Wednesday, April 21, 2010

कोदास्की, गुराँस र हिउँसँग कालिञ्चोकमा नयाँ वर्ष

वैशाखको याम, तैपनि तुवाँलो र कुहिरोको मुस्लो। प्राय तुवाँलो र कुहिरोभित्रै ढाकिएर बस्ने गौरीशंकर, कालिञ्चोक डाँडा अनि त्यहाँबाट देखिने ठाउँहरु। मनमोहक दृश्यहरु। हिम शृंखलासँग नजिकिने, मनमोजी भएर प्राकृतिक सुन्दरतासँग ओद्यी रम्ने धोको अधुरै रहने हो कि भन्ने आशंका थियो मनमा। मंसीरदेखि माघसम्म हिउँले ढाकिने ३,८४२ मिटर उचाईमा रहेको कालिञ्चोक डाँडो, कुरी भञ्याङ, घ्याङ डाडो र अन्य थुम्काहरुमा माघयता हिमपात परेको थिएन। संयोग, चैत मसान्त र नयाँ वर्ष थालनीको संयुक्त रात गडगडाएर असिना-पानी पर्यो। त्यो रात हामी चरिकोट बजारमा थियौँ। तुवाँलो र कुहिरो हट्यो। हामी पुग्ने गन्तव्य स्थल चिमालले सेतै थियो। हिउँले ढाकेर थप सेताम्मे र मोहक भयो। बुर्कुसी मारेर उत्ति नै खेर हिउ खेल्न पुगौँ भन्ने मन भो। (कालिञ्चोक भगवतिको आँगनमा हाम्रो समूह - १ जना फोटो खिच्ने साथी छुटेको छ)।

वैशाख १ गते गन्तव्यमा पुग्न उकालो लागियो एकाविहानै। डाँडैडाडा, भीरपाखाहरु, लेकाली वनस्पति। बनपाखाभरी लाली गुराँस। उचाई बढ्दै गएपछि सेतै फुलेका चिमाल। सेतो पहिरनमा आफूलाई सजाएर प्रकृतिले हामीलाई पाइला चाल्न लोभ्याइरहेका थिए। जति उकालो लाग्यो, उति नै अग्ला गगनचुम्बी डाँडा अघिल्तिर नै उभिन पुगिन्छ। पार गर्ने डाँडाहरुको शृंखला नसकिए पनि जति माथि चढ्यो उति नै रमाइलो। प्रकृतिको वास्तविक र सुन्दर छटाहरुका लोभलाग्दो दृश्यलाई मनभरी अंकमाल गर्दै, तिनको सुगन्धको मजा लिदै तीब्र श्वासप्रश्वास र मिठो थकानसँगै उकालो लागिरहृयौँ हाम्रो समूह। हाम्रो समूहमा ६ वर्षकी प्राष्टा पनि थिइन्। प्रत्येक अग्लो डाँडाको शीरमा उभिन पुग्दा एउटा बेग्लै उचाई छोएको अनुभूतिले पुन उकालो चढ्ने उर्जा दिइरहृयो। ती डाँडाहरुमाथि उभिएर हेर्दा एकाविहानै कुहिरोको घुम्टो खोलेर कुमारी गौरीशंकर हिमाल आडैमा उभिएर मुस्काउँदै स्वागत गरिरहेझैँ लाग्थ्यो।
(चरिकोटबाट देखिएको कुहिरोको घुम्टोबाट बाहिर निस्केर निष्फिक्री हाँसेको गौरीशंकर हिमाल)।

अधिकांश डाँडाहरु आफू सामुन्ने आफ्नै उचाईमा उभिएझैँ देखिए। तन केही थाकेझैँ भएपनि मन त त्यसै फुरुङ्ग। त्यहीमाथि प्राष्टाको फुर्ति, त्यो नाकै ठोक्किने उकालो र मुटु चिसो हुने भिरालोमा पनि आफ्नो आमा बाबुभन्दा कुशलतापूर्वक हिडीदिँदा हामीलाई थप उर्जा मिल्यो। उनलाई न लेक लाग्यो न थकान लाग्यो। न खुट्टा दुख्यो। केही बेर गले भनेर बिसाए पछि पुनः उस्तैगरी फूर्ति जागेको देख्दा हामीलाई पनि थप जोश आउँथ्यो।
(फायर क्याम्प गरेपछि प्राष्टासँग रमाउँदै)।

चरिकोटबाट उकालो लागेपछि प्राकृतिक दृश्यावलोकन र रसापन त छँदैछ। त्यसको साथमा देउराली, थाङसा, गैरी, कुरी भञ्याङलगायतका बिसाउनीहरुमा कोदास्कीको स्वाद लिँदै केही साथीहरु जोशिइरहे। कोदोको रक्सी र आधुनिक हृवीस्कीको नामबाट फ्युजन गरेर साथीहरुले स्थानीय कोदोको रक्सीको न्वारान त्यसरी गरे। 'चुरोटले खाइमारेको फोक्सोलाई कोदास्कीको टेको लाएर उकालो चढ्ने हो नि' जस्ता वहाना बनाउँदै कोदास्कीको घुट्को लिए साथीहरुले। हामीले बाटोमा चाहिने सबै सामानहरु बोकेका थियौँ- मिस्री, चक्लेट, लसुन, बिस्कुट, ग्लुकोज, काजु, बदाम, पानी पर्दा ओढ्ने प्लाष्टिकको घुम, छोकडा आदि। त्यसको अलावा काठमाडौँ उपत्यकाको हावापानी, प्रदुषण, अस्तव्यस्त दिनचर्याबाट मुक्त हुँदै कालिञ्चोकतर्फलाग्दा कोदास्की, लोकल कुखुराको मासु, चौरीको दुध र छुर्पीले पनि यात्राको मिठास थप्यो। चिसो मौसममा अखबरे/डल्ले खुर्सानीकोको स्वादमा तात्तातो थुक्पा। त्यस्तैगरी ढिडो, आलु र अन्य दुग्धजन्य परिकारको स्वाद। आहा ! मुखैमा झुण्डिरहने स्वाद। बाटो आसपास पहेलो पाकेको ऐँसेलुको स्वाद पनि धेरै पनि लिन पाइयो। (आहा ऐँसेलु !)

