Saturday, October 17, 2009

Happy Tihar 2066!



May the lamps of joy, spark of colorful flowers illuminate days with the sparkles of happiness, peace & joy. May this festival bring new happiness, new prosperity and new horizons in everybody's life. "HAPPY JOYFUL DIWALI 2066" to everyone. Have a Happy Time!!!

Happy Diwali 2066.

Tuesday, October 06, 2009

दशैमा फुरेको मनको लड्डु...

यहाँहरुको दशै कस्तो बित्यो? मेरो त बडो बिऽऽन्दाऽऽस बित्यो। फूलपातीदेखि पूर्णिमासम्मलाई दिनगन्ती हिसाबले हेर्नेगरी फिल्म बटुले। तर कुरा के पर्यो भने नि! १० वटा फिल्म त ३ दिनमै सकाइयो पो। क्या ताल! ३टा Horror, ३टा War अनि बाँकी चाहि Reality Based story थिए। जे होस् रमाइलो भो फिल्मी दशै मनाउँदा। त्यसबाहेकका दिनमा पकाइतुल्याइ, खानपान र भेटघाटमा बित्यो। यी सबै गर्दागर्दै मेरो मनमा मीठा मीठा लड्डु फुरे। कसरी र के कस्ता भन्ने बारेमै म आज बखान्छु यहाँ।

खास कुरा चाहि के भने नि, योपालीको दशै धेरै समयपछि निकै सुनसान भयो। उपत्यकाबाट अत्याधिक जनमानस आ-आफ्नै पूर्ख्यौली गाउँठाउँ गए दशै मनाउँन। आफू चाहि दशकजति भयो यही खाल्डोमा थरी थरीको, तालतालको दशै मान्दै आइएको छ। तर यो पाली चाहि सडक-पसल-घर धेरै नै सुनसान भएझैँ लाग्यो। खै मलाई मात्रै लाग्या हो कि अरुलाई नि लाग्या हो कुन्नी? फूलपातीको दिन च्याटमा भेटिएका मुलुकबाहिरका धेरैजसो साथीहरुले काठमाडौँ त दशैको अवसरमा विरक्तियो होला भने। काठमाडौँ के के भयो भएन कुन्नी म चाहिँ यथावतै रहे। प्रत्येक साल दशै आएर गएझैँ मैले नि हरेक सालको लामो छुट्टीको उपयोग गरे आफ्नै पाराले। तर यो साल मैले मेरै मनमोजी पारामा दशै मान्ने मौका पाए। नत्र त खै के खै के भन्ने जस्तो खालकै पो हुन्थ्यो। त्यो भनेको चाहि मन नलागी नलागी बाध्यात्मक कामकाज नी गर्नुपर्दाको धङधङी पोखेको नि।

अँ त म भन्दैछु। बाहिर यसो चहार्न निस्कँदा त पूरै सुनसान छ। यसो सागपात अनि खित्त्रिङमित्त्रिङ किन्न निस्कदा नि पसल ठप्पै। दुध खानलाई पसलमा जाँदा नि बन्द। बाटोघाटो नि कसैको प्रतिक्षामा सिर्सिरे हावा खाँदै गरेको पाए। केही छरछिमेकीलाई असाध्यै न्यास्रो र एक्लो लाग्यो। मलाई त किन किन खूब रोमाञ्चक लाग्यो। लाखौँको भीडमा एक्लो हुनु र न्यास्रिनुको पीडाभन्दा त एक्लो भएर पनि भीडको अभाव नहुनु निकै जाती लाग्यो यो ज्यानलाई। खै यो मन न हो कहिले के रुचाउँछ। कहिले के। यो पालीको दशैमा त्यही रुची भयो।

