Monday, March 30, 2009

खोजी डेराको

बेथुको साग टक्टकाउँदै
फुको भात निल्छु
टुहुरो भान्सा,
टुहुरो भान्साकै तागत लिएर
भर्ल्याङ्गे झोला भिरेर
डेराबाहिर निस्किन्छु
डेरा खोज्न

अग्ला अग्ला घरका फेदैफेद चाहार्छु
गल्ली गल्ली फन्फनी घुम्छु
गम्छु,
देखेजति सबै घरमा सोध्छु
भेटेजति सबैसँग सोध्छु
'कोठा खाली छ?'

बा आमाले आर्जेका घर
म जन्मेको त्यो घर
बतास नाच्दो हो चारै कुनामा
म हुर्केको त्यही घर
सुसार खोज्दो हो बेलाबेलामा
खै! के फाइदा र?
त्यहाँ गएर मैले गर्नु के छ र?
न बनाउँनु छ नयाँ घर त्यहाँ,
न त यहाँ

निभेको अगुल्टो कहाँ सल्काउँनु छ र?
रन्के नि रन्कोस्
पोले नि पोलोस्
डढे नि डढोस्
बरु दन्केकै राँको बोक्नु छ मलाई
भएभरका सबै जात्रा देख्नु छ मलाई
यहाँको जीवन भोग्नु छ मलाई
यही जीवन थेग्नु छ मलाई
वर्षौँदेखि यही खाल्डोमै अडिएको 'नेपाल'
हो,
हो त्यही नेपाल चिन्नु छ मलाई

त्यसैले,
घरीघरी सल्बलाउँछु
यहाँका जोल्ठिएका घर-घरमा
साँगुरा, चेपिएका
यी सेपिला गल्लीगल्लीमा
मुखबाट फुत्काउँछु
'सन्नुस् न, कोठा खाली छ?'
सोधनी हुन्छ थातथलोको
सोधनी हुन्छ कूलघरानको
सोधनी हुन्छ कामकाजको
सोधनी हुन्छ घरबारको
अनि,
सोधनी हुन्छ आयआर्जनको
कुरा गर्यो कुरैको दुःख
अचम्म !
बग्रेल्ती घरैघर छन् यहाँ
र पनि,
चाहिएको बेला अहँ मैले सकिन...

म सोच्छु,
अनुभव गर्छु,
दिमाग पलाएको छ
अनि छरिएको पनि छ
दिमाग निखारिएको छ
अनि भाँचिएको पनि छ, यही सहरमा
तैपनि म खुट्याउन असमर्थ छु
म छु यहाँ, रहरमा कि करमा?
आखिरमा,
डेरा चाहिएकै छ मलाई,
यही सहरमा
हो, यही सहरमा।

१० चैत २०६५, सोमबार, काठमाडौँ।

(गत २ महिनादेखि लगातार डेराको खोजी गर्दागर्दै पनि पायक पर्ने र भनेको जस्तो कोठा भेटिएन। त्यसको सट्टा आत्मलाप गर्दै यो कविता कोरे। त्यसैलाई कुटीमा छिराएको छु।)

Friday, March 20, 2009

"Perfume" र पानी

पानी नै पानी भएको देशमा पानी नै कम भएर लोडसेडिङ भएको रे! तै तै काकाकुल बनेको काठमाडौँमा आज त पानी दर्किने ठूलै सम्भावना देखिँदैछ। रुन्चे मौसम धीत मरुन्जेल रोए त कति जाती हुन्थ्यो भनेर सबैको मनमा पक्कै छ। तर बाछिटामै सीमित भइरहेको छ। गड्याङगुडुङको धमाका पनि भइराछ। कतै बाछिटा बाक्लिदै गएर रमाइलो भइहाल्छ कि भन्ने आशमा छु म। साथै दुईजना साथीहरुको याद पनि आयो। किनकी उनीहरुले केही दिन अघि मेरो हातमा थमाएका थिए- परफ्यूम। 'पानीको खूब सर्टेज रैछ। पानी त ल्याउँन सकिन्न। तिमीलाई ई यो चिनो। मूड चल्यो भने ज्यानमा छ्यास्‌छुस्‌ पनि पार!' पानीको दुःखप्रति औँल्याउँदै र मैले कहिल्यै परफ्यूम प्रयोग नगरेकोप्रति सचेत हुँदै भएपनि चिनो दिएका थिए एउटा साथीले (पानी नहुँदा नुहाउँन नपाएपछि यसो ज्यानमा छर्केर हिड्दा बासनै आउँला कि त!)। अर्को साथीले चाहिँ 'लोडसेडिङ्ले भनेजस्तो फिल्म हेर्न नपाएपनि चाहेको खण्डमा रातभर बसेरै पनि हेरिहाल्छौ नि हगि?' भन्दै फिल्म दिए- 'Perfume: The Story of a Murderer'।

दुबै परफ्यूम थाँती रहेका थिए। छ्यास्‌छुस पार्ने परफ्यूमको म प्रेमी परिन। तैपनि साथीले दिएको उपहारको महत्व अलग्गै हुन्छ। खासगरी हेर्ने परफ्यूमको लागि ताक पार्नै सकिराखेको थिइन। मौका जुराए मैले हिजै रातीको १२ बजे, बत्ती आएपछि। रोचक लाग्यो। एकपल्ट हेरीसकेपछि फेरी दोहोर्याएर हेर्न मन लाग्यो। अनि यसबारेमा ब्लगमा ठेल्दिने सोच पनि। म अहिले मनमनै सोच्दैछु। बाहिर खूब पानी दर्कीरहोस् (खूब त हैन भुईको धूलो मेटिनेसम्मको परिराखेको छ। बेलाबेलामा बिजुली पनि चम्किरहेको छ)। म यहाँ बसेर ब्लगमा लेखिरहुँ। लेख्दालेख्दै अड्किए भने बाहिर परिरहेको पानीको बाक्लो मुस्लो हात्केलामा थापु। हत्केलामा थाप्दाथाप्दै ब्लगमा अब फेरी यसरी लेख्छु भन्दै सोचीरहेको हुनेछु। हत्केलाबाट पानीको थोपा उछिट्टिएको देख्दा थाहै नपाई मैले भोगीरहेको समय उछिट्टिरहेको महशुश गरुँ। अनि हत्तपत्त ब्लग लेख्न बसुँ। तर, कसैगरी बिजुली चाहि नमरोस्! कसैगरी पनि। नत्र फेरी बिजुली ब्युझिँदाखेरी यही कुरा, यही रुपमा लेखिन र ब्लगमा पब्लिस नै नहुन सक्छ। लौ बर्बाद! अलिअलि छिटाएको पानी पनि हरायो। नमिठो या तीतो हुनेगरी कुनै चीजको स्वाद लिएपछिको अनुहारको भावझैँ देखिएको मौसमले थप पानी पार्ला कि नपार्ला कुन्नी? म चाहिँ परफ्युमको बारेमा लेख्न थाले।

