Tuesday, September 30, 2008

शुभकामना

खुला आकाशमा बेफिक्रीसँग उडेका यी बलुनझैँ हामी सबैको जीवन स्वस्थ र स्वतन्त्र अनि फुर्तिलो रहीरहोस्।

आज घटस्थापना, विधिपू्र्वक दशैँले गृह प्रवेश गरेको दिन। यहि अवसरमा कुटीको सम्पुर्ण सारथी-साथीहरु तथा सम्पूर्ण नेपाली दिदिबहिनी-दाजुभाई तथा अभिभावक वर्गहरुमा हार्दिक मंगलमय शुभकामना छ। स्वच्छ, स्वस्थ र स्वस्फुर्त रुपमा दशैँलाई मनाऔँ। सबैमा दुर्गा भवानीको कृपा दृष्टी र साथ रहीरहोस्।

Sunday, September 28, 2008

सिरियल हैन ग्याँस

केही समययता खाना बनाउने ग्याँसको अभावले सबैलाई निकै नै पिरोलेको छ। ग्याँसको कारणले सबैलाई आ-आफ्नै समस्या उत्पन्न भएको छ। सबैलाई समस्या भएपनि खाना पकाउँने मामिलामा गृहिणीहरुको लागि ग्याँस नहुनु निकै नै समस्याको कुरो हो।

केही महिना अघिसम्म पसलमा किनमेलमा जाँदा होस् या फुर्सदमा दिदीबहिनीहरुसँग गफगाफ गर्दाखेरी होस् भारतीय टेलि सिरियलको कुरा ननिक्लेको सायदै हु्न्थ्यो। पसलहरुमा पनि त्यही सिरियलहरु हेरिरहेका हुन्थे पसल कुर्ने पसले दिदीबहिनीहरु। सिर्फ दिदीबहिनीहरुमा मात्रै हैन सम्पूर्ण परिवारमा नै त्यसको प्रभाव परेको भान हुन्थ्यो। आजकाल त्यही गल्ली, चोक र पसलहरुमा सिरियलको सट्टा ग्याँस र सजिलै उपलब्ध हुन छाडेको अन्य दैनिक उपभोग्य बस्तुको बारेमा चर्चा र गफगाफ चलिरहेको हुन्छ। गृहिणी दिदीबहिनीहरु छरछिमेकसँग एकअर्कासँग सामान्य बोलचालमा 'खाना पाक्यो?' भन्नुभन्दा पनि 'ग्याँस छ?' भन्ने गरेको सुनिन्छ। अनि 'फलाना सिरियल हेर्यौ?' भन्नुको सट्टा 'आज कतै ग्याँस आयो?' भन्ने गरेको सुनिन्छ (हुन त नेपालको स्पेस च्यानल र भारतीय च्यानल- सोनी र स्टार प्लसबीच समझदारी कायम हुन समय लाग्दा केही समय ती च्यानल थिएनन्। हाल पुनः प्रसारण भइसकेको छ)।

कतिपय (सबैको नहोला) गृहिणी दिदीबहिनीहरुको मनोरञ्जनको साधन भनेपनि या उनीहरुको कामकाजबाट बचेको फुर्सदको समय बिताउँने साधन जे भनेपनि, टेलिभिजन र त्यसमा प्रसारण हुने विभिन्न कार्यक्रमहरु मुख्य मुख्य चासोको विषय हुन्। त्यसमा पनि भारतीय च्यानल सोनी र स्टार प्लसबाट प्रसारण हुने हिन्दी टेलिसिरियल र तिनका पात्रहरु नै भएको कुरा हामीले विभिन्न माध्यमबाट सुन्न र पढ्न पाइरहेका हुन्छौ। नेपाल टेलिभिजनबाट प्रसारण हुने केही हाँस्य टेलिश्रृंखलाहरुले पनि यो विषयलाई उठाएका थिए। अस्मिता नामक एक संस्थाले सर्भे गरेर नेपाली महिलाहरुमा टेलिभिजनको प्रभाव नामक एउटा किताब २००३ मा प्रकाशित गरेको थियो। जसअनुसार धेरै उत्तरदाताले नेपाल टेलिभिजन हेर्ने र त्यसमा पनि समाचारलाई नै बढी प्राथमिकता दिएको उल्लेख गरिएको छ। त्यसको साथसाथै भारतीय च्यानलबाट प्रसारित हुने सिरियलहरुले नै टेलिभिजन हेर्ने बानीको ठूलो समय लिएको र एकआपसमा छलफल, चर्चा-परिचर्चा र टीकाटिप्पणी गर्ने गरेको विषय पनि तिनै भएको देखायो। सो पुस्तकमा टेलिभिजन कार्यक्रम र टेलिभिजन हेर्ने महिलकाबारेमा अन्य थुप्रै कुराहरु छन्। अहिलेको अवस्थामा त्यो कत्तिको मिल्दोजुल्दो हुनसक्ला/नसक्ला। त्यो आफ्नै ठाउँमा छ।

म कामबाट घरको कम्पाउण्ड छिर्दाछिर्दै जहिले नि कसै न कसैले ग्याँसको बारेमा सोध्न या कुरा सुनाउँन भ्याएकै हुन्छ आजकाल। मैले भर्खरै भर्खेरै एउटी छिमेकी दिदीलाई सोधे- 'दिदी आजकाल कसौटीमा के हुँदैछ?', 'कसौटी न कसौडी, ह्याँ आफ्नो भड्डुमा भात नपाक्लाझैँ भा'छ। यो पनि बेला हो र त्यस्तो कुरा गर्ने'। आब्बुई म पो चकित परे। नत्र तिनै दिदीबहिनीहरु सिरियलको गरगहना र ड्रेसअप, मेकअप अनि पात्रहरुको हाउभाउको बारेमा चर्चा परिचर्चा गर्नमा बढो चासो राख्थे। कम्तीमा हप्तामा दुई-तीनपटकसम्म यो कानमा त्यस्ता कुरा ठोक्किन आउँथ्यो। तर अहिले कसैले ग्याँस ल्याएमा निकै खुशी र हल्लाखल्लाको समाचार बन्छ।

एकजना दिदीले १५५० मा ग्याँस ल्याएछिन् ४ दिन अघि मात्रै। निकै खुशी थिइन् उनी। हिटरमा र मट्टीतेलको भरमा खाना पकाउँदै थिइन्। भन्दैथिइन्- 'ए बैनी मैले आज ग्याँस ल्याए। अब दशैँमा ढुक्क भो। पुरै कोठा अनि ज्यानै मट्टितेल गन्हाउँन थालेको थियो', अझै उनी ग्याँस पाउँनुको रहस्य खोल्दैथिइन्- 'थाहा छ पसलेहरु चलाख छन् नि। यसो मौका हेरेर पसलमा गएर फुत्काउँनु सक्नुपर्छ नि'। दिदीबहिनीहरु आजकाल पनि समय मिलाएर सिरियल हेर्ने गर्छन्। तर उनीहरुको मुखमा ग्याँस सकिएको, ग्याँस नपाएको कुरा नै झुण्डिएको हुन्छ। दशैँको मुखमा पकाउँन गाह्रो हुने, फेरी बिजुलीको पनि टुंगो नहुनु, मट्टितेलको पनि अभाव हुनु, महंगी बढ्नुजस्ता कुरामा बढी चिन्तित देखिन्छन्। त्यसैको बारेमा एकआपसमा कुराकानी गरेको सुन्न पाइन्छ। न की कसौटीको प्रेरणा-अनुराग-बजाज अनि क्यू किको तुलसी-मिहिर-मन्दिराले अब के गर्लान् भन्ने बारेमा।

कुन सिरियलमा क-कस्ले के भन्यो र के गर्यो भन्ने भन्दापनि आजकाल कुन पसलमा कहिले ग्याँस आयो र क-कसले ग्याँस लगे भन्ने कुरा प्रमुख हुन थालेको छ। अनि कुन कुन पसलेले कसरी ग्याँस बितरण गर्दैछन्? भन्ने बारेमा चासो बढेको देखिन्छ। साना-साना नानीहरु र बृद्धबृद्धा सासूससूराहरुको खानपान, मझौला नानीहरुको स्कूल/कलेज र श्रीमान्‌को अफिसको लागि समयमा खाना बनाउँनुपर्ने हुनाले उनीहरुमा यो चासो पलाउनु स्वभाविक हो। एउटा ग्याँस पाउनको लागि एउटा ग्राहकले ३ महिनासम्म कुर्नुपर्ने। अनि पसलेहरुको पनि आ-आफ्नै बाध्यता र गुनासाहरु पनि छन्। त्यस्तो बेला ग्राहकले किचकिच गर्नु एकातिर छ अनि पसलेले ग्राहकलाई राम्रोसँग ब्यवहार नगर्नु अर्कोतिर छ।

२ महिना अगाडीदेखि मेरो ग्याँस लाइनमा थियो। बेला बेलामा सोध्नलाई पसल जाने गर्थे जाँदाखेरी केही भन्नु अघि नै पसले आफ्नै लम्बातान कुरा सुनाउँथ्यो- 'अब म यो ग्याँसको पसल नै छाडीदिन्छु। नाफा न साफा दिनदिनै किचकिच सुन्नुपर्छ, फोकटमा पसल कुर्नुपर्ने।' चलाउँदै गरेको ग्याँसले सकिने संकेत दिन थालेपछि म फेरी गएँ। तर त्यहाँ साहुजी नै थिएनन्। छेउछाउँका पसलेहरुसँग सोध्दा नि पत्तो लागेन। मसँग भएको नम्बरमा डायल गरे पसको एक छेउमा भएको टेलिफोन बज्यो। आडैमा एउटा सूचना टाँसिएको थियो त्यहाँ। त्यसलाई खर्रर पढे अनि लेखिएको सूचना मोबाइलमा कैद गरे।
जहिले हेर्यो ग्याँस पसलमा पसले साहुजीसँग कसै न कसैको गलफत्ते चल्दै गरेको हुन्थ्यो। सायद त्यसैले पसले साहुजी धेरै दिक्क भएछन् क्यारे। अनि सूचना टाँसेर, त्यही सूचनालाई पसल कुर्ने र ग्राहकहरुसँग 'डिल' गर्ने जिम्मा दिएर हिडे एताउति, कतै।