शुन्य सडकको सिर्सिरे हावा रोमाञ्चक लाग्यो। दुबै हात फैलाएर केही बेर बीच सडकमा मस्त उभिए। कुटीमा एक्लो भएर मनमोजी पारामा रमाए। अरु बेलाको तुलनामा एकदमै सुनसान भएको वातावरणसँग साउती मार्दै फुस्‌फुसाए। अरुबेला भीडसँग जुध्थे। लड्थे। झट्कारिन्थे। फट्कारिन्थे। यो दशैमा सुनसान र शान्त वातावरणसँग खूबै बात मारे। ती बातहरु मिठा लागे। रसिला लागे। भरिला लागे। एकान्तमा पहिलोपल्ट कुनै नव दम्पतिको प्रेमले पूरापूर उघ्रिने मौका पाएसरह। भन्छन् नि क्या त, त्यो 'वातावरण मैत्री' हो कि त्यस्तै त्यस्तै केही भनेर। हो त्यस्तै त्यस्तै पो भएझैँ अनुभूत गरे मैले त। यसरी एउटा लड्डु फुराए। त्यसै त्यसै आफै मख्ख परे। यस्तो लाग्यो कि त्यो शुन्यता र शान्तपनको भोगी सिर्फ म एक्लो भए। अरु जो थिए तीमध्ये अधिक त्यही भीडभाड, कोलाहाल, हल्लाखल्ला र जमघटको भोकमा पिल्सिए होलान्।

हामी बस्ने गरेको घरमा बस्ने जम्मा दुईजना थियौँ। म सबैभन्दा माथिको छटमा। अर्को साथी सबैभन्दा तलको तलामा। एकदिन मेरो कुटीमा बसेर थुप्रै प्रसंगमा गफियौँ। कुरैकुरामा मैले मनमा फुरेको लड्डुलाई यसो बाहिर छर्दै भने-
"आहा! अहिलेकै जति मान्छे, गाडी, शान्तपन सँधै रहने हो भने यो काठमाडौ पनि क्या हुने थियो हगि?"।
साथीले तुरुन्तै भन्यो- "यहाँका घरबेटी अनि पसलेहरु सुकीहाल्छन् नि अनि"।
"सुक्ने फुक्ने त हुन्छ नै। तर सोच्नुस् एकपल्ट तपाईहामी जस्तो बहालवालाहरुको क्या भाउ होला"।
"कसरी?"
अब म निकै लामै बोल्छु लगातार........।
"ल सोच्नुस् यस्तै भयो स्थिति। यतिका विधि घर बनिसकेका छन्। पसल खुलीसकेका छन्। जो फर्कन्छन् ती फर्कन्छन्। बाँकी फर्कन अनुकूल नपरेकाहरुको लागि मोज हुन्छ। घरबेटी आफ्नो घरको बहालमा राख्ने मान्छेको खोजीमा हुन्छ। घरबेटीहरुबीचमा बहालवालाहरुलाई दिने सुविधाको होड चल्छ। दिनहुँ प्रयोग हुने सरसामानहरु लाग्दोपुग्दो हुन्छन्। कृत्रिम मूल्यबृद्धि/अभाव पैदा हुदैन। साँघुरो सडकमा हिड्दा नि होलोखोकुलो लाग्छ। सडकमा जाम कम हुन्छ। सवारी साधन सीमित तर यात्रुको लागि पुग्दो हुन्छ। इन्धनको अभाव नि हुन्न। पानी नि भनेजति भनेको बेलामा खान/पिउन, चलाउन पाइन्छ। फोहोर नि टुङ्गो लगाउन सजिलो। प्रदुषण हट्छ। जाडोमा घाम खान पाइने। गर्मीमा हावा खान पाइने। भनेको बेला भनेको ठाउँमा पुग्न पाइने। शहर सफा। हावापानी चङ्गा। अनि यहाँका मान्छे दङ्ग। आहाऽऽऽऽ नि!"

मेलै फलाक्न नसक्दै साथीले "के हो आहा नि! उता हेर्नुस् त" भन्यो। कान्तिपुर टेलिभिजनले दशै नसक्दै हूलका हूल मानिस उपत्यका छिर्दै भन्दै बसको छतमाथि समेत ठेलमठेल मान्छे कोचिएर पोको पन्तुरो भिरेर बसेको श्रब्यदृश्यसहितको समाचार प्रसारण गर्न थाल्यो। स्वादले र्याल झार्न नि नपाउँदै मनमा फुरेको लड्डु निमेषमै बिलायो। भर्खरै साङ्गोपाङ्गो थियो भर्खरै नाम निशानै छैन जसरी। अनि त २०६१ मा प्रकाशित तीर्थराज वन्तको हाइकु सङ्ग्रहको एउटा हाइकुको लाइन हुबहू ओठले फुक्यो-
"काठमाडौँको
मान्छे असाध्य सस्तो
माया महङ्गो"

बाँकी अन्य ब्लगर मित्रहरुबाट है...

Thursday, September 24, 2009

२०६६ सालको दशैँको मंगलमय शुभकामना



२०६६ सालको विजयादशमीको उपलक्ष्यमा कुटीका सम्पूर्ण सारथी, आगन्तुक तथा ब्लगर मित्रहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आफू र आफ्नो वरपरका अनेकौ दुःख-कष्ट, रोगव्याधी, लन्ठाहरुसँग लड्न सक्ने क्षमता दुर्गामाताले प्रदान गरुन् भन्ने प्रार्थना छ। महंगी, प्रदुषण, तनाव, बेरोजगार, रोग-शोक-भोकले किचिएर लघु मानव भइसकेका हामीमा यी सब कुरासँग जुध्ने सक्षमता अझ पलाओस्।

जय होस् सबैको! मंगल होस् सबैको!
शुभ दिन, शुभ रात, शुभ समय!

Friday, August 28, 2009

मस्तीको माइला.com

एउटा स्टेज। नाटकमा निर्देशकले एउटा ल्यापटपको संज्ञा दिएका छन् स्टेजलाई। ल्यापटप 'ओपन' हुन्छ। माइला र साहुनीको निजी अनुभूति र मनोभाव देखिन्छ- माइला डट कमद्वारा। ती अनुभूति र मनोभावलाई दर्शकले आफ्नै निजी बुझाई राख्न सक्छन्। माइला र साहुनी कफी सपमा आ-आफ्‍नै काममा व्यस्त हुन्छन्। दिनहुँ उही काम।

एकाविहानै सटर खुल्छ। साहुनी धुपधुवाँर गर्छिन्। पुछ्‍पाछ्‍ गर्छिन्। सरसामान मिलाउँछिन्। ग्राहकसँग डिल गर्छिन्। हरहिसाब गर्छिन्। माइला रौसिदै आफ्‍नो काममा खटिरहन्छ। शहरको कफी सपमा तीन दिन लगातार उस्तै क्रियाकलापहरु भइरहन्छन्। तर साहुनी र माइलाबीचको घटना र व्यवहार भने क्रमश: बदलिदै जान्छ। १२/१३ वर्षे किशोर माइला र २०/२२ वर्षे युवती साहुनीका आ-आफ्‍नै फरक फरक बुदझाई र मनोभाव तीन दिनमा व्यक्त हुन्छ। शुरुको दिन साहुनी र माइलाबीचको दुरी प्रष्ट देखिन्छ। दोस्रो दिन उनीहरुको क्रियाकलाप र हाउभाउले दुरी घट्‍न थालेको संकेत गर्छ । तेस्रो दिन, असामान्य रुपमा नजिक हुन पुग्छन्। र, माइला कफि सपबाट लखेटिन्छ। सामान्य मानिसको जीवनचर्यामा उनिएको कथावस्तुमा आधारित नाटक माइला डट कमको कथासार यति हो।

सरुभक्तको लेखन र अनुप बरालको निर्देशनमा 'सिरुमा रानी' नाटकमा अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेका दयाहाङ राई यसका निर्देशक हुन्। उनले 'बुद्ध हराएको सूचना', 'मुर्दाहरुको महाभोज', 'बाँकी उज्यालो', 'टलकजंग भर्सेज टुल्के', 'चेरीको बगैचा', 'कोरा' जस्ता नाटकमा अभिनय गर्नुका साथै बेपत्ता नागरिकसम्बन्धी 'दुवाली' नाटक निर्देशन समेत गरिसकेका छन्।