सन् २००६ मा Tom Tykwer को निर्देशनमा बनेको १४७ मिनेटको "Perfume" १८औँ शतान्दीको फ्रान्सको एउटा आश्चर्यजनक कथा हो। जसलाई crime, Romance, Drama, Thriller फिल्मको रुपमा लिइएको छ। जहाँ अद्भूत सुघ्ने शक्ति लिएर आएको एक अनौठो व्यक्ति Jean-Baptiste Grenouille (जसको खास नाम Ben Whishaw हो)(सु)गन्धकै भरमा बाँच्छ र त्यसैको लागि जेसुकै पनि गर्छ। उसले मानव शरीरको आकर्षित सुगन्ध पत्ता लगाउँछ र त्यसलाई सँधैको लागि कैद गर्न २५ जना केटीहरुको हत्या गर्छ र त्यसबाट चाहेजस्तै परफ्यूम बनाउँछ। अन्तत त्यो सुगन्धित परफ्युमकै सुगन्धद्वारा फाँसी हुनुको सट्टा देवदूतको दर्जा पाउँछ। उक्त सुगन्धले हरेक व्यक्तिमा माया-प्रेम पैदा गराउँछ। रोमाञ्चित मात्रै हैन सबैलाई लठ्ठ नै पार्छ। त्यही परफ्यूमले संसारलाई आफ्नो हातमा राख्न सक्ने क्षमता बोक्छ। तरपनि Jean-Baptiste Grenouille विरक्त नै हुन्छन्। किनकी उनले न त ले भित्रैदेखि चाहेको सुगन्ध पाउँछ, न त माया नै। हरेक बासना या सुगन्धलाई सँधैको लागि कैद गर्ने उसको एउटै उद्देश्य पूरा भएपछि उनीसँग अर्को कुनै चाह रहँदैन। रहन्छ त सिर्फ उसले गुमाएको माया र सुगन्ध। जो एउटा केटीको शरीरमा भेटेको हुन्छ। आफ्नै अज्ञानताको कारणले उक्त केटीलाई मारिदिन्छ। तर उसको अद्भूत सुघ्ने शक्तिले पहिल्याएको अति मोहक र दुर्लभ सुगन्धप्रतिको लगाव र मोह ऊबाट कहिल्यै टाढा जाँदैन। बरु त्यही मोह र अतृप्तपना पुरा गर्न नसक्दा गुमनाम भईदिन्छ।

Jean-Baptiste Grenouille (नायक) सन् १७३८ जुलाई १७मा पेरिसको एकछेउमा रहेको माछा बजारको दुर्गन्धित ठाउँमा जन्मिन्छ। जुन पेरिस शहरभरिको सबैभन्दा बढी गन्ध आउँने ठाउँ हुन्छ। आमाले अघिल्ला ४ सन्तानलाई फोहोरको डंगुरमा फ्यालेझैँ Jean-Baptiste लाई पनि फ्याकिदिन्छ। अति नै दुर्गन्धित ठाउँमा पनि Jean-Baptiste को अकल्पनीय सुघ्ने शक्तिले बचाउँछ। फ्रेन्चमा Grenouille को अर्थ भ्यागुता हुँदोरहेछ। पात्रको विशेषता र यो शब्दको अर्थबीच पनि तालमेल रहेछ। जन्मनासाथ हरेक चीजको कोष-कोषको अलग अलग गन्ध पहिचान गर्छ। हरेक चीजमा निहित बासना/गन्धको आधारमै उसले त्यो चीजलाई चिन्न थाल्छ। हरेक सजीव/निर्जीव जतिपनि चीजबीजहरु छन् ती सबैको पहिचान गर्न उसको सुघ्ने शक्ति नै काफी हुन्छ। ऊ अनाथालयमा हुर्किन्छ। एकदम कम बोल्छ। १३ वर्षको उमेरमा अनाथालयबाट बेचिन्छ र Giuseppe Baldiniले नकिनेसम्म रातदिन त्यही फ्याक्ट्रीमा १५/१६ घण्टा काममा घोटिन्छ। सामान पुर्याउन शहर जाँदा आश्चर्य हुने गरी एउटा साधारण तर सुन्दर केटीको शरीरको (सु)गन्धमा लठ्ठिन्छ। उसको अन्जानपनले केटी मार्छ। केटीको शरीरमा भएको गन्धलाई पागलसरी सकेसम्म आफूले सुँघेरै लिन खोज्छ। र, उसको जीवनको उद्देश्य बन्छ- उत्कृष्ट सुगन्धलाई सँधैको लागि सुरक्षित गर्ने।

Grenouille मा निहित अनौठो शक्तिले जन्माएको त्यो कदमलाई त्यही शक्तिले अगाडि बढाउँछ। सही प्रक्रियागत/संरचनागत ज्ञान र प्रयोगको कमी पूरा गर्ने खोजीमा नामुद परफ्यमुर Giuseppe Baldini कहाँ पुग्छ। Baldini ३० वर्षअघि फ्रान्सबाट पेरिस छिरेका हुन्छन्। नयाँ र माग अनुरुपको परफ्युम बनाउँन नसकेर बेकम्मा सरह भइसकेको अवस्थामा Grenouille को सहयोगमा उनको ब्यापार फेरी चुलिन्छ। Baldini मख्ख छन्। तर Grenouilleको सुगन्धको चाह अतृप्त नै रहन्छ। त्यसैले परफ्युम बनाउँने प्रक्रियागत विधि पूर्ण रुपमा सिकेर फेरी ऊ नयाँ (सु)गन्धको खोजीमा निस्किन्छ। हजारौ गन्धले भरिपूर्ण सुरुङभित्र केही वर्ष निष्फिक्री बिताउँछ। एउटा गन्ध, जुन उसको जीवनको पहिलो र प्रमुख चीज हो, को कमी महशुश गर्छ र बाहिरिन्छ। बाहिरिएपछि Laure Richis (प्रमुख महिला पात्र)को शरीरको गन्धप्रति केन्द्रित हुन्छ। त्यही गन्ध कैद गर्ने भित्री हेतुले परफ्युम फ्याक्ट्रीमा कामदार बन्छ। फ्याक्ट्रीमा काम गर्नुको अलावा लगातार केटीहरुको हत्या गर्दै उनीहरुको सुगन्ध कैद गर्नतिर ज्यानप्राण दिएर लाग्छ। युवती हत्या गर्दै परफ्यूम बनाउँने क्रममा कतिपय दृश्यहरु निकै नै क्रूर लाग्छन्। मानौ उसको लागि मानव र अन्य चीजबीजबीच कुनै फरक नै छैन। सुन्दर र आकर्षक युवती हत्या आतंकको हाहाकार मच्चिन्छ शहरभरि। कर्फ्यू जारी हुन्छ। पूरै पेरिस काँप्छ। थर्कमान हुन्छ। त्यो माहौलसँग Grenouilleलाई कुनै चासो हुन्न। न त ऊप्रति कसैलाई शंका नै।

अन्ततः Laure Richisको सुगन्ध कैद गर्न सफल हुन्छ ऊ। १२ वटा उत्कृष्ट परफ्युम बनाउँछ। तीमध्येबाट पनि अझ अति उत्कृष्ट परफ्यूम बनाउँछ। त्यसलगत्तै ऊ पक्राउ पर्छ। कडा भन्दा कडा कानुनी सजाय दिने, यातना दिनेदेखि फाँसी दिने घोषणा हुन्छ। पेरिसवासीहरु त्यसको लागि सहमत हुँदै जम्मा हुन्छन्। परफ्यूमको एक थोपा बोतलबाहिर निकाल्दा सबै उसैको खुट्टामा निहुरिन्छन्। सबैले उसलाई निर्दोष, मायालु र अति सुन्दर देख्छन्। अर्को थोपा बाहिर आउँदा उसलाई सबैले जिससको दूत मान्न थाल्छन्। भीडमा उक्त परफ्यूमको गन्ध फैलाउँनासाथ भीड एकअर्कासग मायाप्रेम गर्नमा हराउँछन्। जब भीड ब्युझन्छन् लाज र आत्मसम्मानका कारणले कोही पनि बोल्न सक्दैनन्। ऊ देवदूतको रुपमा आएर बिलाएको मानिन्छन्। उसको सट्टा परफ्यूम फ्याक्ट्री परिसरमा भेटिएको विभिन्न प्रमाणका आधारमा परफ्यूम व्यापारी महिला (फ्याक्ट्री मालिक)को प्रेमीलाई फाँसी दिइन्छ। ऊ आफू जन्मेको ठाउँमा पुगेर भएभरको परफ्युम आफूमाथि खन्याएर संसारबाटै नाटकीय तरिकाले विलाउँछ, रातको ११ बजे सन् १७६६ जुन २५का दिन।

बाहिर चियाउँदा पानी नपर्लाझैँ छाँटकाट देख्छु म। अँध्यारो वातावरण उज्यालो हुँदै गइरहेको छ। बाहिर निस्केर यसो नियाले। माटोको बेग्लै गन्ध छ। सिमेन्टेड ठाउँमा थोरै तातो बाफ आइरहेको भान हुन्छ। म फर्केर फेरी लेख्न थाल्छु।

Grenouille पात्रमा मानवी र दानवी दुबै गुण छ। रुप, सौन्दर्य, यौवन, प्रेम, यौनजस्ता कुराप्रति आशक्ति नराखीकनै पनि युवतीहरुको शरीरमा रहेको सुगन्धकै आधारमा छानी छानी २५ जना जवान, सुन्दर र आकर्षक युवतीहरुको हत्या गर्छ। मानवीय भावना तथा पाप धर्मको मापदण्डअनुरुप यो उसको दानवीपना नै हो। युवतीहरुको कपाल काटेर मुडुलै पार्ने र उनीहरुको पुरै शरीरमा जेलजस्तै पदार्थ (मलाई भन्न आएन खासमा त्यो के चीज हो कुन्नी? लिटो जस्तै देखिन्थ्यो) दलेर त्यसलाई खुर्पाले बिस्तारै जम्मा पार्ने अनि उक्त पदार्थमा कपाल राख्ने। अनि कपालबाट फेरी उक्त पदार्थ निकालेर परफ्यूम बनाउने प्रकृयामा हाल्ने। युवतीहरुलाई सर्वाङ्गै पारेर जहाँ भेटेको हो त्यही फालीदिने गर्छ। शुरुमा एउटा युवतीलाई नै मारेर जारमा हालेर तताएर सुगन्ध कैद गर्ने कामको परिक्षण गर्छ। त्यसपछि सुगन्ध कैद गर्ने उचित बस्तुकै रुपमा मात्र युवतीहरुको शरीरलाई लिन्छ। र आफ्नो काममा सफल हुन्छ। उसको पृष्ठभूमि, हुर्काइबढाइ, भोगाई, अज्ञानता, लक्ष्यप्राप्तिको एकोहोरोपनाजस्ता पक्षले उसको क्रूरतालाई पृष्ठपोषण गरेको छ।

