हाम्रो चाडबाड र परम्परा मान्ने र धान्ने सन्दर्भमा जहाँसुकै रहेपनि सबैले आ-आफ्नै ढंगले मनाइन्छ नै भन्ने मेरो विश्वास हो। फेरीपनि परिवार र आफन्तजनहरुसहित र रहित चाडबाड धान्नु र मान्नुको बेग्लाबेग्लै स्वाद र परिवेश अवश्य हुन्छ। देश बाहिर रहनुभएका धेरैजसो साथीहरुले हाम्रो सट्टा पनि तिहार मनाउनुस् है भन्दै शुभकामना दिनुभएको थियो। देशभित्रै रहनुभएकाहरुको तर्फबाट चाहि यस्तो होस्, उस्तो होस् भन्ने शुभकामना नै चलनचल्तीमा छ। जे भएनि, जहाँसुकै रहेनि दशै तिहारको माहौलले सारा नेपालीलाई नछोएको कहाँ छ र? केही समय अघिसम्म गाउँघरमा स-परिवारसहितको बेग्लै परिवेशमा खेलेको देउसी-भैलो, शुद्ध तिहारको रमाइलो स्वाद मेट्ने तृष्णालाई यो काठमाडौँको परिवेशमा मनाएको छुट्टै देउसी-भैलोको स्वादले तृप्त गर्न नसकेझैँ विदेशमा बस्ने नेपाली दाजुभाईहरुको त्यो बेहोराको शुभकामनामा पनि एकप्रकारको अतृप्तपना र प्यास टाँसिएको हुनसक्ला। हुन त कतिपय अवस्थामा 'नजिकको देउता हेला' भनेझैँ र आफूसँग जे छैन त्यसैलाई बढी महत्व दिने पनि गरिन्छ। जसले गर्दा मनमा एकप्रकारको तिर्खा र प्यास ज्यूँदै रहीरहन्छ। सो प्यासको सही सदुपयोग गरिएमा नयाँ या परिमार्जित संस्कार र परिवेशको सृजना पनि हुन सक्छ।
अब म कुरा गर्छु मैले मनाएको (लक्ष्मीपूजादेखि भाईटिकासम्मको) ३ दिने तिहारको। केही साथी तथा आफन्तजनहरुको अनुरोधलाई म कसरी लत्याउन सक्छु र? हुन त त्यस्तै उस्तै परेर म पनि यो तिहारको बेलामा एक्लै परे कोठामा। भएनि मैले खूबसँग मनाए तिहार। यो काठमाडौमा जसोतसो दशै तिहार मनाएको यो पहिलोपल्ट पक्कै हैन मेरोलागि। त्यसैले पनि सजिलो भयो मलाई। गाउँघरमा त काग तिहारदेखि नै तिहार लाग्थ्यो तर काठमाडौमा त लक्ष्मीपूजाको दिनदेखि खाँट्टी तिहार शुरु भयो। जहाँसुकै जाऔँ भीडभाड, रंगीचंङी, फूल र बत्तीको झिलीमिली। विहानको खानपिन सकेर एउटा संगठनको देउसे टोलीमा देउसी खेल्न गए म पनि। एउटा गाडी नै रिजर्भ गरिएको हुनाले सजिलो थियो डुल्नलाई। त्यसदिन ठूल्ठूला पब्लिकेशन हाउस धाउने पालो परेअनुरुप फ्यूजन देउसी खेल्दै डुलियो। हुन त भैलोको दिन थियो, भएनि सबैले देउसी नै गन्यौ। गाउँले पारा र शहरी पारालाई मिसाइएको हुनाले फ्यूजन भन्दै छु म। साँझपख कोठामा आएर लक्ष्मीपूजा गरे। दियो बाले। घरबेटी र छिमेकीहरुसँग मिलेर केहीबेर हल्लाखल्ला गर्यौँ। कान्तिपुर पब्लिकेशन हाउसको प्राङ्गणमा 'तिहारै आयो लौ झिलीमिली' भन्दै नाच्दै गरेका देउसे-भैलेहरु।
साँझपख लक्ष्मी पूजा अनि पेट पूजा गरेर 'देउसीरे' भट्टाउदै, मादल र गिटारसँगै गीत र नाचको आडमा गाउँले टोलीहरुसँग चिनेजानेकाहरुको घरघर डुल्यौ। राती भनौ कि विहानको ३ बजेसम्म देउसी खेलिएछ। दिदीबहिनी-दाजुभाई सबै मिलेर हिडेको हुनाले धेरै रमाइलो भयो। थाकिएछ पनि। रातको १ बजे बानेश्वरस्थित आफन्तको घरमा दिइएको दान।