केही थकान र धेरै उत्साहसँगै कालिञ्चोक भगवतीको डाँडो फेदैमा रहेको फलामे गौँडामा पुग्यौँ हामी। त्यहाँबाट हेर्दा कालिञ्चोक डाँडाबाहेक अरु सबै फुच्चाफुच्ची देखिन थाल्यो। फलामे गौडासँगै रहेको कुरीमा बास बस्ने योजनाअनुरुप हामी त्यहाँ पुग्यौँ। नयाँ वर्षर जनै पूणिर्मामा कालिञ्चोकको विशेष पूजाआजा गरिने हुनाले बास बस्ने थलोहरुमा मान्छेको घुइँचो थियो। त्यही घुइँचोमा हामीपनि मिसियौँ। एकातिर थामी जातिको परम्परागत नाचगान/साँस्कृतिक झाँकी थियो। अर्कोतिर कुरी भञ्याङका पसले र तीर्थालुहरु तामाङ सेलो र आधुनिक गीतको तालमा महिला-पुरुष सालाखाला नाच्दा कुरी भञ्याङ रातैभरी घन्कियो। हामी भने लोकल कुखुराको मासुसँग टन्न खाना खायौ। र चौरीको दुध खाएर सुस्तायौँ। तन सुतेको थियो। मन र कान चाहिँ सुतेन। (कुरी भञ्याङबाट उकालो लागेपछि कालिञ्चोक चुचुरोमा टेक्दै गरेका यात्रुका लस्कर)।

भोलिपल्ट विहानै कुरी भञ्याङबाट कालिञ्चोकको डाँडो उक्लिने लस्कर लाग्यो। त्यही लस्करमा थियौँ हामी पनि। नाकै ठोक्किने उकालो, बाक्लो कुहिरोको, भुइभुइबाटै छुन सकिने श्वेत चिमाल, पाखा नाङ्गो देखिने तर भुइभरी थरीथरीका रंगीचंगी फुल बुट्टा। गन्तव्यमा पुग्नै लाग्दा हाम्रो समूहका दुइ साथीलाई लेक लाग्यो। लेक लाग्दा गर्नुपर्ने सामान्य उपचार गर्दै जसोतसो चुचुरोमा पुग्यौँ हामी। (कालिञ्चोक भगवतिको मन्दिरमा रहेको खाल्डो, जहाँ बाह्रैमास पानी सुक्दैन)।

किंवदन्तीअनुसार तीन दिदीबहिनीमध्ये सबैले पुज्ने ठाउँ रोज्ने महांकाल भगवति, अर्को, त्रिपुरासुन्दरी भगवति, र कसैले नभेट्ने ठाउँ रोज्ने देवी कालिञ्चोक भगवति हुन्। साँच्चै त्यहाँ पुगेपछि कसैले नभेट्ने ठाउँ नै रोजेकी रहिछन् ती भगवतिले भन्ने लाग्यो। तर अचम्मको कुरा कसैले नभेट्ने भनेर हिडेकी देवीकै खातिर त्यत्रो भीड लागेको थियो र प्राय लाग्ने गर्छ। कालिञ्चोक भगवतिमा पाठी बली चढाइदो रहेछ। त्रिपुरासुन्दरीलाई कसैले पनि हेर्न नहुने मान्यता र विश्वास गरिन्छ भने महांकाल भगवतिलाई सामान्य रुपमा पूजाआजा गरिदै आइएको छ। यी दुबै भगवति दोलखा बजार आसपास नै छन्। दोलखा भिमसेनको दर्शनमा जाँदाखेरी त्रिपुरासुन्दरी भगवतिको मन्दिर पनि जाने जिद्द गरे। त्यसो त मेरै जिद्दले आसपासका ओढार, गुफा, ढिस्कादेखि ढुंगाहरु समेत चाहारियो। (त्रिपुरासुन्दरी भगवतिको मन्दिर, जहाँ भगवतिको दर्शन गरिएमा रगत छादेर मरिने किंवदन्ती छ। र यहाँ बली दिइएमा यो घरभन्दा बाहिर निकाल्न नहुने, परिवारजनबाहेक अरुले प्रसाद खान नहुने हुनाले यो घरको भुइतलामा खाने र बाँकी रहेको भित्रै गाँड्ने गरिन्छ। माथिल्लो तलामा भने भगवतिलाई थुनेर राखिएको विश्वास गरिन्छ)।

कालिञ्चोक डाँडामा उभिदा कुहिरोसँग गज्जबको लुकामारी चल्यो। एकनजर हेर्न नभ्याउँदै दृश्यहरुलाई कुहिरोले छोप्थ्यो। अनि एकैछिनलाई कुहिरो हट्थ्यो। त्यो उचाइमा खेलेको लुकामारी र हिउँसँगको सामीप्यताले उकालो चढ्दाखेरीको सबै अप्ठ्यारा पनि कत्ति मिठो लाग्यो। अझ चुचुरोबाट गौरीशंकर, सगरमाथा, रोल्वालिङ हिमशृंखलाका साथै अनगिन्ती हिमालहरु देख्दा कस्को मन नरमाउँला? लुकामारी खेल्दाखेल्दै डाँडाबाट वरपर हेर्दा उन्मादका साथ मिलेर बसेको भीर पहरा, चौर/नागीहरु हेर्दाको बेग्लै मज्जा। चुचुरोदेखि फर्कदा नागीमा बसेर फायर क्याम्पको मजा समेत लिन चुकेनौ हामी। त्यो उकालो, त्यो थकान, त्यो दुखाई सबै एकपलमा कहाँ बिलायो कहाँ। ओहो ! मान्छेको थकान, पीर, चिन्ता भगाउने प्रकृतिमा कत्रो शक्ति। आफूभित्रै इन्द्रधनुषी चमात्कार सँगाल्ने कत्रो सामिप्यता। कालिञ्चोक चुचुरोबाट फर्केर यी पाइलाहरु ओरालो लागे। तर मन भने त्यही चुचुरोमा, त्यहीका दृश्य र वातावरणमा अडिइरहृयो। नयाँ वर्षको अवसर पारेर कालिञ्चोकको यात्रा गर्दाको आनन्द यी शब्दहरुमा कहाँ र ? तर यसो हेर्दा त्यहाँका बनजंगल बिस्तारै मासिदै गएको देख्दा भने मनमा चिसो पस्यो।
(कालिञ्चोक चुचुरोबाट देखिने हिमदृश्य)

Monday, March 22, 2010

शवयात्रा थियो त्यो ?