अब मेरो ग्याँस सकियो। पर्यो फसाद। अनि सकिएको अर्को ग्याँस सिलिण्डरसँगै म र छिमेकी दिदी सोझै ग्याँस पसल पुग्यौँ। त्यत्ति खेर पनि साहुजी थिएनन्। अब ग्याँसको खाली सिलिण्डर बोकेर फर्किने कुरा पनि भएन। सबै पसलेहरुसँग सोध्दा कोठा गाको छ भन्थे। केहीबेरमा एउटा १२/१३ वर्ष जतिको सानो भाई देखा परे पसलमा।
'भाई तिमी हो यहाँ बस्ने?',
'हैन। अंकल हो म त के हुँदैछ यहाँ भनेर हेर्न मात्र आको'।
'अंकललाई यहाँ जानु रे भनिदेउ न है'।
'हुन्छ'।
पसले दाई खुरुखुरु आए। त्यत्तिन्जेलमा अरु ३ जना मान्छे जम्मा भइसकेका थिए। नाम लेखाउँनु थियो भन्दाखेरी 'उ त्यहाँ पढ्नुस्' भन्दै सूचनातिर औँल्याइदिएर साहुजी आफ्नो सूर गर्न थाले। पहिलेको सूचनाको ठाउँमा नयाँ सूचना टाँसीसकेछन्। त्यहाँ लेखिएको थियो- लौ खा। पुरानो ग्याँस नि पाको छैन। त्यसमाथि नयाँ ग्याँसको लागि नामै लेख्न बन्द।
'तपाईहरुकै लागि हो यो सबै। यहाँ खाली सिलिण्डर राख्ने ठाउँ नै छैन। नाम लेखेर मात्रै के गर्नु। तपाईहरुलाई बिनासित्तिमा आश लाग्छ। मलाई चाहि किचकिच सुन्दा र दिमाग दुखाउँदाको हैरान' पसले साहुजी यस्तरी बोले की मानौ उसलाई सासै फेर्न पनि मन लागेको छैन। सकभर आफ्नो कुरा बुझाउँने प्रयत्नमा थिए उनी।

सानो परिवार अनि सबैजना बयस्क भएको परिवारमा केही दिन या केही समय मिलाउँन सकिएला। तर जसको घरमा बृद्धबृद्धा, बिरामी, बच्चाबच्ची अनि स्कुले नानीहरु छन्। त्यस्तो परिवारमा खाना बनाउनको लागि ग्याँसको अभाव हुनुले सबैलाई पिरोल्नु त छँदैछ। खाना बनाउँने व्यक्तिलाई अझ कत्रो हण्डर हुन्छ। त्यसैले पनि आजकाल गृहिणीहरु सिरियल हैन ग्याँसको कुराकानी गर्छन् र ग्याँस चलाइराखेकाहरु 'सकिने पो हो कि?' भन्दै सतर्क भइराखेका छन्। अनि ग्याँस सकिएकाहरु दिनदिनै पसलमा सोध्न जानु र साथीभाइसँग 'ग्याँस पायो भने खबर गर्नु है' भन्ने गर्छन्।

Tuesday, September 23, 2008

दशैँ आयो खाउँला पिउँला

'हलो, ए कैलाश म बोल्दैछु, म। चिनिस्? तँ सन्चै छस् नि हैन?'
शनिबारको दिन। खानपिन सकेर सरसफाई गर्दैथिए। कानै खाने गरी हजुरमाको आवाज सुनियो। धेरैपछि कुराकानी हुँदै थियो हाम्रो। औद्यी खुशी लाग्यो मलाई। आफ्नो भन्दानि हजुरमाको कुरा सुन्नु छ मलाई। त्यसैले हजुरमालाई नै बोल्न दिन्छु।
'म'नि अहिलेसम्मन् त ठिकै छु। अब दशैँको सूरसार हुँदैछ। यो पाली त आउँछस् होला नि?' खुशी हुँदै हजुरमा पनि चर्को चर्को आवाजमा बोल्दैहुनुहुन्थ्यो- 'दशैमा जसरी नि आइज भन्नु पनि खै कसरी भन्नु। गाडी बाटो छैन रे भन्छन्। सक्छस् भने आइज है। म बूढी, अर्को पालीको दशैँ भेट्छु कि भेट्दिन कुन्नी' ४ साल भइसक्यो दशैँमा घर नगाको। त्यसैले हजुरमा आफू पाको भाको हुँदै गाको कुरालाई जाहेर गर्नुहुन्छ।
'अर्को पालीको दशैँको किन चिन्ता लिएको नि अहिलदेखि। बेकारमा' रिसाउँदै भनिदिन्छु म।
'काम गर्ने बेलामा नआए'नि खाने बेलामा त भेला होओ न नानी हो' छोरा-बुहारी, छोरी-ज्वाइँ, नातीनातीनीहरु सबै लाखापाखा। चाडबाडमा मात्रै भएनि भेला हुन पाएमा हजुरमाको मुहारमा बेग्लै चमक हुन्थ्यो। वर्षभरी एक्लै घरव्यवहार धानेको पीडा बिर्सनुहुन्थ्यो सायद।

'ए एता सुन त- यो पालीको बंगुर निकै सप्रेको छ। खाने मान्छे छैनन्। आइज है बरु टीका लगाएर भोलिपल्ट फर्की हाल्नु नि है' फकाउँदै बोलीरहनुहुन्छ हजुरमा। त्यत्तिकैमा क-याककुरुक क-याककुरुक आवाजले हजुरमाको आवाज अस्पष्ट हुन थाल्छ। कहिले झिरिरि झिरिरि आवाजमा हजुरमाको स्वरलाई यो मोबाइलले कन्भर्ट गरेर सुनाउँछ। केही पनि नबुझेपछि राम्रो आवाज सुनिने आशमा कोठाको चारैपाटा घुम्छु। कोठा बाहिर निस्किन्छु।
'हेलो, हेलो, हेलो मैले केही'नि बुझिन हजुरमा' मेरो आवाज पनि हजुरआमाले बुझ्नुभो कि भएन कुन्नी। त्यहीबेला ट्वाक्कै लाइन काटिन्छ झ्यार-झ्यारे आवाजसँगै। त्यसपछि फेरी घण्टी बज्यो। फेरी काटियो। फेरी घण्टी बज्यो। फेरी उस्तैगरी काटियो। तीनपल्ट यही क्रम चलिरह्यो। एकछिनपछि न फोन आयो। न त मैले गर्दा नै फोन लाग्यो। निल्नु न ओकल्नुको घाँडो मोबाइल सर्भिससँग रिस उठ्यो। न मोबाइल रिसिभ गर्दा धर पाइने, न त डायल गर्दाखेरी नै।

'अपर्झट काम पर्दा त झनै यसले त ठ्याम्मै पो काम दिँदैन त। त्यसबेला जङ त चल्छ नि। भए'नि के पो गर्नु र?' एक्लै कोठामा फत्फतिदै मोबाइल सेटलाई ओल्टाइपल्टाइकन हेर्छु। किट्‌किटिदै थुचुक्क भुइमा बस्छु। पलङमा आड लगाएर केही छिनको फरकमा नम्बर डायल गर्छु। लाग्दै लाग्दैन। न त उताबाट नै फोन आउँछ। दिक्क मान्दै मोबाइललाई पलङमाथि फ्याकिदिन्छु। २ घण्टाको बाटो धाएर फोनमा बोल्नलाई आउनुपर्छ। अनि पालो पर्खनुपर्छ। ६० नाघ्न थालेको हजुरमालाई कत्ति सास्ती छ। कामकाज माया मारेरै आउनुपर्ने बाध्यता पनि छँदैछ।

हजुरमा फरासिली र रमाइलो हुनुहुन्छ। हरेक साल दशैँ आउने बेला जसरीनि फोन गर्नुहुन्छ। घर बोलाउनुहुन्छ। आफूलाई'नि जाउँ जाउँ लाग्छ। तर कहिले के कहिले के हुन्छ। हेर्दाहेर्दै दिन खर्लप्पै खाईदैछ। यही सोच्दै पलङमाथि चढेर ढल्किन्छु।
'ए कैलाश कहाँ छस्? त्यहाँ हल्ला गर्न छाडेर यहाँ आइज त, मलाई सघा सघा' घर वरपर र आँगन छेउछाउ उम्रेको मसिनो झार उखाल्दै हुनुहुन्छ हजुरमा। म त्यतै दौडिन्छु। बोजुले उखालेको झारलाई मेरो सानो डोकोमा बोकेर मलखाडीमा खन्याउँछु। वर्षभरीको झरी र घामले खुईलिएको घरभित्र र बाहिर चुन, कमेरो माटो र रातोमाटोले लिप्ने काम चल्दैछ। घरका सबैजना सरसफाईमा व्यस्त छन्।
'लु लु यो नासपाती'नि लगेर बंगुरलाई हालिदे हालिदे' आँगनै मुन्तिरको करेसाबारीमा नासपातीका दानाहरु भुईमा झरेको छ। त्यसलाई बटुल्दै हजुरमा मलाई अराउँनुहुन्छ। त्यसलाई पनि डोकोमा बोकेर बंगुर खोरमा हाल्न सघाउँछु। खोरमा ३ वटा बंगुर छन्। एउटा मारको दिनमा काट्ने। दुईटा पाल्ने। मारको दिनमा काट्ने सुँगुरमा मेरो विशेष रुचि छ। किनकी त्यसलाई चाँडै मारिदैछ। त्यसलै नासपाती खाएको एकछिन हेरिरहन्छु।
'हजुरमा मार आउन कत्ति दिन बाँकी छ अब?' मारका दिन एकाविहानै उठेर बंगुर केलाएको हेर्ने इच्छाले सोध्छु म।
'१० दिन जति छ अब'।
'अझ्झै १० दिन?' धेरै दिन रहेछ भन्ने लाग्छ, 'अनि कि, टीका लगाउँने चाही कहिले हो?'
'मारको भोलिपल्ट'।
'माथिल्लो घरको कान्छीले भनेको, उस्को हजुरमाले त धेरै पैसा दिन्छ रे उसलाई। मलाई त्यो भन्दा धेरै दिनु है हजुरमा'।
'के गर्न चाहियो तँलाई धेरै पैसा?'।
'किन चाहिनु नि अब, के के हो के के किन्न नि। अनि माथिल्लो घरको कान्छी, अनि त्यो पल्लोघरको माइलीसँग बसेर खाने हामी' फूर्ती लाउँदै आफ्नो योजना सुनाउँछु।
'ल ल दिउँला नि' फुरुङ्ग हुँदै म साथीहरुसँग खेल्न जान्छु।

