पार्दै तिमी भन्थ्यौ- 'दुबै सही हो नि। माया र प्रेमको भण्डार मभित्र छ। त्यो तपाईकै देन हो। अनि तपाईभित्र पनि त्यही भण्डार छ। हामी दुबैले सृजना गरेको भण्डारभित्रै हामी छौ'। माया गर्न मात्र हो र? मायाप्रेमको कुरा फर्सेल्न पनि कत्ति जानेकी सिम्मा तिमीले। तिमीले बनाउँछौ नि विशेष मंसीरे जाँड। जत्ति धेरै समय राख्यो त्यत्ति कडा, त्यत्ति नै लाग्ने, गन्धैले दिमागमा पाइन चढ्ने र जति खायो उत्ति नै खाउँ खाउँ लाग्ने खालको क्या त सिम्मा। हो त्यस्तै गरी तिम्रा ती हरेक कुरा र वाक्यले झन् झन् तल्‌तल् जगाउँछ तिम्रो। मलाई तल्‌तल् जगाउँदा त तिमी झनै नजाती।

यहाँका मान्छेहरु प्रेम दिवस मनाइरहेछन् आज, यतिखेर। तर सबैले मलाई एक्लो देख्छन्। के था उनीहरुलाई म हरेक पल प्रेमकै आडमा बाँचीरहेको छु। प्रेमकै सागरमा डुबीरहेछु। हर घडी प्रेम दिवस मनाईरहेछु। म मात्रै किन नि हामी दुबै मनाईरहेछौ धुमधामसँग। अरुले देख्दा तिमी कुनै काममा फसेकी होलिउ। म पनि कुनै काममा फसेको छु। तैपनि तिमी मेरो लागि फसेको ठाउँबाट निस्केरै म कहाँ आइ नै हाल्छ्यौ। हामी आजैको दिन मात्रै हैनौ सँधै नै यसरी प्रेम दिवस मनाईरहेका हुन्छौ। त्यसैले त म गद्‌गद् छु। यहाँका ती मान्छेहरुको प्रेम र माया सबैले देख्छन्। या देखाउँछन् कुन्नी? बाहिरी आँखाले नदेखी नहुने प्रेमको अगाडि म एकलकाँटे देखिएको हुनसक्छु सिम्मा। जसरी म प्रेम दिवस मनाउँने धेरैजसोले प्रेमबिनाको दिवस मनाएको देख्छु त्यसैगरी उनीहरुले मलाई पनि निरश देख्दाहुन् नि। यहाँ त तिमी मेरो लागि मात्रै हैनौ उनीहरुको लागि पनि नजाती भयौ नि।

तर वास्तवमा हामी मायाप्रेमको सुन्दर संसारमा हुन्छौ सँधै नै। जहाँ हामी ज्यादै खुशी छौ। एकअर्काको अँगालोमा छौ। एकअर्कामा हराएर आनन्दको केन्द्रविन्दुमा छौ। हामी उत्कृष्ट छौ। किनकी तिमी मसँग छ्यौ। त्यसैले यो हाम्रो मायाप्रेमप्रतिको अटुट विश्वास हो। तिमी र तिम्रो समर्पणप्रतिको भरोसा हो। अनि मैले पाएको मायाप्रतिको आभार पनि। त्यसबाहेक मैले तिमीलाई दिने कोशेली केही भेटिन। यो तन-मन पहिल्यैदेखि तिमीसँगै छ। मेरो सबै कुरा तिमीमै छ। अब भन सिम्मा म तिमीलाई के कोशेली दिउँ? तिम्रो हृदयको आवाजले भन्दैछ मलाई-'तपाई र तपाईको यस्तै माया नै स्वर्ग छ'। मेरो मायाप्रेम, आदर, सद्भाव, जेजति मसँग छ सबै तिमीलाई भइसकेको छ। त्यही कुरालाई तिमी सम्पूर्णताको उपमा दिन्छ्यौ मेरो लागि त्यही कोशेली भो। अनि तिमीले मानेको सम्पूर्णतालाई म कहिल्यै घट्न दिन्न। यही नै मेरो कोशेली भयो है सिम्मा। आखिर प्रेम नै जीवन हो। अनि मेरो प्रेम तिमी हौ। अनि सारा प्रेम नै मसँग भएपछि दिवसको के कुरा। सारा आकाश नै मसँग छ। मभित्र छ। जूनको के कुरा।

