Wednesday, November 24, 2010

मिथिला नगरी घुम्दा

कार्यक्रमको शिलशिलामा हाम्रो टोलीसहित मिथिला नगरी पुगे ४ दिनको लागि। म त्यहाँ दोश्रो पल्ट पुगेको भएपनि प्रमुख-प्रमुख थलोहरुमा पुग्न अझै सकिएन। जति ठाउँमा पुगे ती सबै कुनै न कुनै ऐतिहासिक महत्व बोकेका स्थलहरु थिए। लिएर गएको मुख्य कामको अलावा जनकपुरको जानकी मन्दिर, धनुषाको यदुकुहा (जुन नेपालका विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा परिवर्तनका लागि ज्यानको आहुति दिएर सहिद हुनेहरुको नगरीको रुपमा परिचित छ), महोत्तरीको जलेश्वरमा पुगियो। तिनै ठाउँका केहि तस्बिरहरु:
सुन्दर मिथिला कलामा महिला)

(प्रायजसो भित्तामा देखिने मिथिला चित्रकलाको नमुना)

केहि महिना अघि पहिलोपल्ट छोटो समयको लागि जनकपुर पुग्दा त्यहाका भित्ताहरुमा मिथिला कलाको रुप देखे। ती कलामा भरिएका रंग, तीनको सुन्दरता र सरलता, जो सुकैले बुझ्न सकिने आकृतिहरुले मन तान्यो। प्रायजसोको घरका भित्तामा त्यस्ता चित्रहरु भरेमा घर खाली नहुने पुरानो जनविश्वास रहेछ। चित्रहरुमा मिथिला संस्कृति, जनजीबन, महिलाका दिनचर्या, पशुपन्छी, जनावर आदिलाई उतारिएको देख्न सकिन्छ।

(प्रख्यात जानकी मन्दिर)

(जानकी मन्दिरको भित्रपट्टी राम-जानकीको मुर्ति रहेको मन्दिर)

जनकपुरमा प्रसिद्ध जानकी मन्दिरको साथै राम मन्दिर, जनक मन्दिर रहेका छन्। लक्ष्मण मन्दिर भने जानकी मन्दिर प्रांगणमै रहेको छ। मुगल शैलीमा बनाईएका यी मन्दिरहरु आकर्षक छन्। मिथिला नगरीमा मन्दिरका साथै मस्जितहरु पनि थुप्रै रहेका छन्।

(धनुषाको यदुकुहामा निर्मित महिला सहिद स्मारक पार्कमा स्थापित सहिदहरुको अर्धकद शालिक)

२०४७ जेठ ९ मा गिरिजा प्रा. कोइरालाद्वारा सिलान्यास भै २०५५ कार्तिक २३ मा मनमोहन अधिकारीद्वारा अनावरण भएको यो पार्कमा २०४६ फागुन ९ गतेका दिन सहादत प्राप्त गरेका जानकीदेवी, सोनावातिदेवी, मुनेश्वरिदेवी (भू.पु. सांसद शिवधारी यादवको परिवार), रामनारायण यादव र उदयशंकर मण्डल (कक्षा ९का बिद्यार्थी) को शालिक रहेको छ। त्यस्तैगरी २०२९ असोज १ गते नया शिक्षा योजना २०२८ को बिरुद्धको आन्दोलनमा कामेश्वर मण्डल र कुशेश्वर यादवको सहादत भएको थियो।

(धनुषाको यदुकुहामा पकाईतुल्याई)

(भोजनको लागि लामबद्ध मानिसहरुलाई भोजन बाँड्दै)

(मिथिला भोजन पुरा हुने पर्खाइमा)

घ्यु नराखेसम्म खानथाल्नु नहुने (अर्थात् अपुरो भोजन लिनु हुन्न भन्ने मान्यता हो) र अन्तिममा दहि खाएपछि बल्ल मिथिला भोजन समाप्त हुने संस्कृति रहेछ। आफुलाई त क्या भोक लागेको थियो। भात, दाल र तरुवा राख्नासाथ १ गास त खाई नै हाले। संगैको साथीले भनेपछि सबै परिकार नआउन्जेल अरुहरुले झै पर्खेर बसे। मिथिला भोजनमा जम्मा ६५ परिकार हुन्छ रे। त्यहाँ भने दाल, भात, आलु-पर्बल-भान्टाको बेग्लाबेग्लै तरुवा, तरकारी, २ थरिको अचार, घ्यु, माछा, दहि गरि १२ परिकार खाने अवसर जुर्यो। भोजन पुरा भएपछि त खाने सूरमा नै बितेछ।


(बहिरबाट देखिने महोत्तरीको जलेश्वर महादेव मन्दिर)

(भित्र पसेपछि देखिने जलेश्वर महादेवको लिंग रहेको मन्दिर)

(जलेश्वर महादेव मन्दिरभित्र रहेको शिवलिङ्ग, जहाँ बाह्रैमास पानी उम्रीरहने हुनाले जलमग्न छ। सिङ्गो एउटा ढुंगाबाट बनेको त्यो लिंग मन्दिरमा टासिएको मधुरो फोटोमाबाहेक हेर्ने अवसर जुरेन)

सधैभरी जलैजलमा महादेवको लिंग रहने हुनाले जलेश्वर भनिएको होला भन्ने सामान्य अड्कल लाग्ने गर्छ यो मन्दिरको बारेमा सुन्दा। किम्बदन्तीअनुसार सत्ययुगको अन्त्य र त्रेतायुगको सुरुमा सीता स्वयम्बरको लागि राखिएको धनुले भगवान शंकरले त्रिपुर दग्ध गरे। त्यहिँ त्रिपुर दग्धबाट खसेको ज्वाला राबा नदीमा खसी भित्रभित्रै जलेश्वरमा पुग्यो र ज्वालेश्वर महादेवको उत्पति भयो। ज्वालाबाट जाला, जल हुदै अन्त्यमा जलेश्वर हुन पुग्यो। बि.स. १८६९ मा गिर्वाणयुद्ध विक्रम शाहको पालामा मन्दिरको नियमित पूजापाठ संचालनको लागि ताम्रपत्र प्रदान भयो। बि.स. १९९६ मा तत्कालिन बडाहाकिम जनरल रामशमशेर जबाराले गुफमाथी पुन: मन्दिर निर्माण गराए। जलेश्वर महादेवको लिंग रहेको ठाउँको पानी महिनामा २ पल्ट फाल्ने गरिन्छ। पानी फाल्ने काम महिनाको पहिलो सोमबार प्रकौली ब्यारेकको नेपाली सेनाले गर्छ भने महिनाको अन्तिम सोमबार सशस्त्र प्रहरीको टोलीले गर्छ।

Friday, November 12, 2010

आमासँग म

२५ कार्तिक। तदनुसार ११ नोभेम्बरका दिन। साँझको समयले छोप्नै लागेको बेला। आफ्नै धूनमा गफ गर्दै म र एकजना साथी कामबाट फर्कदै थियौँ। 'कलंकी जाने बाटो कता हो?' एक्कासी कानमा ठोक्कियो। हामी टक्क अडियौँ र अवाज आएतिर मोडियौँ। सामान्य कदको एकजना अधबैसे पुरुष, खकने झोला भिरेर क्लान्त र अनभिज्ञ भावमा उभिएको। आडैमा उभिदै गरेका महिला उभिनै नसकेपछि थ्याच्च भुइमा बसिन्- एउटा हात टाउकोमा, अर्को हात पेटमा राखेर। पछ्यौराले टाउको ढाकेकी, लुंगीलाई पटुकीले बेस्कन कसेको, कैयौँ दिनदेखि पानी देख्न नपाएको मैलो खुट्टा र मैलिएकै सामान्य चप्पल तथा लूगामा रहेकी ती महिला निकै थकित देखिन्थि। श्वास फुलेर पुरै शरीरलाई नै कम्पन दिईरहेझैँ लाग्थ्यो।

बबरमहलको नेपाल कला परिषद्बबाट प्रसुति गृह छिर्ने बाटो हुँदै कलंकीतर्फ जाँदै गरेका रहेछन् ती जोडी। तिनको गन्तव्य थियो धादिङ। काठमाडौ शहरको चमकधमकबीच गरिबी र अशिक्षाले पलपल खाइरहेको जीवनको चिनो बनेझै लाग्थ्यो तिनको शरिर र भेषभूषा। अनभिज्ञताले पूरै लपेटेको तिनको भावभंगीमा र तिनले तय गरेको पैदल मार्ग।

'आधा घण्टामा त कुनैपनि हालतमा पुगिदैन बा। अनि वहाँ त बिरामी हुनुहुन्छ जस्तो छ। गाडीमा जानुस्। नत्र तपाईहरुलाई रातभरि लाग्छ।'

'आधा घण्टा लाग्छ रे अब, यहाँबाट माथि गएपछि राजाको मूर्ति आउँछ रे (मतलब त्रिपुरेश्वर चोक) अनि सोझै जानु रे भने' उनी आफ्नो बाटो सही हो हैन भन्ने निर्क्यौल गर्ने चेष्टामा थिए। तर साथैमा रहेकी महिला भने बोल्न सक्ने अवस्थामा थिइनन्। चुपचाप निहुरिएर आफ्नो अवस्थालाई झेल्दैथिइन्।

शिक्षण अस्पताल, सिनामंगलबाट २१ दिनपछि डिस्चार्ज भएपछि अलपत्र परेछन् उनीहरु। दिउँसो २ बजेदेखि पैदल हिडेर बबरमहलको त्यो गल्लीमा अइपुगेका ती जोडीलाई बाटोमा सोधेजति सबैले कलंकी पुग्ने छोटो बाटो देखाइदिएपछिको उनीहरुको साहसको नजिता थियो त्यो। साथमा कौडी नभएपछि गाडीले लान मानेन। अनि उनीहरु हिड्न थाले। कलंकी पुगेपछि जसोतसो धादिङ कसो नपुगिएला भन्ने ती अधवैसे पुरुषको अड्कल थियो। ग्याष्ट्रिक- आम नेपालीको साझा र सामान्य सम्पत्ति- बिग्रिएर अल्सर भयो। अब अप्रेसन गर्नुपर्ने रे। त्यसको लागि मंसीरमा आउनु भनेर अस्पतालले छुट्टि दियो। फर्केर अस्पताल आउने तिनको अवस्था त परै जाओस् तत्काललाई घर पुग्ने समेत ठेगान छैन। कठै ! सच्चा नेपाली जन। खाजा न बिश्राम, लगातारको हिडाईले बल्ल तल्ल त्यहाँ टेक्न आइपुगेका ति दुईजनालाई देख्दा मन अमिलो भयो। यी सब तामझाम, साधन स्रोत र सुविधाहरु बेकारका लागे। के गर्ने ति सबै कुराको साँठगाँठ मान्छेको दुःख र समस्यासँगभन्दा बढ्ता अर्थसँग छ। अनि यो समय र मान्छेको मानसिकता पनि अर्थकेन्द्रित भइसकेको छ। मेरो सोधाईमा तिनको जवाफ दिने क्रम चलिरहँदा तरकारी किनेर फर्कदै गरेका अन्य दुई महिलाहरुको पनि ध्यान केन्द्रित भयो।

