Monday, March 31, 2008

त्यो समय ... गाउँ-गाउँले आफ्नै, परिवेश र मनस्थिति पराइ

अँधेरीघाट (अरुण नदी) पुलको मुखैमा भारी टेकाउँदै भरिया । (फोटोः निशान) ।

कुरो २०५९ साल जेठको । डाक्टरको अनुसार आपा (बुबा)को स्वास्थ्य स्थिति खराब भइसकेको र करिब करिब जीवनको अन्तिम क्षणतर्फ लम्किदै गरेको खबरले मन चिमोट्‍यो । अस्पतालको दौडधुपपश्चात आफ्नै इच्छाले गाउँ जानुभएको आपालाई भेट्‍न बहिनीसँग गाउँ लागियो । पढाइ र काम दुवैको कारणले केही दिनको बिदा लिएर काठमाडौंबाट धरान पुगियो । धरानबाट एकै दिनमा घर पुग्ने योजना लिएर बाटो लाग्यौँ ।

पर्यटकीय क्षेत्र वा मार्ग नभएपनि त्यो रुटको यात्रामा थुप्रै बटुवाहरु भेटिन्छन् । खासगरी जो धनकुटादेखि भोजपुरसम्म व्यापारी 'साहू'को सामान बोकेर पुर्‍याउँछन् । भौगोलिक विकटता, यातायातको अभाव, आर्थिक स्थिति कमजोर, पर्याप्त जग्गाजमिन नहुनु, शिक्षाको कमीजस्ता विभिन्न कारणले पिठ्‍यूमा बडेमानको भारी खेप्दै जीविका धान्नुपर्ने बाध्यता छ ।

यात्राको क्रममा बटुवा (विशेषगरी भारी बोक्दै हिडेका) हरुसँग प्रश्न सोधिहाल्थिन् बहिनी । कोही 'हामी जस्तालाई के थाहा हुनु' भन्दै खुल्न चाहेनन् भने कोही रोबर्टझैँ खुरु खुरु जवाफ दिन्थे अनि हिडिहाल्थे । धनकुटा जिल्लाको तिल्के ओरालो झर्दा नझर्दै खुट्टा खाँदिन थालेकोले टेक्ने लठ्ठी माग्न एउटा पसलमा रोकियौँ । आदरभाव र सत्कार देखाउँदै पसले दाइले अन्य ग्राहकहरुसँग 'वहाँहरु आफ्नै मान्छे हुन्' भन्दै हामीलाई सहयोग गर्नुभो । त्यो देखेर खुशी पनि लाग्यो र अचम्म पनि । बटुवाहरुसँग प्रश्नोत्तरको शिलशिला पुन शुरु गरिन् बहिनीले । अँधेरीघाट पुगेर एक घण्टाजति आराम गरेपछि घर पुग्नलाई धेरै रातपर्ला भन्ने आशंकाले बाटो लाग्यौँ ।

घर पुगेको दुईदिनपछि कामको शिलशिलामा बास्तिमको (माथिल्लो) बाटो हुँदै जिल्ला सदरमुकामतिर हिड्‍यौँ तीन दिदीबहिनी (दिदी, म र बहिनी) । काम सकिएपछि आधादिनमा तल्लो बाटोहुँदै घरतिर फर्कियौँ । शहरको हावापानी र वातावरण्ाको करामत पनि होला, ज्यान निकै थाकेको थियो भने खुट्टाको हालत त ज्यादै खराब थियो । त्यसैले दुखाइ कम गर्ने औषधीको प्रयोग गर्दै हिड्‍नुपरेको थियो । औषधिको आडमा रात पर्नु अघि नै जंगल काट्‍ने हाम्रो लक्ष्य अनुरुप गाउँमा पुगेपछि बास माग्यौँ । डेरामालिकले एउटा गुन्द्री मात्र उपलब्ध गराउन सक्ने बताए । थकान र भोकले चूर चूर भएकोले बहिनी र म चुपचाप थियौँ । दिदी चाहिँ घरीघरी फाट्टफुट्ट कुरा कोट्‍याउँथिन् । दिदीले डेरामालिकलाई चिनेकोले पनि उत्सुक थिइन् सायद । हामीप्रति डेरामालिकको प्रतिक्रिया र व्यवहार अनौठो थियो । चुरोट सल्काएर घरी यता, घरी उता, घरी बाहिर, घरी भित्र गरिरहन्थे । मानौ उनको मनमा ठूलो भुइचालो गइरहेछ । बाटोमा पसल खोल्नुको बाध्यता, आर्थिक साह्रोगारोलगायत थुप्रै दु:खका कुरा मात्रै ओकल्थे ती पसले दाइ । अनि केही बेर अदृश्य हुन्थे, फेरी झुल्किन्थे ।

हामीसँग साथमा खानेकुरा थिएन । बास मागेको ठाउँमा केही नभएको जानकारी भइसकेको थियो । त्यसैले सुत्ने तरखरमा लाग्यौँ । संयोगवस सदरमुकामबाट फर्किदै गरेका दुईजना छिमेकी (जवान)हरु आइपुगे । उनीहरुसँग हाम्रो कुराकानी सुनीरहेका डेरामालिक अचानक देखा परे । उनले ती दुई जवानलाई बोलाएर केही पर लगे । केही क्षणपछि बल्ल उनी दिदीसँग कुराकानी गर्न आइपुगे । क्षमा माग्दै खाना पकाएर खाने अनुरोधसाथ ओढ्‍ने ओछ्‍याउनेको व्यवस्था गर्नतिर लागे । उनको नजरमा हाम्रो एउटा अलग्गै पहिचान बनेछ 'आइलागेका पाहुना', मतलब उही शसस्त्र विद्रोही खेमाका प्रतिनिधि ।

गाउँमा 'माओवादी केटीहरु पसेका छन्' भन्ने कुरा फैलियो, बाटोमा हिडेका बटुवा (भरिया)देखि पसले (दोकाने)हरुसमेत त्रसित बने । शसस्त्र द्वन्द्वमा पिल्सिरहेका जनमानसको मनस्थिति र परिवेशमाझ केही दिनको लागि भएपनि हाम्रो एउटा पहिचान बनेछ- 'माओवादी केटी' को रुपमा । वास्तवमा यो पहिचान सृजना हुनुमा न त गाउँलेको दोष थियो न त हामी स्वयं नै त्यसको दोषी थियौँ । तत्कालिन परिस्थिति र परिवेशले जनमानसमा उब्जाएको त्रास र मनोदशाको एउटा साधारण नमूना थियो त्यो ।

Tuesday, March 25, 2008

अर्को मिनि उपत्यकामा मुन क्याम्प

(बिशंखुनारायण मन्दिरको डाँडाबाट देखिएको विष्टछापलगायतका अन्य गाउँ)

गत चैत ८ गते होलीको अवसरमा विशंखुनारायण गाविस १, विष्ट छाप नामक गाउँ पुग्दा चारैतिर हरियो बनजंगलयुक्त डाँडाकाँडा देखियो । ती डाँडाकाँडाभन्दा माथि खुल्ला र सफा आकाश देखिन्थ्यो भने वरपर फाँटिलो जग्गाजमिनहरु तथा अर्ध शहरीकरण्का नमूना घरहरु देखिन्थ्यो । वरपर आँखा घुमाएपछि मेरो मनले नाम जुरायो- 'मिनि उपत्यका' । युवा अभियान नामक संस्थाको अगुवाइमा होलीको अवसरमा वर्षेनी मुन क्याम्प लाने गरेको सो गाउँमा यो चोटि लगभग ७० जना जति युवाहरुको एउटा समूह थियो ।

काठमाडौं उपत्यकाको कोलाहल, प्रदुर्षण, होलीको लोला आतंकबाट टाढा भइ, केही नौलो अनुभूतिका साथ एकदिन बिताउने मेरो मनोकांक्षा थियो । त्यही मनोकांक्षाले डोर्‍याएर साथीहरुसँग म पनि पुगे 'मिनि उपत्यकामा' । त्यहाँ पुग्दा जाँडरक्सी, जुवातास जस्ता कूलत मुक्त विष्ट गाउँलाई नमूना गाउँ बनाउने कसरत चलिरहेको, छ्‍यालब्याल पानी हुने गोदावरी आसपास भएपनि ३, ४ महिना खानेपानीको लागि दु:ख गर्नैपर्ने बाध्यता रहेछ । लगभग ७५००० लिटरको पानी ट्‍यांकी निर्माण कार्य चलिरहेको थियो । मुन क्याम्पका सहभागीहरुले त्यसमा केही घण्टा आफ्नो श्रम खर्चेर सहयोग गरे ।

त्यस अलावा २४ घण्टाको अवधिमा एकाध घण्टाको हाइकिङ्ग, विभिन्न खालका खेलकुद र साँझको समयदेखि मुन क्याम्पको मुख्य आकर्षण 'चन्द्रमा दर्शन' शुरु भयो । त्यसको केही समयपछि शुरु भएको नाचगानले आधारात बितिसक्दासम्म निरन्तरता पायो । त्यहाँको वातावरणमा युवा जोश जाँगरसहित साथीहरु रौसिएको देख्दा आफू केही बूढो भइएछ भन्ने महशुश पनि गरायो ।

स्थानीय खानपान, अलग वातावरण, नौलो ठाउँ र परिवेशमा पुग्दा, एकदिनमा थुप्रै कुराको अनुभव लिँदा नरमाएका सायदै थिए होलान् । होलीको विकृति बढिरहेको बेला केही युवा जमातले नयाँ ढंगले सदुपयोग गर्ने परम्पराको एउटा सकारात्मक स्वरुप मान्न सकिन्छ मुन क्याम्पलाई । साँझ तथा रातको समयमा स्थानीय बासिन्दाहरुसँग सहकार्य गरी अलिकति व्यवस्थित ढंगले मनोरञ्जन गर्न सकेमा अझ राम्रो हुन्थ्यो कि ?

Thursday, March 20, 2008

Happy Colourfull Holi

Happy Colourfull Holi to all the viewers.

This picture help me to recall the colourfull and memorable holi celebration in my life. When we were preparing for the SLC exam. That was my first and interesting holi celebration. After that, yearly painfull Lola celebration is going on, going on, and just going on continuesly. Ooops, How insensitive situation!!!

Specially the girls are facing the Lola problems. In the same time, we can read many painfull experiences and observation on National daily newspapers (eg. yesterday and today's Kantipur, Naya patrika). Everyone knows, it is not enough to prevent the Lola culture. But it is a uncollective and unofficial voice of bitter truth, which reflect that, Our traditional culture becoming a worse and painfull culture in our society. Due to lack GOV. administration Dep. and discourage attitude of Lola using culture, accident and unwanted events are happening. And victims are totally helpless. In my personal view, anti-lola and mutual holi celebration campiagn should be raised strongly as soon as possible. If not every individual's effort and reaction could not sound (to)- who may concern.

Besides all the bad and good sides, once again happy holli and hoping to celebrate the mutual holi.

Sunday, March 16, 2008

गाउँप्रतिको अनुभूति

मेरो जन्मथलो भोजपुरको ठूलोदुम्मा भएकोले दुम्मालीहरुको ब्लग आफू सामु पाउँदा निकै नै खुशी लागेको छ । त्यही ब्लगमाफत सबैलाई एकबद्ध गर्न र गराउन खटेका दुई व्यक्तिहरुप्रति मनैदेखि आभार प्रकट गर्छु । जब म त्यहाँ आफ्नो जन्मथलोमा थिए । पारिवारिक कारणले नै त्यो ठाउँ निकै नै उकुसमुकुस लाग्थ्यो । पछिल्लो समयमा आएर त्यहाँबाट फुत्किएर स्वतन्त्र हुने र अर्कै माहोलमा बस्ने कल्पनाबाहेक अन्य कुरामा मेरो त्यत्ति ध्यान गएन । त्यसै क्रममा काठमाडौँको माहौलमा प्रवेश भयो । र, दु:खसुख जिन्दगी चल्दै गयो । तर आफू जन्मे-हुर्कको ठाउँ र परिवेश दिल र दिमागमा छापिएको एउटा नमेटिने हस्ताक्ष्रर रहेछ । त्यसैले आज पनि मलाई त्यो गाउँ, त्यहाँका साथीभाइ, नातागोता सबैको झल्झली याद आउँछ ।

म सँधै सोच्ने गर्छु, हाम्रो दुम्मा गाउँ किन यत्ति अविकसित र पछाडि परेको ? सायद मैले त्यहाँ भएको विकासको अनुभूति गर्न नपाएर पनि हुनसक्ला । तर आजपनि त्यहाँका कैयौँ आमा-आपा, दिदीबहिनी तथा दाजुभाईहरु क्यान्सर, टीभी तथा अन्य विभिन्न रोग तथा दुर्घटनाबाट बच्न सकिरहेका छैनन् । विद्युतीय सञ्चारमाध्यमको विकासले दिनदिनै भेटघाट गर्न सकिने हुँदा पनि धेरै खबरहरु पाउन सजिलो छ । र, गाउँघरमा राम्रो काम भएको वा गाउँ गतिशिल भएको खबर सुन्न लालायित छु, सायद यो स्वभाविकै होला । तर मेरो अपेक्षा बढी नै भएको हो वा के हो त्यस्तो हुन सकिरहेको छैन ।

केही महिना अघि मात्रै म त्यहाँ पुगेको थिए । विकट दुर्गम गाउँको हिसाबले झेल्नुपर्ने सारोगाह्रो त छँदैछ । त्यसको बाबजुद पानीको अभाव, बनजंगलको फडानी, जनशक्तिको अभाव, बढ्‍दो आधुनिकीकरणको प्रभावजस्ता थुप्रै पक्षहरुले समस्याको रुप लिइरहेको महशुश गरे । धेरैजसो दाजुभाइहरु आर्थिक उपार्जनको लागि विदेशिएका छन् भने दिदीबहिनीहरु पनि गाउँघरमा भेटिन्नन् । त्यसको थुप्रै पक्षहरु नभएका होइनन् । पक्कै पनि छन् ।

यी सब कुरा भनिरहँदा बिना सन्दर्भको लाग्न सक्छ । मेरै पल्लो कोठाका छिमेकीहरुले खोटाङको विभिन्न गाउँको बारेमा योजना तथा कार्यत्रmमहरुको खाका तयार पारेको र कार्यान्वयन गर्दै लगेको कुराले घरीघरी आफ्नो जन्मथलोको मूल्याङकन गर्न पुग्छु । र, म आशा गर्छु, हुनसक्छ यस्ता कुरा हाम्रो गाउँघरका व्यक्तिहरुले पनि गर्दै होलान् कतै, कुनै स्थानमा बसेर । मलाई थाहा नभएको पनि हुनसक्छ ।

Thursday, March 13, 2008

महिला र फागु पूर्णिमा: पीडादायी VS आनन्ददायी

आज (२९ फागुन) विहान खाना खाएर कामतिर लागे । ठूल्ठूला घरहरुको फेदैफेद गल्ली र गल्छेडा पार गर्दै काममा पुग्नु मेरो दैनिकी नै हो । लोड सेडिङले जुराएको समय भएकोले फुर्सदमा मनमा यसो कुराकानी गुन्दै उन्दै हिड्‍दै थिएँ । एक युवतीको आवाज सुने "मलाई नहान्नु ल" । म झसङ्ग भएँ र अगाडि हेरे । एक हूल केटाकेटी हातमा लोला र पिच्कारी लिएर खेलीरहेका थिएँ । अनि उनीहरुका अभिभावक जस्ता देखिनेहरु बेलुनमा पानी परिदिन सहयोग गर्दैथिए । उनीहरु एकअर्कासँग सोधासोध पनि गर्दैथिए "हान्दिउ ?", "अहिले नहान लोला सकिन्छ अनि कस्ले किनिदिन्छ फेरी ?" । यसो ठम्याए । होली आउनु अझैँ ९ दिन बाँकी छ । मेरो मनमा ढ्‍याङग्रो बज्न सुरु भइहाल्यो । अब होलीको भोलिपल्टमात्रै ढुक्क हुन्छ मन ।

काठमाडौं टेकेको सालदेखि बर्षेनी यो ज्यानले फोहोर पानीसरीको लोला खोपेको खेपेकै छ । त्यो पनि फागु पूर्णिमाको अघिल्लो हप्तादेखि नै । आजको त्यो दृश्यले यो वर्ष फागुभन्दा अगावै खेप्नुपर्ने लोलाको त्रास मनमा जगाइदिइसक्यो । चारैतिर पर्खालले घेरिएको कोठा तथा घरभित्र बसेको अवस्थाभन्दा बाहिर निस्क्यो कि मानसिक तनाव उत्पन्न भइहाल्छ लोला खाइने पीरले । यो समस्या म एक्लो मनुवाको होइन । जतिपनि साथीहरु छन् । सबैमा यो त्रास उत्तिकै व्याप्त छ । त्यसमा पनि खासगरी युवती (केटी) हरुलाई । घरैघरको फेदबाट हिड्‍नुपर्दा त झन् दशा नै लाग्छ । कुनबेला कुन घरको छत या झ्यालबाट हानिने लोलाको निशानामा परिन्छ थाहै हुँदैन । कुन गन्तव्यमा पुग्नलाई कुन मनस्थितिले हिडिराखेको बेला एक्कासी लोला बर्सिदा ठूलै दुर्घटना भएझै मुटुको धड्‍कन बेग हुन्छ र शरीरमा आएर बज्ररिएको लोलाले शरिर आधाआधी भिजाएरै छाड्‍छ ।

महिला भएकै कारणले कैयौँ कष्ट र दु:ख सहनुपर्दा कहिलेकाहीँ लाग्छ, महिला हुनु नै कत्ति बिडम्बना र पीडायुदायी छ हाम्रो समाजमा । त्यस्तैगरी यो फागु पुर्णिमाको सन्दर्भमा पनि एउटा युवतीले भोग्नुपर्ने जति पीडा सायद अरुले भोग्नु पर्दैन होला । म र मेरो दाई या अन्य कुनै पुरुष मित्र सँगै हिडिराखेको बेला पनि ताकी ताकी मेरै शरीरमा लोला बज्ररिने गर्छ । म र मेरो काकी या अन्य कोही पाको महिलासँगै हिड्‍दा पनि मेरै ज्यानमा लोला हानिएको हुन्छ । त्यो लोला आफैले युवती या महिलालाई नै छानेको त पक्कै हैन । आखिर किन त्यस्तो हुन्छ ? यस्तै र अझ यो भन्दा पनि पीडादायी अनुभव अन्य साथीहरुको हुनसक्छ । सायदै होलान् हप्तादिन अघिदेखि दिनदिनै लोला खाइ खाइ मनोरञ्जन लिनेहरु । लोला खाइसकेपछि रीस, पीडा, आक्रोस के के हो के के गज्याङगुजुङ मिसिएको दिल दिमाग मत्थर हुन नपाउँदै फेरी अर्कोतिरबाट लोलाको निशान बन्ने त्यत्तिकै सम्भावना ।

यस्तो परिस्थितिमा पनि केही गर्न नसक्दा लाचार र छट्‍पटी महशुश हुन्र्छ । किनकी यसबारेमा गुनासो र सहयोगको अपिल गर्ने ठाउँ पनि त छैन । सिफ साथीहरुसँग कुराकानी गरेर एकअर्काको पीडा साटासाट गर्‍यो, बस सकियो । हुनेवाला केही छैन । अनि मनमा अनेक प्रश्न उठ्‍छ, चिन्नु न जान्नुको बटुवाहरुलाई लुकी लुकी भएपनि छानी छानी लोला हानेर मजा लिनेहरुप्रति । के साँच्चै नै उनीहरुलाई त्यसो गर्दा स्वर्गीय आनन्द मिल्ला ? त्यस्तै हो भने किन खुलेर अगाडि आउन पनि सक्दैनन् ? दूलोमा लुकेर सिकार ढुक्दै झम्टिँदै खाने खालको प्रवृत्तिलाई के भन्ने ? पीडा र तनाव सम्झेर ल्याउँदा त्यस्ता प्रवृत्ति बोकेकालाई भित्तामा पोष्टर बनाएर टाँग्नेसम्मको रीस उठ्छ । तर त्यो समाधान होइन, सही होइन र बूताबाहिरको कुरो पनि हो भन्ने मलाई थाहा छ । विचरा म बबुरो एक्लैले मन हुडालेर हुने नै के पो हो रहेछ र ? यी र यस्ता अनेक कुराले गर्दा होलीको विशेष दिन आउँदासम्म पानी, रंग र होली पर्वसँगै वितृष्णा जागीसक्छ । थाहा छैन होलीको दिनमै मात्र होली खेलेर रमाइलो गरेको अनुभव कहिले गर्न पाइने हो ?

Sunday, March 09, 2008

मेरी आमा... तिमीमा समर्पण

(निश्चल हाँसो उनको, प्रतिबिम्ब हो मनको)

यो अनौठो संसारमा मेरो अस्तित्व बनाइदिने ममतामयी आमा, (९८ औँ) अन्तर्राष्टि्य नारी दिवस, पूर्ण रुपमा तिमीमा समर्पित गर्दछु । तिम्रो हाँसो, खुशी र सुख मेरो लागि अपुरो-अधुरो सपना हो । त्यसैले पनि तस्बीरमा कैद तिम्रो निश्छल मन्द मुस्कान मेरो लागि प्रेरणाको स्रोत बनेको छ । तिम्रो जीवन, हरपल भयानक लाग्ने डर-त्रासबाट कहिल्यै मुक्त हुन सकेन । तिमीले फेर्ने गरेको प्रत्येक सास पनि तिम्रा लागि नभएर अरुकै लागि हुन्थ्यो । तिमीले आफ्नो लागि कहिल्यै बाँचेनौँ, न त आफ्नो लागि कुनै एक पल नै बितायौँ । तिम्रो त्यो अवस्थाबाट तिमीले मुक्ति नचाहेको पक्कै पनि हैनौँ तर त्यसतर्फ कहिल्यै कदम चाल्ने हिम्मन नै गरेनौँ । तिमी भन्ने गर्थ्यौ 'दु:खै र माथि भुक्तमान' । जतिबेला भन्यौँ त्यत्तिबेला म बुझ्ने अवस्थामा थिइन । आज म बुझ्ने भए, तर तिमी संसारिक मोहबाट मुक्त भइगयौँ ।

हुन त म पनि कहाँ निडर थिएँ र त्यत्तिबेला ? आखिर तिम्रै अंश हुँ । तिम्रो अवस्थाले तिम्रो सोझोपन, सरलता र स्वच्छ भावना झल्काउँथ्यो । पछि थाहा पाए, तिमी र म दुवै जनाभित्र बिद्रोह गर्नको लागि निम्छरोपन पनि त छँदैथियो । तर तिम्रो सहनशीलतालाई छातीमा टेकेर ताण्डव गर्नेहरु अझ निम्छरोपनयुक्त मानव हुन् । तिमीभित्र लादिएको त्यो शासन र दमनले तिमीलाई खाइसकेको थियो । र, तिमीले मेरो वालापन नै कहाँ अनुभूत गर्न पायौँ र ? तर मेरो वालापन भन्दा मैले तिम्रो कष्ट र पीर अनि अति सहनशीलतालाई हरेक सासमा अनुभूत गर्दै हुर्किए । तिम्रो पीडक तिम्रै लोग्ने स-शरीर उभिएको हुँदा मलाई पनि उनीप्रति धेरै घृणा थियो र मनमा भय पनि गडेको थियो । तिमी नै भन्ने गर्थ्यौ मलाई, 'अरुसँग कहिल्यै नराम्रो नहुनु, आफूभन्दा ठूलालाई मुख नलाग्नु, सानोलाई नहेप्नु' । तिमीले यो नियम पालना गरिरह्यौँ जीवनभर । तर खै त, तिमी नै बढि हेपिएकै थियौँ नि ।

तिम्रो पीडालाई मलजल हाल्ने र तिमीमाथि अन्याय गर्ने अर्को नारीको आगमन हुँदा समेत पनि तिमी एकनासे सागरको बहाबझैँ शान्त र सहनशील देखियौँ । जति जति अन्याय हुँदै गयो, त्यत्तित्यत्ति तिम्रा मन, मस्तिष्क र शरिर थकित र लाचार बन्दै गयो । तिम्रो जिवनको अन्तिम घडीसम्म पनि धेरै शान्त र कसैप्रति द्वैष र रीस राग राख्न सकेनौँ । तर तिमी र तिम्रो तिनै सरलताभित्र लुकेको पीडाबाट मैले आफ्नो निम्छरोपनमा सहास हाले, हिम्मत बटुले र आफ्नै बलबुतामा बाँच्ने कोशीसमा छु । आज तिमी मसँग स-शरिर रहेको भए..... तिमी कस्तो हुन्थ्यौँ होला ? जे भएपनि मेरो लागि संसारकै सहनशील र सरल नारी तिमी नै हौँ । तिमीलाई हृदयभरिको समर्पण मेरो ।

Thursday, March 06, 2008

मोजमस्ती, युवा जनजाति अनि शिवरात्री

२ दिन अघिको कुरो, बेलुकीको ७ बजेतिर डेरा नजिकैको छिमेकी घरमा लोड सेडिङको बेला टोलै उज्यालो हुनेगरी आगो बल्यो । कतै आगलागी पो भयो कि भन्ने शंका पलायो र त्यतैतिर चासो मोडियो । आँगनको एक छेउमा चाङ लागेको वियरको कार्टुन र मासुका परिकारमा आँखा पुग्यो । हेर्दाहेर्दै एकपछि अर्को गर्दै मोटरसाइकलबाट युवाहरु ओइरिन थाले । लगभग ३०-३५ जनाको समूहमा प्रायजसो मंगोल अनुहारमा सिफ एक महिला अनुहार । साथमा गिटार र निर्धक्कसँग गीत गाइरहेका थिए । वरपरका कैयौँ छिमेकीहरुको निद्रा खोसेर, एसएलसीको तयारीमा जुटेका विद्यार्थीको माझमा विहानको ४ बजीसक्दासम्म पनि मोजमस्तीको क्रम जारी हुँदा लाग्यो 'क्या हदैसम्मको बिन्दास पारा' । अनि यो कुराले मेरो डायरीमा स्थान पाइकनै छाड्‍यो ।

गाउँमा हुँदा त थाहा थिएन । शहरको वातावरणमा घुलमिल हुने क्रममा धरानमा शिवरात्रीको दिन घरघरबाट दाउरा बटुलेर आगो बालेर आलु पोल्दै खाने चलन दिमागमा ताजै छ । आगोको राप र उज्यालोले त्यही कुराको स्मरण पनि भयो । रातभरको अनिँदोमा नयाँ पत्रिकामा छापिएको 'सन्तानको जीवन सहज बनाएर उनीहरुलाई परनिर्भर नबनाउनुहोस्' भन्ने रोबर्ट ए. हेनलेनको भनाई पढ्‍दा निकै घत पर्‍यो । नेपालमा जन्मिएर विदेशतिरै हुर्के बढेका ती युवाको चासो मोजमस्ती र घुमघाममा भन्दा अन्यत्र पर्दै परेन । देशमा चलिरहेको विभिन्न आन्दोलन, बन्द, हडताल, चुनावी माहौल र त्यसले सृजना गरेको सकारात्मक र नकारात्मक स्थितिभित्रै भएपनि उनले त्यसको स्वाद चाखेनन् । न त त्यसप्रति कुनै चासो नै राखे । घुमफिर र मोजमस्तीको लागि भनेरै लाख रुपैयाँको व्यवस्था उतैबाट अभिभावकले गरिदिएकाले पनि उनको मनोकामना पुरा भयो ।

नेपालकै विभिन्न गाउँठाउँका अत्यन्तै पिछडिएका आदिवासी जनजातिहरु, आर्थिक आयआर्जनकै लागि दिनदिनै विदेशिने युवा, अहिलेको संविधानसभामा आफ्नो हकहितको सुनिश्चितताको लागि दौडधुप गर्ने समुह, विभिन्न कुराको अभाव झेल्दै विहान-बेलुकी छाक टार्नमै व्यस्त आम नेपाली । यी सब कुरादेखि कोषौ टाढा रहेका ती युवा खानदानी व्यापारी या कुनै ठूलै पद ओगट्ने खलक हैनन् । पूर्वी नेपालका भूपू सैनिकका सन्तान हुन् । यहाँ प्रसङ्गबस अभिभावकको आडमा मस्तीमा रमाउँने जनजाति समुदायका युवा वर्गको वास्तविक पात्रका प्रतीक बन्न पुगेका छन् उनी ।

अनेकौ हण्डर खेप्दै जीवन भोगेका अभिभावकले आफ्नो सन्तानले कुनैपनि खालको दु:ख र कष्ट भोग्न नपरोस भन्ने सोच्नु, सन्तानको खुशी पुरा गर्नु र भविष्य बनाउनको लागि आर्थिक रुपमा सवल बन्नु र बनाउनु सबैको आवश्यकता र चाहना दुवै हो । आर्थिक रुपले सवल भएका अभिभावकहरुले सुख सुविधा भोगको लागि सन्तानले अपनाएको बाटो सही या गलत छ ? विभिन्न आवश्यकता परिपूर्तिको खातिरदारी गर्ने क्रममा सन्तानले के कुरा ग्रहण गरिरहेको छ ? र कुन हदसम्मको आवश्यकताको परिपूर्ति गरिदिनु उचित हुने भन्ने बारेमा सोचविचारै नगरीकन खुरु खुरु पैसा खर्चनु र बढी मात्रामा स्वतन्त्रता दिनु कति उचित हुन्छ ? हिजोसम्म आफैले भोगेर ल्याएको दु:खबाट टाढा राख्ने नाममा देशकाल, परिस्थिति र आम नागरिकको वास्तविक जीवनबाट अनभिज्ञ राख्नु कत्तिको फाइदाजनक छ ? यसबारेमा अभिभावकले सोच्नैपर्छ । साथै सुधिवा भोग गर्न पाउने भाग्यमानी युवा वर्गले पनि सही कुरालाई सही रुपमै सदुपयोग गर्ने बानीको विकास गर्नैपर्ने देखिन्छ ।

पोहोरको शिवरात्रीको दृश्य सम्झँदा मनै सिरिङ्ग हुन्छ । एकाविहानै पशुपति क्षेत्रको दृश्यावलोकन गर्न गइयो । तर त्यहाँबाट टाउको दुख्ने गरी गाँजा, भाङको गन्ध र युवा-युवतीहरुको उदेक लाग्दो चाला दिमागमा बोकेर फर्किनुपर्‍यो । एकातिर धार्मिक आस्था र शिवको तथाकथित महिमा र अर्कोतिर 'शिवजीको प्रसाद' नामक 'जिनिस' खुलेआम सेवन गर्ने सुअवसरको कारण निकै नै भीडभाड लाग्ने गर्छ हरेक साल । यसो नियाल्दाखेरी शिवजीको प्रसाद ग्रहण्मा लिप्त युवा-युवतीहरु (धेरै मात्रामा मंगोल अनुहारका) उही विन्दास शैलीमा देखिन्छन् । मानौ उनीहरुको चरम सन्तुष्टिको विन्दु त्यही जिनिस सेवनपश्चात मिलिरहेको छ । त्यसबाहेक पनि अनेक दृश्य देख्न पाइन्छ । खै यी सबलाई के भन्ने ? नेपाली संस्कृति या संस्कृतिभित्र मलजल गरिएको विकृति ?