देख्यौ त सिम्मा। तिमीलाई सम्झेर म बहकिएछु। कहिले तिमीसँगै भएको कुरा गर्छु। तिमीभित्रै भएको पनि ठोकुवा गर्छु। कहिले तिमीलाई दिने कोशेली खोज्छु। तर पनि मेरो मनको एकछेउ पनि भरिन्न। हेर तिमीले मलाई के बनायौ। त्यसैले अझै बहकिन्छु। सुन सिम्मा, यहाँका हूलभन्दा बेग्लै छु म। यहाँका मान्छेहरु साह्रै जाती। भएभरको चीजबीजसँग रमाइरहेछन् आफ्नो अगाडि बसेका मान्छेहरुभन्दा पनि। चीजबीजसँग प्रेम गरिरहेछन् मान्छेसँग भन्दापनि। निर्जीव बस्तुमा के बिधि प्रेम देख्छन्? यहाँका प्रेमीहरु मजस्ता रहेनछन् सिम्मा। अनि तिमीजस्ता पनि पटक्कै छैनन्। त्यसैले म नितान्त एक्लै भए। त्यसैले म अझ बहकिए। सिर्फ तिम्रै कारणले त हो नि सिम्मा। तिमी किन मलाई यत्तिका सताउँछौ हँ? पख तिमीलाई। तिमी साह्रै नजाती छ्यौ सिम्मा। सारै नै। तर तिमी यस्तै नजाती भइरहनु है। सँधै नै। यस्तै यस्तै तिम्रो नजाती कुराहरुले मलाई अकल्पनीय शक्ति मिल्छ। त्यो तिमीलाई थाहै हुँदैन। तिमीलाई म सँधै तिमीबाटै चोरीरहन्छु। त्यो पनि तिमीलाई थाहै हुँदैन। अनि तिमी पनि थाहै नदिइकन मलाई मदेखि नै चोरेर आफैसँग लगिरहन्छौ। अनि त झन् तिमी मेरो 'नजाती मान्छे'। किनकी जे छ, तिम्रो नजातीपनभित्रै त छ।

तिमीले परदेश ठानेको यो ठाउँ, जहाँ बसेर म अक्षरको ढिका खोर्सिदैछु। तिम्रो यादमा उनेका यी शब्दहरु आजलाई यति नै है।
फागुन ३, २०६५

Tuesday, February 10, 2009

जेल ब्रेकमा सुरुङ

वास्तविक जीवनका आत्मकथा, कथा, निबन्ध जे सुकै होस्, पढ्न रुचि लाग्छ मलाई। त्यही क्रममा नेपालको माओवादी सशस्त्र जनयुद्धमा होमिएका क्रान्तिकारी योद्धाहरुको संस्मरण फेला पारे। त्यसमध्येबाट जेल ब्रेकको कुरालाई प्राथमिकतामा पारेर सरसर्ती पढे। जेल ब्रेकको कुरामा घुमीफिरी उही सुरुङकै कुरा। पहिलो उमाको पुस्तकमा पढेको कुरा झकबहादुरको पुस्तकमा पनि पढे- 'जेल ब्रेकको मार्ग र सफलता उही सुरुङ'। जेल ब्रेकसम्बन्धी उमा र झकबहादुरको दुई किताबमा समेटिएको अन्तरकथाभित्रको उस्तै खालको गाथाको आडमा उभिएर सुरुङ किन र कसरी बनाए भन्ने बारेमा कुरा गरौ आज। यी दुबै एउटै उद्देश्यका निम्ति गरिएको अभ्यास हुन्। साथै उक्त अभ्यासले हात पारेको सफलताको कथा भएकोले धेरैजसो कुरा मेल खान्छ। त्यसै हुनाले पनि उमा भुजेलको अगुवाईमा २०५७ चैत १७ मा गोरखा जेल ब्रेकको सफलताले झकबहादुरहरुको समूहलाई प्रोत्साहन मिल्यो। झकबहादुरको लेखनी छोटा निबन्ध शैलीका छन्। विषयवस्तुको आधारमा उपशिर्षकहरु छुट्टाइएको छ। उमाको लेखनी शुरुदेखि अन्तिमसम्म एकैचोटी बगेको छ।