'हामी गाडी चढाइदिन्छौ। अब जाउँ गाडी चढ्न। नत्र ढिला हुन्छ।' मेरो यो कुरामा अलि अप्ठ्यारो मानेर अलिकति ठाउँको उठाएर हातले इशारा गर्दै थिइन् बिरामी महिला। ती पुरुष चुप लागे। तरकारी किनेर फर्केकी एक महिलाले बचेकुचेको पैसा नगनीकनै दिइन्– 'लिनुस यो पैसा केही किनेर खानुस् गाडी उहाँहरुले चढाइदिनुहुन्छ।' अर्की महिला चाहि मसँग त कत्ति पनि पैसा नै छैन भन्दै चुक्‌चुकीदै थिइन्। एकैछिन हराएपछि कहाबाट हो कुन्नि पचास रुपैया ल्याएर दिइन्। हामी गाडी चढ्नेतिर मोडियौँ। सुस्तरी हिड्दाहिड्दै ती महिला पुनः थुचुक्क बसिन् २० मिटर नहिड्दै। हरेक २० मिटरको दुरीमा बस्नैपर्ने तिनको अवस्था एकदिनको नतिजा हैन, सोच्दैखेरी पनि आइयाऽऽऽ कत्ति नमिठो भने। हतारहतार गाडी रोकेर उनीहरु चढे। बिरामीलाई सिट मिलाइदिन अनुरोध गर्यौ हामीले। उनीहरु चुपचाप गाडी चढे, अनि गाडीको गतिसँगै टाढा भए। थाहा छैन ती आफ्ना गन्तव्यमा पुगे-पुगेनन्। कतै कलंकीको सडक पेटीमा ज्यानमा सिउरेको एक जोर लुगामा चिसो सिरेटोसँगै कठ्यांग्रिए कि !

मैले ति बिरामीलाई नजिकबाट नियाल्न खोजे बीच बाटोमा, झिसमिसे अध्यारोमै भएपनि। तिनी एकदम परिचित र मेरै आफ्नै पो रहेछिन्। उमेरले ४० ननाघेकी होलीन् तर उनको मुहारमा अनगिन्ती दुःख र पीडाका धर्साहरु लमतन्न परेका। उमेरभन्दा बढी नै बुढ्यौली पालेर तिनी शान्त तलाउझैँ एकैनासको भाव बोकेर मौन छिन्। तनमनमा हुरी लुकाएर आफ्नो शरिरलाई सिन्कीझैँ सुकाएर चुपचाप जे आइपर्छ त्यही गर्ने बानी बसालेकी, सकीनसकी संघर्ष गरिरहेकी ती महिलासँग म खूब नजिक छु, तिनको मनको गहिराईसम्मै। मैले उनको कष्ट र बेदनालाई धेरै अघि नै एकदमै नजिकबाट छामेको छु, ओल्टाइपल्टाइ हेरेको छु, देखेको छु र केही गर्न नसक्ने आफ्नो विवशतासँग पनि जुधेको छु। आँखाको चेपचेपबाट लुकाएर आँसुको उपहारबाहेक अरु दिन नसक्नुको अकर्मण्यता मुटुमा रोपेको छु। मेरो लागि नै यी सब परिचित छन् भने भुक्तभोगीको लागि यी र यस्ता कुरा त नित्य कर्म अन्तर्गतको व्यायाम हो। जुन कोही कसैको लागि स्वस्थकर नभएपनि जीवनको एक अभिन्न कर्म मानी गर्नैपर्नै एउटा आदत बसीसकेको छ। हो यस्तै आदत बसाल्न बाध्य भएकी, दुःखमाथि दुःखको भारी खेपेकी मलाई जन्म दिने मेरै प्यारी आमा। हो तिनी मेरी आमा नै हुन्। उबेलाको मेरी आमा र यिनमा कुनै अन्तर छैन। जो कुनै प्रश्न र शंकाबिना जस्तोसुकै यात्रामा पनि अघि बढिरहन्छिन्। कहिलेकाही उनको मौनता र शान्त स्वभावमा जोडले ढुंगा हानेर बिथोल्न र थोरै भएपनि मुर्मुरोपन निकाल्न औद्यी जोड गरे। तर म हार्छु। उनको धैर्यताको अगाडि मेरो जोड त्यसै बिलाउँछ।

आमा मुश्किलले आफ्नो पाइला चाल्दै जान्छिन् म उनको पटुकीको फुर्का समातेर उनीसँगै हुन्छु। उनी टुसुक्क कुनै ढुंगामा बस्छिन् या त यसै घाँसको बुट्यानमा थचारिन्छिन् श्वास फुलाएर। कहिलेकाही त लहरे खोकी नै लागेर हुरुक्कै हुन्छिन्। म के गरुँ कसो गरुँ ? भन्ने उकुसमुसुसँगै उनीतिर हेर्छु। उनको पिठ्युमा हात राख्छु। तिनी मतिर हेरेर मुश्किलले हाँसेझैँ गर्छिन्। मलाई राम्ररी थाहा छ मेरो माया मानेरै यसो गरेकी हुन् उनले। हामी धामी (झाँक्री) कहाँ झारफुक गर्न हिडेका छौ। त्यसो त पहिलेपहिले १५ मिलेट मै पुग्थिन् रे मेरी आमा। यो पाली त बिहानको भात खाएर घरबाट हिडेको घाम त टाउकामै आइसकेछ- उनी आफैले भनिन्। मैले नि यसो हेरे, मेरो छाया देखिन। आमाको छाया नि देखिन, पड्के छाया मध्यदिनको घामले खाएछ।

कान्ले उकालोले पनि आमालाई धेरै दुःख बेसायो। मनमा मायाको बाढी उर्लेर आउँछ। पहिले पहिले घाँस दाउरा गर्दा तिनै बाटोमा ठम्‌ठम्ती बडेमानको भारी बोकेर मलाई डोर्‌याउँथिन्। तैपनि तिनी म भन्दा कता हो कता बढ्तै हिड्थिन्। म भन्थे 'आमा कत्ति छिटो हिडेको ? मेरो खुट्टै पुग्दैन।' अहिले म ८ वर्षको छु। उनी ४० वर्षकी। म उनको नातिनी भन्न सुहाउने देखिन्छु। उनको धेरै दाँत छैनन्। मखमली चौबन्दी चोलोको रंग खुइलिएर बेरंगको देखिन्छ। लुंगी थोत्रो भएर बुट्टा हराएका। अनि हातैले बुनेको खेस (खाडी)को पटुका भने सबैभन्दा राम्रो देखिन्छ। त्यसको टुप्पामा राम्रो फूलबुट्टा पनि आमाले आफै भरेको। गहुँगोरो सुलुत्त परेको मुहारमा दाँत नभएपनि उनको दुर्लभ थोते हाँसो मेरो लागि उपहार सरह। हुन त म नि कहाँ गतिलो देखिन्छु र ! कपाल कति दिनदेखि नकोरेर लट्टा परेको। लुगा मयलले कट्कटिएको। खाली खुट्टा, त्यो पनि मयलले ढाकेको। खैरो रंगको पोलिस्टरको सर्ट खुम्चिएर माथि माथि सरेको, टाँक फुस्किएर हुपसियोले धानेको, निलो फ्रक ठाउँ ठाउँमा च्यातिएको। यसो आफैलाई हेर्दा प्वाखबिनाको कुखुराको चल्लाझैँ देख्छु। अनि मनमनै आफ्नो लुगा देखेर खिस्स हाँस्छु– 'भोत्लोङ्गे चल्ला' उपनाम भिरेर।

आमा फेरी उठ्छिन्। 'हिड्', संकेत गर्छिन् इशाराले। म फेरी उनको पटुकाको फुर्को समात्छु। एवं रितले हाम्रो बाटो काटीरहेछौँ। केही पाइला हिड्यो, बिसायो। हिडिरहेको बाटोसँग मलाई उठ्नु रिस उठेको छ। म सानो भएकोमा पनि उठ्नु रिस उठेको छ। 'म अलिक ठूलो भएको भए तपाईलाई बोकेरै लैजान्थे हगि !' ओहो उनी त क्या मज्जाले हासिन्। के चाहियो र मलाई। मनमनै सोचे- साँच्चै म उनलाई बोक्न सक्ने भए त झनै मख्ख पर्थिन्, अनि उनलाई यत्रो कष्ट नि हुन्नथ्यो नि ! म किन ढिलो बढेको होला छिः

बल्ल तल्ल हामी धामी दाईकोमा पुग्यौँ। तर घरमा केही छैनन्, धत्तेरीका। दैलोमा ओछ्याइएको गुन्द्रीमा आमा कुक्रुक्क परेर सुतिन्। मैले देखेअनुसार उनी जहिलेपनि त्यसैगरी सुत्थिन्। सुत्दा पनि आरामले निष्फिक्री सुत्न केले नदेको होला कुन्नी ? कोही देखिन्छन् कि भनेर म एताउति चाहार्छु। धमिनी भाउजु घाँस बोकेर देखा परिन् माथि बारीको कान्लामा। धामी दाई र खेतालालाई खाजा पुर्याउन गएकी रहेछिन्। भारी गोठमा बिसाएर घरभित्र छिरिन्। घट्‌घट् अमखोरामा पानी पिइन्। धामी दाईलाई लिन जाउ भनेर मलाई औलाले बाटो देखाएर पठाइन्। आमासँग केही सोध्दै थिइन् धमिनी भाउजु। म सरासर बारीको कान्ला नाघ्दै उकालो लागे मनमा ठूलो आश लिएर। मेरो खल्तीमा बसेको मोबाइल थरथरी काम्न थालेपछि म आफूलाई सिंहदरबारको पूर्वी गेटनेर हिडीरहेको पाउँछु। धामी दाई त मेरै खल्तीमा पो रहेछ- भावुक सम्झनाको बिट मार्दै भने।

Thursday, July 08, 2010

फिलिलि.... सिन्धुली गढी

'सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै
कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो'