'ए कैलाश दशैँमा लाउने लुगा कस्तो छ तेरो?', 'चेप्ली (चप्पल)किनेको छ?' साथीहरु सोध्छन् मलाई।
'राम्रो जामा छ नि ओई, हजुरमाले दशमी बजारबाट ल्याइदिनुभाको। अनि तेरो जामा सिलाउने दर्जी छ नि, हो उसैले सिलाको' तिमेरुभन्दा के कम भन्दै नाक फुल्याउँछु म। कस्तो रङको, क-कस्को के के छ दशैँमा लगाउँने? जामा हो कि सट-फरक (फ्रक) हो? दशैमा कस्ले पहिला के के गर्ने भन्ने होडबाजी गर्छौ हामी। नयाँ लुगा लगाएर को पहिला बरडाँडामा बरको रुखमा सालैपिच्छे लगाइने पीङ खेल्न पुग्ने, टीका लगाउन को पहिला मामाघर जाने, दशैमा टीका लाको पैसाले के के गर्ने भन्ने कुरामा पनि जोशिदै तँछाडमछाड कुरा गर्छौ।
'दशैँको पैसाले म धेरै मिठ्ठाई किन्छु, ओइ कैलाश म तँलाई'नि दिन्छु है'।
'म'नि धेरै बलगम किन्छु अनि हामी सँगै खाने है कैलाश' अर्को साथीले पनि थप्छ।
'ल। अनि कि, म चाहिँ धेरै नरिवल किन्छु। अनि हामी भेला भएर खाउँ है'।
'दशैँ आयो खाउँला पिउँला' दशैँमा के के गर्ने भन्ने योजना बनाएर हामी सबै खुशी हुदै, कराउँदै उफ्रिन्छौँ।

एकाविहानै आँखा उघ्रिन्छ। झसङ्ग हुन्छु। आज त मारको दिन। ढिला भो कि कतै? पीर पर्छ। बाहिर निस्केर हेर्छु। माथिल्लो घरको काका, पल्लो घरको दाजु र बाबाले बंगुरलाई आँगनमा राखेर केलाउँन थालीसक्नु भएछ। घरको डिलमा बसेर हेर्छु। चित्त बुझ्दैन अनि छेवैमा जान्छु।
'हन के गर्दैछस् त यहाँ, पर्तिर जा खुकुरीले लाग्ला। बरु एउटा डालो ले, जा' बाबाले अह्राउँनासाथ म खुर्रर कुदेर भित्र जान्छु। हजुरमासँग डालो मागेर तुरुन्तै ल्याउँछु। हेर्दाहेर्दै बंगुरलाई चिरफार गरेर काटकुट पारेर सक्छन्। माथिल्लो घरको काकाले 'मेरोमा मार हान्न जाउँ' भनेपछि तीनैजना आँगनदेखि उकालो ढुंगाको खुड्किला चढ्न थाल्नुहुन्छ।
'ए जेठा, मार हानी सकेर यतै आओ है खानालाई। अरुतिर भरे भोली खाओ पालो गर्दै। वर्षभरीको कामको थकाई मेट्नुपनि पर्छ नि' हजुरमा आँगनमा छरिएका मालमत्ताहरु थन्कोमन्को गर्दै खान आउने उर्दी गर्नुहुन्छ।
केही बेरमा मासुको बिभिन्न परिकार पाक्छ, बडेबडेमानको कराईमा। जाड, रक्सीको छेलोखेलो छ। सबैजना भएर भेला हुन्छन्। अगेना छेवैमा कासको डबकाभरी भरी मासु पस्किदै जानुहुन्छ हजुरमा। त्यसलाई खाने मान्छेहरुलाई दिने मेरो काम हो। त्यो गर्दा खुब मजा आउँछ।
'त्यो भित्तामा भाको पाती टिपेर ले त' टीकाको दिन हजुरमा र बाबा पूजा गर्ने सूरसारमा हुनुहुन्छ। म चाही पाती टिपेर ल्याएर दिन्छु बाबालाई।
'कतिबेला टीका लाउँने?' टीका लाउने हतार गर्दै हजुरमालाई सोध्छु म।
'अब एकछिनपछि। जा, नुहाउँदै पानी लिएर आइज। अनि म टीका लाइदिन्छु' ।
डोको टिपेर सँधै पानी ओसार्ने गरेको २ वटा चिण्डो र चिण्डोकै उघाउने भाँडो अनि एउटा साबुन बोकेर म धारातिर जान्छु। ज्यानमा पानी मात्रै खन्याएर हतार हतार फर्किन्छु। डोको बिसाएर सिँधै नयाँ जामा लगाउँन जान्छु। अनि मुन्टो बङ्ग्याई बङ्ग्याईकन आफैले आफैलाई हेर्छु। असाध्यै मन पर्छ त्यो जामा। अनि ज्यादै खुशी हुन्छु आफैसँग।

'ए कैलाश, लु लु छिटो बढारेर राडी ओछ्या' नयाँ जामा लगाएर टीका लाउँने कत्रो हुट्हुटी छ आफूलाई'नि। त्यसैले टीका लगाउँने ठाउँ छिटो छिटो बढारेर हजुरमाले बुनेको गुन्द्री अनि गुन्द्रीमाथि राडी बिछ्याउँछु। छेउमा खोसेल्टाको पीरा राखिदिन्छु हजुरमाको लागि। टीका लगाउँनलाई हामी सबै लस्करै बस्छौ- बुबा, काका, काकी, दाजु, म अनि भाई। हजुरमाले मेलैमारी टीका लगाइदिँदै खै के के हो फलाक्दै जानुहुन्छ। सानो-सानो चिटिक्कको दुनामा सप्रेको जमरालाई अछेताले पर्छिदै पैसा हाल्दै सबैलाई दिँदै जानुहुन्छ। अनि ढोगभेट चल्छ एकचोटी सबैसँग। टीकाटालोको काम सकिएपछि सबैजना मजाले बसेर खान थाल्छौ। निकै रमाइलो हुन्छ। टीका लगाइसकेपछि हामी दौतरीहरु भेला भएर आ-आफ्ना पैसा देखाउँदै, आ-आफूले लगाएको नयाँ नयाँ लुगाहरुसँग रमाइरहेका छौ। सन्तुष्ट भएर उफ्रिरहेका छौ कराउँदै- 'दशैँ आयो खाउँला पिउँला'।

हाम्रो खुशी र हाम्रो रमाइलो हेरीरहनुभएको छ हजुरमा जुठेल्नामा भाँडा मोल्दै। एकैछिनमा हामी सबैलाई बोलाउनुहुन्छ अनि सोध्नुहुन्छ- 'कस्ले सिकायो तिमेरुलाई यस्तो भन्न?'। हामी अलमल पर्यौँ।
'ल म पनि तिमेरुसँग खेल्छु है' हजुरमा हामीलाई सिकाउँन थाल्नु भो हत्केलाको पाँच औँला देखाउँदै, पालैशान्ती भाँच्दै-
यो कान्छो औँलाले भन्छ 'दशैँ आयो', काइँलो औँलाले भन्छ 'खाउँला पिउँला', साइलो औँलाले भन्छ 'कहाँबाट ल्याउँला', अनि माइलो औँलाले भन्छ 'चोरी ल्याउँला', चोर्नु त नराम्रो कुरा हो अनि जेठो चाही 'धत् हुन्न' भन्दै छुट्टिन्छ। हामी निकै चाख मान्दै कुरा सुन्छौ, हजुरआमाको फिँजिएको हत्केला र औँलालाई हेर्छौ।
'ल तिमेरले'नि गर त मैले जस्तै' सबैजना औँला भाच्दै त्यसै गर्न थाल्छौ- 'दशैँ आयो, खाउँला पिउला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत् हुन्न'।
टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ् मोबाइलको घण्टी बज्छ।

(त्यस्तैउस्तै कामले एक साताभन्दा धेरै हराएर हाजिर भए म आज। हिजै दिपकजीले ठेल्नुभएको अनुरोध आज पढे 'हामीलाई माया मारेपनि यसो कुटीमा पसेर दीपक बाल्दै त गर्नुस्'। माया त कहाँ मार्न सक्छु र हौ म। अनि अनुरोध स्वीकार्दै धन्यवाद छ दीपकजी तपाईलाई।)

Saturday, September 13, 2008

सिस्नु खाने गरेको छ?