गोरखा जेल ब्रेकर उमाको सन्दर्भमा अघिल्लै टाँसोमा जानकारी छँदैछ। त्यसैले सुर्खेत जेल ब्रेक झकबहादुरको बारेमा केही भनौ। 'जेल ब्रेकः सुर्खेत जेलब्रेकको अन्तरकथा'का लेखक झकबहादुर वाइसीएलका केन्द्रीय सचिवालय सदस्य तथा माओवादी तमुवान राज्य समितिका सदस्य हुन्। उनी २०५७ भदौमा गिरफ्तार भइ सुर्खेत जिल्ला कारागारमा बन्दी बनाइए। २०५८ माघ २ मा झकबहादुरसहित ३० जनाको समूह जेल ब्रेक गरी बाहिर निस्केको थियो।

दुश्मनको कब्जामा पुग्नासाथ उम्किने दाउँमा तत्कालिन अवस्था र अनुकूलता हेरी अनेकौ उपायहरु अपनाउँछन् यी क्रान्तिकारी आस्थाका बन्दीहरु। जस्तैः कुनै उपायले जेलबाट अदालत/अस्पताललगायतका लागि बाहिर निस्कँदा पुलिसको घेरा तोड्ने प्रयास गर्नु, जेलभित्रकै भौतिक संरचना (झ्याल)तोड्ने प्रयास गर्नु, डोरीको सहयोगमा पर्खाल नाघ्ने प्रयत्न गर्नु, त्यही खटिएका पुलिसहरुलाई झुक्याउने प्रयत्न गर्नु, खटिएका पुलिसहरुलाई आफ्नो उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न गर्नु। तैपनि जेलबाट बाहिर निस्कने अनुकूलता देखिदैन। जेलभित्र जति पनि आन्दोलन हुन्थे, मागहरु राखिन्थे। अन्तत त्यसको मूल उद्देश्य जेल ब्रेक गर्ने नै रहेको देखिन्छ। त्यस्ता प्रयत्न र कदमहरुबाट जेलभित्रको वातावरणमा केही परिवर्तन आएपनि क्रान्तिकारीहरुको सामुहिक उद्देश्यअनुरुप सफलता मिलेन। किनकी यी उपायहरु अत्यन्तै जोखिमपूर्ण हुँदाहुँदै पनि एकादुई मात्र जेल बाहिर जान सक्ने, बाहिर निस्कने क्रममा प्रतिरोध गर्ने जमातको कमी हुँदा सबै मारिन सक्ने र जेलभित्रका बन्दीहरु पनि त्यही कारणबाट मारिने बढी सम्भावना रह्यो। सुरुङ निर्माणको थालनी गर्नु दुश्मनको अगाडि मृत्युपत्रमा दस्तखत गर्नु सरह हो। तैपनि कि मृत्यु कि रुचिकर जीवन दुईमध्ये एक 'स्वत प्राप्त हुने', र अर्को 'प्राप्त गर्ने' निर्धक्कपनसहित सुरुङ निर्माण गर्छन् उनीहरु। तब न क्रान्तिकारी!

गोरखा जेल ब्रेकको सन्दर्भमा जम्मा ८ जना महिला बन्दीमध्ये दुईजना अन्य बन्दी थिए- छुट्ने बेला नजिकिदै गरेका। सुरुङ खन्ने महिलामध्ये एकजनाले ती दुईजना बन्दीलाई प्रौढ शिक्षा पढाउने, सिलाईबुनाई सिकाउँने, एकआपसको जीवनको कथाव्यथा बाँड्ने, परिकार पकाउने, राजनीतिक कुराहरुबारे जानकारी दिनेजस्ता काममा ब्यस्त राखेरै दुबैपक्षलाई हुने खालको तरिका अपनाए। तर सुर्खेतको सन्दर्भमा धेरै बन्दीहरु थिए। आस्थाका बन्दीलाई राजनैतिक/वैचारिक आस्था/शक्तिको बलमा, अन्य खालका बन्दीहरुलाई प्रलोभन वा त्यसबाट पनि नभए डर/धम्की समेत दिएरै पनि सुरुङ निर्माण र त्यसको गोपनियतालाई कायम राखेको पढ्न पाइन्छ।

भौगोलिक बनोट, वरपरको सुरक्षा घेराको अवस्था, प्रशासनको निगरानी र व्यवस्थाबारेमा पूर्ण जानकारीपश्चात सुरुङ निर्माणको ठोस खाका र योजना तय गर्नु प्रारम्भिक चरण हो। त्यसपश्चात सुरुङ खन्नको लागि उपकरण जुटाउनु, सुरुङ खन्दाखेरी निस्केको माटो तह लगाउनु, त्यहाँको वातावरण र अवस्थाअनुरुप चरणबद्ध तरिकाले सुरुङ खन्ने काम नियमित राख्नु र अझ मुश्किलको अवस्था भनेको खनेको सुरुङको सुरक्षा र गोपनीयता कायम राख्नु। पटक पटक भेद खुल्ने स्थिति रहँदारहँदै बच्न सफल हुन्छन् उनीहरु। त्यसबेला उनीहरुसँग भएको कला, कसरत र क्षमताको प्रदर्शन गरेर या लुकाएरै आफ्नो कामलाई जोगाए। सुरुङको गोपनियता कायम राख्नलाई निगरानीमा आउने व्यक्तिसँग प्राय राजनीतिक बहसमा उत्रिने र जनकलाकारहरुले गीत संगीतले भुलाउने गर्थे सुर्खेतका बन्दीहरु। गोर्खाका बन्दी महिलाहरुले पुरुषहरुलाई चुनौति दिएर खेल खेल्ने(भलिबल), जीम गर्ने प्रतिस्पर्धा गर्ने, राजनीतिक कुरामा अल्मल्याउनेजस्ता उपाय अपनाए। खेलको प्रतिस्पर्धामा महिला बन्दीहरुको जितले मनोवैज्ञानिक रुपमा मद्दत पुगेको थाहा हुन्छ।

सुरुङ निर्माण आधा भइसकेपछि बाध्यतावस दुबै जेलमा केही समय सुरुङ खन्ने काम अवरुद्ध भयो। तर अनुकूल परिस्थिति बन्नासाथ पुनः नियमित भयो। सुर्खेतमा धेरै खालका बन्दी एकैठाउँ भएकोले पनि सुरुङबारे बन्दीहरुबाटै कुरा फुत्किने बढी सम्भावना थियो। तर त्यसको निम्ति थुप्रैजना खटे। र सुर्खेतमा सुरुङ निर्माणकै लागि भनेर बाहिरबाट औजार ल्याउने जरुरी परेन। साथै पहिलेदेखि त्यहाँको भूगोलबारे जानकार बन्दीहरु धेरै थिए। गोर्खाको सन्दर्भमा भने बिरामी भएको बहानामा अस्पताल लैजाने माग गरेर बाहिरको भूगोल नियाले।