सर्वसाधारण मानिसको दिनहुँ क्रियाकलापको अर्थ खोज्दै माइला डट कम देखा परेको छ। नाटकमा दुईजना पात्र, एकदमै कम संवाद, कम ध्वनी, चाहिँदो साजसज्जा तथा प्रकाश र अत्याधिक हाउभाउँ छ। माइलाको हाउभाउँ र क्रियाकलापले दर्शकलाई तानिरहन्छ। कुनै ठूलो घटना र विशेष क्रियाकलाप बिना दिनहुँ सामान्य ढंगले नित्य कर्म गर्दागर्दै नजानिदो तवरले माइलाको यौन मनोविज्ञान झल्किन्छ। साहुनीको मिठो बोली र मुस्कानले माइलाभित्र मिठो तरंग पैदा गर्छ। अन्जानमै साहुनीसँग छोइन/ठोक्किन पुगेमा साहुनीले आफूप्रति राखेको प्रेम/यौनका रुपमा बुझ्छ। काम गर्दागर्दै साहुनीको ध्यान आफूमा खिच्ने र घरीघरी साहुनीतिर नजर डुलाउनेजस्ता क्रियाकलाप माइलाको यौन मनोविज्ञानको संकेत हो। माइलामा राजन खतिवडा र साहुनीमा सृजना सुब्बाले भूमिका निभाएका छन्। माइलाको 'इन्जोइङ्‍ क्यारेक्टर' सबैभन्दा रोचक लाग्छ नाटकमा।

नाटक सकिएर मञ्चबाहिर कुराकानी गर्दा आधा दर्जन नाटक निर्देशन र दुई दर्जन नाटक अभिनय गरेका राजन खतिवडाले मन खोले, 'अलग क्यारेक्टर गरेको हुनाले दर्शकसँग कनेक्टेड हुन्छ कि हुन्न भन्ने ठूलो डर थियो मनमा। कता कता राजनको उमेरले ढाक्न खोज्दो रहेछ'। मुसुक्क हाँस्दै साहुनी बनेकी सृजना सुब्बाले ठट्‍टा गर्दै भनिन्, 'छिप्पिएको माइला पर्‍यो नि त'।

नाटकमा घच्चीको 'conflict' हुनुपर्छ। शुरुवात, मध्य र अन्त्यको संरचनामा सन्तुलन हुनुपर्छ भन्ने मान्यतालाई पछ्‍याउँदैन माइला डट कमले। तैपनि नाटकमा साना साना 'conflict'हरु नभएका भने हैनन्। माइला र साहुनीको बुझाई र हेराईले मेल नखानु एकप्रकारको 'conflict' हो। चेतन/अचेतन मनबाट साहुनीको यौवनअनुरुप सोच बोक्नु माइलाको निजी मनोभाव हो। मानवीयताको उदारभाव बोकेर माइलाप्रति माया दर्शाउनु, चोटमा मल्हम लगाइदिनु, नयाँ ह्याट र जुत्ता आफ्‍नै हातले लगाइदिनु साहुनीको निजी सोचअनुरुपको व्यवहार हो। एकले अर्कालाई जे देख्छन् र सोच्छन् त्यो मेल खादैन। फलत: तेस्रो दिन सटर बन्द गर्ने क्रममा आमनेसामने हुँदा माइलाले एक्कासी साहुनीको गालामा चुम्बन गर्छ। यो घटनासँगै माइला पसलबाट निकालिन्छ र नाटक सकिन्छ। निर्देशक दयाहाङ राई भन्छन्, 'यो एउटा लुज कनेक्टेड नाटक हो। यसमा ठूलो 'conflict' पनि छैन। यसमा धेरै रिपिटेसनहरु छन्, जसरी हाम्रो जीवनमा रिपिट भइरहन्छन्। तिनको केही अर्थ नहुन पनि सक्छ। तपाईहरुको जीवनको 'ननसेन्स' कार्यहरुले अर्थ पाए भने माइला डट कमको कार्यले पूर्णता पाउँनेछ'।

डेढ वर्ष पहिले एकपल्ट मञ्चन भएको यो नाटकमा त्यत्तिबेलाका माइला रवीन पाण्डे थिए। लक्ष्मीपुजाको दिन दुर्घटनामा परेर उनको मृत्यु भयो। त्यसपश्चात दोस्रो पटक मञ्चन भइरहेको नाटकमा माइला बनेका हुन् राजन। यो नाटक काठमाडौंको त्रिपुरेस्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा भदौ महिनाभरी हप्ताको तीन दिन मञ्चन भइरहेछ। भारतको उडिसामा हुने अन्तर्राष्ट्रिय नाट्‍य महोत्सवमा समेत यो नाटक छानिएको छ।