सिस्नु पनि खान मिल्छ र? यस्तो जिज्ञासा थुप्रै सुनेको छु मैले। हुन पनि हाम्रै वरपर भएका स्वास्थ्यको लागि राम्रो मानिने र खान मिल्ने सागपातबारेमा सबैलाई थाहा हुन्छ नै भन्ने हुँदैन। ठाउँअनुसार केही खानपिनहरु पनि फरक-फरक हुन्छन्। प्राय धेरैजसो पहाडी भेगमा सिस्नु खाने गरिन्छ। सिस्नु खाने मध्य सिजन पनि भदौ महिनालाई मानिन्छ (हुन त अरु बेला खान नमिल्ने भन्ने हैन। सिस्नु पाइने मौसममा जुनसुकै बेला पनि खान मिल्छ)। साउन जाँदोदेखि भदौ जाँदो छेकसम्म सिस्नु गर्भिनी हुने (फूल्न थालेको बेला), र पानी पनि कम पर्ने मौसम हुँदा रसिलो, चिप्लो र स्वादिलो हुन्छ। त्यसैले सिस्नु खाने हो भने यसो अलिकति लन्ठा त बेसाउँनै पर्छ। किनकी अरु परिकारझैँ सिस्नु पकाएर बेच्ने गरेकै मैले थाहा पाएको छुइन। कहीँ कतै पाइन्छ होला तर मलाई थाहा भएन।

अब पकाउँने सिस्नु नै कहाँ पाइन्छ? गाउँघरमा त बारी-कान्ला-कुना काप्चातिर छ्याप्छ्याप्ती पाइन्छ। काठमाडौंमा चाहि तरकारी बजारहरुमा पाइन्छ। तर अरु सागपातझै जहीतहीँ पाउँन मुश्किल छ। एकादुई तरकारी पसलहरुमा मात्रै पाइन्छ। र थोरै भएपनि आफ्नै ग्राहकहरु हुँदा रहेछन् सिस्नु व्यापारीको। आज म यहाँ त्यही सिस्नु पकाउँने तरिका सेयर गर्न चाहन्छु।

सामान के के चाहिन्छ त?
+ खाने संख्याअनुसार सिस्नुको मुन्टा
+ थोरै मकै या गहुँको पीठो
+ नून स्वादअनुसार, लसुन ४ बिरा या स्वादअनुसार, टिम्बुर ५ गेडा या स्वादअनुसार लिने (इच्छाअनुसार कागती या अमिलो चुकपनि प्रयोग गर्न सकिन्छ)
+ किनामा (भटमासबाट बनाइएको एक खालको तरकारी, यसबारेमा पछि कुनै बेला लेखौला) १ या २ चम्चा वा रामतोरी (Ladies Finger)२ वा ३ वटा लिने र सानो सानो टुक्रा पार्ने।(गाउँघरको बिना कुनै रासायनिक मलको सिस्नु भएमा यीमध्ये कुनैपनि चाहिँदैन। सिस्नुमा चिप्लोपना ल्याउनको लागि मात्रै यसको प्रयोग गर्ने गरिन्छ। आजकाल अर्गानिक सागसब्जी कम पाइने हुनाले मिठासको लागि अनेक उपाय पनि निस्किहाल्छ।)पकाउँनलाई केलाएर ठिक्क पारेको भदौरे (फूल फुल्न थालेको डुकु) सिस्नु।

अब पकाउँने तरखरमा लागौ है तः
+ पहिला सिस्नु केलाउँने (कलिलो-पिटिक्क पिटिक् भाँचिने टुप्पा र पात छान्ने)।
+ केलाइएको सिस्नु पखाल्नुको सट्टा सबैतिर लाग्नेगरी थोरै पीठो (मकै या गहूँको पीठो) छर्किएर एकछिन राख्ने (किरा लागेको सिस्नुको लागि त्यसो गर्ने गरिन्छ, सिस्नु पखालिएमा मिठो हुँदैन त्यसैले सिस्नु सफा हुनुपर्छ)। केहीछिनपछि सिस्नु टक्टकाएर पीठो झार्ने।
+ गहिरो भाँडा (प्रेसर कुकर या अरु कुनै गहिरो भाँडा)मा पानी (अड्कलेर) उमाल्ने।
+ पानी उम्लिएपछि तयार पारिएको किनामा वा राम तोरी हाल्ने।
+ केहीछिनमा सिस्नु हाल्ने। त्यसलाई केहीबेर उम्लिन दिने।
+ उम्लिराखेको सिस्नु घोट्दै चलाउँने। फिर्के हाल्ने पनि भनिन्छ त्यसलाई। (सिस्नु उम्लीएर बाहिर गएमा मिठो हुँदैन। त्यसैले पानी अड्कलेर हाल्ने। पानी अपुग भएमा बरु उम्लेको तातो पानी थप्न सकिन्छ)।
+ स्वादअनुसार नून हाल्ने। मकै या गहूँको पीठो २ चम्चा हाल्ने र फेरी चलाउँने (यसले थप ग्रेबीपना ल्याउँछ)।
+ अब लसुन र टिम्बुर किच्चाए हाल्ने (धेरै मसिनो हुनेगरी नपिस्ने)।
+ त्यसपछि एकैछिन उमाल्ने।

अब तात्तातो सिस्नु खान मिल्ने भयो (स्वाद मिल्नेहरुले पाकेको सिस्नुमा कागतीको रस या अमिलो चुक हालेर पनि खाने गर्छन्)। प्रायजसोले सिस्नुसँग ढिँडो खाने गर्छन्। त्यसो नभए साविकको खाना र तरकारीसँग पनि खान मिल्छ। तर सिस्नु पकाउँनु अगावै अरु कुरा पकाईसक्नु पर्छ। नत्र सिस्नु सेलाउँछ। सेलाएपछि स्वाद कम हुनसक्छ। मैले माथि उल्लेख गरेको सामग्रीबाट पकाइएको सिस्नुले ४ जनालाई पुग्छ। जय भुँडी।

Thursday, September 11, 2008

मेरो तर्फबाट थप केही कुरा

मेरो मनको बहको लेखन शैली र त्यसपश्चातको कुराले उजेलीजीलाई यत्तिका स्पष्टिकरण दिने अवस्थामा पुर्याउँला भन्ने मैले अनुमानै गरेको थिइन। त्यसमा क्षमा चाहन्छु। त्यही कुरालाई लम्बाउने मन छँदै थिएन। न त मैले उजेलीजीको प्रतिक्रियलाई नै भयंकर ठानेको थिए। उजेलीजीको स्पष्टीकरणमा आएको केही कुराले फेरी मलाई स्पष्टीकरण दिन मन लाग्यो। मलाई मन लागेको कुरा नै मेरो ब्लगमा लेख्दै आएकोमा फेरी पनि उही दोहोर्याउँदैछु। उजेलीजीको कुरामा आएका धेरै कुरा सान्दर्भिक छन्। साहित्य मात्रै हैन जुनसुकै क्षेत्रमा पनि जानीबुझी, त्यस क्षेत्रको मर्म, महत्व, उपयोगिताबारे बुझेर हात हाल्नु जरुरी छ। साहित्य लेखनमा अनेकौ खालका विसंगति र विकृति भित्रिरहेको, गहन र मिहिन ढंगले साहित्य क्षेत्रलाई लिन नसकिरहेको अवस्थामा पक्कै पनि उजेलीजीले उप्काउनु भएको कुरा मननयोग्य छ। जसको पहुँचमा जे छ त्यसबारेमा धेरै जानकार हुनु आश्चर्यजनक कुरा हैन। त्यसको उपयोग कसरी गरिन्छ भन्ने कुरा प्रमुख हो। सम्मानित हुनुपर्ने थुप्रै साहित्यकारहरु बेवास्तामा परेका र जो लायक छैनन् उनीहरु नै माथि देखिएको कुरा सही हो (हुन त साहित्य क्षेत्रमा मात्रै हैन, यो प्रवृत्ति कुन क्षेत्रमा पो छैन र?)। जसमा मेरो दह्रो सहमति छ। त्यत्ति हुँदाहुँदै पनि केही मेरो सन्दर्भबाटै उल्लेख भएका कुराप्रति आफ्नो विचार राख्छु यहाँ (हुन त मैले यसपल्टको पोष्टमा पकाउँने मेलोमेसोलाई तयार पारीसकेको थिए। उजेलीजीको स्पष्टीकरण पढेपश्चात मैले त्यस पोष्टलाई भोलीको लागि re-schedule गरिदिए)।

मैले उजेलीजीको मेरो सप्रष्टीकरण शिर्षकमा लेखिएको स्पष्टीकरण आज मात्रै पढ्न पुगे। पढ्न ढिलो गरेछु। त्यो पढेपछि मेरो मनमा पनि केही कुरा आयो। उजेलीजीको स्पष्टीकरण पढ्न यहाँ जानुहोस्। मुख्य कुरा मैले जे जति जानेको थिए, जति मेरो बूताले भ्यायो त्यत्ति नै लेख्ने काम गरे। नत्र कसलाई रहर हुन्न होला कि राम्रो गरु भन्ने। तैपनि मेरो कविता लेखनको अक्षमताले साहित्य क्षेत्रमा भइरहेको र देखिइरहेको समस्याप्रति उजेलीजीको विचार बाहिर आयो। त्यसमा मेरो अमेल (उजेलीजीकै भाषामा माथिल्लो र तल्लो हरफ मिलाएको) कविता निहुँ भयो। त्यो त राम्रै भयो। कमसेकम त्यसले साहित्यसम्बन्धी थुप्रै अरु कुरा हामीसामु ल्याउने भूमिका निभायो।

