Wednesday, July 16, 2008

नीर्जिव ढुंगाहरुमा लुकेका किराती कथाहरु

निर्जीव ढुंगैढुंगाहरुमा लुकेको किराँती लोककथा हेर्दै जाँदा रमाइलो लाग्यो मलाई। । हुन त म गहिरो रुपमा अध्ययन गर्न रुचाउँने जमातभित्रको मान्छेमा पर्दिन। त्यसैले मैले यो लोककथा संग्रहबारे कुरा गर्नको लागि 'पढि टोपल्दा' भन्ने लेवल लगाइदिएको छु। र आज त्यही कथाहरुको बारेमा गफ ठाकौँ भन्ने मन भो। नेपालको पूर्वी भेग पाँचथर, धनकुटा, उदयपुर, सुनसरी, भोजपुर, संखुवासभा, खोटङ, ईलाम, तेह्रथुम, ओखलढुंगा, सोलुखुम्बुलगायतका जिल्लाहरुमा विभिन्न आकार र स्वरुपमा रहेका ढुंगाहरुसँग जोडिएका चाखलाग्दा लोककथाहरुको संग्रह हो 'कथा ढुंगैढुंगाको'। जसलाई शुभ मुकारुङले पुस्तकको आकार दिएका छन्।

सो संग्रहमा किराँतीहरुको पूर्खाको इतिहासलाई दन्त्यकथाको रुपमा पुस्तौपुस्ता हस्तान्तरण गर्ने 'चिनो'को रुपमा रहँदै आएका ती ढुंगाहरुको तस्बीरसहितको १५ वटा कथाहरु छन्। जसमा १४ वटा ढुंगाहरु माथी भनिएका विभिन्न जिल्लाहरुमा छरिएर रहेका छन् भने एउटा ढुंगा सर्वसाधारणको लागि अदृश्य तर बराहक्षेत्र नजिकैको त्रिवेणीः अरुण, तमोर र दूधकोशीको सङ्‌गमस्थल,मा रहेको भन्ने विश्वास रहेको छ। त्यस ढुंगाको सहायताले किराँती मुन्धुम जान्ने नाक्छोङ (बिजुवा), जो चाहि विशेषागरी चावामाङ (खोलादेउ)जान्दछ, हरुले खोला तर्ने गरेको भन्ने जनविश्वास रहेको भन्ने पढ्दा मेरो बाल्यकालमा एकजना गोठाला दाइले सुनाउनुभएको कथाको याद आयो। जुन कथामा मुन्धुम जान्ने बिजुवाले अरुण नदीलाई एउटा सिन्कोमाथि चढेर तरेका थिए रे भन्थे। कत्तिको साँचो हो कुन्नी?

यस संग्रहमा आकाशबाट झरेको ढुंगा, भालु ढुंगा, तान बुन्ने ढुंगा, बिजुवानी ढुंगा, जन्ती ढुंगा, खमाही ढुंगा, मृतात्मा ढुंगा, सुगूर ढुंगा, अजिङ्‌गरे ढुंगा, बूढबूढी ढुंगा, आरान ढुंगा, टोपी ढुंगा, डण्डीबियो ढुंगा, गुलेली ढुंगाहरुसँग जोडिएका रमाइला कथाहरु छन्। जे होस् यो किताब पढ्दाखेरी मलाई अल्छी लागेन। नत्र अन्य कतिपय किताब पढ्दा खास गरी कोर्सको किताब पढ्दा त एक अनुच्छेद पढ्न नपाउँदै आँखा तिरमिरतिरमिर भइ निद्रा पो लाग्न थाल्छ।

पढ्दा मज्जा आको कुराको केही भाग भएपनि छोटोमा राख्छु है म। नत्र नाम मात्रै सुनेझै लाग्छ पढ्नेमान्छेलाई।
नाम्धा लुङ -आकाशबाट झरेको ढुंगा- उहिले किराँती राज्य हुँदा किराँतीहरु आफ्ना भाषा, संस्कृति, रहनसहन, धर्मलाई बेवास्ता गर्दै मात्तिए/पात्तिएछन्। पारुहाङ (मैले कतै पढेअनुसार जसलाई शिवजीको किराँती रुप पनि भन्ने गरिन्छ क्यार)ले भेष बदलेर उनीहरुलाई शिक्षा दिँदा पनि पत्याएनन्। अनेक गरी सम्झाउदा पनि किराँतीहरु सुध्रेनन् अनि जोगीको रुप धारण गरेर शिक्षा बाँड्न थाले। त्यसो गर्दा पनि टेर पुच्छर नलाएपछि चमत्कार गरेमा टेर्लान् भनेर पारुहाङले ढुंगा झारेछन्। त्यो ढुंगा भोजपुरको अन्नपर्ण गाविस-2 मा रहेको छ।

घोल्टोङ लुङ -भालु ढुङगा- सुम्निमाका ४ छोरोहरु बाघ, भालु, बाँदर र मान्छे मिलेर शिकार खेल्न गए। एकअर्काबीच खाजा खाने निहुँमा झगडा परेपछि सुम्निमाले जसोतसो सुल्झाउँछ। तर आफू स्वतन्त्र हुने सूरमा उनीहरु एकअर्काको ज्यान लिन पनि पछि पर्दैनन्। बाघले आफु स्वतन्त्र घुम्नकै लागि आमालाई मारिदिन्छ अनि आमाको लाशलाई भालुले खाइदिन्छ। त्यसपछि भालु ढुंगाको ओढारमा गएर बस्छ। मान्छे केही स‍ंयम र बुद्धिमानी भएकोले घरजमतिर लाग्छ। भालुले ओढार गरेर बसेको त्यो ढुंगा इलाम नगरपालिकाको पश्चिमी भेगमा रहेको छ।

डाक्खाम लुङ -तान बुन्ने ढुंगा- किराँती किम्बदन्तीका पौराणिक दिदीबहिनी तयामा र खियामाका एउटा भाइ सानैछँदा टुहुरा हुन्छन्। विभन्न कष्ट गर्दै बाँचीरहेका हुन्छन्। भोजनको खोजीमा गएको बेला भाई बेहोशी हुन्छ। त्यही बेहोशीलाई मरेको ठानी दिदीबहिनी भाईको वियोगमा पर्छन्। अनि दुईजना आ-Aफ्नै सूर गर्नतिर लाग्छन्। छुट्टिने बेलामा भाइ नाममा १,१ वटा फूल रोपेर हेरचाहको लागि कहिलेकाहीँ आउने र फूल ओइलाएको भए अशुभ मान्ने वचनका साथ छुट्टिन्छन्। तयामा फूल हेर्न आउँदा खियामाको फूल ओइलाएको देखी खोजी गर्दा मरेको हड्डीकुड्डी भेट्छिन्। त्यही हड्डीकुड्डीलाई बाँसको ढुङ्ग्राभित्र खरानी पानीमा डुबाइ तयामा तान बुन्न थाल्छिन्। तानमा खियामा आकृति बनाउँदै मुन्धुम गाउँदै जाँदा आकृतिको बनावट पूरा हुनासाथ खियामा पुनर्जिवीत हुन्छिन्। खोटाङको मालाथुम्की डाँडामा तयामा तान बुनेको केही चीजबीजहरु भेटिने र त्यही चुचुरोमा रहेको ढुंगामा तान बुनेको कुरो पढ्न पाइन्छ।

भः लुङ -सुँगुर ढुंगा- उहिले खोटाङ र सोलुतिर मात्रै साङपाङहरु थिए रे। एकदिन साङपाङ राईहरुको सुँगुर गाउँबाट भाग्यो। गाउँलेहरु सुँगुरको पछिपछि लागे। भाग्दै जाँदा फली ढुंगामा पुगेपछि सुँगुर गायव। सुँगुर नलिइ नफर्कने जिद्धीमा उनीहरु असफल भए अनि त्यतै बसे। सो ढुंगा भोजपुरको साम्पाङ गाविस- ४ मा रहेको छ।

धियाङपुछाप लुङ -अजिङ्‌गरे ढुंगा- भोजपुर र खोटाङको सीमानामा रहेको भुते दहमा एउटा ठूलो अजिङ्‌गार थियो। त्यो दह आसपास जो गएपनि खाइदिने। गाउँमा आतंक मच्चिएपछि तन्त्रमन्त्रद्वारा एउटा लामाले ७ दिन ७ सात लगाएर अजिङ्गरको एउटा आँखा फुटाए। त्यसपछि अजिङगर भोजपुरको इर्खुवा खोला हुँदै भाग्दै अरुण नदी हुँदै सङ्‌खुवासभाको पिलुवा किनारमा बस्यो। त्यहाँ पनि आतंक मच्चाएपछि छेन्दिमुख र बीरमुख नाम गरेका दुईजना व्यक्तिले ७ दिन ७ सात धामी बसेर अरुण नदीमा ठूलो बाढी बगाए। अजिङ्गर घाम ताप्न बाहिर निस्केको बेला पारी छेन्दिमुखले मुन्दुमद्वारा बज्र खसाए। बज्र लागेपछि अजि्ङगर मर्यो र ७ दिन सातै रात अरुण नदीमा रगतको खोलो बग्यो। अजिङ्‌गरे ढुंगा सङ्खुवासभाको पिलुवा भन्ने ठाउँको अरुण नदीको किनारमा रहेको छ। यो पुस्तकको आवरण तस्वीरको रुपमा सोही अजिङ्गरे ढुंगालाई राखिएको छ।

अन्य ढुंगाहरुको बारेमा पनि यस्तै यस्तै रोचक प्रसङ्‌गहरु रहेका छन्। जसले गर्दा मलाई किराँति लोककथाहरुबारेमा बुझ्न रमाइलो 'मुड' दियो। त्यसैले पढ्ने बानी राम्रो हो तर पढ्न नसक्नु मेरो कमजोरी हो भन्ने पनि सोरै आना ठीक मान्छु।

3 comments:

दिलीप आचार्य said...

कोरा कथा र पुराणमा भन्दा किम्बदन्तीहरुमा मानव जिवनका केहि रहश्यहरु लुकेका हुन्छन ।

तपाईको समिक्षा पढ्दा लाग्छ यो किताब पक्कै पनि रोचक र रोमान्चक छ।

Admin Dummali said...

ल ल बधाई छ, निक्कै खोजमुलक् दन्त्या कथा रहेछ । पहिला शुभ मुकारुङ् लाई दोस्रो कैलाश् लाई धन्यबाद दुम्मालीको

swopnil sansar said...

good presentation.kailash i am appeare in new form. i will appear unique after in my exam.
your,
narendra raule