ऐतिहासिकता बोकेको त्यो सिन्धुली गढी अनि त्यसैको सेरोफेरोमा रचिएको यो प्रख्यात लोक गीत धेरैले सुनेको र धेरैको मुखमा झुण्डिएको हुनुपर्छ। गायक कृष्णविक्रम थापाको स्वरमा गुञ्जिने यो गीत सुन्दा सिन्धुली गढीस्थित दरबार उति नै सुन्दर, आकर्षक होला, जति पहिले थियो भन्ने लाग्न सक्छ। तर यो गीतको भाव बोक्ने सामर्थ्य अब त्यो दरबारमा रहेन। यद्यपि गीत रहुञ्जेलसम्म गीतमा उक्त दरबार सदैव उत्तिकै सुन्दर भई बाँचीरहनेछ कालान्तरसम्म।
सिन्धुली गढी घुमेर हेर्दाः दरबार...।

सिन्धुली गढी पुग्नु अघि त्यहाँको दरबार कस्तो होला ? गढीहरु कस्ता होलान् ? कस्ता थिए अनि कस्ता भए होलान् ? भन्ने कौतुहलता मनमा थियो। त्यहाँ पुगेपछि थाहा भयो– कृष्णविक्रम थापाको स्वरमा जीवित रहेको दरबार अब भग्नावशेष भइसकेछ । पर्यटकीय महत्वको स्थल हैन अब पुरातात्विक महत्वको गढी बनिसकेछ। बाँकी रहेका भौतिक संरचनाको संरक्षण अलि पहिल्यै भएको भए यसले पर्यटकीय स्थलको रुपमा विकसित हुने थप सम्भावना बोक्थ्यो सायद भन्ने भान हुन्छ। तर दरबारबाहेक गढीहरुमा भने संरक्षण गरिएकैले जे जति र जस्ता संरचना छन्, अहिलेसम्म बचेका हुन्।
जापानको सहयोगमा बनेको फिलिलि बाटो।

केही हप्ता अघि मात्रै ऐतिहासिक थलो सिन्धुली गढी, दरबार र व्यवस्थित नागबेली सडकसँग साक्षात्कार हुने मौका मिल्यो। स्थानीयसहित आठ जनाको समूहमा हामी सिन्धुलीको कमलामाई नगरपालिकाबाट गढीतर्फ लाग्यौँ मध्यान्हतिर। जापानकै लगानी र निगरानीमा बनेको सडक हाम्रो लागि गन्तव्यतर्फ लम्कदाको मुख्य आकर्षणको विषय बन्यो। साँघुरा देखिने पहाडका भित्ताहरुमा सजिलैसँग घुमाइएका आकर्षक सडक, वर्षायाममा पानी काट्‍न बनाएका कलबर्ट, वरपरको रमणीय प्राकृतिक दृश्यहरुसँगै हामी गढी चढ्‍दै थियौँ। प्रदुषणयुक्त खाल्डाखुल्डी बाटोमा अटाइनअटाइ घस्रीने गाडीमा यात्रा गर्दागर्दाको हैरानी त्यहाँ रहेन- फिलिलि गाडी गुड्यो। मनै चंगा। अझ हाम्रो भ्रमण टोलीमा लेखक खगेन्द्र सँग्रौला दाई पनि भएकाले विशेष रमाइलो थियो। त्यहाँको भूगोल र सडकको बनोटसँग दंग पर्दै गरेका उनको मुखबाट एक वाक्य फुत्कियो 'बाटोचाहिँ काइदाको बनाएछन्'। स्थानीय सहकर्मीहरु पनि साथै भएको हुनाले जानकारी थुत्न हामीलाई सजिलो थियो। सिन्धुली गढीको विशेषता, महत्व र इतिहासका पक्षसँग जानकार बन्दै हामीले बाटो कटायौँ। साथै विश्वकपको रन्को पनि चलेकोले छोटो विश्रामकै रुपमा विचविचमा धेरथोर त्यसको चर्चासँगै हामीले गढीको प्रमुख गौँडामा पाइला टेक्यौँ। प्रमुख गौँडा प्रवेशद्वार। यो द्वार केही समय अघि मात्रै बनाइएको हो। पुरानो द्वारको आधारमा यो द्वार बनाइएको रहेछ।

अँग्रेज र गोर्खालीको युद्धमा गोर्खालीको जीत हुनुमा त्यहाँको भौगोलिक बनोट पनि प्रमुख पक्ष थियो। त्यहाँ पुग्दा लाग्यो, त्यो कुरा सत्य रहेछ। गौँडाको भूगोल निकै उचाईमा छ। त्यहाँबाट बैरी (दुश्मन)हरु आए-गएको सजिलै देख्न सकिने र जताततै सिस्नु र अरिङ्‍गालको गोलो भएको हुँदा त्यत्तिबेला दुश्मन 'यहाँको झारै बैरी, किरै बैरी' भन्दै भागेका थिए रे ! स्थानीयबासी दाई मोहन बराल वरपरका सिस्नु्‍घारीतिर देखाउँदै हामीसँग भन्दै थिए। गौँडालाई चौतारामा रुपान्तरण गरिएको रहेछ। वरपर लहलहाउँदो सिस्नुघारी, बिचमा ठूलो बरपिपलको जोडा र सिरसिरे बतासले यात्रीहरुलाई लोभ्याइरहेको थियो। त्यसपछि हामी सोझै गढी दरबारतिर हानियौँ। दरबार हेरेर गढीतिर लाग्दै गर्दा थक्‌थक् मान्दै खगेन्द्र दाई भन्दैथिए 'कम्तीमा यसको भौतिक संरचना मात्रै बचाउन सकिएको भए अर्कै महत्वको हुन्थ्यो यो स्थल।' भग्नावषेश दरबारलाई वरपर पलाएका बोटविरुवाहरुले ढाकेझैँ देखिन्थ्यो अलि परबाट हेर्दा। छेउमै पुग्दा ईटाद्वारा निर्मित दरबारको मोटामोटा भित्ता, केही बाँकी रहेका झ्याल र बिम मात्र थिए। स्थानीयबासी दाई उज्जवल बरालले बच्चाबेला देखेको दरबारको सम्झना गर्दै भने 'म सानोछँदा दरबारमा जस्ताको छानो थियो, झ्यालहरु थिए, यो दरबार दुईतले थियो।' अहिले छानाको नाम निशान छैन। झ्यालहरु भ्वाँङमा परिणत भएका छन्।
गढीस्थित ठूलो किल्लाको बीचमा रहेको ईनार। जसलाई केही समयअघि मात्रै मर्मत गरिएको प्रष्टै देखिन्छ।

बनोटको हिसाबले एकदमै टिकाउ देखिने दरबारलाई संरक्षण नपुगेकैले भौतिक संरचना मासिदै गएको प्रष्टै हुन्थ्यो। दरबार र गौँडा पुग्दैखेरी उहिलेका शासकहरुले आफ्नो राज्य टिकाउनको लागि रोजेको भौगोलिक उत्कृष्टता, दुश्मनसँग लड्नलाई अपनाएको दुरदर्शितालाई मनमनै सलाम दिए। सुरक्षाकोनिम्ति खडा गरिएका गौँडा उचाईमा छ। मुख्य मुख्य गढी (किल्ला)हरु उचाईमा छन्। पिउने पानीको भण्डारणको लागि एउटा दीर्घकालीन इनार छ। सुरक्षामा खटिनेहरुको लागि ढुंगा खोपेर बनाइएको गहिरो कुवा छ, जसमा धारा पनि जडान गरिएको छ। दरबार उचाईमा भएपनि थुम्काको आडमा सुरक्षित बनाइएको छ। छेवैमा ठूलो टुँडीखेल छ, जहाँ भर्खरै मात्रै एकीकृत नेकपा माओवादीले भारत विरुद्ध भण्डाफोर अभियानबारे आमसभा गरेर अभियानको आरम्भ गरेको थियो। गढीको चुचुरोमा उभिँदा नेपालको विशिष्ट भौगोलिकता : हिमाल, पहाड, तराईलाई एकै साथ देख्न पाउनु एउटा आनन्दको क्षण थियो। गढीस्थित टुँडीखेल। जहाँ भर्खरै माओवादीको अभियानमा प्रयोग गरिएको हेलीप्याडको निशान आलै छ।

कमलामाई र गढीको यात्रामा आधा घण्टाको दुरीमा छाला काढ्‍ने गर्मी र मनै लोभ्याउने शितलताको अनुभव गर्‍यौँ। गुड्दागुड्दैको गाडीबाट अचानक हातको चोरी औँला एउटा थुम्कोतिर सोझ्याउँदै सञ्जय दाईले भने 'ऊ त्यो सक्कली भद्रकाली हो। सबैभन्दा पहिले भद्रकाली यहि उत्पति भएको हो। पछि काठमाडौमा सारिएको हो रे' तर त्यसभन्दा बढी त्यसबारेमा सोधखोजै भएन। मैले झ्यालबाहिर हात निकालेर क्यामेरा सोझ्याइहाले हत्त न पत्त। सक्कली भद्रकाली उत्पति भएको मानिने थुम्को।

सिन्धुली गढीको चुचुरामा घुमीरहँदा दरबारको सुन्दरता बोकेको त्यही गीत मुखमा झुण्डिरहेको थियो। सायद म नजानिदोगरी गुन्गुनाइरहेको थिएँ। एक्कासी समूहमा कसैले भन्यो : सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै कतिमा राम्रो दरबार... हैन, अब त 'सिन्धुली गढी लेट्‍स् गो बडी भत्कि नै सक्यो दरबार...' भन्नुपर्ने भएछ।

Friday, July 02, 2010

अल्छे ब्लगर

मेरो ब्लग लामो समयदेखि लम्पसार परेको देख्दा सबैलाई थाहा भइसकेको छ- अब्बल अल्छे ब्लगर परे। कुटीमा चहलपहल हुन पनि ठूलै उत्सव हुनुपर्ने झैँ भयो अब त। केही दिन अघि सक्रिय ब्लगर जोतारे धाईवा (जीवन कार्की)ले च्याटमा '१ नम्बरको अल्छे' भन्दा मलाई खूब घत पर्यो। म निकै बेर हाँसे। म हाँसीरहेकै बखत उनले 'यसैमा ब्लग गर्नुस्' भनेर सुझाए। यसो विचार गरेः सक्रिय रहेकाहरुले अल्छे ब्लगरका बारेमा लेख्नुभन्दा अल्छेले नै एकपल्टलाई झारो टार्दा बेसै होला भन्ने सोचे र उनको सुझावलाई माने। फेरी उनले 'म पर्खेर बस्छु है' भनेर अल्छेलाई झक्झकाउदै उत्साह पनि दिए। धाईवाजीले सोचेअनुरुप होला नहोला। राम जाने। मैले यति नै जाने।