कुनै न कुनै रुपमा गाउँबाट शहर छिरेका कैयौँ होटल मजदुर किशोरहरुको प्रतिनिधित्व गरेको छ माइला पात्रले। नाटकको कथावस्तुअनुरुप एक, विपरित लिंगप्रतिको आकर्षण नियतबस मात्र हैन प्राकृतिक रुपमै उत्पन्न हुन्छ। र दोस्रो, व्यक्तिको वैचारिक हैसियतले धेरै कुरा निर्धारण गर्छ। र त्यसले नयाँ क्रियाकलाप र घटनाको जन्म दिन्छ। पात्रहरुको फुर्तिलो र हसिलो हाउभाउँ, कफीसपका मानक ग्राहकहरुसँगको रसिलो व्यवहार, मानक सरसरदाम पकाइतुल्याईको क्रियाकलापको स्वाद र माइलाको 'मस्ती'को 'body language' हेर्न लायक छ यो अनुभूतिजन्य नाटकमा। शुरुमा सडक पेटीबाट पसल भित्र छिर्न समेत धक मान्ने माइलाले साहुनीको आफूप्रतिको राम्रो व्यवहारको प्रतिउत्तरमा अचानक चुम्बन गर्छ। यो घटनाले 'माइला पात्रहरुलाई (बढी ?)माया गरेमा मात्तिन्छन्‌‍' भन्ने भाव पनि बोकेको छ। 'मस्तीको माइला'ले अन्त्यमा सास्ती खेप्नुपर्छ।

Friday, August 21, 2009

सरकारको विवाह पुरस्कार नीति

आर्थिक वर्ष 0६६/०६७ को बजेटमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'दलित' र 'विधवा' विवाह गर्नेलाई क्रमश: एक लाख र पचास हजारको पुरस्कार घोषणा गरे। अन्तरजातीय र विधवा विवाहसम्बन्धमा पैदा हुने र भइरहेका विभिन्न खालका समस्याहरूको निदान खोज्ने, त्यस्ता विवाह गर्न प्रोत्साहन गर्ने र त्यसप्रति आकर्षण पैदा गराउने सरकारको नियत हुन सक्छ। यद्यपि यसलाई जतिसुकै सकारात्मक दृष्टिकोणले नियाले पनि यसको सकारात्मक पक्ष खुट्ट्याउनै गाह्रो छ। सरकारले अगाडि सारेको अन्तरजातीय विवाह र विधवा विवाहको नीति सम्बन्धित समुदायको समस्या कम गर्नेभन्दा बढाउने र समुदायगत तथा लैङ्गिक सद्भाव बढाउने भन्दा घटाउने कडीको रूपमा आएको छ। बजेट घोषणा सकिन नपाउँदै 'एक लाख चाहिए दलितसँग र पचास हजार चाहिए विधवासँग बिहे गर्दा भो अब' भन्ने खालको सनसनी फैलिएको सुनिन्थ्यो सर्वसाधारणमाझ। र यो नीतिले बढी प्रभावित हुने पनि सर्वसाधारण नै हुन्।

अन्तरजातीय विवाह छुवाछुत तथा जातीय विभेद अन्त्य गर्ने एक उपाय हुन सक्छ। तर अन्तरजातीय विवाह र विधवा विवाहको नाममा तोकिएको निश्चित मूल्यले हाम्रो समाजको सामाजिक मान्यता, सामाजिक सुरक्षा र सामाजिक सरोकारका विषयलाई थप फितलो र जटिल बनाइदिएको छ। मानवीय मर्यादामा गहिरो ठेस पुर्याएको छ। विभिन्न पक्ष तथा दृष्टिकोणबाट अनुत्तरित प्रश्नहरू उब्जाएको छ। अन्तरजातीय विवाह र विधवा महिलाहरूको पुनर्विवाहलार्इ मान्यता दिनु, मान मर्यादा गर्न, प्रोत्साहन गर्नु र स्थापित गर्नु पक्कै पनि राम्रो कुरा हो। छुवाछुत मुक्त, जातीय विभेदमुक्त, विधवामाथि हुने/गरिने विभेदमुक्त समाज निर्माण गर्ने सरकारको उद्देश्यलाई सह्राना गर्नैपर्छ। तर उद्देश्य प्राप्तिको प्रत्रिmया वा सरकारले अपनाएको विवाह अनुदानको मार्ग भने समस्यामुक्त छैन। यसले सुरक्षित र सहज अन्तरजातीय वैवाहिक सम्बन्ध या सुरक्षित पुनर्विवाहको सम्बन्धलाई निर्माण गर्ने भन्दा स्वार्थपूर्ण, खतरायुक्त र 'जाली' सम्बन्धमा जोड दिएको छ।