गोर्खा जेल ब्रेकको सन्दर्भमा उमाको अगुवाईमा कामको बाँडफाँड भएको र त्यसलाई कार्यान्वय गरेको कुरा प्रष्ट रुपमा पढ्न पाइन्छ। बन्दी गृहभित्रबाट सम्भव नदेखिदा तरकारी बारीबाट सुरुङ खने। जनही जिम्मेवारी तोकिन्छ। तर कति फिट तलसम्म खन्ने, कत्रो आकारमा खन्दै तेर्सो लैजाने भन्ने बारेमा ज्ञान नहुँदा केही अप्ठ्यारो परेको पनि उल्लेख छ। घरपरिवारका बुबालगायतकाहरुका अनुभव या कुरा सुनेको भरमा सुरुङ खन्दै लगे उनीहरुले। प्रतिकूल अवस्था आउनासाथ शतर्क हुनलाई कोड भाषा बनाए। सेनाको निगरानी हुने ठाउँमा सेन्ट्री दिने एकजना सीपमूलक काम गर्दै, भित्रपट्टीको बन्दी साथीहरुलाई अलमलाउने एकजना दिनहुँ विविध विषय या उपाय निकाल्दै, सुरुङ खनिदै गरेको र त्यस वरपरको अवस्थाको निगरानी गर्ने एकजना तरकारी र बारीको हेरचाह गर्दै, सुरुङ खन्ने एकजना, खनिएको माटो तह लगाउने एकजना। पछि एकजना थपिएपछि सेनाको निगरानीमा दुईजना खटे। भित्रको महिला बन्दीहरुलाई भुल्याउने काममा भने के विषयले भुल्याउने भन्ने पिरलो पनि परेको बुझिन्छ। तर पछि भुल्याउने व्यक्ति परिवर्तन गरेर र दिनदिनैको अनुभवकै आधारमा त्यो काम फत्ते गरिएको देखिन्छ।

तरकारी अड्याउने बासको टुक्राद्वारा सुरुङ खन्ने कामको शुरुआत गरे उनीहरुले। त्यसपछि तरकारी, फूल रोप्ने/गोड्ने, ढल सफा गर्नेलगायतका नाममा सामाग्रीको माग गर्दै सुरुङ निर्माणमा चाहिने सामग्री/औजार बटुल्न थाले। बाहिरी रुपमा हेर्दा अत्यन्तै स-साना मानिने कुराहरुप्रति पनि निकै सजग रहँदै उनीहरु आफ्नो काममा तल्लीन रहे। तत्कालीन अवस्था हेरी बीच-बीचमा समस्या सृजना गर्दै र माग राख्दै आन्दोलन गर्दै प्रशासनलाई अल्मल्याए। हुन त त्यसैले अवरोध पनि खडा गर्थ्यो बेला बेलामा। त्यसबाहेक त्यहाँ खटेका सेनाहरुसँग चलाखीपूर्वक जानकारी थुत्दै, सहयोग लिदै अघि बढे। जसरी हुन्छ सुरुङबाट बाहिर ननिस्कुञ्जेलसम्म सुरुङबारेमा अरुको ध्यान नपुग्ने वातावरण सृजना गरिरहे।

त्यस्ता कुराहरु स्पष्टसँग उल्लेख गरिएको भएपनि सुरुङ खन्दाखेरी त्यहाँभित्र कसरी उज्यालो पारिन्थ्यो, श्वास लिन पर्याप्त अक्सिजन हुन्थ्यो हुन्नथ्यो भन्नेबारेमा केही पनि उल्लेख गरिएको छैन। सुरुङको आकार १ जना मात्रै अट्ने र कतै कतै घिस्रिएर मात्रै छिरिने पनि भनिएको छ। सानो आकारभित्र रहेर सुरुङ खनीरहनु र खन्दा निस्केको ढुंगा माटोलाई तह लगाउनु चानचुने कुरा पक्कै हैन, त्यसमाथि एकजना (कमला)कै अथक र निरन्तर काम थियो सुरुङभित्र पसेर खन्ने भन्ने कुरा पुस्तकमा पढिन्छ। यस्ता चुनौतीपूर्ण कठिनाईलाई सहजरुपमा कसरी पार गर्न सके होलान्? अनि यत्तिका काम जेलभित्रै गरिरहँदासम्म थाहा नपाउने हाम्रा सुरक्षाकर्मी/प्रशासनको व्यवस्था र निगरानी कस्तो थियो होला?

