Thursday, March 06, 2008

मोजमस्ती, युवा जनजाति अनि शिवरात्री

२ दिन अघिको कुरो, बेलुकीको ७ बजेतिर डेरा नजिकैको छिमेकी घरमा लोड सेडिङको बेला टोलै उज्यालो हुनेगरी आगो बल्यो । कतै आगलागी पो भयो कि भन्ने शंका पलायो र त्यतैतिर चासो मोडियो । आँगनको एक छेउमा चाङ लागेको वियरको कार्टुन र मासुका परिकारमा आँखा पुग्यो । हेर्दाहेर्दै एकपछि अर्को गर्दै मोटरसाइकलबाट युवाहरु ओइरिन थाले । लगभग ३०-३५ जनाको समूहमा प्रायजसो मंगोल अनुहारमा सिफ एक महिला अनुहार । साथमा गिटार र निर्धक्कसँग गीत गाइरहेका थिए । वरपरका कैयौँ छिमेकीहरुको निद्रा खोसेर, एसएलसीको तयारीमा जुटेका विद्यार्थीको माझमा विहानको ४ बजीसक्दासम्म पनि मोजमस्तीको क्रम जारी हुँदा लाग्यो 'क्या हदैसम्मको बिन्दास पारा' । अनि यो कुराले मेरो डायरीमा स्थान पाइकनै छाड्‍यो ।

गाउँमा हुँदा त थाहा थिएन । शहरको वातावरणमा घुलमिल हुने क्रममा धरानमा शिवरात्रीको दिन घरघरबाट दाउरा बटुलेर आगो बालेर आलु पोल्दै खाने चलन दिमागमा ताजै छ । आगोको राप र उज्यालोले त्यही कुराको स्मरण पनि भयो । रातभरको अनिँदोमा नयाँ पत्रिकामा छापिएको 'सन्तानको जीवन सहज बनाएर उनीहरुलाई परनिर्भर नबनाउनुहोस्' भन्ने रोबर्ट ए. हेनलेनको भनाई पढ्‍दा निकै घत पर्‍यो । नेपालमा जन्मिएर विदेशतिरै हुर्के बढेका ती युवाको चासो मोजमस्ती र घुमघाममा भन्दा अन्यत्र पर्दै परेन । देशमा चलिरहेको विभिन्न आन्दोलन, बन्द, हडताल, चुनावी माहौल र त्यसले सृजना गरेको सकारात्मक र नकारात्मक स्थितिभित्रै भएपनि उनले त्यसको स्वाद चाखेनन् । न त त्यसप्रति कुनै चासो नै राखे । घुमफिर र मोजमस्तीको लागि भनेरै लाख रुपैयाँको व्यवस्था उतैबाट अभिभावकले गरिदिएकाले पनि उनको मनोकामना पुरा भयो ।

नेपालकै विभिन्न गाउँठाउँका अत्यन्तै पिछडिएका आदिवासी जनजातिहरु, आर्थिक आयआर्जनकै लागि दिनदिनै विदेशिने युवा, अहिलेको संविधानसभामा आफ्नो हकहितको सुनिश्चितताको लागि दौडधुप गर्ने समुह, विभिन्न कुराको अभाव झेल्दै विहान-बेलुकी छाक टार्नमै व्यस्त आम नेपाली । यी सब कुरादेखि कोषौ टाढा रहेका ती युवा खानदानी व्यापारी या कुनै ठूलै पद ओगट्ने खलक हैनन् । पूर्वी नेपालका भूपू सैनिकका सन्तान हुन् । यहाँ प्रसङ्गबस अभिभावकको आडमा मस्तीमा रमाउँने जनजाति समुदायका युवा वर्गको वास्तविक पात्रका प्रतीक बन्न पुगेका छन् उनी ।

अनेकौ हण्डर खेप्दै जीवन भोगेका अभिभावकले आफ्नो सन्तानले कुनैपनि खालको दु:ख र कष्ट भोग्न नपरोस भन्ने सोच्नु, सन्तानको खुशी पुरा गर्नु र भविष्य बनाउनको लागि आर्थिक रुपमा सवल बन्नु र बनाउनु सबैको आवश्यकता र चाहना दुवै हो । आर्थिक रुपले सवल भएका अभिभावकहरुले सुख सुविधा भोगको लागि सन्तानले अपनाएको बाटो सही या गलत छ ? विभिन्न आवश्यकता परिपूर्तिको खातिरदारी गर्ने क्रममा सन्तानले के कुरा ग्रहण गरिरहेको छ ? र कुन हदसम्मको आवश्यकताको परिपूर्ति गरिदिनु उचित हुने भन्ने बारेमा सोचविचारै नगरीकन खुरु खुरु पैसा खर्चनु र बढी मात्रामा स्वतन्त्रता दिनु कति उचित हुन्छ ? हिजोसम्म आफैले भोगेर ल्याएको दु:खबाट टाढा राख्ने नाममा देशकाल, परिस्थिति र आम नागरिकको वास्तविक जीवनबाट अनभिज्ञ राख्नु कत्तिको फाइदाजनक छ ? यसबारेमा अभिभावकले सोच्नैपर्छ । साथै सुधिवा भोग गर्न पाउने भाग्यमानी युवा वर्गले पनि सही कुरालाई सही रुपमै सदुपयोग गर्ने बानीको विकास गर्नैपर्ने देखिन्छ ।

पोहोरको शिवरात्रीको दृश्य सम्झँदा मनै सिरिङ्ग हुन्छ । एकाविहानै पशुपति क्षेत्रको दृश्यावलोकन गर्न गइयो । तर त्यहाँबाट टाउको दुख्ने गरी गाँजा, भाङको गन्ध र युवा-युवतीहरुको उदेक लाग्दो चाला दिमागमा बोकेर फर्किनुपर्‍यो । एकातिर धार्मिक आस्था र शिवको तथाकथित महिमा र अर्कोतिर 'शिवजीको प्रसाद' नामक 'जिनिस' खुलेआम सेवन गर्ने सुअवसरको कारण निकै नै भीडभाड लाग्ने गर्छ हरेक साल । यसो नियाल्दाखेरी शिवजीको प्रसाद ग्रहण्मा लिप्त युवा-युवतीहरु (धेरै मात्रामा मंगोल अनुहारका) उही विन्दास शैलीमा देखिन्छन् । मानौ उनीहरुको चरम सन्तुष्टिको विन्दु त्यही जिनिस सेवनपश्चात मिलिरहेको छ । त्यसबाहेक पनि अनेक दृश्य देख्न पाइन्छ । खै यी सबलाई के भन्ने ? नेपाली संस्कृति या संस्कृतिभित्र मलजल गरिएको विकृति ?

1 comment:

tantranet said...

Kailash ko Kuti,Gaun Thaun ko Maya Garneharu ka lagi bisaune chautari jasto lagyo. Maya garne tara kehi nagarne dherai chhan. tinlai ke bhanne? kehi ta garu saathi, milera. hami padhe lekheka sabai saharma aayera gaun nafarkane chalan Sanghia Ganatantra aayepachi antye hunuparchha.
yetti. Netra Acharya