Sunday, June 15, 2008

अचाक्कली मोबाइल संवादको धङधङी

धेरैजसो सार्वजनिक ठाउँहरुमा मोबाइलको खैलाबैलाले उधुम मचाको देख्दा, सुन्दा र भोग्दा मलाई छोटो लेख्ने रहर जाग्यो। त्यसको लागि धेरै टाढा नजाउँ क्यार! जेठ २६ गते राष्ट्रिय सभा गृहमा अनागरिक हेर्ने जमातकै प्रसङ्गलाई लिउँ। हतारमा कार्यक्रम स्थल पुगेर हल भित्र छिरियो। फिल्म हेर्नलाई बीचको कोलममा बस्दा राम्रो हुने साधारण मान्यताअनुसार बीचकै कोलमको पनि बीचको सीटमा साथीहरुसँग लहरै बसियो। संयोग फेरी कस्तो- म बसेको ठीक पछिल्लो सिटबाट गुन्गुनाएको आवाज आइरहेको थियो। त्यत्तीकैमा बीचैमा मोबाइलको तिखो टोन करायो। हलभित्र छिरेपछिको प्रवेशद्वारनेर उभिएर एक युवक मोबाइलमा सोध्दैथिए 'कता हो', 'हल भित्र छु', 'म पनि हल भित्रै छिरिसके','बीचमा छु क्या म', 'केही पनि सुनिन' भन्दै युवक हलबाट पुनः बाहिरिए। ठिटो हल बाहिर जानुअघिसम्म मेरो कानमा प्रष्टै ठोक्किरहेको थियो दुवैजनाको संवाद। फेरी मोबाइल बज्यो। हेलो नभनीकनै 'यहाँ बीचमा हेर्दै आउ न'। फिल्म शुरु भइसकेको थियो। हल अध्यारो भइसकेको थियो।

फेरी उही ठाउँमा उही युवक उभियो। 'खोई कता नि?', मोबाइल माथि उठाउँदै 'यता फर्क न'भनेपछि अध्यारोमा मोबाइलको उज्यालोको भरमा कुरा मिल्यो। अब त शान्तसँग हेर्न पाइने भो भनेर ढुक्क भयो। तर त्यो ढुक्कपनले एकैछिन मात्रै बास गर्न सक्यो। नन्‌स्टप फोनकल्स आको आकै, आको जति सबै उठाको उठाकै, 'बाई' भन्न पाको छैन फेरी 'हेलो'। 'म फिल्म हेर्दै छु क्या अहिले', 'अनागरिक भन्ने नि', 'आदिवासीहरुको फिल्म हो क्या', 'ए तिमीपनि आउँथ्यौ नि है, भन्नै बिर्सेछु नि सरी ल' भन्ने जस्ता वाक्य यो कानमा सुनिन्छ। साथीहरुलाई यताउती फर्केर हेरे। त्यो मोबाइलको संवादले झर्को मानेर निधार र नाक खुम्चाउँदै थिए। फिल्म हेरीरहँदा बीचबीचमा घण्टी बज्यो कि मुन्टो निहुराएझैँ गर्यो। बोल्न शुरु गरिहाल्यो।

मेरो छेवैको साथी घरीघरी मलाई सोध्थिन्- के भन्यो त्यहाँ, यताको हल्लाले कुरै बुझिन। उसलाई बुझाउन थाल्ने हो भने फेरी अर्को हल्ला थपिने भो। नबुझाउने हो भने नबुझी हेरेको फिल्मको के मजा। बुझाउने क्रममा अर्कोपट्टीको छेवैमा बसेको साथीले रिसाउँदै भन्यो- फेरी यहाँ पनि शुरु भयो। लौ खा, अब परेन बित्यास।

हुन त अन्य कतिपय सार्वजनिक स्थलहरुमा झैँ त्यहाँ सूचना दिइएको थिएन (दिइएको ठाउँमा पनि मोबाइलको बिगबिगी त भएकै छ है)- मोबाइल स्वीच अफ गर्ने, न त शान्त हुने सूचना नै दिइएको थियो। फिल्म सकियो। फिल्मको केही केही दृश्य र संवादहरुमात्र दिमागमा रह्यो। तर वरपरको वातावरणलाई ख्यालै नगरी वा बेवास्ता गरेर मोबाइल फोनमा बोल्नेको प्रत्येक संवाद भने मेरो दिमागमा टाँसिएछ।

2 comments:

Dilip Acharya said...

त्यसो त, सार्बजनिक भेला स्थलमा त सूचना नटाँसे पानि आफ्नो मोमाईललाई 'सुप्त अबस्था' या ने silent mode वा vibration mode मा राख्नु पर्ने हो सबैले, तर के गर्ने उल्टै polyphonic र mp3 ringtone घन्काएर सबैलाई देखाउनु पर्छ ।

त्यसै त हामी नेपाली त्यसमा पनि गणतन्त्र आ'को बेलाँ .... अब कसले कसलाई के भन्ने ?

Unknown said...

आफ्नो कृयाकलापले अरुलाई बाधा पुग्छ कि भन्ने सोच आउन नसकेपछि यस्तै हो ।