यो पल्टको देउसीमा मैले एउटा कुरा सिके। दान दिएपछि आशिष दिँदाखेरी प्राय सचेत किरातहरुले किराती गाथाद्वारै आशिष लिन र दिन मन पराउन थालेको पाए। त्यसको लागि गीतकार भूपाल राईको शब्द र संगीतकार जितेन राईको संगीतमा प्रायजसो किरातीहरुको कार्यक्रममा घन्किने गरेको गीतले स्थान ओगटेको रहेछ। जुन गीतको बोल यस्तो छः
मट्टीको कसम शिरोपर तीनचुला तीर्थधाम
हरबखत दाहिनो भइरहून सुम्निमा पारुहाङ
सुम्निमा शिरमा राखेर मूलभूमि ढोगेको
आकाश जस्तै अनन्त पारुहाङ पुजेको
बाँचुन्जेल हामी मूलबासी तिनैका दर सन्तान
हरबखत दाहिनो भइरहून सुम्निमा पारुहाङ
मुन्धुममा हेर हर मन्त्र सृष्टिको गाथा छ
तान बुन्ने चेली तयामा माइतीको कथा छ
पहिलो खाँबो गाडेको यही थलो पित्री माङ
हर बखत दाहिनो भइरहून सुम्निमा पारुहाङ
यसरी किरातीहरुको पूर्खाको गाथा गाउँदै दानको वरपर गोलो भई आशिष थापिएको कपडामाथि फूल र चामलले छर्किदै आशिर्वाद दिएपछि पुनः देउसीरेकै भाकामा आशिष भट्टाएपछि अर्को घरमा सरुवा। दुईजना दिदीहरुले निकै लयबद्ध र रोचक तरिकाले देउसिरे र आशिष भट्टाएका थिए। एकजना हास्यकलाकार भोजपुरे दाजुले बेलाबेलामा हामी सबैमा जोश भर्ने काम गरिरहन्थे। एउटी बहिनी ८ वर्ष जतिकी सारै मजाले नाचेकी थिइन्, अनि पुरै समय हामीसँगै घुमेकी थिइन्। गिटार बजाउने भाई नन् स्टप गिटार बजाउने अनि मादल बजाउने दाजु पनि लगातार बजाइरहने, गाउनेहरु पनि भयंकर नै। बडो फूर्तिलो समूह थियो हाम्रो १४/१५ जनाको। ठ्याक्कै गाउँकै जस्तो नलागेपनि चिनेजानेकैहरुसँग, चिनेजानेकैहरुको घरआँगन- कतिको त सिटिङ रुममा नै खेलीभ्यायौँ। त्यसैले मनमा कता कता खुशी लाग्यो। रमाइलो लाग्यो। माथि तस्बीरमा देखिएको दानको वरीपरी घुम्दै 'मट्टीको कसम शिरोपर' भन्दै आशिष दिँदै देउसेहरु (मतलब हाम्रो समूह)।
गोबर्द्धन पूजाको दिन मेरो कुटीमा दाजुभाईहरुसँग (कारणबस ज-जसको टीका लगाउन नहुने भएको थियो) जमघट राखेको थिए। त्यसैले लगभग ३ घण्टाजति सुतेर आँखाको विष मारेपछि चुल्होचौका र पकाइतुल्याईमा लागे म। त्यसदिन दिनभरी खानपिन, गफगाफ, नाचगान भयो कुटीभित्रै। साँझपख फेरी सबै दाजुभाई देउसी खेल्न र भाउजुहरु आ-आफ्नै धन्दामा लागे। म पनि लागे धन्दामाः वरपर दियो बालेर सेल रोटी बनाइसकेर सुते।
भाइटीकाको दिनमा एकाविहानैदेखि पकाइतुल्याइ गरीकन भाइटीका लगाउन तम्तयार भएर बसे। हुन त आफ्नै कोखको दाजूभाई कोही छैनन् मेरो। त्यसैले पनि होकी सायद मेरो हातबाट भाईटीका थाप्ने दाजूभाईहरु थुप्रै छन्- तीमध्ये केही भावनात्मक साइनोका उपजहरु र केही भने काका-बडाबा-मामा-फूफूहरुतिरका। घडीले साढे ११ बजाएपछि आउन थाले दाजुभाईहरु। आउछु भनेका जति सबै आए। तर १ जना दाजु आइपुगेनन्। फोनमा सम्पर्क गर्दा ४-५ बजे आइपुग्छु भनेका थिए। तर रातीसम्म पनि आइपुगेनन्। मलाई पनि के पारो चढ्यो कुन्नी फोन गरेर सोध्नै मन भएन। आउनुपर्ने दाजुको पर्खाईमा हामी दाजुबहिनी मिलेर तास