लामो समयसम्म बेवास्तामा परेको ब्लगमा आज बल्ल धुपधुवँर गर्ने चेष्टा गरेर यो टासो ठेल्दैछु आज।

मुलुककै अभिभावकसरहका एक कुशल राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली। आत्माको चिर शान्तिको कामनासहित नेपाली राजनीतिका युग पुरुष, राजनेता वा मृत्युपश्चात गुथाइएको पगरी 'शिखर पुरुष' गिरिजा प्रसाद कोइरालाको शव यात्राको कुरा गर्दैछु म। अधिकांश छिमेकी ब्लगहरुले पनि गिरिजाबाबुकै बिदाईको सन्दर्भमा टाँसो टासेका छन्।

सतासी वर्षको उमेरमा उनको निधन भएको कुरा विभिन्न सञ्चारमाध्यमबाट सुन्दा यो विशेष समयमा मुलुकले नेतृत्वदायी एक कुशल राजनीतिक व्यक्तित्व गुमाएको महशुश भयो। देशलाई ठूलै क्षति पुग्यो भन्ने लाग्यो। अनि हिजो एकाविहानै छापामाध्यमहरुले दिएका फिचर, स्टोरी तथा तस्बीरहरुले मनमा एक खालको भावुकता पैदा गरायो। उनको केही अवगुणको बाबजुद समग्र देशको लागि उनी गुणी नै ठहरिए। अझ उनको नेतृत्वमा चलेको पार्टीको कुरा गर्ने हो भने त उनले 'मियो'कै काम गर्दै आएका हुन्। यहाँ उनको योगदान या गुण/अवगुणको कुरा गर्ने मेरो मनसाय हैन, त्यसो गर्ने हैसियत र हुति ममा रत्तिभर नि छैन। शवयात्रामा हिड्दा महशुश गरेको कुरा मात्रै मलाई डायरी लेखेझैँ लेख्न मन लाग्यो।

मनमा एक खालको श्रद्धा र समावेदना बोकेर उनको शव यात्रामा सामेल हुन कुटीबाट बाहिरिए। र श्रद्धाञ्जली अर्पण गर्दै उनको शव यात्रा नियाल्दै केही घण्टा हिडे म पनि अन्य थुप्रै चिनजानकै साथी, व्यक्तिहरुसँग। जीवनमा पहिलोपल्ट म वरिष्ठ व्यक्तित्वको शब यात्रामा हिड्दै थिए। त्यसअघिका थुप्रै राष्ट्रिय तथा अर्न्तराष्ट्रिय व्यक्तित्वहरुको शवयात्रा सिर्फ टेलिभिजनमार्फत हेरेको याद छ। त्यसैले कस्तो हुँदो हो? के के हुँदो हो? भनेर उत्सुक पनि थिए। विहानैदेखि उनको शव श्रद्धाञ्जली अर्पणको लागि त्रिपुरेश्वर स्थित रंगशालामा राखिएको थियो। तीन तीन वटा लाइन, त्यसमाथि पनि एकदमै लामो भएपछि एकैचोटि शव यात्रामै मिसिने निधो गर्यौ केही साथीहरुसँग। त्यही अनुरुप सुन्धारातिर लाग्यौँ हामी। सडकैभरि शवयात्रा पर्खेर बसेका मान्छेका हूल। आकाशे पुलमाथि टनाटन मान्छेहरु। २ बजेदेखि शवयात्रा शुरु गर्ने भनिएअनुरुप हामी त्यहाँ पुग्यौँ। चहलपहल नियाल्दै शवयात्रामा मिसिन आतुर थियौँ। पर्खदा पर्खदा बल्ल बल्ल हल्लाखल्लासहित नेपाली काँग्रेसको झण्डा फहराएर मान्छेको भीड हामीतिर आयो। अव्यवस्थित र चर्को नारा जुलुससहित उनीहरु अगाडि बढ्दै गए। त्यो भीड टुंगियो। केही दुरीमा पुनः अर्को त्यस्तै भीड आयो। त्यो भीड पनि सकिएपछि बल्ल शव वाहन आएको संकेत मिल्यो। केही सुरक्षाकर्मीहरु र अलिक बढी कार्यकर्ताहरुको बिचमा घेरिएर शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको शववाहन देखा पर्यो। शव वाहनको पछाडिपटि्ट नेपाली काँग्रेसका चर्चित नेताहरु विजय जुलुसमा निस्किए सरह सडक वरपरका मान्छेहरुलाई हात हल्लाइरहेका थिए। शव वाहन पछि-पछि पार्टीको झण्डा र विभिन्न व्यानरहरुसहितका मान्छेहरुको लामै लर्को र चर्को नारा घन्किरहेथ्यो।