मेरो विचारमा अल्छे ब्लगरमा हुने या हुनुपर्ने केही गुणहरु छन्। जसले अल्छेको पहिचान दिन्छ। त्यसैको आधारमा अल्छे ब्लगरको कोटामा नियुक्त हुन उपयुक्त वा अनुपयुक्त भनेर खुट्टयाउन सकिन्छ। यी कुरामा सहमत-असहमत या थपथाप गर्न पनि ब्लगर साथीहरुलाई आग्रह छ। जे भएपनि यो चाहिँ अल्छे ब्लगरको जुझारु अनुरोध हो है।

अल्छे ब्लगरका गुणः
अल्छे ब्लगरको ब्लग पोष्टबीचको दुरीको अन्तराल एकदमै लामो हुनु नै उसको प्रमुख पहिचान हो। कार्य व्यस्तताको कारणले पनि यो हुनसक्छ। तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने उक्ति पनि लागू हुन्छ होला। किनकी वरपरका केही परिचित व्लगरहरुले साइबरमा धाइधाइकन पनि समय समयमा ब्लग गरेकै छन् भने कम्प्यूटर, इन्टरनेटको पहुच र सुविधा भएका ब्लगरहरुले पनि समयमा अपडेट गरेका हुँदैनन्।

१. बीस दिन, महिना, दुई महिना, तीन महिनामा एउटा टाँसो हालेर ब्लगलाई त्यान्द्रोझैँ झुण्ड्याएर बेला बेलामा व्युझाउँने। तर ब्लगिङ भने नछाड्नु।
२. टाँसो हालेको केही दिनसम्म केही प्रतिक्रिया आए कि भनेर ब्लगमा छिर्ने तर बिस्तारै आफैले आफ्नो ब्लगमा छिर्न कम गर्नु। तर अर्को टाँसोको लागि भने बेलाबेलामा हल्का सोच्नु।
३. आफ्नो ब्लगमा हप्ता वा पन्ध्र दिनमा एउटा पोष्ट हाल्न पनि साइत नजुराउनु तर छरछिमेकी ब्लगतिर भने अपडेट हुनासाथ चाहार्न नछाड्नु। मन लागे कमेन्ट पनि ठेलीहाल्नु, बेलाबेला 'ह्या के लेख्नु' भन्दै कमेन्ट नठेलीकनै बाहिरिनु।
४. टाँसो हाल्नुपर्ने भनेर धङधङी बोक्दाबोक्दै छरछिमेकमा टाँसोको ओइरो लागिसक्दा पनि आफ्नोमा एउटा पनि ठेल्न नसक्नु।
५. आफूले सोचेझै अरुले ठेलीसकेछन् भने एउटा गतिलो बहाना 'अर्कैले गरिसकेछ अब मैले किन गर्नु' भन्दै आफैलाई सम्झाउँदै बस्नु।
६. किन ब्लग चाँडो चाँडो अपडेट नगरेको भनेर कसैले सोधेमा स्पष्टीकरण दिने खुराकको खाँचो नपर्नु। यद्यपि जाँगर चलाएमा अपडेट हुन सक्ने कुरा आफैलाई भलीभाँती थाहा हुनु।
७. ब्लगर हुँ पनि होईन पनि 'खै...' भन्ने दोसाँधमा बस्नु। तर मौका परेमा ठाँटले म पनि ब्लगर हुँ भन्न रुचाउनु।
८. कहिलेकाही ब्लगिङ छाड्दिन्छु भन्ने तैपनि छाडीहाल्न चाहि नसक्नु। ब्लगिङको मोह बोक्ने तर मोहलाई व्यवहारमा उतार्न ढिलाई गर्नु।
९. अल्छे ब्लगरकै रुपमा सही तर ब्लगिङ चाहिँ गर्छु भनेर ओकेजनल्ली अपडेट गर्नु। जे पायो त्यही विषयलाई पक्रेर ठेलिदिनु।
१०‌. छिमेकीको अपडेटहरु हेर्दा दंग पर्नु तर आफ्नो अपडेट देख्दा 'अब गर्छु' भन्दै बस्नु।

अब साथीहरुले पनि केही थप्नुस्, घटाउनुस्। स्वीकार्नुस्, नकार्नुस्। यी गुणहरु तपाईमा छन् भने अल्छे ब्लगरको एउटा समूह नै खडा गरुँ कि? कि चाहिँ जाँगरे ब्लगरमा लाम्कौ कि?

Wednesday, May 19, 2010

सत्यवादी चरनदास चोर

गर्वका साथ चोर्ने पेशा अँगालेका चरनदास। उनलाई आफ्नो चोर्ने कौशलता र कार्यप्रति खूब लगाव छ। खूब गर्व छ। आफ्नो पेशाप्रतिको इमान्दारिता, ख्यालख्यालमै गरेको वाचाप्रति समेत अडिग रहने र साँचो बोल्ने प्रण पूरा गर्ने क्रममा उ सामान्य चोर रहदैन। सम्मानित र नामी चोर बन्न पुग्छ। इमान्दारिता र सत्य बोल्ने साहसका कारण, साहसकै साथ उ मारिन्छ। उसको हत्या त हुन्छ तर उसको सत्यता र इमान्दारिताको जय जयकार पनि हुन्छ। यो सार हो, लोक नाटक 'चरनदास चोर'को। गत आइतबार (जेठ २) राष्ट्रिय नाचघर जमलमा मण्डला थिएटरकै निम्तामा ११ जनाको जम्बो टोली नाटक हेर्न पुगेका थियौँ। त्यही अवसरको फाइदा उठाएर ब्लगमा ठेल्दैछु। मञ्चमा चरनदासको चर्तिकला।


चोर्दाचोर्दै सरकारी ढुकुटी चोर्ने इच्छा पूरा गरेपश्चात दरबारमा हाजिर हुँदा आफ्नो परिचय दिन्छ उः 'म चरनदास। चोर। यी दुबैलाई मिलाएर भन्दा म 'चरनदास चोर'। त्यसबखत चरनदासको आत्मविश्वास र स्वाभिमान देख्दा कुनै सम्मानित पद र पेशा अँगालेका र सम्मानित पदवी हासिल गरेका व्यक्तिले संसारसामु आफ्नो परिचय दिएभन्दा फरक लाग्दैन। चोर्नुलाई आफ्नो धर्म ठान्ने चरनदास रानी समक्ष सफाई दिँदै भन्छनः 'म आफ्नो धर्म कर्म कसरी बिर्सन सक्छु।' जिम्मेवारी बोध नभएको एउटा सामान्य चोरमा इमान्दारिता, मानवीयता र सत्यवादको दह्रो प्रतिबद्धता पलाएपछि सबैलाई आश्चर्य लाग्छ। चोरेर भाग्ने क्रममा अन्जानमै गुरुसँग चारवटा वाचा गर्छन् चरनदासः 'सुनको थालमा नखाने, हात्ती घोडामा सवार नहुने, रानीसँग बिहे नगर्ने र कुनै पनि हालतमा शासक नबन्ने।' गुरुले एउटा वाचा थपिदिन्छनः 'झुट नबोल्ने।' चरनदासले यी पाँचैओटा वाचा पूरा गर्छ।
दरबारमा चरनदासको बयान लिदै रानी।

चरनदासको प्रतिबद्धता र इमान्दारिताको अप्रत्यासित परिक्षाको घडीसँगै कथा अगाडि बढ्छ। सरकारी ढुकुटीबाट सुनको पाँचओटा मोहर चोरेपश्चात दरबार पुर्याइन्छ। रानी चरनदास चोरबाट औद्यी प्रभावित हुन्छिन्। एउटा चोरको सत्यवादी आचरण र इमान्दारिता देख्दा रानीमा उप्रति प्रेम र आदरभाव पलाउँछ सम्मानस्वरुप हात्ती घोडाको लावालस्करसहित दरबार ल्याउने प्रबन्ध हुन्छ। चरनदासको अस्विकृतिपछि बाँधिएर जबरजस्ती दरबार आइपुग्छ उ। चरनदासलाई सुनको थालमा भोजन दिन्छिन् रानी। क्रमिक रुपमा रानीले आफूसँग बिहे गर्ने र शासक बन्ने प्रस्ताव राख्छिन्। लोभ, लालचरहित स्वाभिमानी चरनदासलाई गुरुसँग गरेको वाचा तोड्ने र महायज्ञ गर्ने उपाय समेत सुझाउछिन् रानी। उसलाई ती प्रतिष्ठित ओहोदा, सम्मान र प्रस्तावहरु फुच्चे लाग्छ आफ्नो वाचा र पेशाअघिल्तिर। आखिर प्रतिबद्धता पूरा गर्न उ विचलित हुँदैन। चरनदासको अडिगपनसँग सम्झौता गर्दै रानीले अन्तिम अनुरोध गर्छिनः 'ठीक छ। तर हामीबीच जे जति कुरा भयो, तिमी कसैसँग भन्नै छैनौ।' निर्धक्क भइकन चरनदास चोर जवाफ दिन्छः 'तपाईलाई थाहै छ। मैले झुट नबोल्ने प्रण गरेको छु।' आफ्नो ओहोदा, मान सम्मान र इज्जत बचाउनको खातिर रानी आक्रोशित बन्छिन्। र उनकै आदेशमा चरनदास चोर काटिएर मारिन्छ। यसरी समाजमा कुख्यात मानिने पेशा अँगालेका तर सत्यवादी जीवन झुठो बोल्न नमान्दा मारिन्छ। तर पनि जीवित नै रहन्छ, सत्यताको अनुयायी बनेर।

भारतीय रंगमञ्चका एक शिखर व्यक्तित्व हबिब तनविरले सन् १९७५ मा राजस्थानको एउटा चोरको कथालाई लिएर परम्परागत लोक शैलीमा यो नाटक तयार पारेका थिए। यो नाटक नेपालीमा रुपान्तर गरेर साँस्कृतिक संस्थान जमलमा मञ्चन गर्ने काम मण्डला थिएटरले गर्यो। यसका निर्देशक रंगकर्मी राजन खतिवडा, कलाकारहरु दयाहाङ राई (चरनदास), विजय बिस्फोट (गुरु), लुनिभा तुलाधर र सृजना सुब्बा (रानी), शान्ति गिरी (मन्त्री), आशान्त शर्मा (हवल्दार) लगायत शर्मिला महर्जन, कामेश्वर चौरसिया, मानस राज, उमेस तामाङ, शौरभ न्याउपाने, टंक टाइथर, कला सँग्रौला, बबिता ढकाल रहेका छन्। पात्रहरुको हाउभाउ, बोलीचाली, संवाद, विभिन्न लोक भाकामा गाइएका कोरस गीतले भारतीय लोक शैलीको नाटकलाई नेपाली लोक शैलीमा ढालिन सघाएको छ। चरनदास चोरको मञ्चनपश्चात दर्शकमाझ उभिएका सम्पूर्ण टिम।