खेल्न बस्यौँ। पोहोर मात्रै मैले तास खेल्न सिकेको थिए, त्यो पनि श्रीमान्ले सिकाउनु भएको। त्यसैको चान्स मारीहालेको नि। तर के गर्नु र भुसुक्कै हारेर पो बर्वाद। पहिलोपल्ट त्यसरी तास खेल्न बसेको जित्ने नाम निशानै कही कतै देखिन। मैले टिरिक नै नजानेको त होला नी अब। हुन त तासले पनि फेभर नै गरेन। र पनि 'तास खेलेर जितेर मैले पैसा कमाउनु न-केही लछरपाटो लाउनु' भन्दै खेले। अलिक धेरै हारेपछि त दाजुभाईहरुले नै मिनाहा गरिदिए मलाई। दाजुभाईसँग खेल्नुको फाइदा त्यस्तो पो हुँदोरहेछ यार। जे होस् यो तिहारमा म एक्लै पर्दापर्दै दाजु-भाउजु, दिदीबहिनी, साथीसंगी अनि भाईहरुको साथ र जमघटले दोक्लो-तेक्लो मात्रै हैन चाक्लो नै भयो। अनि रमाइलो पनि। अब तपाईहरु नै विचार गर्नुस् ल- यो पालीको तिहार तपाईहरुको सट्टा पनि मैले तिहार मनाउन भ्याए कि भ्याइनछु भन्नेतर्फ चाहिँ।
Sunday, November 02, 2008
Subscribe to:
Post Comments (Atom)
9 comments:
तास खेल्न चाहिँ मैलेपनि योपाली नै जानेको । बिनापैसाको अलिअलि खेल्दा एउटै परेन अनि पैसाको खेल्नै आँटै गरिनँ मैले ।
जे होस् तिहार रमाइलो भएछ ।
गजब मजाले मनाउनु भएछ तिहार त!
देउसी-भैलो-टिका-तास सबै अंग पुगेछन यौटा सम्पूर्ण तिहार प्याकेजको लागी ।
यस्तोलाई के भन्छन्, थाहा छ कैलाश जी !
- यस्तो रमाइलोलाई तिहार भन्छन्, हाहाहाहा !
अत्यन्तै खुशि लाग्यो कैलाश जी देउशि भैलो ताश खेल्नु भयो।त्यो बेग्लै कुरा बर्ष दिनको चाडमा सबैले खेल्छ रमाईलो गर्छ।तर कता-कता यो राई हरु पनि आफ्नो धर्म सस्कृति प्रति जागरुक हुन थालेको आभाष भयो।धेरै खुशि लाग्यो।
हा हा हा। लौ जा त्यस्तै रमाइलोलाई पो तिहार भन्दारहेछन् आकार जी। धन्य भो मैले नि थाहा पाएँ आज। अनि उजेलीजी, दीलिपजी तिहार रमाइलै भयो भन्नुपर्छ। संगमजी तपाईले भनेझैँ आजकाल राईहरु मात्रै हैन प्राय जनजातिहरुभित्रै आफ्नो संस्कृतिप्रति चासो राख्ने परम्परा बढ्दै गइरहेको छ। जुन तपाईले भनेझैँ खुशीको कुरा हो। अहिले पनि त्यसो भएन भने त फेरी पछिल्लो समय र पुस्तालाई साह्रै गाह्रो पर्न जाला नि हैन?
kailash g le ta jehos hamile bhane jasari nai dashain manaunu bhae6.
....ani aakha ta paisha ma nai pugyo ni not harut managy nai asul garaunu bhaejasto 6 ni! .....ha..ha.ha
kailash g le ta jehos hamile bhane jasari nai dashain manaunu bhae6.
....ani aakha ta paisha ma nai pugyo ni not harut managy nai asul garaunu bhaejasto 6 ni! .....ha..ha.ha
केहिदिन अघि नै पढेको थिएँ तपाईँको तिहार वयान र अरुको त थाहा भएन मेरो साटो चैं मनाउनुभएछ तिहार भन्न मन लागेको थियो तर त्यसबेला 'चानस' नपरेर बल्ल आज भन्दैछु है । उ क्या त त्यो देउसी खेलेको सुन्दा नि मेरो साटो पनि तिहार मनाउनुभएछ भन्ने लाग्या क्या ।
Great! It is good that you had lot of fun.
Post a Comment