सुर्खेत जेल ब्रेकको सन्दर्भमा बाहिरबाट भन्दा भित्रैबाट सुरुङ खन्ने अनुकूलताअनुरुप २ बन्दी (मिर्गीका रोगी)कै कोठाबाट सुरुङ खनियो। उनीहरुको रोगको कारणले त्यहाँ धेरै खोजतलास नगरिने हुनाले त्यो कोठा छनौटमा पारियो। ८ फिटको खाडल खनेपछि सुरुङलाई तेर्सो दिशामा लगियो। अक्सिजनको कमीले गर्दा धेरैबेर सुरुङभित्र बस्न नसिकने हुँदा पालैपालो गरि सुरुङभित्र पस्दै खने। सुरुङमा काम गर्नलाई उज्यालो पार्नको लागि भित्रै बिजुलीको बल्ब जडान गरिएको र एकैचोटि दुईजना सम्म पस्न मिल्ने सुरुङ बनाइएको थियो। खनेर निकालिएको माटोलाई चामलको बोरामा हाल्दै सिलिङमा बाँधेर राख्ने, भित्रै हलमा राख्ने (जसले गर्दा ओछ्यानको भुई २ इञ्च माथि उठेको उल्लेख छ), ढुंगा चाहि मिलेसम्म बाहिरै चौरमा राख्ने वा सुरुङभित्रै मिलाएर राख्ने। यही क्रमलाई निरन्तरता दिँदादिँदै सफलता हात पर्यो। सुरुङको अन्तिम बिन्दु (जेल बाहिरको भूगोलमा पाइला राख्ने बिन्दु)लाई जेल ब्रेक गरेर निस्किदा निस्किदै खनिएको थियो। र अन्तिममा उनीहरु जेल तोडेर भाग्न सफल भए। सुर्खेत जेल ब्रेकमा साथ दिने महिला बन्दीहरु अलग्गै कम्पाउण्डमा राखिने हुनाले बाहिर निस्कन सकेनन्। गोर्खा जेल ब्रेकमा पनि पुरुष बन्दीहरु निस्कने अनुकूलता मिलेन।

Friday, February 06, 2009

गोरखा जेल ब्रेकको संस्मरण पढेपछि

१२८ पृष्ठको एउटा किताब पढिसके हिजै राती। पढ्न शुरु गरेको त लगभग हप्तादिन भयो। ब्लगमा के चाहि ठेल्ने होला भन्ने सोचले पनि पिरोलिरहेको थियो। यसो विचार गर्दा यसैलाई ठेल्ने निधो गरे मैले।

'बन्द पर्खालदेखि खुला आकाशसम्म' नामक उक्त किताब २०५७ चैत १७ गतेका दिन गोर्खा जेल ब्रेक गर्ने ६ जना क्रान्तिकारी महिलामध्येकी नेतृत्व प्रदान गर्ने उमा भुजेल (क. शिलु)द्वारा लेखिएको हो। २०६३ मा पहिलोपल्ट प्रकाशन भएको उक्त पुस्तकमा समेटिएको अधिकांश कुरा धेरैको लागि नयाँ कुरा नहुन सक्छ। क्रान्तिकारी खेमाका या त्यसप्रति चासो राख्नेहरुसँग त यसबारेमा अझ शिरपुच्छारसम्मको नालीबेली थाहा होला। हुन त जेलब्रेक गरेको समयदेखि नै यसबारेमा विभिन्न ढंगले चर्चा परिचर्चा हुँदै आइरहेको विषय हो। हुन पनि माओवादी सशस्त्र जनयुद्धको दौरानमा क्रान्तिकारी युवा महिलाहरुले देखाएको साहस र प्राप्त गरेको सफलता नेपालको सन्दर्भमा मात्रै नभएर विश्वक्रान्तिकै इतिहासमा उदाहरणीय काम भएको र विशेष महत्व बोकेको पुस्तकको मन्तव्यमै (क‌. प्रचण्डद्वारा)उल्लेख गरिएको छ।