शववाहन अघिका लर्कोमा पनि चर्को स्वरले नारा लाउदै थिए। शववाहन पछिका लर्कोमा पनि नाराको चर्को आवाज थियो। हामी अलि पछिल्तिरको भीडमा मिसियौँ र शवयात्रामा अघि बढ्यौँ। त्यो यात्रामा हिडिरहँदा त्यहाँको माहोलले मलाई रत्ति भर पनि लागेन कि म विशेष व्यक्तिको शव यात्रामा हिडिरहेछु। पार्टीको नारा त्यसमाथि पनि उत्सब मनाइरहेझैँ गरी कार्यकर्ताहरुको हो हल्लाले गिरिजाबाबुको शवयात्रा हैन विजय यात्रामा हिडेझैँ भान हुन्थ्यो। "गिरिजाबाबुः प्राण भन्दा प्यारो छ", "गिरिजाबाबुको अभियानः शान्ति र संविधान", "नेपाली काँग्रेसः जिन्दावाद", "गिरिजाबाबुः अमर रहून्", "गिरिजाबाबु के भन्छः संविधान ले भन्छ" जस्ता नारा निकै घन्किरहेथ्यो। ती नाराहरुको आफ्नै महत्व र स्थान होला तर शव यात्रा र ती हल्लाखल्ला, नाराबीच तालमेल मिलेझैँ लागेन मलाई। शव यात्रामा फूल चढाउने वा धुपबत्ती बालेर उनको चिर शान्तिको कामना गर्नुको सट्टा होहल्ला र नारामै वरपरका मान्छेको ध्यान केन्द्रित भएको थियो। त्यस्तो नारा र हल्लाले अन्य विधा, दल तथा स्वतन्त्र व्यक्तिहरुलाई शव यात्रामा हिड्नु भन्दा सडक किनारमै बसेर रमिते बन्नमा आफूलाई सहज महशुश भएझैँ पनि लाग्थ्यो (सायद मेरो सोचाई र बुझाई एकतर्फी मात्रै पनि हुनसक्छ। तर केही व्यक्तिहरुले ती चर्को नारा र उत्तेजनालाई पटक्कै रुचाइरहेका थिएनन्।)। यद्यपि शव यात्रुहरुको लर्को लामै थियो। र बीचबाट निस्किने र थपिने क्रम पनि उत्तिकै थियो। तर मौन रुपमा फूल, धुपबत्तीसहित शव यात्रा गरेको भए शवयात्रा साँच्चिकै शवयात्राझैँ लाग्थ्यो कि? पूरै देश शोकमा डुबेको सन्दर्भलाई क्षणक्षणमा सञ्चारमाध्यमले फुकीरहँदा, देखाइरहँदा त्यो शव यात्राको माहोल भने बेग्लै थियो। युवाहरुको जमात उत्साहित भएर चर्को नारा फलाक्दै हिड्नमै मस्त थिए।

शव यात्रीहरुलाई फूलको सट्टा पानीले छ्यापीरहेका थिए एताउताका घरहरुमा उभिएका मान्छेहरुले। कोही निथ्ररुक्क भिजेर हिडिरहेका थिए। कोही पानी नफाल्न आग्रह गर्दै हिडिरहेका थिए। कोही घरका झ्याल वा छटहरुबाटै पानी फालीदिन आग्रह गरेर पानी पिउँदै हिडिरहेका थिए। शवयात्रा पुतलीसडकबाट डिल्लीबजार लाग्दा साँझको पाँच बजीसकेको थियो। तैपनि आसपासका घरहरुबाट पानीको वर्षा रोकिएको थिएन। बाटो हिलो थियो। होली पर्वको उत्सब हो कि झैँ लाग्थ्यो। उप्रान्त देश र जनताले गुमाएको कुरा भीडलाई नियाल्दा झल्किदैनथ्यो। न त शव वाहन गाडीलाई हेर्दा नै लाग्थ्यो। शव यात्रुहरुको ठुलै भीड लागेको थियो। तैपनि शव यात्रुहरुलाई व्यवस्थित गर्ने कुनै पनि व्यवस्था गरिएको थिएन। सुरक्षाकर्मीहरु थोरै मात्रामा खटिएका थिए। शववाहन आसपास केही हदसम्म सुरक्षा प्रदान गरिए पनि अरुतिर भने अनियन्त्रित र खुला नै छाडिएको थियो। पुतलीसडक पुगेदेखि हाम्रो टोली तितरबितर भयौँ। मपनि मैतीदेवी पुगेपछि घरैमा बसेर लाइभ हेर्नु उपयुक्त हुन्छ अब भन्ठान्दै कुटीतरि लागे। तर बिडम्बना ६ बजे नै बिजुली बत्ती सुतेछ। विशिष्ठ पहिचान बोकेका एक कुशल राजनीतिज्ञको अन्त्येष्ठिको जानकारी मोबाइलमा रहेको एफएम रेडियोको माध्यमबाट सुन्दै बसे। प्रत्यक्ष हेर्न नपाएको थकथक भने छँदैनै छ यो मनमा। त्यो भीडमा सकीनसकी खिचेका केही तस्बीर हेरौँ
बागबजार हुँदै पुलतीसडकतर्फ जाँदै शवयात्रीहरु।

शव यात्रीहरु नारा लगाउँदै। बोकिएको ब्यानरमा स्वर्गीय गिरिजाप्रसादको थर नै गलत लेखिएको छ। सायद हतारमा त्यसो भएको हुनसक्छ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शववाहन।

शववाहनमाथि काँग्रेसका तीन नेताहरु उभिएर हात हल्लाउदै हल्लाउँदै वरपरका भीडसँग जोडिन खोज्दै थिए सायद।


पुतलीसडकदेखि डिल्लीबजार उकालोतर्फ जाँदै शव यात्रीहरु। जहाँ सडक भिजेको प्रष्टै देखिन्छ।

Friday, January 29, 2010

Be Positive यार !

हाम्रो सोझो बुझाईमा बिजुलीले बिश्राम लिएको अवस्था लोडसेडिङ हो। आफूलाई पायक पर्नेगरी लोडसेडिङको तालिका खोजेर टाँसे दुईहप्ता अघि। त्यसको अर्को हप्ता लाग्दा नलाग्दै फेरी त्यसको सट्टामा नयाँ तालिका आयो। त्यसलाई टाँस्नै पर्यो। फेरी यो हप्ता नसकिदै त्यसको सट्टा नयाँ तालिका आयो। छलाङ मार्दै प्रगति पथमा लम्कीरहेछ लोडसेडिङ। उसको प्रगतिमा साथ दिनलाई पनि त सकभर नयाँ नयाँ तालिका टाँसेर गमक्क पर्नैपर्यो। अब झन् लोडसेडिङलाई टेवा दिनसक्ने सुक्खा मौसम पनि आउँदैछ। मैले काम गर्ने ठाउँमा हिजो (२-४) र आज (३-५) गरी जम्मा २-२ घण्टा बिजुली चल्छ। बाँकी समय बिजुलीले पूरै बिश्राम लिन्छ। निदाउँछ। उसो त हामी पनि २४ घण्टामा ८-९ घण्टा या केही घटबढ गरेर निदाउँछौ। आराम लिन्छौ। त्यसैले बिजुलीको पनि आराम लिने अधिकार छ। उसको यो अधिकारमा हामी मानिसले किन व्यर्थैमा टाउँको रिङगाउने। भलै २४ घण्टामा २४ घण्टा किन बिश्राम नलियोस्। टाउँको रिङ्गाएर हुनेवाला केही छैन।