सरकारले अन्तरजातीय विवाहको पक्षपोषणमा प्रत्येक दलितसँग बिहे गर्ने जोसुकै गैर दलितलाई एक लाख पोल्टामा हालिदिने वचन गरेको छ। र, अन्तरजातीय विवाहको विस्तृत स्वरूपलाई दलित र गैर दलितबीचको विवाहभित्रको साँघुरो घेरामा सीमित पारिदियो। 'विधवा'सँग बिहे गर्ने व्यक्तिलाई पचास हजार पुरस्कारको हकदार बनाइदियो। यस हिसाबले दलितसँग बिहे गर्ने कुनै गैर दलित र विधवासँग बिहे गर्नासाथ कुनै पुरूष स्वत: सरकारी अनुदानमा एक लाख वा पचास हजारको मालिक बन्यो। नि:स्वार्थ या स्वत: स्फूर्त अन्तरजातीय या पुनर्विवाह गर्नेहरूमा समेत यसले लालच पैदा गर्न सक्छ। यो अनुदान नीति दलित समुदाय र विधवाहरूको लागि भन्दा पनि दोस्रो पक्ष (जो उनीहरूसँग बिहे गर्छन्)का लागि अपनाइएको हो। यसरी दलित र विधवालाई फेरि पनि 'परित्यक्त' मान्दै उनीहरूसँग विवाह गरेमा उद्धारकर्ताको रूपमा सम्मान स्वरूप पुरस्कारको घोषणा गरियो। यहाँनेर दलित र विधवाहरुका लागि उत्तm बजेट छुट्टाइएको हो भन्ने कुनै आधार देखिँदैन। बरू उनीहरूलाई बिक्री गरिने 'सस्तो वस्तु' मानिएको छ।

मानौँ यस्तो अनुदान रकमले अन्तरजातीय तथा पुनर्विवाह दर बढ्यो। त्यसपछि छुवाछुत, जातीय भेदभाव, विधवामाथि गरिने भेदभावमा कमी आउँछ भनेर तर्क गर्न सकिने ठाउँ कहाँ छ? सम्बन्धित समूह/समुदाय ढुक्क हुने कुन त्यस्तो संयन्त्रको निर्माण हुन्छ? उक्त विवाह सम्बन्धद्वारा सृजना हुने विभिन्न खालको समस्याहरूको उक्त अनुदान रकमले समाधान गर्न सम्भव छ? सामाजिक तथा लैङ्गिक सद्भाव, वैवाहिक तथा पारिवारिक सम्बन्धको निरन्तरता, सम्बन्धित व्यक्तिको व्यक्तिगत सुरक्षा, अधिकारजस्ता कुराहरू स्थापित होलान्? यी र यस्ता कुराहरू स्थापित हुन नसकेको खण्डमा जिम्मेवार को हुने? र त्यसवापत के कस्तो नीति अवलम्बन गर्ने? त्यस्ता अनेकौँ बोझ सरकारलाई भन्दा सोझै सम्बन्धित व्यक्ति/समुदायमाथि थुप्रिन्छ। त्यसबखत सरकारको कदम के हुने? जनआन्दोलनका घाइतेको नाममा छुट्टाइएको भत्तासमेत नक्कली कागजपत्र र प्रमाण पेश गर्दै कुम्लो पार्ने प्रवृत्ति यस नीतिमा लागू हुँदैन भन्न सकिने ठाउँ छैन।