एनेकपा माओवादीको आम हडतालको कारण नाटक अभ्यासमा गाह्रो भएको र मञ्चनको तिथि समेत विचल्लीमा परेपछि निर्देशक राजन खतिवडा चिन्तित बनेका थिए। अहिले नाटक मञ्चन गर्दा उनी भन्छनः 'बन्द खुलेपछिका केही दिनको अभ्यासपछि मञ्चनमा जुटेका छौँ। यो सामुहिक काम हामी सबैको निम्ति रंगशिल्पीहरुको एउटा अर्को अभ्यास भएको छ।' चोरको पनि नाटक हुन्छ र ? चोर अनि इमान्दारिता र सत्यवादी व्यक्ति एकै हुन्छ र ? भनेर प्रश्न गर्ने र सोच्नेहरुको लागि पेचिलो जवाफ बनेको छ नेपालीमा रुपान्तर गरिएको नाटक चरनदास चोर।

Friday, May 14, 2010

कनेक्सनः हङकङ-नेपाल

महंगो र गतिशील शहर- हङकङ। महंगीको लागि विश्वको पाँचौँ श्रेणीमा पर्दछ। तसर्थ महंगै जीवनयापन स्वभाविक हो। कामको बोझले थिचिएका जीवन। पहिलो प्राथमिकता काम। कामअनुरुपको दाम। फुर्सद भन्ने शब्दको स्थान नै नभएको दिनचर्यायुक्त जीवनशैली र शहर। परिवारकै सदस्यबीचमा पर्याप्त कुराकानी र देखभेट हुन पनि हाम्मे हाम्मे। त्यसैले पूर्व तयारीमा हरेक काम कुराको लागि समय तालिका मिलाउदै जानुपर्ने बाध्यता। एकप्रकारको यान्त्रिक र दौडधुपको जीवन जिउनुको विकल्प छैन। त्यही जीवनशैली र व्यस्तताको उपभोग र उपयोग गर्नमा हङकङे नेपालीहरु तल्लीन छन्।

सुरक्षित, सुविधासम्पन्न र गतिशील जीवनशैली। व्यस्तता र भागदौडमै अर्थोपार्जनको सुनिश्चितता छ। अर्थोपार्जनसँगै जोडिएका विविध पक्षहरु छन्। हतारको दिनचर्या, आधुनिक परिवेश, खुला यौन परिवेशले दिएको सुविधा वा ल्याउन सक्ने चुनौति तथा पारिवारिक कलह जस्ता कुरामा सजग हुनु त छँदैछ। यस्ता कुराको नकारात्मक प्रभावले खिन्नता पैदा नगर्ने हैन। तर खिन्नतासँगै जिवन्तताको अनुभूति दिलाउने पक्षहरु अनगिन्ती छन्।

हङकङे नेपालीको जीवनशैली, कथाव्यथाबारे लेखिरहने प्रकाश केसीले हङकङको भागदौडपूर्ण एघार वर्षे अनुभूति साट्दै एचके डट कममा लेखेका छन् 'भागदौडपूर्ण जीवन भए पनि हङकङमा जीवन अत्यन्तै सुरक्षित र सुनिश्चत छ, जीवन जीवित र सञ्चारित छ।' बाह्र वर्षेदेखि हङकङको कामकाजी जीवन बिताउदै आएकी इमकला राईको कथन पनि केसीसँग मिल्दोजुल्दो छ। उनी भन्छिन् 'हङकङको दिनचर्यामा कामबाहेक अरु कुरामा एकदमै कम समय बच्छ। त्यसमा खल्लो लाग्नु स्वभाविक हो। तर विस्मात् नै हुन्छ भन्ने हैन। अरुले पनि विस्मात् मानेरै बसेको पनि मैले देखेको छुइन। किनकी त्यही कामको व्यस्तताले जीवनमा धेरै कुरा सुनिश्चित गरिरहेको हुन्छ।' (राई नेपाल आएको मौकामा गरेको कुराकानीलाई कोट गरेको हुँ।)

राईले बीस वर्षअघि पवन बस्नेतसँग अन्तरजातीय प्रेमविवाह गरिन्। बाह्र वर्षपहिले उनी आइडीमा हङकङ छिरिन् र श्रीमान्‌लाई पनि उतै बोलाइन्। त्यसपश्चात श्रीमान्-श्रीमति हङकङमै काम गर्दै बेलामौकामा नेपाल आवतजावत गर्दै आएका छन्। उनीहरुको परिवार- छोरा अरनिको र छोरी चाँदनी काठमाडौँमा बस्छन्। बस्नेत कामको अलावा एनेकपा माओवादीको भातृ संगठन 'नेपाली जनअधिकार सरोकार समाज', हङकङको सचिवको रुपमा कार्यरत छन्।

कसिलो समयतालिकाको बाबजुद इन्टरनेटको प्रयोग, टेलिफोनमा परिवार-साथीभाईसँग अपडेट हुनु तथा सम्बन्धलाई जीवित राख्नु, नेपाली तथा देश अनुरुपको चार्डपर्व मान्नु, पारिवारिक भेटघाट, सामुहिक जमघट, घुमघाम, टेलिभिजन हेर्नु, पत्रपत्रिका तथा पुस्तक पढ्नुलगायतका क्रियाकलापमा बढी संलग्न हुन्छन् हङकङे नेपालीहरु। भौगोलिक रुपमा परिवार, देश र समाजसँग टाढा बस्नुपर्दाको बेग्लै पीडा छ। त्यो भन्दा पनि घुम्न र भेटघाटमा हङकङ पुगेका परिवारलाई पर्याप्त समय दिन नसकेको खण्डमा भने थप पीडा हुन्छ उनीहरुलाई।

चाँदनी र अरनिको गत चार साल लगातार बाआमासँग दशैँ तिहार मान्न हङकङ पुगे। बाआमाको व्यस्तताले गर्दा प्रायजसो रुममै टेलिभिजन हेर्नु, इन्टरनेट र्सच गर्नुमै दिन बित्ने गर्छ। त्यसो गर्नु पट्यार लाग्छ। बरु नेपालमै बसेर आफन्त र साथीहरुसँग रमाइलो गर्नु मजा लाग्छ उनीहरुलाई। बेलामौकामा लुगा, खेलौना (डल), चक्लेट अनि आवश्यकीय सामग्रीहरु बाआमाले उपहारस्वरुप पठाइदिँदा रमाउँछन्। लामो समयसम्म अलग्गिएर बस्न नपरेको भएपनि देश अनुसारको भेष भनेझैँ विशेष अवसरमा उपहार लेनदेन गर्ने गर्छन् राई दम्पत्ति। फेसनको रुपमा आएको भएपनि अहिलेको परिवेशमा उपहार लेनदेनको संस्कृतिले सम्बन्धलाई थप गाढा बनाउने या ताजा पार्न सघाउँछ। तर उपहार लेनदेन त्यत्ति ठूलो कुरा नलाग्ने, बरु सन्तुलित र व्यवस्थित जीवनयापन गर्न सक्नु, व्यक्तिगत र सामजिक जीवन सँगै अघि बढाउँन सक्नु नै उपलब्धि ठान्छिन् राई। अफिसको काम र परिवारको जिम्मेवारीको बाबजुद लन्च (खाना खाने) समय, रातीको समयलाई समेत सही ढंगले सदुपयोग गरेर निस्वार्थ भावले सामाजिक कार्यमा खटेका श्रीमान्‌प्रति उनी गर्व गर्छिन्।

वर्षदिन अघि आइडीमै हङकङ पुगेकी ललितपुर निवासी कमला थापाको परिवार नेपालमै छन्। श्रीमान् धन खड्गी र दुई छोरी- सराहना र इलोना। (थापाको श्रीमान् धन खड्गीसँगको कुराकानीलाई यहाँ राखेको छु)राई दम्पत्तिझैँ थापा र खड्गीले पनि पन्ध्र वर्षअघि अन्तरजातीय प्रेम विवाह गरे। पारिवारिक चुनौतिसँग जुधेर पारिवारिक जीवन अघि बढाए। विशेषगरी सन्तानको भविष्य राम्रो बनाउने भित्री इच्छाले कमला थापालाई हङकङ पुर्‍यायो। थापा हङकङ जानुअघि छुट्टिएर बस्न नपरेकोले शुरुको केही समय निकै सकसपूर्ण बित्यो दुबैको। उता थापालाई त्यहाँको रहनसहन र वातावरणमा घुलमिल हुन पनि केही समय लाग्यो। अहिले त्यहाँको भागदौडको एक अंग बनिसकिन् उनी। होटल क्षेत्रमा कार्यरत उनको समय कामैकाममा बित्ने खड्गीले बताए। हप्ताको एकदिनको बिदामा राम्रोसँग आराम गर्न नि नपाउँने कुरा राख्दै थापाप्रति माया दर्शाए खड्गीले। तर त्यो व्यस्तता बेकारमा जाँदैन। त्यसले जीवनमा केही परिवर्तन अवश्य ल्याउँछ भन्दै आशा पनि व्यक्त गर्न भुलेनन् उनले।

अहिले सञ्चारको युगमा एकअर्कासँग गाँसिएर रहने सुविधा थुप्रै माध्यमहरुले दिएका छन्। यी दुई परिवारलाई भने टेलिफोनको माध्यमले एकअर्काको समिपमा राखेको छ। राई भन्छिन् 'हामी कहिलेकाही एता र उता बस्दाखेरी पनि टाढा छौँ झैँ लाग्दैन। दिनमा कम्तिमा ३-४ पटक कुराकानी हुन्छ। यसरी कुरा गर्दा हरेक कुरा सेयर हुन्छ र सबै कुरा थाहा हुन्छ।' अहिलेको युवा पुस्तामा अरु भन्दा पनि खासगरी जन्मदिन मनाउने प्रचलन निकै बढेको छ। आफ्ना सन्तानले पनि अरु भन्दा आफ्नो जन्मदिनमा पारिवारिक या अलि ठूलै जमघट गर्न र त्यसको अवसरमा उपहार पाउँदा निकै खुशी हुने गरेको दुबै परिवारको अनुभव छ।

उपहारको सन्दर्भमा खड्गीले खुलेरै भने 'छोरीहरुलाई पठाउँछ। हामी चाहि दिनहुँ नै टेलिफोनमै गिफ्ट लेनदेन गर्ने गर्छौ। अरु विभिन्न झमेला गरिरहनुभन्दा यो नै उत्तम उपाय।' इन्टरनेट फोनको सर्वसुलभ र सस्तो सुविधाले घण्टौँ कुराकानी गर्दै सहज रुपमा सम्पर्कमा रहन सघाएको छ।