अब मृल्यबृद्धि। १० वर्ष अघि म काठमाडौ छिरे। उसबेला ३ रुपैयाँमा सार्वजनिक गाडी चढेको याद छ मलाई। आजसम्म आइपुग्दा न्यूनतम मात्रै १२ रुपैयाँ त भएको छ नि। उसबेला ४५० मा ग्यास उपलब्ध थियो। आजको दिनमा १२५० मात्रै पुगेको छ। गएको २ वर्षभित्रै खाद्य पदार्थ वा तरकारीदेखि लिएर अन्य उपभोग्य बस्तु, डेरा भाडालगायत सबैमा ह्वात्तै मूल्यबृद्धि हुँदा किन जंगिनु ब्यर्थैमा। हाम्रो आयस्रोतमा बृद्धि नभएर के भो र उपभोग्य संस्कृतिमा त बृद्धि भएकै छ नि। त्यहीमाथि यो त ती तत्वहरुको प्रगति नै हो। हाम्रो पक्षमा तत्वहरुको प्रगति नभएर के भो त। बेलाबेलामा कृतिम या साँच्चैको अभाव भइदिएपनि जसोतसोगरी फेरी उपलब्ध भइहाल्छन् आखिरी।

बिजुलीले विश्राम लिएकै मौकामा हिजो (१४ माघ)को Republica Daily मा आँखा डुलाउँदै थिए। एउटा नमूना फेला पारे। महिनादिनमा कन्स्ट्रक्सनको सामग्री- सीमेन्टको भाउ १८-३२ प्रतिशत बढेको र रडको भाउ २२ प्रतिशत बढेको छ। डिसेम्बर २००९ र जनवरी २०१० को तुलनात्मक हिसाबकिताब हो यो। यो मृल्यबृद्धिको तीब्र प्रगतिलाई 'अग्रगामी छलाङ' नभने के भन्ने त खै? फेरि चीजबीजलाई मात्रै किन र के को हुट्‌हुटी नि हामीलाई चाहिएकै बेलामा सजिलै अनि कम मूल्यमै उपलब्ध हुनलाई। तिनले कस्को बाउँके के खाइदेका थिए र?

फेरी काठमाडौ टेकेकै बेलाको कुरा कोट्याउँछु। उसबेला सडक किनार किनारमा बडेबडेमानका रुखहरु थिए। हरियोपरियो थियो। बाटोघाटो सफा थिए अहिलेको तुलनामा। बाग्मतिकै पानी पनि तुलनात्मक रुपमा सङ्लो बग्थ्यो। फोहोरका डंगुरहरु कम हुन्थे। घरहरु कम थिए। अब अहिले त सडकमा धूवाँ धूलोको मात्रा बढेको छ। रुखहरु मासिए। कतैकतै बाटोघाटोको आकार बढेपनि सवारी साधनको चाप त्योभन्दा बेसी नै बढेको छ। ईँटा थुपारेझै घरहरु बनीसके। अझै बन्दैछन्। तैपनि ती कुनै पनि घर होलोखोकुला छैनन्। खाली हुने कुरा त कल्पानाबाहिरकै कुरा। बहालवालाहरुले कोठासमेत पाउँन मुश्किल छ। यी सबैकुराले गर्दा अरु के के प्रगति भयो भन्ने थुप्रै लेखाजोखा गर्न सकिन्छ होला। अहिलेको प्रसंगमा यो टाँसोको लागि चाहिँ प्रदुषणको प्रगति नै सान्दर्भिक देख्छु। गतिवान् भइ प्रगति गरेकोमा बधाई छ प्रदुषणलाई।

हामीकहाँ आजकाल एकदमै 'छलाङ' मार्दै अझ भनु न 'बुर्कुसी' मार्दै प्रगति पथमा अघि बढिरहेका पक्ष वा तत्वहरु धेरै छन्। माथि भनेकाजस्तै थुप्रै तत्वहरु छन् हामीसँग। हाम्रै वरपर। त्यसैले ती र त्यस्ता अग्रगामी तत्वहरुको छलाङ साँच्चै नै पल पल अनुभूत गर्न सकिन्छ। किनकी यस्ता कुराहरुसँग हाम्रो अटुट सम्बन्ध छ। साधारणतयः मानव सम्भयतासँग गाँसिएका हरेक पक्षहरुमा मापनयोग्य वा प्रष्ट खालको सकारात्मक परिवर्तन वा सफलतालगायतका सन्दर्भमा छलाङ मारेको भन्ने गरिन्छ। यो पनि सफलताकै सन्दर्भ हो। तर मानव या मानव सभ्यताको सफलता भन्दा अलि बेग्लै प्रसंगमा। यो मानव कार्यको सहजताको लागि सँधै घोटिदै आएका तत्वहरुले मारेको छलाङको कुरा हो। त्यसैले तिनको प्रगतिप्रति हामी खुशी हुनैपर्ने बाध्यता छ। नभएमा आफ्नै मुहारमा थप चाउरी पर्ने प्रवल सम्भावना भन्दा पनि पक्का नै छ। आखिरमा यो भनेका ती तत्वहरुको अग्रगामी छलाङ र प्रगतिका चिन्हहरु हुन्। लोडसेडिङ बढ्यो। यो लोडसेडिङको प्रगति हो। मूल्यबृद्धि बढ्यो। यो पनि मूल्यबृद्धिकै प्रगति हो। प्रदुषण बढ्यो। यो पनि उही त हो। हामीले यस्ता कुराहरुसँग प्रतिस्पर्धा गरेकै हैनौ। अनि के को खस्‌खस्‌। भलै त्यो प्रगति हाम्रो हैन। त्यो छलाङ हाम्रो पक्षमा छैन। तैपनि बी पोजिटिभ यार। आखिर प्रगति भनेको प्रगति नै त हो नि!

Friday, December 25, 2009

Kid आजकाल

एकाबिहानै निद्रामै मैले भने 'हेलो'।
'गुड मर्निङ फूफू। तपाई मेरो बर्थ डेमा आउनु है जसरी पनि' एकदमै टठिलो र तिखो स्वर कानमा पर्यो।
'कहिले?'
'पुसको इलाभेन गते हो नि मेरो बर्थ डे। तपाईले बिर्सिनु भयो कि क्या हो? त्यो दिन भोली हो, स्याटर्डे। पक्का आउनु है। तपाईलाई बाई अरुलाई पनि बोलाउँछु म।'

भदाको फोनले मलाई ब्युझाएन मात्रै। सोचमग्न पार्यो। घडी हेर्दा साढे पाँच बजेको थियो। आजकाल त त्यत्तिबेला सम्म राती नै हुन्छ। त्यहीमाथि जाडोको याम छ। काम नभएसम्म न्यायो सिरक छाडेर उठ्ने जाँगरै चल्दैन। यो केटाले चाहिँ सबैलाई जगाउँन अनि निम्तो दिन भ्याइसकेछ। अचम्म!

ऊ भोलीदेखि ४ वर्ष नाघेर पाँच वर्षमा लाग्दैछ। उसको नाम सक्षम हो। उसैले मोबाइल फोनबाट दिएको निम्तोको कुरा गर्दैछु म। साँच्चै मैले त भदाको जन्मदिन बिर्सिएको रहेछु। यद्यपि हरेक साल उसको जन्मदिनमा हामी सामान्य रुपमा भेला भएर मनाउँदै आएका थियौँ। र ऊ जन्मेको पनि हिजै हो जस्तो लाग्छ सम्झँदाखेरी। तरपनि उ त हेर्दाहेर्दै ठूलो भइसकेछ। आजकालको माहौललाई बुझ्ने भइसकेछ। ए बा !

मेरो बाल्यकाल सम्झँदा मैले ४ या ५ सालको हुँदाखेरी के के गर्थे। कसरी सोच्थे। मलाई एकरत्ति याद छैन। त्यसभन्दा धेरै पछिसम्म पनि मलाई धेरैजसो कुराबारेमा ज्ञान थिएन। साह्रै लद्‌दु भएर होला। अहिलेका बच्चाहरुमा देखिने Understanding, smartness, cleaverness देख्दा म दंग पर्छु। अनि जमानाअनुसारको हुनैपर्यो नि भन्ने लाग्छ। किनकी उनीहरुको जमाना बढी प्रतिस्पर्धात्मक, रफ्तारको र सृजनात्मक हुन्छ अवश्य पनि हाम्रो भन्दा। त्यसबेला झनै Survival of the Fitest को माहौलमा टिक्नु जो पर्नेछ।

खासगरी यो कुरा यहाँ ठेल्नयोग्य लाग्नुमा एउटा कारण छ। पोहोर साल नै दाजुले भन्नुभएको थियो कि 'अब हाम्रो तर्फबाट यहि सालसम्म मात्रै हो। सक्षम आफैले पहल गर्न सक्ने भएपछि जे सुकै गरोस्'। दाईको आसयमा हामी सबैले सहमति जनाएका थियौँ। र सबैजनाले यो वर्ष वर्थ डे भनेर मनाइने छैन भन्ने बुझाई राखेका थियौँ। त्यसै पनि यो वर्थ डे, एनिभर्सरीलगायतका कुराहरु मान्नेप्रति मेरो जोड रहँदैन। र मानाउँनैपर्ने संस्कृति पनि हो जस्तो लागेको छैन यतिञ्जेलसम्म। तर पुस्तान्तरको क्रममा आफ्ना यथावत् रहेका सोच र व्यवहारमा पनि अन्तर ल्याउँनुपर्ने र अपडेट गर्नैपर्ने अवस्था आइपर्ने रहेछ।

दाईको आसय जे थियो त्यसलाई सक्षमले बुझेरै यो पल्ट आफ्नो बर्थ डे मनाउँन ऊ आफै पहल गर्न थालेछ। सक्षमलाई दाईको आसयको बारेमा थाहा छ/छैन। तर ऊ आफैले पहल गरेर यो पालीको उसको वर्थ डे मनाउनै पर्ने भएको छ। भाउजुसँग कुरा गर्दा अझ बढी कुरा थाहा भयो। आमा बाबा भन्दा अगाडि उठेर आफ्नो स्मरणलाई ताजा पार्नलाई अघिल्लो अघिल्लो वर्षहरुमा मनाएको वर्थ डेको फोटो हेरेछ सक्षमले। त्यसपछि यो पालीको तयारीमा जुटेछ केटो। उसले दुईटा शर्त राखेछः पहिलो आफूले जो जो नाम दिन्छ सबैलाई बोलाउँने। दोस्रो उनीहरुको नम्बर र मोबाइल उपलब्ध गराउने। अनि त भट्टाभट फोन गर्दै वर्थ डे मनाउँने तरखरमा लागेछ सक्षम।

अब सक्षमले कुरा मिलाएरै छाड्यो। अझ भनौ न आफ्नै पहलमा आफ्नो बूताले भ्याएसम्म पहल गरेर आमा बाबालाई आफ्नो वर्थ डे मनाउँनु पर्ने कुरामा सहर्ष खुशी पारे। उनको साथीभाई सबै सक्षमको वर्थ डेमा जाने भनेर फुरुङ्ग। सक्षम आफै असाध्यै खुशी भएर फुर्तिलो बनेको छ। अर्कोतिर पोहोर साल सक्षमको बाबाले निर्क्यौल गरेको धारणा पनि एक हदसम्म पूरा भएकै छ। 'That's the spirit' भनु जस्तो सक्षमको कुरा सुन्दा म केही हर्षित भए। केही सतर्क पनि। यति सानै उमेरमा आफुले भनेको र चिताएको कुरा पुर्याउँनलाई देखाएको जागरुकता र ढिपीलाई लिएर सायद खुशी नै हुनुपर्छ होला अभिभावक वर्गले। त्यसैले मलाई यो प्रसंगमा भन्न मन लाग्यो 'वाह्‌! Kid आजकाल'।

अन्तमा सक्षमलाई जन्मदिनको धेरै धेरै शुभकामना। उनको चाहना, इच्छा पूरा होऊन्। भविष्य राम्रो होस्।
(माथिको तस्बीरमा अघिल्लो जन्मदिनको अवसरमा केक खाँदै उनै भोलीको Birthday Boy सक्षम)

Thursday, December 17, 2009

१ मिनेटको बहानामा उत्सब

'पुरै १ मिनेट किन बढाएको? १ मिनेटमा यहाँ एउटा फिल्म बन्छ।' वाफरे १ मिनेटको पनि यत्रो महत्व?

राष्ट्रिय सभा गृह हलभित्र १३ डिसेम्बर साँझ 'The Devotion of Matthieu Ricard' (67 min, Netherlands, 2008)फिल्म हेर्न छिर्यौँ हामी। ६७ मिनेटको फिल्मलाई साथी (सागर)ले ६८ मिनेट भनेर पढेपछि छेवैको अर्को साथीले यस्तो प्रतिक्रिया दियो । भर्खरै 7th Kathmandu International Film Festival (KIMFF) 2009 सकियो। त्यही फेस्टिभलको फिल्म हेर्दाहेर्दैको प्रसंग थियो यो। समयको हिसाब गर्दा ४ मिनेट २० सेकेण्ड देखि १०८ मिनेटसम्मको फिल्म थिए त्यहाँ । खैर, यो टाँसोमा उक्त फेष्टिभलको हैन, 1 Minute Documentary Film Fest को कुरा राख्छु। Documentary for Social Transformation (DOST)ले उक्त फेष्टिभलको आयोजना गर्यो। समूहमा सचिन, सागर, रुख, श्रीधर, जानुका, रुपलगायतका साथीहरु सक्रिय रहे।


साथीहरुलाई १ मिनेटवाला फेष्टिभलको रन्को चढेको थियो सभा गृहमा फिल्म हेरिरहँदा। केही नयाँ, केही चुनौतिपूर्ण रमाइलोपनाको खोजीमा रमाउने र आ-आफ्नै क्षेत्रमा सक्रिय रहेका युवा साथीहरुले यो फेष्टिभल गर्ने विचार फुर्‍याउँदा म आफैसँग घोत्लिएको थिए। कस्तो चाहिँ होला है? परिक्षण र सिकाइको रुपमा लिएर जाने निधो गरे साथीहरुले। भन्दैथिए साथीहरु, यो फेष्टिभलमा रुचि भएकाहरु जो पनि बोर्ड मेम्बर, जो पनि फिल्म मेकर र जो पनि दर्शक तथा विश्लेषक बन्ने हो, तर फिल्मको कन्टेन्ट १ मिनेटभन्दा धेरै हुनुहुन्न। त्यो भन्दा कम भए नि हुन्छ। यसमा सबैको सहमति भयो र फेस्टिभल गर्ने दिन जुर्यो- १७ डिसेम्बर। फिल्म फेष्टिभलको लागि मार्टिन चौतारीले जम्मा हुने थलो र फिल्म स्क्रिनिङको निशुल्क जोहो गरिदियो । फेस्टिभलको लागि जुटेका साथीहरु यो experimental work हो let's see भन्ने जोशमा थिए। अन्य धेरैलाई अनौठो लाग्यो। केहीलाई भने पत्यारै लागेन।

मात्रै १ मिनेटको डकुमेन्टी? लौ कसरी? जानकारी पाएपछि धेरैले यसबारेमा सोधखोज गरे। उपत्यकाभित्र र बाहिरबाट मात्र हैन देश बाहिरबाट पनि इमेलमार्फत साधेनी भएको थियो। फिल्म या डकुमेन्टी बन्नलाई कुन कुन कुरा जरुरी छ, कुन कुन पक्षको संयोजन हुनुपर्छ भन्ने कुरातर्फ ध्यान नदिइकन, कुनैपनि खालको औपचारिक प्रक्रियामा नछिरिकन, आफूसँग भएको प्रविधिसँग खेल्दै खुबी प्रदर्शन गर्ने र रुचिकर सिकारु तथा पोख्त भइसकेकाहरुलाई समेत मात्रै १ मिनेटको फिल्म मेकिङद्वारा सानो जमघट हुने मौका मिल्यो। जम्मा २४ वटा डकुमेन्टी फिल्म प्रदर्शन भए। दर्शकहरु पनि जिज्ञासु भावमा थुप्रै संख्यामा उपस्थित भए।

अब लागौ २४ वटा फिल्मतिर। रुप कुमार विकेको 'Das Deusi'ले जर्मनी भाषामा देउसी खेलेर जर्मनीतिरै जाने युवाहरु इच्छा व्यक्त गरेको थियो। विकेकानुसार Das भनेको जर्मनीमा the हो। तर एकजना दर्शकले फिल्म हेरेपछि भने 'देउसी पनि दास बनेछ'। सचिन घिमिरेको छुवाछुतसम्बन्धी 'लाज नभएको मान्छे' र जर्मनमा रामकृष्ण भजन गाएर हिडेको रमाइलो 'Ramkrishne in Germany'को दृश्यकथा हो। खेलकुद र खानाको प्रभाव पढाईमा पनि पर्छ भन्ने
सन्देश लिएर 'बालबालिकाहरुमा खेलकुद र खानाले पार्ने प्रभाव' मार्फत् १३ वर्षे अभिनाश अर्याल आए। परम्परागत नेपाली समाजमा एउटा घर, परिवार, अन्नबाली, पशुपंक्षी, बाटोघाटो भए जीवन सम्पन्न हुन्छ भन्दै 'The Rich' लिएर विश्व दर्शन नेपाल देखा परे। त्रिविको केन्द्रिय पुस्तकालय छेउ भाँडा माझेर गुजारा गर्ने बालकको कथा 'To Whom it May Concern'मा समेटेर प्रकाश लुईटेलले सटिक व्यङ्ग गरे। समीर कुमार जोशीले लागू पदार्थ प्रयोगकर्ताको नियतिलाई 'मन्द विषको गुलाम'मा कैद गरेका छन्।