व्यावसायिक प्रतिस्पर्धाको दौडधुपमा व्यवसायीले कुनै विशेष उपलक्ष्यमा विशेष उपहार योजनाद्वारा ग्राहक लोभ्याएझैँ गरी यो सरकारी नीतिले लोभ्याएको छ । यसले सरकारको दयनीय बुझाइलाई प्रस्ट्याउँछ। यो नीतिले सीमित व्यक्तिलाई सही तवरले लोभ्याउला, थोरै व्यक्तिहरूमा सकारात्मक प्रभाव पर्ला। तर हामीकहाँ दिनहुँ छुवाछुत र जातीय विभेदका घटनाहरू भइरहेका छन्। दाइजोको कारण महिलाहरू कुटिने, पिटिने, जलाइनेजस्ता हिंसात्मक क्रियाकलाप पनि भएकै छन्। यसअघिको सरकारले दाइजो प्रथा उन्मूलन गर्ने घोषणा गरेको थियो। तर वर्तमान सरकार आफैले दाइजो प्रथालाई विशेष रूपमा प्रश्रय दिदैँ दाइजो दान गर्ने नीति लियो । सामान्यतया बोलचाल र बुझाइकै कुरा गर्दाखेरि पारपाचुके भएका/गरेका तथा विधवा महिलाहरूका लागि 'सेकेण्ड ह्याण्ड' जस्ता अमानवीय शब्दको प्रयोग भइरहेको र त्यही अनुरूपको दृष्टिकोण रहेको छ। दिनानुदिन देशमा सामाजिक सुरक्षा कमजोर बन्दै गएका प्रमाणहरू यत्रतत्र छन्। यस्तो अवस्थामा नागरिकको सामाजिक सुरक्षा सुदृढ पार्ने नीति ल्याउनुको सट्टा सुरक्षा विथोल्ने खालको नीति अवलम्बन गर्नेतफ सरकारको यो कदम अग्रसर देखिन्छ।