२०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्धको घोषणा गरेकै समयदेखि भूमिगत भइ पार्टीमा सक्रिय रहेकी उमाले आफू गिरफ्तारीमा परेदेखि जेलजीवनबाट मुक्त हुँदासम्मको घटना र अवस्थालाई क्रमैसँग शब्दमा उनेकी छिन्। २०५६ कार्तिक १३ गतेका दिन उनी गिरफ्तारीमा परिन्। त्यसपछि उनीद्वारा आवश्यक जानकारी र सूचना फुत्काउँने हत्कण्डा अपनाउदै कहिले कहाँ कहिले कोद्वारा सोधपुछ तथा शारिरीक र मानसिक यातनाको क्रम शुरु हुन्छ। २०५६ पुस २२ र २५ मा अदालतमा पेश गरिन्छ। विभिन्न आक्रमणमा संलग्न रहेको पुष्टि गर्न र स्वीकार्न लगाउन त्यसो गरिएको थियो। उनीमाथि लगाइएको अभियोग सही भएपनि ठाडै अस्वीकार गर्दै उनी बचिन्। र माघ १८ मा तारिखमा धाउने गरी अदालतले छाड्यो। तर त्यही दिन उनलाई पुनः गिरफ्तार गरियो। र माघ २५ मा उनलाई जेल चलान गरियो। त्यसपश्चात गोर्खा जेलभित्रको दिनचर्या शुरु हुन्छ।

जेलबाट बाहिर निस्केर सशरिर क्रान्तिमा सहभागिता जनाउँने भित्री चाहनाले पटक पटक जेल बाहिर निस्किने उपाय अपनाउँछन् उनी लगायत ५ जना क्रान्तिकारी महिला बन्दीहरु। ती उपायहरु सफल नभइसकेपछि सामूहिक छलफल, विचार विमर्शपश्चात सुरुङ निर्माण गर्ने निष्कर्षमा पुग्छन्- उमा भुजेल, कमला नहर्की, सञ्जु अर्याल, मीना मरहठ्ठा र रीता विक। सुरुङ निर्माणको मध्यतिर अर्का क्रान्तिकारी महिला थपिन्छिन्- एञ्जिला विक। त्यसपश्चात उनीसहित ६ जनाको संयुक्त प्रयास र साहसले अन्तत उनीहरु आफ्नो उद्देश्यमा सफल हुन्छन्। र क्रान्तिको यात्रामा ऐतिहासिक रुपमा सह्रानीय कदम चालेर सफलताको श्रेय लिने हैसियत कायम गर्छन्। क्रान्तिकारी महिलाका पक्षमा एउटा महत्वपूर्ण इतिहास रच्न सफल हुन्छन्।

जेल र जेलभित्रको विभत्स अवस्था, अमानविय र कुटिल व्यवहारको बारेमा विभिन्न पत्रपत्रिकाहरुमा पढ्न पाइने जानकारी, विभिन्न दस्तावेज र प्रतिवेदनहरु र जेलजीवन काटेर बाहिर आएका केही व्यक्तिहरुको भनाई, भोगाई र संस्मरणात्मक लेखाईकै भरमा मैले जेलजीवनलाई बुझेको हुँ। खोजतलास नगरीकन सहजै उपलब्ध हुने धेरैजसो सामग्रीहरुमार्फत जेलजीवन र जेलको अवस्था पढ्दा धेरै नै कहाली लाग्थ्यो मलाई। खासगरीकन जनयुद्धको सेरोफेरोको सन्दर्भमा क्रूरता र अमानवीयताको चरम चुली नाघेको पाउँथे। जुनसुकै अभियोगमा जेल पसेपनि स्वत शारिरीक र मानसिक यातनाको भागीदार भएकै सुनिन्थ्यो। पढिन्थ्यो। जीतमान बस्नेतको 'अँध्यारा २५८ दिनहरु' नामक पुस्तकमा उनलाई दिइएको बर्बर यातना पढ्दा आङै सिरिङ्ग भएर कैयौ दिन म तनाबमा परेको थिए (हुन त उनी जनयुद्धका सशस्त्र क्रान्तिकारी थिएनन्। र यी दुबै फरक अवस्थाका र फरक ठाउँका जेल बसाईका संस्मरण हुन्। जेल जीवनको कुराको सन्दर्भमा मात्रै दुबैलाई सम्झेको हुँ)।

