Thursday, March 13, 2008

महिला र फागु पूर्णिमा: पीडादायी VS आनन्ददायी

आज (२९ फागुन) विहान खाना खाएर कामतिर लागे । ठूल्ठूला घरहरुको फेदैफेद गल्ली र गल्छेडा पार गर्दै काममा पुग्नु मेरो दैनिकी नै हो । लोड सेडिङले जुराएको समय भएकोले फुर्सदमा मनमा यसो कुराकानी गुन्दै उन्दै हिड्‍दै थिएँ । एक युवतीको आवाज सुने "मलाई नहान्नु ल" । म झसङ्ग भएँ र अगाडि हेरे । एक हूल केटाकेटी हातमा लोला र पिच्कारी लिएर खेलीरहेका थिएँ । अनि उनीहरुका अभिभावक जस्ता देखिनेहरु बेलुनमा पानी परिदिन सहयोग गर्दैथिए । उनीहरु एकअर्कासँग सोधासोध पनि गर्दैथिए "हान्दिउ ?", "अहिले नहान लोला सकिन्छ अनि कस्ले किनिदिन्छ फेरी ?" । यसो ठम्याए । होली आउनु अझैँ ९ दिन बाँकी छ । मेरो मनमा ढ्‍याङग्रो बज्न सुरु भइहाल्यो । अब होलीको भोलिपल्टमात्रै ढुक्क हुन्छ मन ।

काठमाडौं टेकेको सालदेखि बर्षेनी यो ज्यानले फोहोर पानीसरीको लोला खोपेको खेपेकै छ । त्यो पनि फागु पूर्णिमाको अघिल्लो हप्तादेखि नै । आजको त्यो दृश्यले यो वर्ष फागुभन्दा अगावै खेप्नुपर्ने लोलाको त्रास मनमा जगाइदिइसक्यो । चारैतिर पर्खालले घेरिएको कोठा तथा घरभित्र बसेको अवस्थाभन्दा बाहिर निस्क्यो कि मानसिक तनाव उत्पन्न भइहाल्छ लोला खाइने पीरले । यो समस्या म एक्लो मनुवाको होइन । जतिपनि साथीहरु छन् । सबैमा यो त्रास उत्तिकै व्याप्त छ । त्यसमा पनि खासगरी युवती (केटी) हरुलाई । घरैघरको फेदबाट हिड्‍नुपर्दा त झन् दशा नै लाग्छ । कुनबेला कुन घरको छत या झ्यालबाट हानिने लोलाको निशानामा परिन्छ थाहै हुँदैन । कुन गन्तव्यमा पुग्नलाई कुन मनस्थितिले हिडिराखेको बेला एक्कासी लोला बर्सिदा ठूलै दुर्घटना भएझै मुटुको धड्‍कन बेग हुन्छ र शरीरमा आएर बज्ररिएको लोलाले शरिर आधाआधी भिजाएरै छाड्‍छ ।

महिला भएकै कारणले कैयौँ कष्ट र दु:ख सहनुपर्दा कहिलेकाहीँ लाग्छ, महिला हुनु नै कत्ति बिडम्बना र पीडायुदायी छ हाम्रो समाजमा । त्यस्तैगरी यो फागु पुर्णिमाको सन्दर्भमा पनि एउटा युवतीले भोग्नुपर्ने जति पीडा सायद अरुले भोग्नु पर्दैन होला । म र मेरो दाई या अन्य कुनै पुरुष मित्र सँगै हिडिराखेको बेला पनि ताकी ताकी मेरै शरीरमा लोला बज्ररिने गर्छ । म र मेरो काकी या अन्य कोही पाको महिलासँगै हिड्‍दा पनि मेरै ज्यानमा लोला हानिएको हुन्छ । त्यो लोला आफैले युवती या महिलालाई नै छानेको त पक्कै हैन । आखिर किन त्यस्तो हुन्छ ? यस्तै र अझ यो भन्दा पनि पीडादायी अनुभव अन्य साथीहरुको हुनसक्छ । सायदै होलान् हप्तादिन अघिदेखि दिनदिनै लोला खाइ खाइ मनोरञ्जन लिनेहरु । लोला खाइसकेपछि रीस, पीडा, आक्रोस के के हो के के गज्याङगुजुङ मिसिएको दिल दिमाग मत्थर हुन नपाउँदै फेरी अर्कोतिरबाट लोलाको निशान बन्ने त्यत्तिकै सम्भावना ।

यस्तो परिस्थितिमा पनि केही गर्न नसक्दा लाचार र छट्‍पटी महशुश हुन्र्छ । किनकी यसबारेमा गुनासो र सहयोगको अपिल गर्ने ठाउँ पनि त छैन । सिफ साथीहरुसँग कुराकानी गरेर एकअर्काको पीडा साटासाट गर्‍यो, बस सकियो । हुनेवाला केही छैन । अनि मनमा अनेक प्रश्न उठ्‍छ, चिन्नु न जान्नुको बटुवाहरुलाई लुकी लुकी भएपनि छानी छानी लोला हानेर मजा लिनेहरुप्रति । के साँच्चै नै उनीहरुलाई त्यसो गर्दा स्वर्गीय आनन्द मिल्ला ? त्यस्तै हो भने किन खुलेर अगाडि आउन पनि सक्दैनन् ? दूलोमा लुकेर सिकार ढुक्दै झम्टिँदै खाने खालको प्रवृत्तिलाई के भन्ने ? पीडा र तनाव सम्झेर ल्याउँदा त्यस्ता प्रवृत्ति बोकेकालाई भित्तामा पोष्टर बनाएर टाँग्नेसम्मको रीस उठ्छ । तर त्यो समाधान होइन, सही होइन र बूताबाहिरको कुरो पनि हो भन्ने मलाई थाहा छ । विचरा म बबुरो एक्लैले मन हुडालेर हुने नै के पो हो रहेछ र ? यी र यस्ता अनेक कुराले गर्दा होलीको विशेष दिन आउँदासम्म पानी, रंग र होली पर्वसँगै वितृष्णा जागीसक्छ । थाहा छैन होलीको दिनमै मात्र होली खेलेर रमाइलो गरेको अनुभव कहिले गर्न पाइने हो ?

3 comments:

david santos said...

Thanks for your posting and have a good day.

Administrator,Dummali said...
This comment has been removed by a blog administrator.
Administrator,Dummali said...
This comment has been removed by a blog administrator.