Thursday, July 10, 2008

ढिडो र लोकल कुखुराको स्वादमा शनिबारे छुट्टी

कम्प्यूटर बिग्रेको अनि अल्छी लागेकोले पनि मैले कुटीभित्र नयाँ चिज राखेको थिइन। अब कम्प्यूटर पनि बन्यो अनि के लेखौ भनेर गम खाँदा त शनिबार गाउँमा गएर ढिडो र स्वादिलो लोकल कुखुराको मासु खाएको कुरा पो दिमागमा क्लिक भयो। ओहो मुखमा पानी नै आयो नि।

एकजना साथीसँग गएको शनिबारको बिदा मनाउँने निहुँमा दक्षिणकाली मन्दिर छेउको 'छैमले'तिर हुईकियौ शुक्रबारकै बेलुकी। त्यहाँ आफन्तहरु रहेकाले हामीलाई सजिलो भयो। पेट्रोलको अभाव भएकोले गाउँसम्म गाडी नजाने हुनाले दक्षिणकाली मन्दिर छेउको बस स्टपमा उत्रिएर उकालो लाग्यौँ। त्यहाँबाट ४५ मिनेट जति हिड्दा झमक्कै रात पर्यो। आफन्तहरुकोमा पुग्यौ। आँगनबाट यसो नजर घुमाउँदा ललितपुर र काठमाडौको केही भागमा झिलिमिलि बत्ती देखिन्थ्यो। अहो ! साह्रै राम्रो। खानपिन गरियो सुतियो।
शनिबार विहान उठेर यसो आँखा र ज्यानलाई कसरत गराउँदै अलिअलि घुमियो। बारीमा हेर्दा काक्रो, मकै, फर्सीको लहरा जस्ता कुराहरुले मनै फुरुङग हुने। हेर्दैखेरी टपक्क टीपेर कर्याम्म टोकीहल्नु जस्तो। त्यहाँ ९ रुपैयाँ किलो रहेछ। शहरमा आइपुग्दासम्म बासी र ओइलाएकै सही २५/३० रुपैया किलो त पुगी नै हाल्छ। आफुले पनि त्यस्तै किनेर खाने हो। खैर, अगाडी जाऔ- घर छेवैको सिस्नु घारीमा गएर सिस्नु पनि टिप्यौ हामीले। तर त्यो चाहि आफ्नै कोठामा ल्याएर खायौ है हामीले।

विहानको लागि गज्जबको खान्की। सँधै त कुन्नी तर कहिलेकाही मकैको ढिडोलाई लोकल कुखुराको graby तरकारीमा चोब्दै क्वाप क्वाप गाँस हाल्नुको स्वादै बेग्लै नि हौ। हुन त चामलको भात, दात, तरकारी पकाइएको थियो र पनि लोकल कुखुराको तरकारीसँग ढिडो खाने सबैको रुचिले फेरी ढिडो पाक्यो। अनि मजाले खाइयो। त्यसपछि केही बेर गफगाफ अनि यताउती अल्याङटल्याङ गरेपछि दिउँसोतिर शहर फर्कने सूरमा लाग्यौ। थोरै भएपनि गाउँको ताजा र हरियोपरियो तरकारी झोलामा खाँदखुद पारेर बाटो लाग्यौ हामी। अघिल्लै दिनदेखि पानी परेको अनि आजकालको फेन्सी चप्पलको छोटो आयु हुनाले साथीको चप्पलले आधा बाटो अनि 'गलत ट्यम'मा धोका दियो। केही बेर हिडेपछि पसल भेटियो अनि त्यहाँ नयाँ चप्पलको छनौट भयो।

हिड्दाखेरी साथीको चप्पल चुँडिएपछि बाटोमा रु. १५० को नयाँ चप्पल मिलाउँदै गर्दा त्यतैतिर मैले क्यामेर सोँझ्याए। अनि दक्षिणकाली मन्दिर त आइयो तर मान्छेको हूलले गाडीमा सिट थिएन। अनि त खलासीले गाडीको छटमा चढ्ने सल्लाह दियो। हामी पनि ज्ञानी भएर चढ्यौ। गर्मीमा गाडीको छटमा बसेर हावा खाँदै परपर सम्मको दृश्यहरु हेर्दै शहरको प्रदुषित तर महँगो हावा खाने चक्करमा फेरी होमियौ। अनि शनिबारको छु्ट्टी खत्तम। ढिडो र स्वादिलो लोकल कुखुराको स्वाद भने जिब्रोमा अझै छ क्यार। लौ त जय भुँडी।

2 comments:

Parshu said...

kailash g ko lekhan ma different prastiti malai man pa6. asaare sanibarko gazap ko gumgam ma lokal kukhura ko masu r dido kurale mero pani mukhai rasaayo.1 t kailash g ko lekhan ma haamrai waripariko samsaamik bisaya bastu lai tapakai tiper aafuno kutima rakhanu hun6 yasle garda ma yati tada vaye pani ma pani uhi gaugar athaba tayahi paribes tir chu jasto lag6.aafunai waripari ko bisaya bastu lai naulo tarikale uhako parstuti bat naya kura jane mauka mile ko ma uhalai derai2 danyabad din chan chu.

Basanta Gautam said...

यस्तो अन्याय त गर्नु भएन नि कैलाशजी! यस्तो स्वादिलो पारेर बयान गरेपछि हाम्रो मुखपनि रसाउँच नि यार:)

रमाइलो लाग्यो यहाँको यात्रा विवरण।