त्योसँगै के पनि भन्न चाहन्छु भने मसँग जे जति ज्ञान छ त्यो सबैसँग हुनैपर्छ भन्ने जरुरी छैन। उजेलीजी राम्रो कवि हुनुहुँदो रहेछ (त्यो कुरा उहाँ आफैले क्लेम गर्नुभएकै छ, साथमा भर्खरै पोष्ट गर्नुभएको कविताले पनि थप पुष्टी हुन्छ)। जुन कुरा साहित्य क्षेत्रमा मात्रै नभएर अन्य युवा जमातको लागि, हामी ब्लगरहरुको लागि या कुनै निश्चित क्षेत्र नछुटाइकनै भन्दा नेपालीहरुकै लागि राम्रो कुरा हो। तर यहाँ एउटा मननयोग्य लाग्यो मलाई, कसैको आँगनैमा पँधेर छ र तर अरु कसैको लागि त्यही पँधेराको पानी १ किमी टाढा गाग्रोमा बोकेर लग्नु छ भने दुवैले उत्तिकै परिमाणमा पानी चलाउँन सक्छन् र? के दुबैजनाले आ-आफूसँग भएको पानीले उत्तिकै रुपमा नुहाइधुवाई र सरसफाई गर्न सक्लान र? भन्नुको मतलब उजेलीजी आफ्नो रुचि र क्षमताले कविता लेख्नुहुन्छ। घरैमा पँधेरा भएको भाग्यमानी पर्नुभएछ र सारो गाह्रो परेको बेलामा सफा र योग्य बन्नमा त्यसले अवश्य पनि धेरै नै सघाएको छ। त्यसैले पनि हुनसक्छ उजेलीजीले आत्मविश्वासका साथ भन्नुभएको छ- "म साहित्य क्षेत्रलाई धेरै नजिकबाट चिन्ने र जान्ने मान्छे हुँ । यद्यपि म उमेरमा कलिलै छु तर यो कुरा चाहिँ दावीका साथ भन्न सक्छु कि मेरो उमेरमा मभन्दा बढी साहित्यको अध्ययन गर्ने मान्छे कमै होलान् अहिलेको समयमा"। तर फेरी उजेलीजीको आत्मविश्वास देखिनुमा यही मात्रै कारण हो पनि भन्ने खोजेको हैन मैले।

आफ्नो लागि लेख्ने भए किन पर्सनल डायरीमै नलेख्ने भन्ने कुरामा, आफ्नो लागि र अर्काको लागि भन्ने कुरा के ले निर्धारण गर्छ? त्यसको निर्धारण गर्ने को? हो, हामी एकआपसमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अन्तरसम्बन्धमा गाँसिएका छौ। समाजमा बसेपछि सामाजिक हुनैपर्छ। त्यही कुराको ख्याल गर्नु जरुरी छ। बाँकी सब त आफ्नै विचार, कुरा र इच्छाले निर्धारण गर्छ। म ब्लगिङ गर्दैछु। जानीनजानी सिक्दै आइरहेको छु। र मैले बुझेको कुरा पनि के हो भने, ब्लग एउटा खुल्ला डायरी हो जहाँ आफ्नो कुरा मजाले राख्न सक्छु। र त्यसमा जोसुकैले पनि आफ्नो कुरा मन खोलेर राख्न सक्नु हुनेछ। तर मेरो ब्लगमा मैले के लेख्ने के नलेख्ने भन्ने कुरा म आफ्नै विवेकले निर्णय गर्छु। सबै ब्लगरको हकमा यही लागू हुन्छ होला सायद। यदी कुनै बौद्धिक लेख या डकुमेन्ट या कुनै अनुसन्धानमूलक लेख रचना लेखनझैँ आफ्नै मापदण्ड हुने र चरणबद्ध ढंगले सम्पादकहरुले सम्पादन गरेपश्चात मात्रै सार्वजनिक हुने भए यो ब्लग यत्तिका विधि चलनचल्तीमा आउँथ्यो र? अनि सबैको पहुँचमा हुन्थ्यो होला र? मेरो सन्दर्भमा भन्नुपर्दा मैले गरेको ब्लगिङ अरुको लागि पक्कै पनि हैन। जुनसुकै कुरा लेखुँ तर म आफ्नै लागि व्लगिङ गर्छु। र त्यसमा लेखिएको कुरा जुनसुकै विषयमा होस् त्यो मेरो नितान्त व्यक्तिगत विचार नै हुनेछ। त्यसमा प्रतिक्रिया राख्न, सहमति या विमति जनाउँने हक सबैलाई छ। तब न ब्लगिङको उपयोगिताको केही अर्थ रह्यो।

उजेलीजीको सुझाबलाई सकारात्मक सुझाबको रुपमा लिएर आफूमा भएको कमजोरीलाई भित्रैदेखि ओकलीदिए मैले। उजेलीजीले दिनुभएको प्रतिक्रियाको तेन्द्रो समाएर मैले आफूलाई कविता लेख्न नआउने भनी आत्मालोचना गरे। म आफूले नजानेको कुरामा पूर्ण रुपमा स्विकार्दैमा धम्कीपूर्ण शैलीको लेख बन्छ भने त मेरो भन्नु के छ र। उजेलीजीले त्यसरी बुझ्नु उहाँको अधिकार र आफ्नो विश्लेषण हो। त्यो गर्न उहाँलाई छुट छ। तर त्यसमा मेरो आपत्ति छ। मैले आफुमा भएको कमजोरीलाई पुर्ण रुपमा स्वकार्नलाई उजेलीजीको सुझाबलाई एउटा नमूना बनाए। त्यसले धम्कीको रुप लेला भन्ने सोच नै आएन। यद्यपि अहिले पनि म त्यो ठान्दिन। म कसैलाई धम्की दिने को हुँ? र किन धम्की दिनु मैले? यसको कुनै सान्दर्भिकता छ र? मैले धम्की दिनुको औँचित्य के छ? म त छक्क परे। खैर मैले हैन भन्दा भन्दै पनि मेरो लेखनमा धम्कीको गन्ध टाँसिएकै भएमा कृपया मेरो अनुरोध छ- कसैले पनि त्यसलाई धम्कीको रुपमा नलिइदिनुहोला। मैले त धम्कीको 'ध' लाई पनि कहीँ कतै सोचेको, लेखेको र देखेकै छुइन। अरु त आ-आफ्नै विचार हो।

जहाँसम्म मैले कविता लेख्न असमर्थ भएको कुरामा उजेलीजीको प्रतिक्रियाकै हात छ भन्ने ठान्नु सही हैन। मैले सही रुपमा बुझाउँन सकिनछु। अनि त्यसै सन्दर्भमा उजेलीजीले सकारात्मक र नकारात्मक भन्ने जुन खालको जोड घटाउको विश्लेषण राखिदिनुभो। त्यो पनि व्यक्तिकै दृष्टिकोण, क्षमता र रुचिमा भर पर्छ। मानिलिउँ मैले धुरन्धर कविता लेख्ने भए। त्यो नै सकारात्मक ठहरिएला अहिलेलाई। अनि उजेलीजीको लागि मैले परिमार्जनकै बाटो समाए। अब कविता लेख्नलाई मैले शून्यदेखि नै सिक्नुछ र त्यसमा लाग्ने मिहिनेत र समयमा अरु कुनै काम या लेखन शैली, जुन मैले कविता लेखन भन्दा सहज ढंगमा मेसो पाउन सक्छु भन्ने लाग्यो र त्यतैतिर मेरो रुचि छ र त्यही मेरो प्राथमिकतामा पर्यो। सबैको आ-आफ्नै विशेषता र क्षमता हुन्छ र कमजोरी पनि हुन्छ। मेरो थुप्रै कमजोरीमध्ये कविता लेख्न नजान्नु पनि हो र त्यतातिर लाग्नुभन्दा अरुतिरै लाग्दा उपयोगी हुन्छ भन्ने निर्णयमा पुगे। के अब पनि उजेलीजीकै प्रतिक्रियाको डोरो समाइराख्नु जरुरी छ र। अनि मैले आफ्नै रुचि विरुद्ध गएर कविता लेखनलाई नै निरन्तरता दिई नै राख्नु पर्छ? मेरो लागि सकारात्मक कुरा कुन भयो त? मैले भन्न खोजेको कुरा यति मात्रै हो कि, जोसुकैको पनि जुनसुकै कुरामा आ-आफ्नो विचार हुनसक्छ। तर यहाँ जुन प्रतिक्रियालाई समाएर मच्चियौ, त्यसले मेरो लेखनलाई नकारात्मक हैन सकारात्मक नै बाटो दिएको मेरो ठम्याई छ। त्यसैले यसबारेमा आ-आफ्ना विचार र प्रतिक्रिया दिने जतिपनि साथीहरु हुनुहुन्छ। सबैलाई धन्यवाद दिँदै आभार प्रकट गर्छु म।

Tuesday, September 09, 2008

कर्नाली दख्खिन बग्दो छ

साढे १ घण्टाको अवधिमा शिलशिलाबद्ध ढ‌ंगले कर्णालीको सुन्दरताभित्र रहेको यथार्थ अनुहार चित्रण गरिएको छ 'कर्नाली दख्खिन बग्दो छ' नामक नाटकमा। गुरुकूल (तपाई हाम्रो माझ यो नाम नौलो हैन भन्ने मेरो अनुमानसँगै अघि बढ्दैछु)को सहयोगमा कर्णालीबासीहरुकै संलग्नतामा मञ्चन गरिएको सो नाटकमा कर्णालीले वर्षौदेखि भोग्दै आएको अनेकौ कष्ट र पीडालाई उनिएको छ। भौगोलिकरुपमा पछाडि पर्नु मात्रै हैन नीति निर्माताद्वारा बेवास्ता गरिनु र काठमाडौ केन्द्रित राज्य व्यवस्थाले जन्माएको विविध समस्याहरुसँगै खेप्दै आएको हण्डरले कर्णालीवासीहरुमा ल्याएको आक्रोसको झिल्का देखिएको छ। गत शुक्रबार ११ जना साथीहरुको समूह पुगेका थियौ सो नाटक हेर्न गुरुकूलको प्राङगणमा। रिमाल थिएटरको क्षमताभन्दा बढी दर्शकको भीडभाड लाग्दा टिकट पाउँन अलिक मेहेनत नै गर्नुपर्यो।

