Monday, March 31, 2008

त्यो समय ... गाउँ-गाउँले आफ्नै, परिवेश र मनस्थिति पराइ

अँधेरीघाट (अरुण नदी) पुलको मुखैमा भारी टेकाउँदै भरिया । (फोटोः निशान) ।

कुरो २०५९ साल जेठको । डाक्टरको अनुसार आपा (बुबा)को स्वास्थ्य स्थिति खराब भइसकेको र करिब करिब जीवनको अन्तिम क्षणतर्फ लम्किदै गरेको खबरले मन चिमोट्‍यो । अस्पतालको दौडधुपपश्चात आफ्नै इच्छाले गाउँ जानुभएको आपालाई भेट्‍न बहिनीसँग गाउँ लागियो । पढाइ र काम दुवैको कारणले केही दिनको बिदा लिएर काठमाडौंबाट धरान पुगियो । धरानबाट एकै दिनमा घर पुग्ने योजना लिएर बाटो लाग्यौँ ।

पर्यटकीय क्षेत्र वा मार्ग नभएपनि त्यो रुटको यात्रामा थुप्रै बटुवाहरु भेटिन्छन् । खासगरी जो धनकुटादेखि भोजपुरसम्म व्यापारी 'साहू'को सामान बोकेर पुर्‍याउँछन् । भौगोलिक विकटता, यातायातको अभाव, आर्थिक स्थिति कमजोर, पर्याप्त जग्गाजमिन नहुनु, शिक्षाको कमीजस्ता विभिन्न कारणले पिठ्‍यूमा बडेमानको भारी खेप्दै जीविका धान्नुपर्ने बाध्यता छ ।

यात्राको क्रममा बटुवा (विशेषगरी भारी बोक्दै हिडेका) हरुसँग प्रश्न सोधिहाल्थिन् बहिनी । कोही 'हामी जस्तालाई के थाहा हुनु' भन्दै खुल्न चाहेनन् भने कोही रोबर्टझैँ खुरु खुरु जवाफ दिन्थे अनि हिडिहाल्थे । धनकुटा जिल्लाको तिल्के ओरालो झर्दा नझर्दै खुट्टा खाँदिन थालेकोले टेक्ने लठ्ठी माग्न एउटा पसलमा रोकियौँ । आदरभाव र सत्कार देखाउँदै पसले दाइले अन्य ग्राहकहरुसँग 'वहाँहरु आफ्नै मान्छे हुन्' भन्दै हामीलाई सहयोग गर्नुभो । त्यो देखेर खुशी पनि लाग्यो र अचम्म पनि । बटुवाहरुसँग प्रश्नोत्तरको शिलशिला पुन शुरु गरिन् बहिनीले । अँधेरीघाट पुगेर एक घण्टाजति आराम गरेपछि घर पुग्नलाई धेरै रातपर्ला भन्ने आशंकाले बाटो लाग्यौँ ।

घर पुगेको दुईदिनपछि कामको शिलशिलामा बास्तिमको (माथिल्लो) बाटो हुँदै जिल्ला सदरमुकामतिर हिड्‍यौँ तीन दिदीबहिनी (दिदी, म र बहिनी) । काम सकिएपछि आधादिनमा तल्लो बाटोहुँदै घरतिर फर्कियौँ । शहरको हावापानी र वातावरण्ाको करामत पनि होला, ज्यान निकै थाकेको थियो भने खुट्टाको हालत त ज्यादै खराब थियो । त्यसैले दुखाइ कम गर्ने औषधीको प्रयोग गर्दै हिड्‍नुपरेको थियो । औषधिको आडमा रात पर्नु अघि नै जंगल काट्‍ने हाम्रो लक्ष्य अनुरुप गाउँमा पुगेपछि बास माग्यौँ । डेरामालिकले एउटा गुन्द्री मात्र उपलब्ध गराउन सक्ने बताए । थकान र भोकले चूर चूर भएकोले बहिनी र म चुपचाप थियौँ । दिदी चाहिँ घरीघरी फाट्टफुट्ट कुरा कोट्‍याउँथिन् । दिदीले डेरामालिकलाई चिनेकोले पनि उत्सुक थिइन् सायद । हामीप्रति डेरामालिकको प्रतिक्रिया र व्यवहार अनौठो थियो । चुरोट सल्काएर घरी यता, घरी उता, घरी बाहिर, घरी भित्र गरिरहन्थे । मानौ उनको मनमा ठूलो भुइचालो गइरहेछ । बाटोमा पसल खोल्नुको बाध्यता, आर्थिक साह्रोगारोलगायत थुप्रै दु:खका कुरा मात्रै ओकल्थे ती पसले दाइ । अनि केही बेर अदृश्य हुन्थे, फेरी झुल्किन्थे ।

हामीसँग साथमा खानेकुरा थिएन । बास मागेको ठाउँमा केही नभएको जानकारी भइसकेको थियो । त्यसैले सुत्ने तरखरमा लाग्यौँ । संयोगवस सदरमुकामबाट फर्किदै गरेका दुईजना छिमेकी (जवान)हरु आइपुगे । उनीहरुसँग हाम्रो कुराकानी सुनीरहेका डेरामालिक अचानक देखा परे । उनले ती दुई जवानलाई बोलाएर केही पर लगे । केही क्षणपछि बल्ल उनी दिदीसँग कुराकानी गर्न आइपुगे । क्षमा माग्दै खाना पकाएर खाने अनुरोधसाथ ओढ्‍ने ओछ्‍याउनेको व्यवस्था गर्नतिर लागे । उनको नजरमा हाम्रो एउटा अलग्गै पहिचान बनेछ 'आइलागेका पाहुना', मतलब उही शसस्त्र विद्रोही खेमाका प्रतिनिधि ।

गाउँमा 'माओवादी केटीहरु पसेका छन्' भन्ने कुरा फैलियो, बाटोमा हिडेका बटुवा (भरिया)देखि पसले (दोकाने)हरुसमेत त्रसित बने । शसस्त्र द्वन्द्वमा पिल्सिरहेका जनमानसको मनस्थिति र परिवेशमाझ केही दिनको लागि भएपनि हाम्रो एउटा पहिचान बनेछ- 'माओवादी केटी' को रुपमा । वास्तवमा यो पहिचान सृजना हुनुमा न त गाउँलेको दोष थियो न त हामी स्वयं नै त्यसको दोषी थियौँ । तत्कालिन परिस्थिति र परिवेशले जनमानसमा उब्जाएको त्रास र मनोदशाको एउटा साधारण नमूना थियो त्यो ।

No comments: