Showing posts with label चौतारीमा गफगाफ. Show all posts
Showing posts with label चौतारीमा गफगाफ. Show all posts

Friday, August 01, 2008

रिक्सा र ठेला चालकसँग चौतारीमा बिसाउँदा

आ-आफ्नो अनुभव साट्दैः बायाबाट क्रमशः कुमारी थापा, अर्जुन खत्री र बम बहादुर श्रेष्ठ।

बुधबारबाहेक साताभरि नै विभिन्न विषयमा नियमित छलफल हुँदै आइरहेको मार्टिन चौतारीमा साउन ५ गते आइतबारको दिन रिक्सा र ठेला चालकको कथा, व्यथा र दृष्टिकोण बुझ्ने र उनीहरुसँग गफिने मौका जुर्‍यो। प्रायजसो ठूल्ठूला विषयमा ठूल्ठूला मान्छे भनिएकाहरुकै विचार र दृष्टिकोण सुन्दासुन्दाको 'ह्याङओभर'मा त्यो गफले उनीहरुको जीवनको भोगाईबारेको जानकारीसहित देशमा चलिराखेको माहौलबीच 'रिफ्रेसमेन्ट' दियो। उनीहरुसँग गफ गरिसकेपछि मलाई भित्री मनमा लागेको कुरा साँच्चै नै रहेछ भन्ने लाग्योः हामी श्रमिकहरु आमाबाबुको कठिनाई र पीरहरुबीच जन्मिन्छौ, हुर्किन्छौ अनि त्यही पीरलाई थाप्लोमा थुपार्दै गाँसबाँसको जोरजममा पौरख लगाउँछौ। बिस्तारै आफ्नो गुम्दै गएको पौरखलाई अनुभव गर्दै मर्न बाध्य हुन्छौ।

ठेलागाडा चालक बमबहादुर श्रेष्ठ र रिक्सा चालक अर्जुन खत्रीलाई मार्टिन चौतारीले मुख्य वक्ताको रुपमा निम्तो गरेको थियो। साथै घरेलु कामकाज गर्दै आएकी कुमारी थापाले पनि आफ्ना दु:खसुखका पोको फुकाइन्। 'हामीजस्तो मान्छेलाई पनि सरहरुले बोलाउनुभो, खै... बोल्नु त आउँदैन', शुरुमा तीनैजना केही असहज देखिन्थे। अन्य सहभागीसँग दोहोरो कुराकानी गर्दै जाँदा बडो रमाइलोसँग खुले। श्रम र पसिनाको कमाईमा जीवन चलाउँदै आएका ३ जना परिश्रमीको जीवनगाथा र भोगाईहरुले नेपाली जनजीवनको वास्तविकतालाई टड्‍कारो गरी झल्काउँछ। तैपनि बेवास्तामा पर्नु नौलो कुरा हैन। त्यसैले म उनीहरुकै बोलीलाई यहाँ राख्ने कोशीश गर्दैछु।

अरु काम केही नपाउँदा भाँडा माझ्ने र लुगा धुने कामको खाँचो नहोस् भन्नाका खातिर घरमालिक या साहूहरुको मनोभाव र आनीबानी बुझेर काम गर्नुपर्ने, खुशी पार्नुपर्ने बाध्यतालाई कुमारी थापाले चौतारीमा पोखिन्। उनको आफ्नै व्यथा छ। उनी २ सन्तानकी आमा, श्रीमान‍की कान्छी (तेस्रो) श्रीमति। अघिल्लापट्टीको सन्तान नहुँदा उनी भित्रिएकी। सौता र श्रीमान‍सँगको बेमेलपना र झमेलासँग भाग्दै काठमाडौं छिरिन्। अनि घरेलु कामदार तथा ईटा, बालुवा बोक्दै गुजारा गर्न थालिन्।

दोलखाबाट उपत्यका छिरेका बमबहादुर, २०४२ सालदेखि लगातार ठेलागाडासँग हिड्‍दै आइरहेका उनी दिनहूँ विहान ७/८ बजेदखि बेलुकी ८ बजेसम्म काम गर्छन्। हामी मनुवालाई गलफत्ते गर्न पनि खुब आउँछ। 'पैसा दिने बेलामा शुरुमा भनेको जति दिँदैनन् अनि तेल चाहिने हो र? भन्दै उल्टै आफैलार्इ थर्काएर जान्छन्', कामको मूल्य लिँदा पनि जस नपाएको तिक्तता औँल्याउँदै थिए उनी । पहिलेको तुलनामा धेरै नै छलकपट, लुटपाट र जटिलता मौलिएको अनुभव सुनाउँदै राजनीतिक दल र उनीहरुको आश्वासनप्रति छड्‍के हान्न पनि पछि परेनन् बमबहादुर: 'राजनीतिक दलले बच्चालाई चक्लेट दिएर फकाएझैँ गरी हामीलाई फकाउँनेबाहेक केही काम गरेन, त्यसमाथि यो एमाले र काँग्रेसले त केही पनि गरेन'।

पहिले पहिले रिक्सा तथा ठेलागाढा चालकलाई समेत 'खाते' नामले बोलाइने गरेको र साहू तथा मालिकहरुलाई जसरी हुन्छ खुशी पार्ने ध्याउन्नमै आफ्नो श्रम खर्चिदै आएकोमा रिक्सा चालक संघ माओवादीको मातहतमा गठन भएपछि भने काम गर्न सजिलो भएको अनुभव अर्जुन खत्रीको थियो । यो सहुलियतको सट्टाभरना स्वरुप माओवादीको भनेको स्थान र समयमा धर्ना, जुलुस तथा र्‍यालीहरुमा सहभागी हुनुपर्ने र हुँदै आएको पनि बताए । आफ्नो पेसामा थोरै भएपनि सम्मान पाउँदा र किचलो कम भएकोले उनीहरु यसलाई नराम्रो मान्दैनन् । ऐँचौपेचौँ गरी काम टारेझैँ नै हो भन्छन् ।

काम भएको बेला महिनामा १५/१६ हजार कमार्इ हुने अनि नभएको बेला सुख्खा हुने हुँदा गुजारा चलाउँन कठिन छ । रमाइलो पारामा अर्जुनले भने, 'चुइँचुइँ रिक्सा चलाउनुपर्दा, ठस्‌ठस‍ कन्दै ठेलागाढा ठेल्नुपर्दा एक्कैछिनमा भोक लागिहाल्छ, भारी मात्रै लोड गरेर कहाँ भो र, आफ्नो भुँडीमा पनि एकैदिनमा ४ पल्ट लोड गर्नु पर्छन्त', उनको रमाइलो मिजास र भनाईको तरिकाले सहभागीहरु गललल हासे, 'नत्र त कहाँ सकिन्छ र काम गर्न?' । कुरो एकदम सही हो । ज्यानले त्यत्रो भारी धानेको छ भने ज्यानलाई धान्ने खुराक पनि चाहियो नि । खाना भन्दा पनि पिउनुमा चालकहरुमध्ये धेरैको कमाई खर्च भइरहेको पनि उनीहरु स्वीकार्छन् ।

जड्‍याहा, बदमास तथा सानातिना फटाहा र गुण्डाहरुद्वारा खुब सताइने यो पेसामा अन्य सवारी साधनभन्दा मोटरसाइकल चालकद्वारा बढी पेलिदै आएको उनीहरुले बताए । उनीहरुकै ठम्याईअनुरुप यो पेशामा दोलखा रामेछाप, काभ्रे, नुवाकोट, धादिङतिरका धेरै छन् । रिक्सा/ठेलागाढा चालकहरु आफ्नो पौरख घट्‍दै गएपछि के गर्छन् त ? 'सकुञ्जेल गर्, नसकेपछि त्यत्तिकै भगवान भरोसा मर्'को स्थितिबाट छुटकारा पाउने अवस्था भने छैन ।

Wednesday, April 30, 2008

थकाइ मेट्‍ने र गफ गर्ने चौतारी

गाउँघरमा मेलापात, घाँसदाउरा या गोठालोबाट फर्कदा चौतारीमा बसेर थाकाइ मार्नु, साथीभाईसँग भेटेर गफ गर्नुको मजा बेग्लै हुन्छ। टन्टलापुर घाममा चुईकिँदै उकालो-ओरालोमा घाँस-दाउराको भारी बोकेर लोत थाकेको बेला शीतल चौतारामा बसेर सर्रर चिसो बताससँगै सुस्ताउन घोर आनन्दको अनूभुति हुन्छ। थकान मेटिएर शरिरमा पुन जोशजाँगर भरिन्छ। अनि गन्तव्यतिर लम्किइन्छ।

शहरको सन्दर्भमा शहरीकरणको अनेकौँ लन्ठासँग पौठेजोरी खेल्दाखेल्दा कहिलेकाहीँ दिक्क लाग्न सक्छ। शहरी क्षेत्रको तीब्र विकाससँगै नयाँ नयाँ समस्या तथा सवालहरु पैदा भइरहेका हुन्छन् हरेक पल। त्यत्तिका विधि समस्या र विकासको चेपुवामा परिरहेको बेला ती दुवै पक्षबारे गफगाफ गर्दै दिमागलाई फ्रेस बनाउन शहरी ढाँचामा चौतारीको चलन बसीसकेको छ, उपत्यकामा। त्यसको थालनी १९९१ मा काठमाडौंको थापाथलीस्थिति एउटा घरको एउटा कोठाबाट शुरु भयो। गाउँघरको हाटबजारको नामकै आधारमा गफ गर्ने चलनको न्वारन पनि गरियो- मंगलबारे छलफल। अनि विस्तारै विस्तारै आइतबारे, विहिबारे गफ पनि थपिँदै जाँदा सबैको लागि एउटा गतिलो चौतारी बन्न पुग्यो। नाम पनि जुराइएको छ- मार्टिन चौतारी। संयोग नै मान्नुपर्छ, कुनै मृत व्यक्तिको नाममा सम्झनास्वरुप बनाइने चौतारीको चलन यहाँ पनि लागू हुन्छ। मार्टिन ती व्यक्ति हुन्, जसले विभिन्न क्षेत्र, समुदाय र विषयसँग चासो राख्नेहरुको लागि गफ गर्ने साझा चौतारीको खाका कोरे। जहाँ विभिन्न विषयसँग सरोकार राख्ने जुनसुकै वर्ग, क्षेत्र, समुदाय, लिङ्गका व्यक्तिहरु जमघट भइ एकअर्काका कुराकानी साट्‍ने गर्छन्।

जाने नजानेका अनगिन्ति विषयवस्तु तथा परिवेशको साथै द्रुत गतिमा चलिरहेको समाजबारे जानकारीको लेनदेन गर्दा समाजका धेरै पक्षसँग साक्षात्कार हुने मौका दिन्छ। अनि दिमागमा पुन नयाँ नयाँ विचार तथा अनुभवको उत्पत्ति हुन्छ। शहर भनाउँने ठाउँमा एउटै घरमा बसेका वल्लो र पल्लो कोठाका मानिसबीच चारकोष दुरी रहने ठाउँमा विविध क्षेत्रका साथीहरुसँग घुलमेल हुने मौका त छँदैछ। शरिरको साथै दिमागको थकान मेट्‍ने र नयाँ जोश जाँगर भर्ने काममा गाउँको होस् या शहरको होस्, दुवै चौतारीको महत्व निकै नै छ। अहिलेको सन्दर्भमा हेर्ने हो भने त शहरको चौतारीले थुप्रै काममा धेरै भूमिका खेलीरहेको छ। गफ गर्ने चौतारीकै सिको गर्दै अन्य थुप्रै गफ गर्ने समूह बनीसकेको देख्दा यसको महत्व बढ्‍दै गइरहेको स्पष्ट छ।

अब हेरौँ गफ गर्ने थलोको केही भौतिक अनुहार, मतलब केही तस्बीर ।

विभिन्न गन्थनमन्थन गुन्दै-उन्दै शहरका बेग्लाबेग्लै कुनाकाप्चाबाट भेला भएका व्यक्तिहरु पलेटी मारेर छलफल गरिरहेका छन् यहाँ । तपाईहरु पनि यस्तै गरी जुनसुकै विषयमा छलफल गर्न वा सुन्न रुचाउनुहुन्छ भने बेफिक्रीसँग आउँनुस् ।

सबैजना गफ सकेर गइसक्नु भएको छ । अघिसम्म बहस चलेको यो ठाउँ अहिले शान्त छ । तर चिन्ता नगर्नुस् । अर्कोदिन फेरी सबैजना भेला भइकन छलफल हुन्छ नै । कहिलेकाहीँ आँखाको काम पनि हुन्छ । तस्बीरमा देखिएको सेतो पर्दाले पनि देखाउँछ कि यहाँ वृत्तचित्र तथा चलचित्र पनि हेर्न पाइन्छ ।

बाहिर निस्केपछि हलतिर फर्केर हेर्दा यस्तो देखिन्छ । छ्वालीले छाएको तीनधुरे छानो, चिटिक्क परेको मुखद्वार । राम्रो छैन त ? यो भन्दा बाहिरको अन्य दृश्यहरु पनि देख्न पाइन्छ । तर अर्को पल्ट है ।