हङकङको आधुतिकता, स्वतन्त्रता, अभिभावक र बच्चाहरु सँगै समय बिताउन नसक्नु र हङकङको स्कूले पढाई राम्रो नहुनु जस्ता कुराप्रति जागरुक भएर यी दुबै परिवारले नेपालमै बच्चाहरुको स्कूलको पढाईको व्यवस्था गरेका छन्। माया र अभिभावकत्व दर्शाउने समयको के कुरा! सँगै खाना खान र बस्न पनि गाह्रो हुने यथार्थलाई उजागर गर्दै राई भन्छिन् 'त्यहाँ गयो भने खाली मोबाइलमा मात्रै आमाबाउ र बच्चाहरुको भेटघाट हुन्छ। पैसा मात्रै सबैथोक हुन्छ भन्ने हैन।'

नेपाली चाडबाडको खुशी र रमाइलो हङकङे नेपालीहरुको मनमा हुन्छ। तर व्यवहारमा उतार्न धौ-धौ पर्छ। चाडपर्वको आसपासमा सबैलाई पायक पर्नेगरी मिति तय गरेर मान्ने गरिन्छ। त्यसैले नेपालको चाडपर्व मनाउने शैली, स्वाद र अपनत्वको बेग्लै महत्व हुन्छ। तर पनि चाडपर्व मनाउन वा कामबाहेक अन्यत्रको लागि समय नपाउँदा ठूलो कुरा लाग्दैन। बरु व्यस्त शहरमा फुर्सद हुनु बोझिलो र सजाय सरोबर हुन्छ।

Wednesday, April 21, 2010

कोदास्की, गुराँस र हिउँसँग कालिञ्चोकमा नयाँ वर्ष

वैशाखको याम, तैपनि तुवाँलो र कुहिरोको मुस्लो। प्राय तुवाँलो र कुहिरोभित्रै ढाकिएर बस्ने गौरीशंकर, कालिञ्चोक डाँडा अनि त्यहाँबाट देखिने ठाउँहरु। मनमोहक दृश्यहरु। हिम शृंखलासँग नजिकिने, मनमोजी भएर प्राकृतिक सुन्दरतासँग ओद्यी रम्ने धोको अधुरै रहने हो कि भन्ने आशंका थियो मनमा। मंसीरदेखि माघसम्म हिउँले ढाकिने ३,८४२ मिटर उचाईमा रहेको कालिञ्चोक डाँडो, कुरी भञ्याङ, घ्याङ डाडो र अन्य थुम्काहरुमा माघयता हिमपात परेको थिएन। संयोग, चैत मसान्त र नयाँ वर्ष थालनीको संयुक्त रात गडगडाएर असिना-पानी पर्यो। त्यो रात हामी चरिकोट बजारमा थियौँ। तुवाँलो र कुहिरो हट्यो। हामी पुग्ने गन्तव्य स्थल चिमालले सेतै थियो। हिउँले ढाकेर थप सेताम्मे र मोहक भयो। बुर्कुसी मारेर उत्ति नै खेर हिउ खेल्न पुगौँ भन्ने मन भो। (कालिञ्चोक भगवतिको आँगनमा हाम्रो समूह - १ जना फोटो खिच्ने साथी छुटेको छ)।

वैशाख १ गते गन्तव्यमा पुग्न उकालो लागियो एकाविहानै। डाँडैडाडा, भीरपाखाहरु, लेकाली वनस्पति। बनपाखाभरी लाली गुराँस। उचाई बढ्दै गएपछि सेतै फुलेका चिमाल। सेतो पहिरनमा आफूलाई सजाएर प्रकृतिले हामीलाई पाइला चाल्न लोभ्याइरहेका थिए। जति उकालो लाग्यो, उति नै अग्ला गगनचुम्बी डाँडा अघिल्तिर नै उभिन पुगिन्छ। पार गर्ने डाँडाहरुको शृंखला नसकिए पनि जति माथि चढ्यो उति नै रमाइलो। प्रकृतिको वास्तविक र सुन्दर छटाहरुका लोभलाग्दो दृश्यलाई मनभरी अंकमाल गर्दै, तिनको सुगन्धको मजा लिदै तीब्र श्वासप्रश्वास र मिठो थकानसँगै उकालो लागिरहृयौँ हाम्रो समूह। हाम्रो समूहमा ६ वर्षकी प्राष्टा पनि थिइन्। प्रत्येक अग्लो डाँडाको शीरमा उभिन पुग्दा एउटा बेग्लै उचाई छोएको अनुभूतिले पुन उकालो चढ्ने उर्जा दिइरहृयो। ती डाँडाहरुमाथि उभिएर हेर्दा एकाविहानै कुहिरोको घुम्टो खोलेर कुमारी गौरीशंकर हिमाल आडैमा उभिएर मुस्काउँदै स्वागत गरिरहेझैँ लाग्थ्यो।
(चरिकोटबाट देखिएको कुहिरोको घुम्टोबाट बाहिर निस्केर निष्फिक्री हाँसेको गौरीशंकर हिमाल)।

अधिकांश डाँडाहरु आफू सामुन्ने आफ्नै उचाईमा उभिएझैँ देखिए। तन केही थाकेझैँ भएपनि मन त त्यसै फुरुङ्ग। त्यहीमाथि प्राष्टाको फुर्ति, त्यो नाकै ठोक्किने उकालो र मुटु चिसो हुने भिरालोमा पनि आफ्नो आमा बाबुभन्दा कुशलतापूर्वक हिडीदिँदा हामीलाई थप उर्जा मिल्यो। उनलाई न लेक लाग्यो न थकान लाग्यो। न खुट्टा दुख्यो। केही बेर गले भनेर बिसाए पछि पुनः उस्तैगरी फूर्ति जागेको देख्दा हामीलाई पनि थप जोश आउँथ्यो।
(फायर क्याम्प गरेपछि प्राष्टासँग रमाउँदै)।

चरिकोटबाट उकालो लागेपछि प्राकृतिक दृश्यावलोकन र रसापन त छँदैछ। त्यसको साथमा देउराली, थाङसा, गैरी, कुरी भञ्याङलगायतका बिसाउनीहरुमा कोदास्कीको स्वाद लिँदै केही साथीहरु जोशिइरहे। कोदोको रक्सी र आधुनिक हृवीस्कीको नामबाट फ्युजन गरेर साथीहरुले स्थानीय कोदोको रक्सीको न्वारान त्यसरी गरे। 'चुरोटले खाइमारेको फोक्सोलाई कोदास्कीको टेको लाएर उकालो चढ्ने हो नि' जस्ता वहाना बनाउँदै कोदास्कीको घुट्को लिए साथीहरुले। हामीले बाटोमा चाहिने सबै सामानहरु बोकेका थियौँ- मिस्री, चक्लेट, लसुन, बिस्कुट, ग्लुकोज, काजु, बदाम, पानी पर्दा ओढ्ने प्लाष्टिकको घुम, छोकडा आदि। त्यसको अलावा काठमाडौँ उपत्यकाको हावापानी, प्रदुषण, अस्तव्यस्त दिनचर्याबाट मुक्त हुँदै कालिञ्चोकतर्फलाग्दा कोदास्की, लोकल कुखुराको मासु, चौरीको दुध र छुर्पीले पनि यात्राको मिठास थप्यो। चिसो मौसममा अखबरे/डल्ले खुर्सानीकोको स्वादमा तात्तातो थुक्पा। त्यस्तैगरी ढिडो, आलु र अन्य दुग्धजन्य परिकारको स्वाद। आहा ! मुखैमा झुण्डिरहने स्वाद। बाटो आसपास पहेलो पाकेको ऐँसेलुको स्वाद पनि धेरै पनि लिन पाइयो। (आहा ऐँसेलु !)

केही थकान र धेरै उत्साहसँगै कालिञ्चोक भगवतीको डाँडो फेदैमा रहेको फलामे गौँडामा पुग्यौँ हामी। त्यहाँबाट हेर्दा कालिञ्चोक डाँडाबाहेक अरु सबै फुच्चाफुच्ची देखिन थाल्यो। फलामे गौडासँगै रहेको कुरीमा बास बस्ने योजनाअनुरुप हामी त्यहाँ पुग्यौँ। नयाँ वर्षर जनै पूणिर्मामा कालिञ्चोकको विशेष पूजाआजा गरिने हुनाले बास बस्ने थलोहरुमा मान्छेको घुइँचो थियो। त्यही घुइँचोमा हामीपनि मिसियौँ। एकातिर थामी जातिको परम्परागत नाचगान/साँस्कृतिक झाँकी थियो। अर्कोतिर कुरी भञ्याङका पसले र तीर्थालुहरु तामाङ सेलो र आधुनिक गीतको तालमा महिला-पुरुष सालाखाला नाच्दा कुरी भञ्याङ रातैभरी घन्कियो। हामी भने लोकल कुखुराको मासुसँग टन्न खाना खायौ। र चौरीको दुध खाएर सुस्तायौँ। तन सुतेको थियो। मन र कान चाहिँ सुतेन। (कुरी भञ्याङबाट उकालो लागेपछि कालिञ्चोक चुचुरोमा टेक्दै गरेका यात्रुका लस्कर)।

भोलिपल्ट विहानै कुरी भञ्याङबाट कालिञ्चोकको डाँडो उक्लिने लस्कर लाग्यो। त्यही लस्करमा थियौँ हामी पनि। नाकै ठोक्किने उकालो, बाक्लो कुहिरोको, भुइभुइबाटै छुन सकिने श्वेत चिमाल, पाखा नाङ्गो देखिने तर भुइभरी थरीथरीका रंगीचंगी फुल बुट्टा। गन्तव्यमा पुग्नै लाग्दा हाम्रो समूहका दुइ साथीलाई लेक लाग्यो। लेक लाग्दा गर्नुपर्ने सामान्य उपचार गर्दै जसोतसो चुचुरोमा पुग्यौँ हामी। (कालिञ्चोक भगवतिको मन्दिरमा रहेको खाल्डो, जहाँ बाह्रैमास पानी सुक्दैन)।