यो संस्मरणमा अमानवीय व्यवहार र जेलभित्रको असजिला पक्षाहरुको चित्रण भेटिन्छ। तर अन्य बन्दीहरु भन्दा धेरै हिसाबले फरक, अनुभवी र चनाखोपनकै कारणले हुनसक्छ आफ्नो अनुकूल वातावरण निर्माण गरेका कुरा, एकआपसबीचको एकताको कुरा, आपसी तालमेलको कुरा, वैचारिक क्षमताका आधारमा धेरै कुराहरुमा अनूकलता ल्याइएको कुरा बढीमात्रामा यस संस्मरणमा भैटिनु स्वभाविकै देखिन्छ। उद्देश्य प्राप्तिको लागि अरुका लागि झिनामसिना लाग्ने कुराहरुमा पनि होशियार बन्दै विभिन्न स्वभावको आडमा सामुन्ने उभिएको व्यक्तिको आँखै अगाडी आफ्नो भित्री उद्देश्यमा लगातार लम्कीरहन्छन् उनीहरु। कहिले अवला नारीको रुपमा, कहिले क्रान्तिकारीको रुपमा, कहिले मायालु दिदीबहिनीको रुपमा आफूलाई ढाल्दै सँगैको व्यक्तिलाई समेत आफ्नो गुदी कुरा फुत्काउँनबाट जोगिन्छन् उनीहरु। जेलमा पर्याप्त स्रोत साधनको अभाव हुनु नयाँ कुरा हैन। तर तरिका पुर्याएर ती स्रोत साधनप्रति पहुँच राख्न सक्नु र भरपूर उपयोग गर्ने क्षमता हुँदा, वैचारिक र शारिरिक शक्ति कम हुन नदिइकन सही संयोजन गर्दा उनीहरुले जेल ब्रेक गर्न सकेको प्रष्ट छ।

शुरुमै उमाले स्वीकारेकी छिन्- "जीवनमा लेखन क्षेत्रमा कहिल्यै हात नहालेको मेरो लागि यो पुस्तक लेख्नु सुरुङ खन्दाजत्तिकै अप्ठ्यारो महसुस भयो। लामो समय बितिसकेकाले जेल बसाई र जेल तोड्ने क्रममा भएगिरएका सम्पूर्ण विषयवस्तुलाई जस्ताको तस्तै सजीव रुपमा प्रस्तुत गर्न त अवश्य सकिएको छैन। जेल ब्रेकका सहयोद्धा क. कमला नहर्कीलगायतका कमरेडहरुसँग सल्लाह गर्न पाएको भए विषायहरु अलि व्यवस्थित हुने थिए होला"। त्यसैको धरातलमा उभिएर एउटा साधारण पाठकको हैसियतले उनको लेखनीलाई पढ्दा मैले भन्नैपर्ने कुरा खासै छैन। नेपालका क्रान्तिकारी महिलाका यस कदमबारे पढेपछि क्रान्तिकारीका जेलजीवनबारेको एक अंशको बारेमा थोरबहुत जानकारी मिल्यो। र, आत्मबल, निडरताकासाथ हिम्मत नहारीकन दृढतापूर्वक आफ्नो काममा लागि पर्नु नै सफलतातिर उन्मुख हुनु हो भन्ने लाग्यो। जीवनमा जति दुःख कष्टहरुसँग जुध्यो, जति पीडा र व्यथासँग साक्षात्कार भयो, जति धेरै जडिलतासँग घूलमेल भयो त्यत्ति नै मात्रामा क्रमिक रुपमा आत्मविश्वास र निडरता पलाउँदै जाँदो रहेछ र जीवनको हरेक आपतविपतमा पनि डर कम हुन्छ भन्ने लाग्थ्यो मलाई। यो संस्मरण पढेपछि यो कुराप्रति थप विश्वास पलायो। क्रान्तिकारीता र उद्देश्यतर्फ उन्मुख हुँदाको यो कदम साँच्चिनै मलाई मननयोग्य लाग्यो।