Showing posts with label व्यक्तित्व विशेष. Show all posts
Showing posts with label व्यक्तित्व विशेष. Show all posts

Thursday, November 20, 2008

गायक तथा संगीतकार राम थापामा श्रद्धाञ्जली

आज काठमाडौ उपत्यका बन्द छ। माओवादीको भातृ संगठन वाइसिएलले काठमाडौका पुष्कर डंगोल र निर्मल पन्तको अपहरणपछि हत्या गरेकोमा बन्दको आव्हान गरिएको हो। हिजो ढिला सुतिएकोले आज ढिलै ब्युझिएछु। नित्य कर्म र खाना बनाइवरी खाइसक्दा घडीले १० नाघीसकेछ। एकजना साथीको विहेको लागि सघाउनु जानुपर्ने मेरो वचन थियो। त्यसैले हतार हतार तयार भएर कोठाबाट बाहिरिए। सडकमा आइपुग्दा त ठप्पै बन्द रहेछ। साइकल एकादुई चलेको बाहेक अन्य सवारी साधनहरु देखिएन। म अलमलमा परे। उपत्यकाभित्रै भएनि अलि टाढै पुग्नुपर्ने हुनाले हिडेर जाने आँट गरिन र सडकमा बन्दको चहलपहल हेर्दै काम गर्ने थलोतिरै हानिए।

सडकको बीच भाग छाडेर पैदल यात्रीहरु हिडिरहेका थिए। जाडो महिना लागेपनि सडकमा हिड्दा घामले गर्मी भएको महशुश हुन्थ्यो। त्यत्तिकैमा एकहूल मोटरसाइकल सडकमा देखियो। अलि परैबाट देख्दा मोटरसाइकलको अगाडिपट्टि सेतो कागज टल्किदैथियो। त्यो देखेर म छक्क परे। आखिर के चाहि रहेछ भन्ने कौतुहलता जाग्यो र ठिङ्ग उभिएर मोटरसाइकल आउँदैगरेकोमै आँखा अड्याए। सबै मोटरसाइकलमा A4 साइजको सेतो पानामा स्पष्टसँग लेखिएर टाँसिएको थियो "मलामी"। हूलै देखेपछि मलाई लाग्यो- कुनै विशेष व्यक्तिकै मलामी हुनुपर्छ सायद। तर मलाई पत्तै थिएन राम थापाको निधन भयो भन्ने। नर्भिक अस्पतालमा उपचारार्थ छन् भन्ने नै सोच बोकेर हिडिरहेको म। एक्कासी मोटरसाइकलको पछाडि बस्ने मान्छेको मोबाइल बज्यो र मोटरसाइकलको गति कम भयो। त्यही मौकामा 'कस्को मलामी हो दाई' भनेर सोधीहाले। 'राम थापा दाईको' भन्ने उत्तर पाएर म एकछिन ठाउँको ठाउँ उभिए। त्यसबखत उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि गायिका तारा थापासँग रेकर्ड गराएको चर्चित गीत दिमागमा आयो- हाई हाई बनकाली माई। जुन गीतको रिमिक्स भर्सन आजकाल सञ्चारमाध्यमहरुमा देख्न र सुन्न पाइन्छ।

नेपाली सांगीतिक फाँटका एक सितारा, उनै लोकगायक तथा संगीतकार राम थापा बारेमा कुटीमा केही लेख्न मन लाग्यो। ५० वर्षको उमेरमै सांसारिक मोहबाट मुक्त भएका राम थापा काठमाडौकै बासिन्दा थिए र उनले ५ कक्षा पढ्दादेखि नै गाउन थालेका थिए। रेडियो नेपालबाट वि‌.सं. २०३१ सालमा स्वार परीक्षा पास गरेका थिए। वि‌.सं.२०३३ सालमा एउटा गीतमा गिटार बजाए वापत ५ पाउने गरी रेडियो नेपालमै जागिरे हुन पुगे। संगीत सिक्ने शिलशिलामा वि.सं.२०५० मा भारतबाट शास्त्रीय संगीतको स्वरतर्फ प्रथम श्रेणीमा विशारद गरे। साथै उनले लोक गीत सिक्नको लागि कुमार बस्नेतलाई गुरु माने। उनी रेडियो नेपालमा लोकगीत तर्फका प्रतिष्टित श्रेणीका गायक र आधुनिक संगीततपर्फ प्रतिष्ठित श्रेणीको संगीतकारको रुपमा कार्यरत रहँदा रहँदै हामीबाट टाढिएका छन्। उनले गीत गाउनु र संगीत दिनुको अलावा 'सुस्केरा' नामक लोकगीति रेडियो कार्यक्रम पनि उद्‌घोषण गरेका थिए।

उनको पहिलो रेकर्डेड गीतले नै राम थापा भनी स्थापित गराउन ठूलो भूमिका खेल्यो र उनको सांगीतिक यात्राको मूल ढोका खुल्यो। त्यसपछि थुप्रै चर्चित र जनमानसको मुखैमा झुण्डिने खालका गीतहरु दर्शकहरुमाझ पस्केर उनी छाइरहे। "कटर कटरमा तिम्रो सुहाउँदो ज्वाई आयो मोटरमा", "लेकाली हो हो चोयाको डोको", "कति बस्छ्यौ माईतीकै कौशीमा", "रेलै घुमेर गयो बैनीको आधा उमेर" जस्ता कैयौ कालजयी ठेट लोक भाकाहरुमा स्वर दिएका राम थापाले करिब ३०० गीतहरुमा आफ्नो स्वर दिएका छन्।

चर्चित गायक स्वर्गीय अरुण थापाको स्वरमा रहेको 'ऋतुहरुमा तिमी हरियाली बसन्त हौ' बोलको गीतको स‍ंगीतकार उनै राम थापा हुन्। सो गीत सन् २००२ मा बि.बि.सी.लण्डनले गरेको सर्वेक्षणअनुसार संसारकै १० उत्कृष्ट गीतहरुमध्येमा चयन भएको थियो। वि.सं. २०३५ सालमा उनको संगीतमा पहिलो गीत रेकर्ड भएको थियो। त्यसबाहेक उनको संगीतमा "तिमी यसै लजायौ", "थामेर किन छाड्यौ हातहरु", "जुनी जुनीलाई मेरी उनीलाई" लगायत लगभग २०० भन्दा बढी गीतहरु रहेका छन्। राम थापाको १६ ओटा लोकगीत, ५ ओटा आधुनिक गीत र १० ओटा जति हास्यव्यङ्ग एल्बमहरु निस्किएका छन्। उनले ठूला पर्दाका सिनेमा पनि आफ्नो स‍गीत दिएका छन्।

उनले स्कूले जीवनमै टोलका आफूभन्दा ठूला दाईहरुसँग गिटार सिकेका थिए। उनको रुचि र लगाव अनि साधनाकै नतिजा मान्नुपर्छ १२ ओटा गिटार गाईड सम्बन्धी पुस्तक। जुन उनले निकालेका छन्। त्यसैले उनलाई सांगीतिक कर्ड पुस्तक (Musical cord book) निकाल्ने पहिलो संगीतकारको रुपमा पनि लिइन्छ। नेपाली सांगीतिक क्षेत्रलाई योगदान पुर्याएवापत विभिन्न पुरस्कार तथा सम्मानद्वारा सम्मानित भएका राम थापाले वि.सं. २०३६ सालमा आयोजित अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा दोस्रो पुरस्कार, वि.सं. २०४० सालमा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार, वि.सं. २०५० सालमा नारायण गोपाल युवा पुरस्कार र वि.सं. २०५९ सालमा छिन्नलता संगीत पुरस्कार पाएका हुन्।

राम थापाको कला, गला र सृजनाले नेपाली सांगीतिक क्षेत्रमा उचित स्थान पाइरहोस्। उनको सृजना नयाँ पुस्ताको लागि प्रेरक बन्न सकोस्। सम्पुर्ण नेपालीमाझ आफ्नो कला र सृजनामार्फत बस्न सफल गायक तथा संगीतकार राम थापाप्रति हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्दछु।

(स्रोतः विभिन्न साइटहरु। जसप्रति म आभार व्यक्त गर्दछु।)