किंवदन्तीअनुसार तीन दिदीबहिनीमध्ये सबैले पुज्ने ठाउँ रोज्ने महांकाल भगवति, अर्को, त्रिपुरासुन्दरी भगवति, र कसैले नभेट्ने ठाउँ रोज्ने देवी कालिञ्चोक भगवति हुन्। साँच्चै त्यहाँ पुगेपछि कसैले नभेट्ने ठाउँ नै रोजेकी रहिछन् ती भगवतिले भन्ने लाग्यो। तर अचम्मको कुरा कसैले नभेट्ने भनेर हिडेकी देवीकै खातिर त्यत्रो भीड लागेको थियो र प्राय लाग्ने गर्छ। कालिञ्चोक भगवतिमा पाठी बली चढाइदो रहेछ। त्रिपुरासुन्दरीलाई कसैले पनि हेर्न नहुने मान्यता र विश्वास गरिन्छ भने महांकाल भगवतिलाई सामान्य रुपमा पूजाआजा गरिदै आइएको छ। यी दुबै भगवति दोलखा बजार आसपास नै छन्। दोलखा भिमसेनको दर्शनमा जाँदाखेरी त्रिपुरासुन्दरी भगवतिको मन्दिर पनि जाने जिद्द गरे। त्यसो त मेरै जिद्दले आसपासका ओढार, गुफा, ढिस्कादेखि ढुंगाहरु समेत चाहारियो। (त्रिपुरासुन्दरी भगवतिको मन्दिर, जहाँ भगवतिको दर्शन गरिएमा रगत छादेर मरिने किंवदन्ती छ। र यहाँ बली दिइएमा यो घरभन्दा बाहिर निकाल्न नहुने, परिवारजनबाहेक अरुले प्रसाद खान नहुने हुनाले यो घरको भुइतलामा खाने र बाँकी रहेको भित्रै गाँड्ने गरिन्छ। माथिल्लो तलामा भने भगवतिलाई थुनेर राखिएको विश्वास गरिन्छ)।

कालिञ्चोक डाँडामा उभिदा कुहिरोसँग गज्जबको लुकामारी चल्यो। एकनजर हेर्न नभ्याउँदै दृश्यहरुलाई कुहिरोले छोप्थ्यो। अनि एकैछिनलाई कुहिरो हट्थ्यो। त्यो उचाइमा खेलेको लुकामारी र हिउँसँगको सामीप्यताले उकालो चढ्दाखेरीको सबै अप्ठ्यारा पनि कत्ति मिठो लाग्यो। अझ चुचुरोबाट गौरीशंकर, सगरमाथा, रोल्वालिङ हिमशृंखलाका साथै अनगिन्ती हिमालहरु देख्दा कस्को मन नरमाउँला? लुकामारी खेल्दाखेल्दै डाँडाबाट वरपर हेर्दा उन्मादका साथ मिलेर बसेको भीर पहरा, चौर/नागीहरु हेर्दाको बेग्लै मज्जा। चुचुरोदेखि फर्कदा नागीमा बसेर फायर क्याम्पको मजा समेत लिन चुकेनौ हामी। त्यो उकालो, त्यो थकान, त्यो दुखाई सबै एकपलमा कहाँ बिलायो कहाँ। ओहो ! मान्छेको थकान, पीर, चिन्ता भगाउने प्रकृतिमा कत्रो शक्ति। आफूभित्रै इन्द्रधनुषी चमात्कार सँगाल्ने कत्रो सामिप्यता। कालिञ्चोक चुचुरोबाट फर्केर यी पाइलाहरु ओरालो लागे। तर मन भने त्यही चुचुरोमा, त्यहीका दृश्य र वातावरणमा अडिइरहृयो। नयाँ वर्षको अवसर पारेर कालिञ्चोकको यात्रा गर्दाको आनन्द यी शब्दहरुमा कहाँ र ? तर यसो हेर्दा त्यहाँका बनजंगल बिस्तारै मासिदै गएको देख्दा भने मनमा चिसो पस्यो।
(कालिञ्चोक चुचुरोबाट देखिने हिमदृश्य)

Monday, March 22, 2010

शवयात्रा थियो त्यो ?

लामो समयसम्म बेवास्तामा परेको ब्लगमा आज बल्ल धुपधुवँर गर्ने चेष्टा गरेर यो टासो ठेल्दैछु आज।

मुलुककै अभिभावकसरहका एक कुशल राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली। आत्माको चिर शान्तिको कामनासहित नेपाली राजनीतिका युग पुरुष, राजनेता वा मृत्युपश्चात गुथाइएको पगरी 'शिखर पुरुष' गिरिजा प्रसाद कोइरालाको शव यात्राको कुरा गर्दैछु म। अधिकांश छिमेकी ब्लगहरुले पनि गिरिजाबाबुकै बिदाईको सन्दर्भमा टाँसो टासेका छन्।

सतासी वर्षको उमेरमा उनको निधन भएको कुरा विभिन्न सञ्चारमाध्यमबाट सुन्दा यो विशेष समयमा मुलुकले नेतृत्वदायी एक कुशल राजनीतिक व्यक्तित्व गुमाएको महशुश भयो। देशलाई ठूलै क्षति पुग्यो भन्ने लाग्यो। अनि हिजो एकाविहानै छापामाध्यमहरुले दिएका फिचर, स्टोरी तथा तस्बीरहरुले मनमा एक खालको भावुकता पैदा गरायो। उनको केही अवगुणको बाबजुद समग्र देशको लागि उनी गुणी नै ठहरिए। अझ उनको नेतृत्वमा चलेको पार्टीको कुरा गर्ने हो भने त उनले 'मियो'कै काम गर्दै आएका हुन्। यहाँ उनको योगदान या गुण/अवगुणको कुरा गर्ने मेरो मनसाय हैन, त्यसो गर्ने हैसियत र हुति ममा रत्तिभर नि छैन। शवयात्रामा हिड्दा महशुश गरेको कुरा मात्रै मलाई डायरी लेखेझैँ लेख्न मन लाग्यो।

मनमा एक खालको श्रद्धा र समावेदना बोकेर उनको शव यात्रामा सामेल हुन कुटीबाट बाहिरिए। र श्रद्धाञ्जली अर्पण गर्दै उनको शव यात्रा नियाल्दै केही घण्टा हिडे म पनि अन्य थुप्रै चिनजानकै साथी, व्यक्तिहरुसँग। जीवनमा पहिलोपल्ट म वरिष्ठ व्यक्तित्वको शब यात्रामा हिड्दै थिए। त्यसअघिका थुप्रै राष्ट्रिय तथा अर्न्तराष्ट्रिय व्यक्तित्वहरुको शवयात्रा सिर्फ टेलिभिजनमार्फत हेरेको याद छ। त्यसैले कस्तो हुँदो हो? के के हुँदो हो? भनेर उत्सुक पनि थिए। विहानैदेखि उनको शव श्रद्धाञ्जली अर्पणको लागि त्रिपुरेश्वर स्थित रंगशालामा राखिएको थियो। तीन तीन वटा लाइन, त्यसमाथि पनि एकदमै लामो भएपछि एकैचोटि शव यात्रामै मिसिने निधो गर्यौ केही साथीहरुसँग। त्यही अनुरुप सुन्धारातिर लाग्यौँ हामी। सडकैभरि शवयात्रा पर्खेर बसेका मान्छेका हूल। आकाशे पुलमाथि टनाटन मान्छेहरु। २ बजेदेखि शवयात्रा शुरु गर्ने भनिएअनुरुप हामी त्यहाँ पुग्यौँ। चहलपहल नियाल्दै शवयात्रामा मिसिन आतुर थियौँ। पर्खदा पर्खदा बल्ल बल्ल हल्लाखल्लासहित नेपाली काँग्रेसको झण्डा फहराएर मान्छेको भीड हामीतिर आयो। अव्यवस्थित र चर्को नारा जुलुससहित उनीहरु अगाडि बढ्दै गए। त्यो भीड टुंगियो। केही दुरीमा पुनः अर्को त्यस्तै भीड आयो। त्यो भीड पनि सकिएपछि बल्ल शव वाहन आएको संकेत मिल्यो। केही सुरक्षाकर्मीहरु र अलिक बढी कार्यकर्ताहरुको बिचमा घेरिएर शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको शववाहन देखा पर्यो। शव वाहनको पछाडिपटि्ट नेपाली काँग्रेसका चर्चित नेताहरु विजय जुलुसमा निस्किए सरह सडक वरपरका मान्छेहरुलाई हात हल्लाइरहेका थिए। शव वाहन पछि-पछि पार्टीको झण्डा र विभिन्न व्यानरहरुसहितका मान्छेहरुको लामै लर्को र चर्को नारा घन्किरहेथ्यो।

शववाहन अघिका लर्कोमा पनि चर्को स्वरले नारा लाउदै थिए। शववाहन पछिका लर्कोमा पनि नाराको चर्को आवाज थियो। हामी अलि पछिल्तिरको भीडमा मिसियौँ र शवयात्रामा अघि बढ्यौँ। त्यो यात्रामा हिडिरहँदा त्यहाँको माहोलले मलाई रत्ति भर पनि लागेन कि म विशेष व्यक्तिको शव यात्रामा हिडिरहेछु। पार्टीको नारा त्यसमाथि पनि उत्सब मनाइरहेझैँ गरी कार्यकर्ताहरुको हो हल्लाले गिरिजाबाबुको शवयात्रा हैन विजय यात्रामा हिडेझैँ भान हुन्थ्यो। "गिरिजाबाबुः प्राण भन्दा प्यारो छ", "गिरिजाबाबुको अभियानः शान्ति र संविधान", "नेपाली काँग्रेसः जिन्दावाद", "गिरिजाबाबुः अमर रहून्", "गिरिजाबाबु के भन्छः संविधान ले भन्छ" जस्ता नारा निकै घन्किरहेथ्यो। ती नाराहरुको आफ्नै महत्व र स्थान होला तर शव यात्रा र ती हल्लाखल्ला, नाराबीच तालमेल मिलेझैँ लागेन मलाई। शव यात्रामा फूल चढाउने वा धुपबत्ती बालेर उनको चिर शान्तिको कामना गर्नुको सट्टा होहल्ला र नारामै वरपरका मान्छेको ध्यान केन्द्रित भएको थियो। त्यस्तो नारा र हल्लाले अन्य विधा, दल तथा स्वतन्त्र व्यक्तिहरुलाई शव यात्रामा हिड्नु भन्दा सडक किनारमै बसेर रमिते बन्नमा आफूलाई सहज महशुश भएझैँ पनि लाग्थ्यो (सायद मेरो सोचाई र बुझाई एकतर्फी मात्रै पनि हुनसक्छ। तर केही व्यक्तिहरुले ती चर्को नारा र उत्तेजनालाई पटक्कै रुचाइरहेका थिएनन्।)। यद्यपि शव यात्रुहरुको लर्को लामै थियो। र बीचबाट निस्किने र थपिने क्रम पनि उत्तिकै थियो। तर मौन रुपमा फूल, धुपबत्तीसहित शव यात्रा गरेको भए शवयात्रा साँच्चिकै शवयात्राझैँ लाग्थ्यो कि? पूरै देश शोकमा डुबेको सन्दर्भलाई क्षणक्षणमा सञ्चारमाध्यमले फुकीरहँदा, देखाइरहँदा त्यो शव यात्राको माहोल भने बेग्लै थियो। युवाहरुको जमात उत्साहित भएर चर्को नारा फलाक्दै हिड्नमै मस्त थिए।

शव यात्रीहरुलाई फूलको सट्टा पानीले छ्यापीरहेका थिए एताउताका घरहरुमा उभिएका मान्छेहरुले। कोही निथ्ररुक्क भिजेर हिडिरहेका थिए। कोही पानी नफाल्न आग्रह गर्दै हिडिरहेका थिए। कोही घरका झ्याल वा छटहरुबाटै पानी फालीदिन आग्रह गरेर पानी पिउँदै हिडिरहेका थिए। शवयात्रा पुतलीसडकबाट डिल्लीबजार लाग्दा साँझको पाँच बजीसकेको थियो। तैपनि आसपासका घरहरुबाट पानीको वर्षा रोकिएको थिएन। बाटो हिलो थियो। होली पर्वको उत्सब हो कि झैँ लाग्थ्यो। उप्रान्त देश र जनताले गुमाएको कुरा भीडलाई नियाल्दा झल्किदैनथ्यो। न त शव वाहन गाडीलाई हेर्दा नै लाग्थ्यो। शव यात्रुहरुको ठुलै भीड लागेको थियो। तैपनि शव यात्रुहरुलाई व्यवस्थित गर्ने कुनै पनि व्यवस्था गरिएको थिएन। सुरक्षाकर्मीहरु थोरै मात्रामा खटिएका थिए। शववाहन आसपास केही हदसम्म सुरक्षा प्रदान गरिए पनि अरुतिर भने अनियन्त्रित र खुला नै छाडिएको थियो। पुतलीसडक पुगेदेखि हाम्रो टोली तितरबितर भयौँ। मपनि मैतीदेवी पुगेपछि घरैमा बसेर लाइभ हेर्नु उपयुक्त हुन्छ अब भन्ठान्दै कुटीतरि लागे। तर बिडम्बना ६ बजे नै बिजुली बत्ती सुतेछ। विशिष्ठ पहिचान बोकेका एक कुशल राजनीतिज्ञको अन्त्येष्ठिको जानकारी मोबाइलमा रहेको एफएम रेडियोको माध्यमबाट सुन्दै बसे। प्रत्यक्ष हेर्न नपाएको थकथक भने छँदैनै छ यो मनमा। त्यो भीडमा सकीनसकी खिचेका केही तस्बीर हेरौँ
बागबजार हुँदै पुलतीसडकतर्फ जाँदै शवयात्रीहरु।

शव यात्रीहरु नारा लगाउँदै। बोकिएको ब्यानरमा स्वर्गीय गिरिजाप्रसादको थर नै गलत लेखिएको छ। सायद हतारमा त्यसो भएको हुनसक्छ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शववाहन।

शववाहनमाथि काँग्रेसका तीन नेताहरु उभिएर हात हल्लाउदै हल्लाउँदै वरपरका भीडसँग जोडिन खोज्दै थिए सायद।


पुतलीसडकदेखि डिल्लीबजार उकालोतर्फ जाँदै शव यात्रीहरु। जहाँ सडक भिजेको प्रष्टै देखिन्छ।

Friday, January 29, 2010

Be Positive यार !

हाम्रो सोझो बुझाईमा बिजुलीले बिश्राम लिएको अवस्था लोडसेडिङ हो। आफूलाई पायक पर्नेगरी लोडसेडिङको तालिका खोजेर टाँसे दुईहप्ता अघि। त्यसको अर्को हप्ता लाग्दा नलाग्दै फेरी त्यसको सट्टामा नयाँ तालिका आयो। त्यसलाई टाँस्नै पर्यो। फेरी यो हप्ता नसकिदै त्यसको सट्टा नयाँ तालिका आयो। छलाङ मार्दै प्रगति पथमा लम्कीरहेछ लोडसेडिङ। उसको प्रगतिमा साथ दिनलाई पनि त सकभर नयाँ नयाँ तालिका टाँसेर गमक्क पर्नैपर्यो। अब झन् लोडसेडिङलाई टेवा दिनसक्ने सुक्खा मौसम पनि आउँदैछ। मैले काम गर्ने ठाउँमा हिजो (२-४) र आज (३-५) गरी जम्मा २-२ घण्टा बिजुली चल्छ। बाँकी समय बिजुलीले पूरै बिश्राम लिन्छ। निदाउँछ। उसो त हामी पनि २४ घण्टामा ८-९ घण्टा या केही घटबढ गरेर निदाउँछौ। आराम लिन्छौ। त्यसैले बिजुलीको पनि आराम लिने अधिकार छ। उसको यो अधिकारमा हामी मानिसले किन व्यर्थैमा टाउँको रिङगाउने। भलै २४ घण्टामा २४ घण्टा किन बिश्राम नलियोस्। टाउँको रिङ्गाएर हुनेवाला केही छैन।

अब मृल्यबृद्धि। १० वर्ष अघि म काठमाडौ छिरे। उसबेला ३ रुपैयाँमा सार्वजनिक गाडी चढेको याद छ मलाई। आजसम्म आइपुग्दा न्यूनतम मात्रै १२ रुपैयाँ त भएको छ नि। उसबेला ४५० मा ग्यास उपलब्ध थियो। आजको दिनमा १२५० मात्रै पुगेको छ। गएको २ वर्षभित्रै खाद्य पदार्थ वा तरकारीदेखि लिएर अन्य उपभोग्य बस्तु, डेरा भाडालगायत सबैमा ह्वात्तै मूल्यबृद्धि हुँदा किन जंगिनु ब्यर्थैमा। हाम्रो आयस्रोतमा बृद्धि नभएर के भो र उपभोग्य संस्कृतिमा त बृद्धि भएकै छ नि। त्यहीमाथि यो त ती तत्वहरुको प्रगति नै हो। हाम्रो पक्षमा तत्वहरुको प्रगति नभएर के भो त। बेलाबेलामा कृतिम या साँच्चैको अभाव भइदिएपनि जसोतसोगरी फेरी उपलब्ध भइहाल्छन् आखिरी।

बिजुलीले विश्राम लिएकै मौकामा हिजो (१४ माघ)को Republica Daily मा आँखा डुलाउँदै थिए। एउटा नमूना फेला पारे। महिनादिनमा कन्स्ट्रक्सनको सामग्री- सीमेन्टको भाउ १८-३२ प्रतिशत बढेको र रडको भाउ २२ प्रतिशत बढेको छ। डिसेम्बर २००९ र जनवरी २०१० को तुलनात्मक हिसाबकिताब हो यो। यो मृल्यबृद्धिको तीब्र प्रगतिलाई 'अग्रगामी छलाङ' नभने के भन्ने त खै? फेरि चीजबीजलाई मात्रै किन र के को हुट्‌हुटी नि हामीलाई चाहिएकै बेलामा सजिलै अनि कम मूल्यमै उपलब्ध हुनलाई। तिनले कस्को बाउँके के खाइदेका थिए र?

फेरी काठमाडौ टेकेकै बेलाको कुरा कोट्याउँछु। उसबेला सडक किनार किनारमा बडेबडेमानका रुखहरु थिए। हरियोपरियो थियो। बाटोघाटो सफा थिए अहिलेको तुलनामा। बाग्मतिकै पानी पनि तुलनात्मक रुपमा सङ्लो बग्थ्यो। फोहोरका डंगुरहरु कम हुन्थे। घरहरु कम थिए। अब अहिले त सडकमा धूवाँ धूलोको मात्रा बढेको छ। रुखहरु मासिए। कतैकतै बाटोघाटोको आकार बढेपनि सवारी साधनको चाप त्योभन्दा बेसी नै बढेको छ। ईँटा थुपारेझै घरहरु बनीसके। अझै बन्दैछन्। तैपनि ती कुनै पनि घर होलोखोकुला छैनन्। खाली हुने कुरा त कल्पानाबाहिरकै कुरा। बहालवालाहरुले कोठासमेत पाउँन मुश्किल छ। यी सबैकुराले गर्दा अरु के के प्रगति भयो भन्ने थुप्रै लेखाजोखा गर्न सकिन्छ होला। अहिलेको प्रसंगमा यो टाँसोको लागि चाहिँ प्रदुषणको प्रगति नै सान्दर्भिक देख्छु। गतिवान् भइ प्रगति गरेकोमा बधाई छ प्रदुषणलाई।

हामीकहाँ आजकाल एकदमै 'छलाङ' मार्दै अझ भनु न 'बुर्कुसी' मार्दै प्रगति पथमा अघि बढिरहेका पक्ष वा तत्वहरु धेरै छन्। माथि भनेकाजस्तै थुप्रै तत्वहरु छन् हामीसँग। हाम्रै वरपर। त्यसैले ती र त्यस्ता अग्रगामी तत्वहरुको छलाङ साँच्चै नै पल पल अनुभूत गर्न सकिन्छ। किनकी यस्ता कुराहरुसँग हाम्रो अटुट सम्बन्ध छ। साधारणतयः मानव सम्भयतासँग गाँसिएका हरेक पक्षहरुमा मापनयोग्य वा प्रष्ट खालको सकारात्मक परिवर्तन वा सफलतालगायतका सन्दर्भमा छलाङ मारेको भन्ने गरिन्छ। यो पनि सफलताकै सन्दर्भ हो। तर मानव या मानव सभ्यताको सफलता भन्दा अलि बेग्लै प्रसंगमा। यो मानव कार्यको सहजताको लागि सँधै घोटिदै आएका तत्वहरुले मारेको छलाङको कुरा हो। त्यसैले तिनको प्रगतिप्रति हामी खुशी हुनैपर्ने बाध्यता छ। नभएमा आफ्नै मुहारमा थप चाउरी पर्ने प्रवल सम्भावना भन्दा पनि पक्का नै छ। आखिरमा यो भनेका ती तत्वहरुको अग्रगामी छलाङ र प्रगतिका चिन्हहरु हुन्। लोडसेडिङ बढ्यो। यो लोडसेडिङको प्रगति हो। मूल्यबृद्धि बढ्यो। यो पनि मूल्यबृद्धिकै प्रगति हो। प्रदुषण बढ्यो। यो पनि उही त हो। हामीले यस्ता कुराहरुसँग प्रतिस्पर्धा गरेकै हैनौ। अनि के को खस्‌खस्‌। भलै त्यो प्रगति हाम्रो हैन। त्यो छलाङ हाम्रो पक्षमा छैन। तैपनि बी पोजिटिभ यार। आखिर प्रगति भनेको प्रगति नै त हो नि!