कर्णालीको मौलिक सांस्कृतिक परम्पराको रन्कोसँगै शुरु हुन्छ नाटक- बाजागाजासहित नाचगान, गीत, रोपाईजस्ता दृश्य एकातिर छ भने अर्कोतिर कर्णालीको छङछङ बग्ने नदीलाई पृष्ठभूमिको स्क्रीनमा देखाइँदा साँच्चिकै सुन्दर लाग्छ कर्णाली। रमाइलो प्रस्तुतीभित्रै बिस्तारै बिस्तारै कर्णालीको पीडालाई छिराउँदै छिराउँदै सुन्दरताभित्र जकडीएर रहेको स्थानीय बासिन्दाहरुको गम्भीर दिनचर्या र समस्यातिर दर्शकलाई डोर्याउँछ नाटकले। दर्शकहरु हाँस्दाहाँस्दै टक्क अडिन पुग्छन् कतिपय अवस्थामा। क्रमिक ढंगमा नाटकको विषयवस्तु बग्दै गएको छ। विद्यालयमा मास्टरले र विद्यार्थीवीच भाषाको समस्या त छँदैछ। त्योभन्दा पनि विद्यालय पढ्नकै लागि तुइनबाट कर्णाली नदी तर्नुपर्ने, वर्षामासको बेला नदीतर्दा नदीमा खसेर ज्यान गुमाउनुपर्ने विद्यार्थीको नियतीलाई मार्मिक ढंगले देखाइएको छ। ९ र १२ वर्षका केटाकेटीको विवाह गराउँदाको व्यङ्ग्यात्मक तर रमाइलो प्रस्तुती, र गम्भीर विषयमा पनि ठट्यौलो पारामा बोलिएको संवाद र अभिनयले धेरै दर्शक हाँसे। तर त्यसको आशय र सन्देश निकै नै सोचनिय र गहिरो छ।

२ दिन हिडेर नागरिकता बनाउँन गमगढी पुग्दा झेल्नु परेको प्रशासनिक झमेला र सरकारी कर्मचारीको लापरवाहीपना, हरदम खाद्यान्न अभाव भइरहने ठाउँमा बल्ल बल्ल खाद्यान्न पुग्दा हाकिम भनाउँदाहरुको चाकडी र मूडमा भर पर्नुपर्ने, हाकिमले मन लागेजति मन लागेको व्यक्तिलाई खाद्यान्न लिन लाइन लागेका कर्णालीवासीहरुकै आँखा अगाडी दुरुपयोग गरिरहेको छ। भोकै मर्न लागेकाहरुकै बीचमा भट्टीमा चामलको रक्सी खाने हाकिमलाई दाउरा बोक्ने गाउँलेको सटिक विद्रोह र व्यङग्य निकै चोटिलो लाग्यो। दाउरा बेच्ने क्रममा भट्टीवाल्नी साहुनीले दाउरा किन्छन्। खाद्यन्नको हाकिमले लोकल रक्सी खाइरहेको देखेपछि उसलाई पारो चढ्छ। अनि रक्सी मगाउँछ। लोकल रक्सी ल्याएपनि उसले क्वाटर नै खाने ढिपी गर्छ। हाकिमतिर कड्के नजर लगाउँदै हाम्लाई भोकै पारेर तिमी नै चामलको रक्सी खाउँ म त क्वार्टर नै खान्छु भन्दै एक भारी दाउँरा बेचेको पैसाभन्दा धेरै मूल्यको रक्सी खाएर हाकिमप्रति रीस पोख्छ। मनको भडास् पोखेपछि फेरीपनि उही हाकिमकै तजबिजमा बस्नुपर्ने बास्तविकतालाई स्वीकार्दै उ बाटो लाग्छ।

केही गरे'नि हात मुख जोड्नै नसकिने भएछि कमाउँने जोहोमा गाउँ शुन्य पारेर सबै जवान जति परदेशिन्छन्- लस्करै लागेर। गाउँमा बुढाबुढी, आइमाई र केटाकेटी दुःखजिलो बस्छन्। भौगोलिक विकटता आफ्नै ठाउँमा छँदैछ। काम गर्दागर्दै एकजना बृद्ध लडेर नराम्ररी घाइते हुन्छन्। गाउँको स्वास्थ्य चौकीमा रुघाखोकीबाहेक अन्यको औषधी नहुँदा जसोतसो गरेर सदरमुकाम पुग्छन्। यातायातको असुविधाकै कारण विरामी बाटैमा मर्छ। लाशलाई काँध दिने लोग्नेमान्छे नहुँदा आइमाइहरुले काँध दिएर सत्‌गत् गर्छन्। नीति निर्माता, योजनाकार, राज्यसत्ता सञ्चालन गरेर बसेकाहरु सबैलाई निकै गम्भीर प्रश्नहरु तेर्स्याउँदै बिट मारिन्छ नाटकको।

राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको 'राराको सुन्दरता' कर्णालीवासीकै लागि गौण किन? उनीहरुले राज्यबाट नागरिकता भन्दा बढी के पाएका छन् त? आखिर किन त? के साँच्चै नै तपाई हामी सबैसँग कर्णालीको सही नक्सा छ? यस्तै यस्तै अनगिन्ती प्रश्नहरु उप्काएको छ नाटकले। भाषाको सन्दर्भमा कर्णालीकै जनजिब्रोमा रहेको ठेट खस भाषाको प्रयोग गरिएको छ। त्यसले केही ठाउँमा भाषा-संवादको अस्पष्टता हुन्छ सामान्य दर्शकलाई । तैपनि पात्रहरुको हाउभाउ सशक्त र स्पष्ट भएकोले भन्न खोजेको आशय र भाव बुझिन्छ।

मुगुमा गुरुकूल नाटकघर बनाउँने कर्णालीवासीहरुको सपनालाई साकार पार्ने प्रयत्नमा यो नाटक देखाइएको छ। नाटक शुरु हुनु अगावै गुरुकूलकी निशा शर्माले बताए- यो नाटकमा खेल्ने प्रायजसो सबै कर्णालीकै भाइबहिनीहरु छन् र नयाँ अनुहारहरु छन्। नाटक हेर्दाखेरी नयाँ अनुहार देखिए अनि अभिनय-कलामा सबै एक से एक उत्रिए। नाटक शुरु भएको केही छिनपछि काठमाडौको परिवेशभन्दा बेग्लै परिवेशबाट आएको कर्णालीको प्रतिनिधि (नाटको मूल पात्र)बिजुलीबत्तीको झिलीमिली, अनेकथरीका मान्छे, बेग्लै भाषा र रहनसहन, अनि हूलमूल देखेपछि स्टेजबाट डराएर बाहिरिन्छ। दर्शकहरुकै भीडमा बसेकी निशा शर्मा गुरुकूलको नेतृ‍त्व गर्दै स्टेजमा हत्त न पत्त उभिन्छिन्- 'मैले अघि नै भनिहाले नि उनीहरु नयाँ छन् भनेर, धेरै मान्छे देखेर उनीहरु डराए, एकैछिन है म सम्झाएर ल्याउँछु' भन्दै पर्दा पछाडि गएर डोर्याएर ल्याउँछिन्। सम्झाईबुझाई गर्ने क्रममा नाटक गर्नेपर्ने र मुगुमा नाटकघर बनाउँने काममा (केही गिनेचुनेको नाम चलेका व्यक्तिहरुलाई देखाउँदै)यहाँ आएका सबैले सघाउँछन् भन्ने संवाद र दृश्यले दुईटा सन्देश बोकेको छ- कर्णाली आफैले आवाज उठाउनुपर्ने र त्यसलाई हामी सम्पूर्ण नेपालीले बुझ्नुपर्ने र साथ दिनैपर्ने भन्ने बुझाउँन खोजिएको छ। एकैछिन दर्शकहरु अलमलमा पर्छन्। लौ ! मूल पात्र नै डराएर स्टेज बाहिर गयो अब के हुन्छ? भन्ने खासखुस कुरा चल्छ। तर यो पनि नाटककै अंश रहेछ भन्ने थाहा पाएपछि फेरी खासखुस हुन्छ अनि कर्णालीसँगै बग्न थाल्छन् दर्शकहरु।

यो नाटकमा कर्णाली र कर्णालीबासीहरु बोलेका छन् राष्ट्रको सामु, तपाई हाम्रो सामु, यो सम्पूर्ण राज्यव्यवस्था सामु। नाटकमार्फत भएपनि धेरै कुरामा उनीहरुको आक्रोश र विद्रोह देखिएको छ। तैपनि आखिरमा निरन्तर कर्णाली बगेझै कर्णालीवासीहरुको पीडा र दुःखको दिन निरन्तर चलीरहेको छ। त्यसैले कर्णालीको क्रोध-निरासा-पीडाको मिश्रित अनुभूतियुक्त गम्भीर प्रश्न तेर्स्याउँदै नाटक सकिन्छ। अघिसम्म हाँस्दै गरेका दर्शकहरु हल बाहिर निस्कदा गम्भीर रुपमा मनमा कुरा गुन्दै-उन्दै निस्किएको देखिन्थ्यो। पात्रहरुको जीवन्त अभिनय देखिन्थ्यो। उनीहरुको भेषभूषा, फरक फरक घटनाहरुमा प्रयोग गरिएका सामाग्रीहरुले थप जीवन दिएको छ नाटकलाई।