उज्जवल ढुंगानाको 'हामी: Barbarism'ले निर्ममतापूर्वक पशु काट्ने/मार्ने र खाने हामी मानवको स्वभाव र परम्परालाई उनेको छ। यो फिल्ममा देखाइएको दृश्यले दर्शक, फिल्म मेकर र आयोजकबीच Film Making ethics बारे बहस समेत चलायो। सवारी दुर्घटनासम्बन्धी प्रतिकार कार्की र कला पौडेलको 'जोशमा गुमाएको होस्‌', १० वर्षिया ऋद्धिका थापाले आफ्नो वरपरका दृश्यलाई 'My Eye' शीर्षकको Photometry मा सजाए। त्यस्तैगरी श्रीधर न्यौपानेको 'त्रास' र 'Torture' गणेश थापा- जर्ज दाईको 'जब' र '?', रघुबर नेपालको 'Towards' र 'भोटे दाईको डोको', अभिनाश विक्रम शाहको
'Memories of a Sparrow', दिपेश घिमिरेको 'निरन्तर', प्रताप अधिकारीको 'क्लाइमेट चेन्ज इन नेपाल', शिवशरण कोइरालाको 'मेरो कथा', विकास प्रधानको 'One heart One people', राजेन्द्र महर्जनको 'स्कूलपेटी छेउ' नामक नेपाली डकुमेन्ट्री फिल्महरु प्रदर्शन भए। भारतका २ वटा 'Dhannobiti' (Ayesha Maria Mualla, India) र 'General Compartment' (Shilpi Gulati and Sharanya Gautam, India)नामक डकुमेन्ट्री पनि प्रदर्शन भए।

फिल्म प्रदर्शन र छलफलपश्चात मार्टिन चौतारीमा फिल्मसम्बन्धी अनुसन्धानरत अनुभव अजीतले आफ्नो छोटो विश्लेषणात्मक विचार राखे। युवाहरुको जमातले यही फेष्टिभलमा अर्को एउटा प्रदर्शन पनि गरे- कला प्रदर्शन। मार्टिन चौतारीको बगैचाभरि ठेचोका ५ जना युवा कलाकारहरुको विविध चित्रहरु राखिएको थियो। ती चित्रहरु मनमोहक र सुन्दर थिए। साँच्चै एउटा रचनात्मक उत्सब नै भयो।

अब फेरी फिल्मकै कुरातर्फ लागौ। मार्टिन चौतारीको हल दर्शकले खचाखच भरिएको थियो। प्रत्येक फिल्म हेर्दा एक खालको विषयवस्तु र मनोरञ्जन त छँदैथियो। फिल्म हेरिसकेपछिको अन्तरक्रियामा दर्शक र फिल्म मेकर दुबैको दृष्टिकोण पनि उजागर भयो। केही डकुमेन्ट्रीले १ मिनेटको समयावधिमा देखाउँन खोजेको कुरा स्पष्टसँग देखाएको थियो भने केहीले विषयको थालनी मात्रै गरेझैँ लाग्थ्यो। तैपनि १ मिनेटको डकुमेन्ट्री कस्तो हुँदो हो? भन्ने जिज्ञासालाई यो फेष्टिभलले परिपूर्ति गर्यो। प्रत्येक फिल्म सकेपछि बीचबीचमा भएको मत मतान्तर र भिन्न भिन्न दृष्टिकोणले उपस्थित दर्शक र फिल्म मेकर अनि DOST समूहलाई समेत एउटा पाठ भयो।

फिल्म मेकर १० वर्षे ऋद्धिका थापा, १३ वर्षे अभिनाश अर्याल, संसारकै छोटो फिल्म 'त्रास', नेपालमा बनेको जर्मनी फिल्म 'Das Deusi' र नेपालीले बनाएको जर्मनी फिल्म 'Ramkrishne in Germani'लगायतका कुरालाई लिएर DOST समूह फुरुङ्ग थियो। साथै फेष्टिभल सम्पन्न भएपछि १ मिनेटको फिल्म फेष्टिभलको मर्म मर्न नदिने हौसला प्रदान भएको अनुभव गर्दै उत्साहित पनि देखिए। केही नयाँपन, केही फरक स्वादको खोजीमा रहेका युवाहरुको स्वतस्फुर्त एउटा प्रयास हो यो फेष्टिभल। जुन खर्चको हिसाबले किफायती र पूर्ण रुपमा व्यक्तिको रुचि र तत्परतामा भर पर्ने सामूहिक कार्यको नमूना मान्न सकिन्छ।

यो फेष्टिभलको निरन्तरता हुने नहुने, यसले कुन रुपधारण गर्ने या नगर्ने भन्ने जस्ता आगामी कुनै योजना छैन। तर फेष्टिभल सम्पन्न भइसकेपछि DOST का साथीहरु थप उत्साहित भएको पाए। नाम कहलिएका, सबैले मानेका र धेरै खर्चमा सम्पन्न हुने त्यस्ता फेस्टिभलका सामुन्ने यो फेस्टिभलको ठाउँ कही नहरला। तर १ मिनेटको डकुमेन्ट्री बनाउँनु आफैमा निकै नै अप्ठ्यारो र साँघुरो काम हो। सबै अवस्थामा लागू नभएपनि आफूले भन्न या लेख्न खोजेको कुरा ६० शब्दमा प्रष्ट भन्नु र १ मिनेटमा एउटा कथावस्तु समेट्नु खँदिलो सृजना गर्नु हो। कतिपय अवस्थामा दबाबपूर्ण कार्य पनि हुन जान्छ सायद। यस्ता सृजना सबैले सँधै गर्न सक्ने कमै हुन्छ। र सबैमा लागू हुन्छ भन्ने पनि हुन्न।

'लामा लामा डकुमेन्ट्री हेरेर अघाएकाहरुलाई भोक जगाउने काम पनि हो' हलभित्र फिल्म हेर्दाहेर्दै एकजना दर्शकले आफ्नो विचार यसरी राखेका थिए। समयको महत्वलाई बुझ्दै, आफ्नो सृजनशीलतालाई एकआपसमा बाँड्ने, प्रतिक्रिया-सुझाब लेनदेन गर्ने र सृजनालाई निखार्ने र चलिआएको चलनभित्रै नयाँपन खोज्दै आफ्नो कार्यक्षमता देखाउने एउटा अभ्यासको रुपमा मैले यो फेष्टिभललाई लिए। यसको निरन्तरताको लागि थुप्रै कुराहरु हुनुपर्ने र तिनले थुप्रै पाटाहरु समेट्नुपर्ने, सिक्नुपर्ने बाध्यता र खाँचो पनि छ। त्यसको बाबजुद निरन्तरताको अपेक्षा गर्ने लोभ भने जगाएको छ। हरेक experimental workको अविध छोटो भएकै जाती। र त्यस्ता केही रुचिकर र राम्रा परिक्षण कार्य पाकोपनतिर लम्केकै राम्रो।