यो फिल्म जर्मन लेखक Patrick Suskind ले सन् १९८५ मा जर्मनी भाषामा लेखेको उपन्यासमा आधारित छ। Penguin Booksले प्रकाशन गरेको उक्त उपन्यासको नाम Das Parfum हो। उपन्यासमा Grenouilleको गेटअपको सन्दर्भमा लेखिएको रहेछ- 'hissed out in a reptile fashion'। Ben Whishaw को अभिनय कमालको छ। Grenouille स्वयं अपराधी मानसिकताको हैन। उत्कृष्ट नतिजा पाउँनलाई अपनाएको गलत तरिका भने अपराध नै हो। तैपनि अपराध गरेको कुनै खालको पश्चाताप हुँदैन। न त ग्लानी नै। हामीकहाँ भनिन्छ नि 'चिलाइ न कनाई' भनेझैँ। उसलाई पाप-धर्मजस्ता कुरासँग कुनै सरोकार छैन। भगवान तथा शैतानी गुण/अवगुणहरुसँग कुनै खालको आसक्ति छैन। त्यसैले होला उपन्यासमा 'एन्टी क्राइस्ट' पात्रको चित्रण गरिएको रहेछ। न त दुनियाँदारीसँग नै उसलाई कुनै खालको चासो छ। सुगन्धबाहेक हरु चीज उसकोलागि अस्तित्वहीन लाग्छ। सुगन्ध पनि त्यस्तो जुन युवतीकै शरीरमा मात्रै हुन्छ। संसारै लठ्ठ पार्ने, आफ्नो बसमा पार्ने सुगन्धित शक्ति बनाएर पनि लाचार देखिन्छ। आफूलाई कमजोर र अतृप्त नै पाउँछ। यो उसमा रहेको मानवीय पक्ष हो सायद। Grenouille सुगन्ध प्राप्तिको खातिर शैतानको रुपमा चित्रित भएको छ। तर त्यही सुगन्धको आडमा भगवानको दर्जा पनि लिएको छ। त्यस अर्थमा परफ्युम या सुगन्धले मानिसको दिमागलाई पूरै डोर्याएको छ। आत्मसन्तुष्टि, सन्तोष र अन्तरमनको शान्ति प्राप्त गर्न नसक्दा सारा संसारलाई डोर्याउने सामर्थ्य पैदा गर्ने मान्छे आफू भने गन्तव्यहीन हुन्छ। त्यो सुगन्धित सृजना सम्पूर्ण पेरिसवासीहरुको लागि चमत्कारी, अति मनमोहक भएपनि आफ्नो लागि महत्वहीन र बेकामे हुनु, आफ्नो अस्तित्व आफैले महशुश गर्न नसक्नु नै Grenouilleले जानी नजानी गरेको जति पनि नराम्रा कामको सजाय हो।

कथावस्तुअनुरुप संसारमा जेजति गन्ध या सुगन्ध छन् सबैको आ-आफ्नै सुगन्ध हुन्छन्। ती सबैमध्यै उत्कृष्ट र स्वर्गीय आनन्द दिने सुगन्ध मानवमै हुन्छ। मानव शरीरको मोहक सुगन्ध आकर्षक र भर्खरका युवतीहरुकै मात्र हुँदो हो? ज्यानलाई यसबारेमा ज्ञान भएन। या त सायद यो फिल्मको Grenouille पात्र युवती भइदिएको भए बेजोड युवाहरुकै शरीरको मोहक सुगन्ध प्राप्तिको कथा हुँदो हो कि? जे भएनि फिल्म चाहिँ क्रिएटिभ, रोमान्चित र बेग्लै स्वादको लाग्यो। फिल्म हेर्दाहेर्दै र हेरीसकेपछि झन् मलाई एउटा कुरा जान्ने उत्सुकता लागेको छ। यो फिल्म हेरेपछि Feminist तथा सुन्दरी प्रतियोगितालाई युवतीहरुको शारिरिक सुन्दरताको बिक्री गरेको ठान्नेहरुको कस्तो प्रतिक्रिया हुँदो हो? यो फिल्मको कुन चाहिँ पाटोलाई बढी केलाउँदा हुन्? खैर, यो पनि आकाशको दर्कने पानी हत्केलामा थापेर मजा लिउँला भने सरहझैँ नै हो क्यार।

लु खा! मैले लेख्ने कुरा यति हो। अहिलेलाई ब्लग लेख्ने धन्दा सकाए। यसो बाहिर हेर्छु। बादल फाटेर उज्यालो देखिएको छ। खाने (पिउने)पानीको अभाव छँदैछ। अब त झन् सुख्खा मौसम छिप्पिदैछ। खडेरी लम्बेको लम्बेकै हुने हो भने त छ्यास्‌छुस् पार्ने परफ्यूम पनि काम लगाउनैपर्ला नि? 'प'बाट पानी नभएको खण्डमा 'प'बाट परफ्यूमको विकल्प पनि खुलै राखौ न!

Thursday, March 19, 2009

चुनावी रमिता

मलाई पायक पर्ने हुनाले पनि विहानभरी मानविकी (रत्नराज्य)-शंकरदेव-पद्मकन्या-त्रिचन्द्र क्याम्पसतिर विहानैदेखि स्ववियू निर्वाचनको चहलपहल हेर्दै घुमियो। क्याम्पस हाता नजिक नजिक भएको हुनाले पनि विद्यार्थीहरुको जमात निकै देखिन्थ्यो। मानविकी क्याम्पसमा हिजै राती निर्वाचन स्थगन गरिएको थियो। अखिल क्रान्तिकारीका उम्मेदवार तथा समर्थकहरु आफ्नो विजय भइसकेको भन्दै अविर धसीरहेका थिए। प्रदर्शनी मार्गस्थित बाल्मिकीबाहेकका अन्य क्याम्पसमा निर्वाचन हुन सकेन। त्यसपछि म शंकरदेव हाता पुगे। त्यहाँ मतदान गर्ने लामो लाइन थियो- महिला र पुरुष गरी छुट्टाइएको। त्यहाँको वातावरण सामान्य थियो। त्यसपछि म लागे पद्मकन्यातिर। निर्वाचनलाई क्याम्पस र निर्वाचन आयोगले निष्पक्ष र धाधलीरहित बनाउँन नसकेको भन्दै अखिल संयुक्त प्यानलले स्ववियू निर्वाचन बहिष्कार गर्दै क्याम्पस प्रशासन र निर्वाचन आयोग तालाबन्दी गरेको थियो। त्यस परिसरमा थुप्रै संख्यामा (महिला तथा पुरुष)सुरक्षाकर्मीहरु खटिएका थिए। सञ्चारकर्मीहरु पनि थुप्रै स‍ंख्यामा देखिन्थे। केहीबेरमा ढुंगामुढा र भागाभागको स्थिति सृजना भयो। मानविकी क्याम्पसबाट नारा जुलुससहित पद्मकन्यातर्फ बढीरहेको पुरुषहरुको जमातलाई सुरक्षाकर्मीले रोकेपछि स्थिति बदलिएको थियो। त्यो जमात अखिल क्रान्तिकारीको समूह थियो। बटुवा तथा दर्शकहरुलाई बाटो रोकिएको भएपनि हातको क्यामरा देखेपछि मलाई भने सुरक्षाकर्मीहरुले रोकेनन्। त्यहाँको स्थिति थप बिग्रिने देखिएपछि केहीबेरमा सुरक्षाकर्मीहरु भ्यानसहित आइपुगे। स्थिति केही साम्य भएपछि म लागे त्रिचन्द्रतिर। त्यहाँको भीड र चलहपहल पनि टाढैबाट देखिन्थ्यो। मतदाताहरुको लामो लाइन, सडकभरि हूलका हूल मान्छे, निकै होहल्ला थियो। केही ठाउँमा चुनावी चहलपहल सौहार्द नै थियो। कुनै ठाउँमा भने रमिता नै थियो। अहिले म त्यो माहौलबाट निस्केर आउँनासाथ ब्लगमा ठेल्न बसे। तिनै माहोलमा मैले कैद गरेका केही तस्बीरहरुः

मानविकी क्याम्पसमा स्ववियू निर्वाचन स्थगन भएपछि आफ्नो विजय भएको भन्दै क्याम्पस मूलद्वारमा अखिल क्रान्तिकारीको झण्डा राखिँदै।

शंकरदेव क्याम्पसका महिला मतदाताहरु लाइनमा बस्दै।

रत्नपार्कको आकाशे पुलमुनीबाट विद्यार्थी र सुरक्षाकर्मीहरुको फोटो खिच्दै सञ्चारकर्मीहरु।

नारा जुलुससँगै ढुंगा हान्नको लागि तयार पारिएका ढुंगा/सिमेन्टका टुक्राहरु।

रत्नपार्कतिरबाट पद्मकन्या कजेलमा खटिएका सुरक्षाकर्मीहरुलाई ढुंगा प्रहार गर्दै युवाहरु।

सुरक्षाकर्मीतर्फ ढुंगा प्रहार गर्दै।

बागबजारमा नारा जुलुस गरिरहेका युवाहरुले ढुंगा प्रहार गर्न थालेपछि सुरक्षित हुँदै सुरक्षाकर्मीहरु।

ढुंगा प्रहारपश्चात सुरक्षाकर्मीहरुको पालो ढुंगा प्रहार गर्नेहरुलाई लखेट्दै।

पद्मकन्या कजेलमा चुनाव निष्पक्ष र धाधलीरहित नभएको भन्दै विरोधमा उत्रिएका अखिल संयुक्त प्यानललगायतका विद्यार्थीहरु।

पद्मकन्या क्याम्पसपरिसरमा खटिएका सुरक्षाकर्मीहरु।

त्रिचन्द्र कजेलमा मतदानको लागि लाइन लागेका विद्यार्थीहरु गगन थापाको आगमनप्रति केन्द्रित हुँदै।

समर्थकहरुद्वारा घेरिएका, चुनावी माहौल नियाल्दै हिडेका गगन थापा।

Monday, March 09, 2009

थेत्तर काठमाडौँ

होली पर्वको विशेष दिनको कुरा गरेको हैन मैले यहाँ। होलीको आफ्नै महत्व छ। जुन नकार्न सकिदैन। दशैँमा टीका थाप्न दिन तोकिएकै भएपनि साइत चाहिने, तिहारमा फूलमाला लगाउने दिन तोकिएपनि साइत कुर्ने तर होली पर्वको सन्दर्भमा किन मान्छेहरु यत्तिका थेत्तर र अनियन्त्रित? किन यत्तिका उछृङ्खल र उत्ताउला? यही प्रवृत्ति देखेर होली पर्वको नाम सुन्नासाथ लोला आतंक मात्रै सदृश्य यो मानसपटलमा घुम्छ। यो हविगत म एक्लोको हैन अवश्य पनि। अधिकांश महिला, त्यसमाथि पनि युवतीहरुको पीडा र भोगाई हो यो। लोला हान्नेसँगको वितृष्णा र क्रोध त सालैपिच्छे चुलिदै गइरहेको छ। हुँदाहुँदा होली पर्वसँगै वितृष्णा हुने बेला भइसक्यो।

हरेक साल जब यो होली पर्व नजिकिदै जान्छ। भनौ न होली पर्व १५ दिन अगावैदेखि यो उपत्यकाका धेरैजसो (मूल सडकबाहेक)बाटो, गल्ली जहाँसुकै हिड्दाखेरी प्राय केटीहरु नै लोलाका शिकार भइरहेका हुन्छन्। प्राय महिला त्यसमा पनि युवतीहरुकै शरिरलाई निशाना बनेको देखिन्छ। भर्खरका केटीहरुकै उपस्थितिमा जोड दिने गरिन्छ। यद्यपि त्यहाँ सबैखालका बटुवाहरु गन्तव्यतिर लम्कीरहेका हुन्छन्। हेर्दाखेरी जाबो लोला हान्ने भन्ने लाग्न सक्ला। तर लोलाको विकृतिभित्रको चेत अचेत मनस्थिति र पाटोमध्ये युवती र लोलाबीचको दुरी निर्धारणकर्ताको मनस्थितिले पनि विकृत रुप धारण गरेकै छ। यसै सन्दर्भमा मेरा सहकर्मी पुरुष साथीहरुलाई कुनै दिन गल्तीले लोलाले लाग्यो भने "आज म निकै हेण्डसम देखिएछु भन्ने भ्रम परेको थियो। तर भ्रम धेरै बेर रहेन" भन्ने गरेको सुन्छु। कुनै वयस्क व्यक्ति या पुरुषलाई लागेमा लोला हान्ने व्यक्ति आफै केही हच्किएको पनि देखेको छु। यदि त्यही लोला युवतीलाई लागेमा निर्धक्कसँग मुस्काउँछन्। सामान्य लाग्ने यो अभिव्यक्ति सही हो। र व्याङ्ग्यात्मक पनि छ।


होली पर्वको कैयौँ दिन अघिदेखि हरेक दिनजसो कुनै युवती आफ्नो शरिरमा लोला बज्रेपछि रिसले चुर्मुरिदै फत्फताइरहेको दृश्य देख्न सकिन्छ। तर लोलाद्वारा सताइएको ती युवतीको अवस्थाप्रति सबैको ध्यान तानिएपनि त्यसबारेमा कसै कसैले फाट्टफुट्ट एकाध शब्द खर्चेबाहेक अरु केही गरेको देखिदैन। न गर्ने नै उपाय हुन्छ। कही कतै यही कुराले नराम्रोसँग तनाब नै पैदा गरेको पनि हुन्छ। लोला हिर्काउने व्यक्ति सामुन्ने छ या कुन झ्यालबाट या कुन घरबाट लोला प्रहार भएको भन्ने मात्रै पत्ता लागेको खण्डमा तनाब पैदा भएको पनि देखिन्छ। घरका झ्यालका सीसा फुट्नेगरी ढुंगा प्रहार भएको पनि देखिन्छ, सुनिन्छ। लोला हान्ने पक्ष र खेप्ने पक्षबीच वादविवाद र गाली गलौजको स्थिति पैदा भएको पनि देखिन्छ। तर यस्ता घटनाले लोला हान्ने हतोत्साही भएको पाएको छुइन, न त लोला हान्ने प्रवृत्तिमा कमी नै आएको छ। लोला हान्नु गलत हो अरुलाई दुःख दिनु हो भन्ने सामान्य बुझाई भएपनि यसमा के आनन्द छ कुन्नी? कुन चाहिँ सन्तुष्टिको आडमा लोला हान्ने प्रवृत्ति न त कम हुन्छ न त सुधार नै हुन्छ।

जथाभावी लोला हान्नेलाई केको मजा हुन्छ कुन्नी हान्ने नै जानुन्। तर लोला खाएर आनन्द मानेको आजसम्म सुन्न पाएको छुइन मैले। लोला खेप्दा न्वारनदेखिको रिस चुलिन्छ मेरो त। ज्यानमा बज्रिएको लोला खेपेर मानसिक पीडा र तनाव, फोहोर पानीको दुर्गन्ध लिएर, कपडा निचोर्दै या टक्टकाउँदै, दुखेको शरिर सुम्सुमाउँदै चुपचाप गन्तव्यतिर हिड्नुपर्दा आफ्नो मानो खाएर बिना सित्तिमा अर्काको कुटाई खाएझैँ भइरहन्छ। बिना गल्तीको सजाय भोग्ने निर्दोष र लाचार व्यक्ति बनाइदिन्छ लोला आतंकले।

काडमाडौँ बसाईको १० वर्षे समयावधिको अन्तरालमा हरेक होली पर्वमा लोला आतंक नियमित र पीडादायी नै भएको देख्छु र भोग्छु पनि। तैपनि लाचार छु। काठमाडौ आउनु अघि लोला कुन जिनिस हो भन्ने भारेमा अत्तोपत्तो थिएन। काठमाडौका अधिकांश मान्छे पनि बाहिरबाटै आएका हुन्। र तिनै मान्छे काठमाडौ बाहिर गएर पनि होली मनाउँदा हुन्। तर काठमाडौमा बस्दाखेरी लोला हान्नैपर्ने, आफू नहानेपनि आफ्नो आँखै अगाडि केटाकेटीहरुले मनलागी लोला हानेको देख्दा सम्झाउने सम्म जिम्मेवारी नलिने यो चलनलाई के भन्ने। अभिभावकले आफ्ना सन्तानलाई सम्झाउन सके या होलीकै दिन मात्र होली या लोला खेल्ने कुरामा मनाउँन सकेमा लोला आतंक कम हुने देखिन्छ। अधिकांश लोला प्रहार गर्नेहरु स्कूले केटाकेटी नै देखिन्छन्। उनीहरुलाई उक्साउने काममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ती भन्दा समझदार व्यक्तिहरु पनि उत्तिकै जिम्मेवार छन्। या हामीपनि उत्तिकै जिम्मेवार छौँ भन्दा ठिक हुन्छ।

यही प्रसंगमा एउटा अड्चन पनि छ। यो ठाउँमा कस्ले कसलाई सम्झाएर कस्ले टेर्ने? एउटा घरको हरेक कोठापिच्छे एक एक ओटा परिवार बसेका हुँदाहुन्। मेरै कोठाबाट नहानिएपनि म आफै बसेको घरबाट कुनै न कुनै व्यक्तिलाई लोला हानिन्छ। तर उनीहरुलाई सम्झाउने मेरो के हैसियत? बच्चाबच्चीको मामिलामा अरुले केही भनेको खण्डमा अभिभावकहरु लड्न भिड्नसम्म तयार भएको पनि देखेको छु। त्यसैको नतिजा हो जोसुकैले पनि कसै न कसैको लोला प्रहार खेप्नै पर्ने हुन्छ। खै यो काठमाडौलाई यत्तिका विधि थेत्तर पार्ने हामी मनुवाहरुलाई के भनौँ? सके त चोँकेमा उनेर कपडा सुकाएझैँ सुकाइदिनुजस्तो भन्नु पनि नहुने! फेरी भनिनै हाले पनि के नै हुने? यहाँ कस्को कस्लाई मतलब छ र? हामी सबै थेत्तर। लोला हान्ने हानेरै थेत्तर भएका। खेप्नेहरु खेपेरै थेत्तर भएका। हेर्नहरु हेरेरै थेत्तर भएका। यसो सरकारी नीति नियमतिर नछिरेकै बेस होला। त्यो पनि हामी जस्तै थेत्तरले बनाउँने हो। अनि हामी जस्तै थेत्तरले नै कार्यान्वयन पनि गर्ने हो। अनि हामीजस्तै थेत्तरले नै नियम नमान्ने पनि हो। अब यो थेत्तरै थेत्तरको यो जमातमा के होला?

Monday, March 02, 2009

Old is Gold

आज काम बन्ला त? ब्युझिँनासाथ मथिंगलमा यही कुरा घुम्यो। कहिले नयाँ बानेश्वर, कहिले न्यूरोड, कहिले पुतलीसडक त कहिले अनामनगर। लुखुर लुखुर चाहारीरहेछु। पहिलो दिन सडकको छेउछाउमा सबैको आँखा पर्ने बडेमानको झिलीमिली बोर्ड र टक्टकाउँदो कलर ल्याबहरुभित्र छिरे। कहीँ पनि काम बनेन। न त उनीहरुले दिएको सूचनाले नै मद्दत दियो। दोस्रो दिन आफैले common sense भन्ने चीजको आधारमा कहलिएका फोटो खिच्ने ठाउँको सट्टामा चेपचाप या गल्ली छेउछाउका फोटो स्टुडियोहरुतिर धाए। एउटाले अर्कोमा, अर्कोले अर्कोमा जानुस् भन्दै उनीहरुले दिएको सूचनाले पनि मेरो खुट्टा र जुत्तालाई दिनसम्म सकस दियो। अनि तन र मनको के कुरा! साथीभाईहरुसँग पनि सोधखोज गरेँ। कसै कसैबाट त्यत्ति जाबो कुरा पनि पाउँदैन होला त अहिलेको यो बजारमा? भन्थे। कसैले अचम्म मान्थे 'हो र!' भनेर।

'आजपनि दिनभरी नै घुम्यौ हगि?' हामी दुबैजना लखतरान भएर घर फर्केपछि साँझ श्रीमान्‌ले जिस्क्याउँदै सोधे मलाई।
'बडो रमाइलोसँग' म पनि के कम? हाँस्दै भने।
'अनि तिम्रो नि रमाइलो मात्रै भयो कि?'
'काम पनि भयो। तर भोली पनि जानु छ' केहीबेर चुप लागेर फेरी बोले 'त्यसैले भोलिपनि तिमी एक्लै रमाइलो गर्ने योजनामा छ्यौ हगि?' छड्के पारामा फकाए उनले मलाई।
'छु। तर 50% त तिम्रो पनि हक छ नि!' मैले नि छड्के हिसाबकिताबलाई मिलाइदिए।
'Sweetheart, 100% तिम्रै पोल्टामा सुम्पे भोलिलाई'

तेस्रो दिन हिडे म न्यूरोड, असन, इन्द्रचोकतिरकै छिँडी चाहार्न। त्यता नूनदेखि सुनसम्मको जिनिस पाइन्छ रे! भन्ने सुनेको हुँ। भेँडाको घ्यू, सालको पात, बाबियोको डोरी, हथिबारको नाम्लो खै के के चीजबीज त मैले नि देखेकी हुँ। त्यस्तै चीजबीजको खोजीमा हिडेको होइन म। तर मैले खोजेको कुरा पनि त्यत्तिकै classic र विशेष अवसरमा मात्र प्रयोग हुने भइसकेछ। पाउँदै नपाउँने त कहाँ हुन सक्ला र! भन्ने सोच्दै पनि थिए म। तर यत्तिका सास्ती खेप्नुपर्छ भनेर चाहिँ सोचेकै थिइन। मलाई चाहिएको पनि के नै हो र! मात्र एउटा नेगेटिभ। जसबाट फोटो निकाल्न सकियोस्। जुन आजभन्दा केही वर्ष अघिसम्म यत्रतत्र पाइन्थ्यो।

मलाई मेरो पुरानो दिन याद आयो। त्यही याद गर्दै म बाटो नाप्न थाले। गाउँबाट क्याम्पस पढ्ने जोहोमा काठमाडौ छिरेपछि एउटा फोटो स्टुडियोमा ६ महिनाकै लागि भएपनि २२ सयको जागिरे भए। बडो खुशी लागेको थियो। त्यो पैसाले कलेज आउन-जान बस भाडा मनग्गे पुग्थ्यो। थोरै भएपनि जर्गो टर्यो। त्यस बेला रंगीन र सादा कोडाक, कोनिका रिलहरुकै हालीमुहाली थियो। त्यसबेला फोटो खिच्ने र खिचाउँने खूब रहर थियो। तर बूता थिएन। Black & White तस्बीर आजपनि मलाई निकै आकर्षक र राम्रा लाग्छन् मलाई। अनि पुराना पुराना काइदाको तस्बीरको त महत्व नै बेग्लै। हुन त त्यसबेला पासपोर्ट साइजको फोटोमा बाहेक Black & White को खासै माग थिएन। रंगीन फोटोकै चलनचल्ती थियो। केही समय नबित्दै डिजिटल क्यामराले धेरैको ध्यान तान्यो। मलाई पनि त्यो क्यामरा चलाउने र फोटो खिच्ने खूब रौस चढेको थियो त्यसैबेलादेखि। ८-१० वर्षको अन्तरालमै प्रविधिले क्या फड्को मारेको। बाफरे! अब अहिले धेरैजसोको हात हातैमा डिजिटल क्यामरा छ। अझ राम्रा राम्रा पिक्सेलको क्यामरा जडित मोबाइलले बजार पिटेको छ। भर्खरै मात्र एउटा डिजिटल क्यामेरा मेरो हातमा छ। आवश्यकता अनुरुप यसैले फोटो खिच्दैमा मख्ख थिए। अझै कतिञ्जेल हुन्छु पनि।

झोलामा सँधै रहने यो डिजिटलरुपधारी क्यामरा र मेरो फूर्ति तीनदिनदेखि हस्रक्क परेको छ। झोलाको क्यामरा निकालेर त्यसलाई हेर्दै हाँस्छु म मनमनै Old is Gold भनेको यही होला सायद भन्ने सोच्दै। त्यो क्यामराले पनि मलाई गिज्याउँदो हो मेरो दौडधुप देखेर। म हस्रक्क पर्नुको अर्को पनि कारण छ मसँग। सानसँग खल्तीमा क्यामरा, रेडियोलगायत अनेकवलीको सुविधायुक्त मोबाइल बोकेर हिडेको छु। बेलाबेलामा नम्बर डायल पनि गर्छु। आको फोन रिसिभ पनि गर्छु। तर Land Line प्रयोग नगरीकन बातचितको चुरो कुरो खुट्याउनै मुश्किल। अनि यहाँ पनि Old is Gold कै कुरा सम्झे। अनि न्यूरोडमा फोटो स्टुडियो चाहार्दा चाहार्दा दिक्क भएर पाइन्ट र टिसर्ट पनि किन्ने मन भयो। पसलमा छिरे। सबै विभिन्न नमूना र ढाँचाका, फरक फरक अनि नयाँ नयाँ डिजाइनका छन्। चुम्केको-फुकेको, तन्द्राङ-तुन्द्रुक, जाली-खाली, टाँसेको-गाँसेको, झुम्का-तुनायुक्त आइटम आइटमका टिसर्टहरु। पाइन्ट पनि थरीथरीका फेसनेवल एक से एक पाराका। सिम्पल डिजाइन खोज्दाखेरी पनि यी मध्ये कुनै न कुनै विशेषता नभएका डिजाइन कहाँ भेट्नु र? पहिले चलेका डिजाइनको संशोधित रुपको पनि निकै चलनचल्ती छ। त्यसहिसाबमा Old is Gold मात्रै हैन Old is Bold पनि बनाइएको छ सायद।

ए अँ त। हामीलाई क्यानडा पुग्नु छ केही महिनाभित्रै। त्यसैको दौडधुपमा यो रमाइलो भोग्दै थिए। अरु सबै requirement पूरा भयो। गरियो। बस् यही एउटा requirement ले च्याँखे थापेको देख्दा म त हैरान भए। न्यूरोड र असनको बीचमा पर्ने गल्छिडाभित्र एउटा स्टुडियो छ। जहाँ त्यस्तो काम हुन्छ भन्ने सम्मको जानकारी पाएँ एकजना साथीमार्फत। ३ पल्टसम्मको मोबाइलवार्ताबाट पनि कुरा प्रष्ट नभएर Land Line बाट Call Back गरेपछि पत्ता लागेको कुरा हो। अनि उनकै भनाईलाई पछ्याउँदै म त्यहाँ पुगे। सन्चको सास फेरेँ त्यहाँ पुगेर।

खूब ताल परेको। सोधखोजकै क्रममा फ्याट्टै लोडसेडिङ भयो। भोलिपल्ट पनि नगई काम नबन्ने भयो। तै तै भेटियो त सही भन्दै घर फर्के। चौथो दिन फोटो खिच्ने काम भयो। १२ सय रुपैया पैसा राख्दै काउन्टरमा बस्ने मान्छेले भने- 'भोली साँझतिर फोटो लिन आउनुस्'। 'फोटो मात्रै हैन नेगेटिभ पनि' दिमागमा चढेको नेगेटिभको रन्को मुखबाट फुत्कियो। काउन्टरको मान्छे मुसुमुसु हाँसेको हेर्दै श्रीमान् र म बाटो लाग्यौँ। कत्रो काम पूरा भयो भन्ने लाग्यो मलाई।

'ओहो नि! त्यत्रो त्यत्रो कलर ल्याबदेखि साधारण खालका स्टुडियोमा समेत आजकाल त खाली डिजिटल प्रविधिकै हालीमुहाली रहेछ। हुन पनि हो। बाध्यता नपरीकन कस्ले पो सोधखोज गर्ला, प्रयोग गर्ला र? माग र सप्लाईको तालमेल नभइकन कसरी चल्छ बजार? सबैतिर डिजिटलकै जमाना छ'। म एकोहोरो बोल्दै थिए 'तर यो पुरानो प्रविधिको महत्व र उपयोग बढ्ने दिन पनि नआउँला भन्न सकिन्न नि हगि?'
'हैन तिमीलाई यो रमाइलोको चक्करले छाड्ने कहिले?' मेरो अपेक्षाभन्दा फरक कुरा भने श्रीमान्‌ले।
'धुरन्धर चार-चार दिन खर्चेको समय र कुदीकुदाउको कमाई हो नि। सजिलै कहाँ छुट्ला र!'
'भोली स्टुडियो गएर एउटा कुरा भन्नुपर्यो?'
'कस्तो कुरा?'
'स्टुडियो बाहिरपट्टी एउटा बोर्डमा लेखेर राख्नुस्- "Here is a World - Old is Gold, Come to me & make it Bold"' हातले बोर्डको नाप देखाउँदै भने।
'Not a bad idea'
'हो नि!'
'Now, relax Dear' दुबैजना एकअर्कालाई हेराहेर गर्दै हास्यौ।

(धेरै दिनको विश्रामपछि कुटीमा धूनी बाल्दै गरेको यो 'कथाजस्तै कथा' वास्तविकताकै आडमा उभिएको छ। यद्यपि म आफै यसको पात्र भने हैन। एकजना साथी जो क्यानडा जान लागेको छ। उसैले भोगेको सास्तीलाई केही थपथाप शब्द र चटनीको लेपन लगाइदिएको मात्रै हुँ।)