दलित समुदाय र विधवा महिला, यी दुबैको आ-आफ्नै, विशिष्ट खालको समस्या र पीडाहरू छन्। सरकारले यी दुबैको लागि एकै उपाय अघि सार्यो- विवाह । सामाजिक मूल्य मान्यताद्वारा संरक्षित विवाह संस्कारलाई 'अतिरिक्त संरक्षण'को व्यवस्था गर्नमा सरकार लागि परेको छ। विभेद र हेलाहोचोको अन्त्य गरी नागरिक अधिकार दिलाउन सरकारी बजेटले गर्न सक्ने अन्य उपयुक्त र प्रभावकारी उपायहरू प्रशस्तै छन्। तर सरकारले अन्य उपयुक्त मार्गहरूको सट्टा अन्तरजातीय विवाह र विधवाहरूको पुनर्विवाहलाई 'प्रायोजित विवाह' को रूपधारण गराइदियो। प्रायोजित विवाहले दलित तथा विधवाहरूको जीवनसँग खेलवाड गर्न सकिने थप एउटा आधार निर्माण गरिदियो। दलित र विधवासँग विवाह गर्नेहरूको सन्दर्भमा सरकारले देखाएको उदार(?) नीति दलित समुदाय र विधवा महिलालाई 'निश्चित धनराशी' मा किनबेच हुने 'वस्तु' मा रूपान्तरण नहोस्। के सदिऔँदेखि भोग्दै आएको जातीय विभेद, छुवाछुतको अन्त्यको लागि दलित समुदायको आन्दोलन र राज्य तथा सरकारसँग दाबी गर्दै आएको क्षतिपूर्तिको स्वरूप र प्रक्रिया यही हो त? दलित समुदायद्वारा अन्तरघुलनको बहस उठाइरहेको बखतमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नु राम्रो हो। तर प्रायोजित विवाहको अर्थ के र कति छ? कुनै दलितको घरमा या दलितको हातबाट कुनै प्रतिष्ठित गैर दलितले एक गाँस खाएर सामाजिक सद्भाव बाँड्ने 'एजेण्ट' को रूपमा उभ्याइने प्रचलन र दलित र गैर दलितबीच विवाह सम्बन्ध गाँसिनुमा कुनै अन्तर छैन र? यदि त्यसो हैन भने दलित समुदाय र दलित आन्दोलनले यी र यस्ता प्रश्नहरू उठाउनुपर्छ। के लैङ्गिक विभेदको चर्को मारमा परेका, सामाजिक-सांस्कृतिक रूपमा अन्याय सहदै आएका विधवा महिलाहरूको समस्या पुनर्विवाह नहुनु मात्रै हो त? केही निश्चित रकमले समाज या व्यक्तिको मानसिकता र दृष्टिकोण परिवर्तनमा सही प्रभाव पार्ला? विधवाहरूको सशक्तीकरण र सवलीकरणमा पुनर्विवाह सहायक पक्ष हुनसक्छ। तर 'कुनै पनि विधवा महिलालाई पचास हजार लिएर विवाह गर' भन्ने सरकारको आग्रह छ। यसले उनीहरूलाई समाजमा कुनै विवाहित या अविवाहित महिला सरहको समान हैसियत र अधिकारका साथ बाँच्न पाउने अवस्था स्थापित गर्नमा मद्दत पुग्दैन। उनीहरूको स्वास्थ्य, रोजगारी, जीविकोपार्जन आदिमा समेत खासै टेवा पुग्दैन। सरकारको यस्तो गोलमटोल नीतिले प्रत्येक दलित समुदाय र विधवा महिलाहरूको व्यक्तिगत मूल्य निर्धारण गरेर दरिद्रता देखाएको छ । एकातिर विवाह जस्तो सामाजिक सम्बन्धलाई मोलमोलाईको जलप लगाइदिएको छ भने अर्कोतिर त्यही माध्यमद्वारा दलित तथा विधवा महिलाहरूलाई बिकाउ वस्तुको रूपमा निश्चित रकमको तराजुमा राखिदिएको छ। यो नीतिले जातीय छुवाछुत र आत्मसम्मानको निम्ति लामो समयदेखि संघर्षरत दलित समुदायकै आत्मसम्मानमाथि गहिरो प्रहार गरेको छ। विधवा महिलाहरूको आत्मसम्मानमाथि सोझो प्रहार गरेको छ। विवाह अनुदानको चौतर्फी कमजोरी र अव्यवहारिकताले सरकार र नीति नर्माताहरूको कमजोर, रूढीबादी सोच प्रस्ट्याएको छ। विभेदकारी, तिरस्कारपूर्ण र अपरिपक्व नीतिविरुद्ध एकल महिलाहरू विरोधमा उत्रिन थालिसकेका छन्। तर दलित समुदाय, संघसंस्था, अधिकारकर्मीहरू के गर्दैछन्? के सोच्दैछन्? के दलित, के विधवा, हरेक नागरिकले आफ्नो आत्मसम्मान बचाउनको लागि पनि यो नीति लागू हुनबाट रोक्नुपर्छ ।

थपः केही दिनअघि मात्रै पर्वत जिल्लामा दुई दम्पत्तिले अन्तरजातीय विवाह गरेर अनुदान रकम दाबी गर्न जिल्ला प्रशासन कार्यलय आएको समाचार एउटा न्युजपेपरको पहिलो पृष्ठमै आयो। सरकारले यो नीति लागू भइनसकेको र प्रक्रियागत रुपमा अनुदान दिन सकिने बेला नभएको प्रशासनको जवाफ उनीहरुले पाए। यसबारेमा थप समाचार पढ्न या सुन्न पाए हुन्थ्यो भन्ने लागेको छ अहिले मलाई।

(यो लेख एउटा साप्ताहिक पत्रिकाको लागि महिनादिन अघि लेखेको हुँ। धेरैदिनको झोँक्राईपछि आज म एउटा लेख लिएर आएँ। दश दिनअघि एउटा कार्यक्रममा एकजना दलित साथी भेटिए। 'के छ साथी हालखबर?' मैले सोधे। 'राम्रै छ। आफूलाई अमूल्य ठान्थे पहिले। अहिले एक लाखको नोट या चेक भइएको छ। सरकारलाई सलाम!' सटिक जवाफको गहनता र अर्थले म ठाउँको ठाउँ घोरिन पुगे। त्यसपछि यसबारेमा थप कुराकानी भयो केहीबेर। यो वाक्य आजपनि मेरो कानमा गुञ्जिरहन्छ। त्यसैले यो लेख मैले कुटीमा समेत राखे।)