गुरुकूलको नाटक हेर्ने सन्दर्भमा एउटा Slogan नै छ भन्दा'नि हुन्छ 'राम्रो लागे साथीलाई भन्ने, नराम्रो लागेमा हामीलाई आएर भन्ने'। मलाई नाटक राम्रो लाग्यो त्यसैले साथीहरुलाई भन्दैछु।

मैले कैद गरेको केही दृश्यहरुः

रमाइलोसँग रोपाहार र बाउसेहरु रोपाइ गर्दै।


कक्षाकोठामा विद्यार्थीहरु हल्लाखल्ला गर्दै गर्दा मास्टरको प्रवशेपछि गाली गर्दै।


एकातिर खाद्यन्न लिने लस्करमा कर्णालीवासी, उनीहरुकै अगाडीबाट खाद्यान्नको हाकिमसँगको मिलेमतोमा खाद्यान्न बोकाएर लगिँदै।


खाद्यान्नको लाइनमा तँछाड र मछाँड गर्दै।


बाबुआमाहरु आ-आफ्ना छोराछोरीको विहे (बालविवाह)गराउँदै।


भीरबाट लडेको बिरामी बाटोमै मरेपछि दहसंस्कारको लागि लगिदै।

Sunday, September 07, 2008

The Post, for the Confession

यो मेरो कुटीमा मैले कतिपय कुरामा मन खोलेरै बह पोख्दै आएको छु। त्यसमा साथ दिने र सुझाब दिने थुप्रै साथीहरु पनि भेटे, जुन मेरो लागि ठूलो कुरा हो (म यहाँ कसैको नाम तोक्न चाहन्न। त्यो काम पछिल्ला पोष्टलाई साँच्दैछु।)। शुरु शुरुको केही महिनासम्म आफ्नै धुनमा लेख्दै कुटीभित्र आफै बसे। भनौ न आफैसँग वार्तालाप गरिरहे। सानैदेखि म एक्लै भएकोले हुनसक्छ, गाउँमा हुँदादेखि नै म नितान्तै व्यक्तिगत डायरी लेख्ने गर्थे। जसलाई म आफैले आफ्नो विगतलाई फर्केर हेर्ने काममा लगाउँछु, फुर्सदको समयमा। बिस्तारै समय बित्दै जाँदा धेरै कुरासँग परिचित हुँदै गए। जिवनमा धेरै कुराहरु देख्दै भोग्दै जाँदा साथीहरु भेटिए। अनि मनको बह पोख्न विभिन्न माध्यमहरु पनि फेला पार्दै लगे। त्यसले गर्दा डायरी लेखनमा अलिकति सुस्ताउन थाले म।

व्यक्तिगत कुराले भर्दै आएको त्यो डायरीमा अन्य कुराहरु पनि मिसिन थालेको थियो। जुन मलाई भित्रैदेखि मन परिरहेको थिएन। त्यसले गर्दा मेरो डायरीको पाना त बेला बेलामा भरिन्थ्यो। तर त्यसको सबैभन्दा माथि तोकिने मितिबीच धेरै लामो दूरी तय हुन थाल्यो। त्यसै क्रममा ब्लगिङलाई नै डायरीको अर्को स्वरुपमा किन नढाल्ने त भन्ने सोच आयो (ज्ञानेन्द्रको 'शाही कू'सँगै शुरु भएका केही नेपाली ब्लगको पाठक रहँदा निकै नै नौलो लागेको थियो मलाई)। भएनि ब्लगिङ शुरु गर्न सकिरहेको थिइन। २००८ लागेदेखि ब्लगिङ शुरु गरे। संयोग, ठ्याक्कै त्यही ताका हाम्रो ब्लगको केपी ढुंगानाले मार्टिन चौतारीमा ब्लगिङसम्बन्धी आफ्ना अनुभव र विचार राखेका थिए। त्यसले पनि मलाई अझ रुचि बढायो ब्लगिङतर्फ। अनि मेरो मनमा लागेका, मैले देखे भोगेका कुराहरुबारेमा आफ्नै पारामा लेख्दै जान थाले। त्यसपछि त धेरै साथीहरुलाई थाहै भाको कुरा के लेखीरहनु र? तर पनि फेरी म यहाँ अलिकति सुसेल्दैछु, थोरै केही ओकल्दैछु आफ्नै बारेमा, तपाई र मेरो (हाम्रो)सम्बन्धको बारेमा।

अब कुराको चुरोमा जाऊ। म पहिलेदेखि कविता लेख्न मन पराउँदिनथे। न त अहिले नै मन पराउँछु। लाइन टु लाइन लेख्दै जान जत्ति सजिलो छ। उत्तिनै अप्ठ्यारो लाग्छ मलाई कविता लेख्न। हुन त म राम्रो लेख्न सक्ने मान्छे पनि हैन। तर म साधारण लेखाईमा नै आफूलाई एकदमै सजिलो र सहज भएको महशुश गर्छु। त्यति हुँदाहुँदै पनि यो भन्दा अघिल्लो पोष्टमा मैले मनको बह पोख्ने शैली रोजे- आफूलाई अप्ठ्यारै लाग्ने खालको (उजेलीजीले कविता भन्नुभएको छ। शरीर हेर्दा त कविताको छ तर त्यो न कविता हुन सकेको छ न त अरु कुनै। यता न उताको पारेर मैले राखिदिए)। मन नमान्दा नमान्दै मैले त्यसलाई ठेलीदिए। त्यसपछि हटाइदिउँ कि भन्ने मन भयो। तर फेरी अठोट गरे- अन्तिम पटक हुनेछ यो शैलीको मेरो लेखनी। कुटी मेरो व्यक्तिगत डायरी भनेनि साथीहरुमाझ बाँड्न थालेपछि केही न केही साथीहरुको पनि हो भन्ने ठान्छु म। त्यसैले साथीहरुको प्रतिक्रियाको पनि अपेक्षा थियो। जुन पुरा भएको छ। (सम्भवत मेरो ब्लगका नियमित पाठक साथीहरु धेरैजसोले मनमा लागेका कुराहरुमा कुटीभित्रै टिप्पणी दिइरहनुभएको छ। बाँकी केहीले कुटीबाहिर टिप्पणी दिने गर्नुहुन्छ। राम्रो लागेको कुरामा धेरैले मलाई हौसाउनुभएकै छ)।

साथीहरुको टिप्पणीमा मेरो सानो बुझाई यहाँ राख्छु। मेरा ब्लगर मित्रहरु जो मेरो कुटीमा चियाउँनुहुन्छ। मैले पोष्ट गरेको कुराप्रति तपाईहरुको विचार र दृष्टिकोणले पनि धेरै कुराको निर्धारण गर्छ (नियमित चियाउँने साथिहरुको सन्दर्भमा अझ बढी यो कुरा लागू हुन्छ मेरो लागि)। अघिल्लो यता न उताको लेखनी, जुन जानी जानी गरेको बिठ्ठ्याई,मा गजबको सल्लाह दिनु भो गफगाफको उजेली जीले। वास्तवमा म कविता लेख्न नजान्ने मान्छे नै हुँ। र मैले लेखेको यो टुक्राले कविताको शरिर बोकेको भएनि कविता चाहि पक्कै हैन। त्यसो भन्दा मलाई कुनै ग्लानी हुँदैन। न त तपाईको सुझाबले नै नरमाइलो लाग्छ। आफूमा जे छ त्यही कुरा स्वीकार्नुमा के को ग्लानी? बरु मैले मेरो मनको बहलाई कविताको स्वरुप धारण गराएकोमा आफ्नै शैलीलाई गएको २ दिनसम्म श्रद्धाञ्जली चढाइरहेँ (यहाँ गलत अर्थ नलागोस्)। त्यसैले आज आएर त्यो श्रद्धाञ्जली फुकाउँदैछु, तपाईहरु सामू मनको अर्को बह पोखेर।

नाच्न नजान्नेलाई आँगन टेढो हुन्छ? कुरा के मात्रै हो भने नाच्न नजानेकै हो कि साँच्चिकै आँगन टेढो हो भन्ने कुरा आफैले खुट्ट्याउनु जरुरी छ। यहाँ मेरो सन्दर्भमा उजेलीजीबाहेक धेरै साथीहरुले मौन रुपमा, बिना कुनै अक्षर, बिना कुनै शब्द प्रतिक्रिया दिनुभएको मैले ठानेकी छु। सोझै भन्दा रिसाउने हो कि भन्ने पनि थुप्रै साथीहरुले ख्याल गर्नु भएछ। उजेली जीले नै भन्नुभएको छ शुरुमै- नरिसाउनु होला है। ब्लगिङको क्रममा थुप्रै साथीहरुले राम्रो कुरालाई खुलेर राम्रो भन्नुको साथै नराम्रो कुरालाई सुधार्ने कुरामा बाटो पहिल्याउन मद्दत पुर्याउँनु भएको छ। राम्रोमा ताली र नराम्रोमा गाली गर्ने थुप्रै साथीहरुको प्रतिक्रिया पाउँदा एउटा परिवार पाएझैँ लाग्छ मलाई। यो एकआपसको परिवार अझ मजबुत भइ अगाडि बढीरहने छ भन्ने अपेक्षा गर्छु।

Friday, September 05, 2008

कोशीको बाढी र मेरो मनको बह

सुन्दर जगत थियो, क्षणभरमै जलमग्न देखियो
शान्त रहेको कोशीको अथाह शक्ति खुबै उर्लियो
अनगिन्ती जीवन-जगत भयंकर संकटमा आत्तियो
र पनि विनाशको गतिमा त्यो कोशी अघ्घोरै कुर्लियो ।

भएभरको सबै सोहोर्दै निमिट्यान्न पार्दै गयो
हुँदाहुँदा कोशीले आफ्नो बाटो अन्तै खन्यो
बाटो खन्दै सबै पुर्दै लगातार अघि बढ्यो
कोशीलाई के था त्यहाँ कैयौँको चिहान बन्यो ।

सुनिन्छ कोशी दुख्दा कर्णालीले पनि निकै गम्यो
साँच्चै नै कोशीको असीमित पीडाले धेरैलाई छोयो
भन्छन् सेती भेरी अनि महाकाली पनि पीरले जम्यो
फेरीपनि पीडितको भागमा मकै पर्ला कि मात्र खोयो ।

सन्धी सम्झौताबारे सबैलाई दुधका-दुध पानीका-पानी होस्
हुन पनि बर्षौदेखि नेपालले सहनै सम्म सह्यो
उप्रान्त आफ्नै घरको टेको भाँच्ने काम कसैगरी नहोस्
त्यसमा सबैले खबरदारी गरुन् मेरो भन्नु बस यत्ति रह्यो ।






(कोशीको बाढी पीडितहरुका सन्दर्भमा गाँसेको छु यो टुक्रा।) नेपाल पाक्षिकमा छापिएका यी तस्बीरहरु http://www.ekantipur.com/ बाट साभार गरेको हो।

Wednesday, September 03, 2008

निराहार ब्रतको कमाल

हिजो तीजको दिन। दिनभरी लाखौँ विवाहित/अविवाहित नेपालका महिलाहरुले आफ्ना पतिको दीर्घायुको लागि तथा राम्रो पति पाउने मनोकामनासाथ निराहार ब्रत बसेर पूजाआजा गरे (त्यसमध्ये केहीले पानी र फलफूल- चोखो र शुद्ध मानिने खानेकुरा खाए होलान्)। विवाहित महिलाहरु आफ्नो पतिको आयू लामो हुने र अविवाहित नारीहरुको सन्दर्भमा कुशल/राम्रो लोग्ने पाउने कुराप्रति विश्वास लिएर ब्रत बसेको मानिन्छ। खैर तीजको विभिन्न पक्षहरुबारेमा सालैपिच्छे थुप्रै विचारहरु लेख रचनाहरुमार्फत देख्न पाइन्छ। यसपटक पनि पढ्न पाइएकै हो। त्यसैले पनि मैले यो बारेमा लेख्न जाँगर लगाइन। तर परिवर्तनका संवाहक मानिने नयाँ पुस्ताहरुले समेत आँखा चिम्लेर त्यसैको पालना गरेको देख्दा अनौठो लाग्यो।

पहिले पहिलेको युगमा आफ्नो पतिको लागि पत्नीले ब्रत बसेर विभिन्न संकटमा जोगाएको मात्र हैन यमराजको मुठ्ठीमा परेको पतिलाई समेत फिर्ता ल्याएको, कडा ब्रतकै भरमा ईच्छाइएको पति पाएको पौराणिक कथाहरु छन्। तीज पर्व हिन्दु नारीहरुको लागि ठूलै महत्व बोकेको र सोही अनुरुप राज्यले पनि स्वीकार्दै आएको कुरामा दुईमत छैन। न त यसको ऐतिहासिक पाटोलाई नै नकार्न मिल्छ। आजको सन्दर्भमा आइपुग्दा आधुनिकताको लेस बसीसकेकै किन नहोस् तर तिनै पुराना युगका पत्नीहरुको आदर्श र संस्कारलाई आजका नयाँ पुस्ताले समेत पनि केही नसोचीकन पछ्याइरहनु कत्तिको उचित होला? मेरो दिमागमा यो प्रश्नले हिर्काइरह्यो हिजो साँझदेखि आज विहानैसम्म। त्यसो हुनुको घटना यहाँ जोडौः

एकजना मेरी संगी, (उमेरले म भन्दा कान्छी- भर्खरै Teen age को संघार छाड्दै गरेकी) जो अविवाहित छिन्-ले हिजो दिनभरी मुखमा एकथोपा पानी पनि नखाईकन ब्रत बसिन् (हुन त सालैपिच्छे बस्ने गरेकी रहेछिन्)। एकाविहानै ४ बजेदेखि पशुपतिको दर्शनको लागि लाइनमा बसिन्। बल्लबल्ल १२ बजे दर्शन गर्ने पालो आएछ। दर्शन गरेर घर फर्केपछि छरछिमेकीसँग रमाइलो र नाचगान गर्दागर्दै मुर्छा परिछन्। संयोगबस मैले फोन गरे, भर्खरै ब्युतिएकी रहेछिन्। मलिनो आवाज सुन्नासाथ मैले सोधे अनि सबैकुरा थाहा भो। ऊ अझै भन्दैथिई- अब केहीबेरपछि पूजा गर्ने अनि मात्रै पानी खाने। मैले गज्जबसँग स्यावासी दिए। उनको साथी (भनौ न ब्वाइफ्रेण्ड)पनि आफ्नो लागि ब्रत बसेकी प्रेमिकाको सो ब्रतप्रति खुशी थिए। उसलाई त झन् मज्जाको बधाई नै टक्राईदिए। प्रेमिकाले आफुलाई माया गरेको टोकन भेटेकोमा खुशी थिए सायद ती पुरुष मित्र। अनि मेरो संगी चाहि आफ्नो कर्तव्य र संस्कार हुबहू निभाएको र सोवापत खुशी भएको प्रेमीको खुशीले आफ्नो पीडालाई ढाक्दैथिई र त्यसैमा खुशी हुँदैथिई। सो ब्रतको कमाल त्यत्तिमै कहाँ सकिन्छ र। आज थाहा भो, उ त काम गर्न सक्ने स्थितिमै आईपुग्न सकेकै रहेनछ। भोली फेरी पञ्चमी पर्यो। अरुको लागि खै कुन्नी त्यसको लागि चाहि तङ्‌रिन्छे ऊ।

थप अर्को घटनाः नाताले दिदी पर्ने, आफ्नो पतिको लागि निराहार ब्रत बसिन्‌। अघिल्लो दिन (हो कि रात हो) बेस्सरी दर खाएको, भोलिपल्ट सुख्खा ब्रत बसेको, पशुपतिबाहिर टन्टलापुर घाममा लाइन लागेर, नाचगन गरेर घर फर्किए। अनि साँझ परेपछि 'पोइल जान पाम्' भन्दै सँगीहरुसँग भेला भएर तालमा ताल मिलाउँदै रमाउँन थाले। केहीबेरमा गीतसंगीत बन्द भयो र हल्ला खल्ला शुरु भयो। दिदीको पेटमा हावा भरिएछ क्यारा। ग्याष्ट्रिकलाई गतिलै मलजल भो सायद। उँधोउभो लाग्यो भन्थे हाम्रा गाउँघरमा त्यस्तै भो उनलाई। आवाज सुनिन्थ्योः अब त पानी खाँदा नि हुन्छ, अर्को आवाज आउँछः यत्तिका दिनभरी त सहेको अब एक्कैछिन हो, मुख कुल्ला गरेपनि ननिल्नु नि।

मैले प्रश्न गरेथेः ब्रत बस्दा यसो फलफूल अनि शुद्ध मानिने कुरा खाँदा त हुँदो हो नि हैन र?
पानी निल्दा त लोग्नेको रगत खाए सरहको पाप लाग्छ अनि कताको फलफूल खानु नि? मुखमा आको थुकसमेत निल्नु हुन्न भन्ने उत्तर पाएर म चकित भए। विश्वास या अन्धानुकरण? यि दुवैजना उमेर र लवाईखवाईको हिसाबले अहिलेकै पुस्ताका प्रतिनिधि हुन्। र धेरै कुरासँग परिचित पनि छन्। तैपनि यो कदमलाई के भन्ने?

ब्रतको तत्काल फल त उनीहरुको शारिरीक अवस्थाले बताइहाल्यो। यस्तै चाल बर्षेनी रह्यो भने दीर्घायू फल पनि अवश्य मिल्छ। ब्रतकै आडमा उहिलेको पत्नीहरुले पतिको आयु बढाए। अब अहिलेका यस्ता पत्नीहरुले पनि पतिको आयू लम्बाउन जसरी पनि भूमिका खेल्दैछन्। आफ्नो आयू घटाउँदै लगेपछि पतिको आयू केही न केही नबढ्ने कुरै भएन। जे भएनि पतिभन्दा पहिले मर्न पाउँ भन्ने मनोकामना पूरा होला कि? बराबरको २ वटा लौरोमध्ये एउटालाई लामो पार्ने चक्करमा अर्कोलाई अलिकति काटेर फ्याँकेजस्तै पो लाग्छ मलाई त।

हुन त बारम्बारको अनुरोध र सम्झाईबुझाईवापत पनि मैले ब्रत नबसेकोले उनीहरुको नजरमा म नास्तिक परे। म बबुरो के गर्छु र? सालैपिच्छे भन्छुः इच्छा लागेका र विश्वास भएकाहरु बस्दा कसलाई के को खस्‌खस्, अनि नलागेकाहरु बस्नुको केही तुक छ र? जबरजस्ती ज्यानमा थप रोगलाई किन निम्त्याउनु? बस्नैपरे पनि भोकै/प्यासै बस्नुभन्दा केही खाएर बस्दा सबैलाई राम्रै हुन्छ। बाँकी आ-आफ्नो इच्छाको कुरा हो। धर्म, संस्कार, परम्परा, आस्थाको कुरासँग सोझै सम्बन्ध राख्ने यो तीजको ब्रतको सन्दर्भमा मैले भनेझैँ सजिलो हुने भए ?!?!?!?!

खैर,
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ...