Thursday, July 17, 2008

रामैरामको दाबेदारीले ल्याएको खुशी

एउटा सानो कामको शिलशिलामा नागरिक समाजको आन्दोलन या क्रियाकलापमा सक्रिय रहँदै आएका एकजना दाइ (विमल)सँग फोनवार्ता भयो। निकै रौसिएका अनि उनको खुशी उनको आवाजमा प्रष्टै बुझिन्थ्यो। उनी भन्दैथिएः 'कैलाश गज्जबै भयो नि।' के भएछ त अब भन्दै म पनि रौसिदै कान ठाडो पारे। 'राष्ट्रपतिको लागि मधेस/तराईबासीकै मात्रै नाम परेको छ, अब जसरी पनि हाम्रै चुल्होको पर्ने भो नि'। पहिले जनकपुरवासी भएकोले पनि उनले आफ्नै चुल्होको भनेर भन्दैथिए। राम शब्दसँग जोडीएको नामः रामराजा प्रसाद सिंह, रामबरण यादव, रामप्रित पासवान लगायतका व्यक्तिहरु गणतन्त्रिक नेपालको पहिलो राष्ट्रपतिको लागि सिफारिस गरिएपछिको उनको प्रतिक्रिया थियो त्यो। उनको त्यो खुशीको अगाडी मेरो कामको कुरा केहीछिन विलायो। ती दाज्यैको खुशी र उमंगको दृश्य देख्न नपाएपनि देखेँजत्तिकै लाग्यो।

लगातार बोल्दै गए उनी 'उपराष्ट्रपतिमा पनि समावेशीकरण हुने भो नि कैलाश'। उनको आशय, उपराष्ट्रपतिको लागिसमावेशीकरणको खाकाअनुरुप सँधैजसो खर्रर मुखमा भट्टाइने गरेको दलित, महिला, मधेसी, जनजाति कै दाबेदारी देखिनुमा थियो। शान्ता श्रेष्ठ र अष्टलक्ष्मी शाक्य महिला र जनजाति, मानबहादुर विश्वकर्मा दलित अनि परमेन्द्र झा मधेसी समुदायबाट उपराष्ट्रपति पदको लागि चुनेन नामहरु छन्। उनी भन्दै थिए अझ रौसिदैः 'अब भोज त खानैपर्ने भो, नागरिक समाज, समावेशीकरण भन्दा भन्दा कमसे कम यत्ति त सुन्न पाइयो नि आज'।

उनको खुशीको सीमाना नै देखिन मैले। भनिन्छ नि खुशी बाँड्दा बढ्छ, दुःख बाँड‍दा घट्छ। उनको त्यो खुशी एकैछिनमा मेरो आसपास पनि देखियो। म उनीसँगै फोनमा बोल्दै थिए वल्लो कोठा पल्लो कोठाका साथीहरु एकअर्कामा 'बधाई' भन्दै धाप मार्न थाले। मलाई पनि खुशी हुँदै सुनाउँदै थिए। मेरो एउटा कान फोनमा सुनिएको खुशीको ध्वनीमा थियो भने अर्को कान चाहिँ छेवैमा आएर खुशी बाँड्ने साथीको हर्ष र उमंगतिर थियो। उता फोनबाट आवाज आउँदै थियो 'म भोली त्यहाँ आउँछु अनि यसैको उपलक्ष्यमा हामी मिलेर खानुपर्छ है'। मैले फोन गर्नुको कारण बताउँदा मजाले भनिदिएः 'यस्तो खुशीको बेलामा के त्यस्तो काम नि, पख न, भोलि भेटेरै कुरा गरौला नि त्यसबारेमा'। यता साथीहरु भन्दै थिएः ए! ल दाम्मी भएछ है। जसो गरेपनि एकजना न एकजना त पर्ने नै भयो। अर्कोले झन् ठूलो स्वर पार्दै थप्दै थियोः उपराष्ट्रपतिमा पर्को नाम पनि पो गज्जब छ त।

सबैजना एउटै कोठामा बसेर एकअर्कालाई बधाई दिँदै, थाहा पाएजत्ति कुरा भन्दै अनलाइन न्यूज हेरौ न भन्दै झुम्मिए। म चाहिँ बसे उनीहरुको खुशीलाई थोरै भएपनि कुटीमा छर्ने मनसायले। म चुपचाप बसेको देखेर एकजना साथी जोशिदै आएर तर्सिने गरी मलाई भनेः 'तिमी चाहि किन चुपचाप यहाँ कत्रो कत्रो कुरा भइसक्यो'। मैले ब्लगमा लेखीसक्दा सम्म अगाडी आएकामध्यै अबको राष्ट्रपति अनि उपराष्ट्रपति 'को होला' र 'को हुनुपर्छ' भन्ने बारेमा चिया खाँदै गफिन चिया पसलतिर लागिसके। अहिलेलाई खुशीले फुरुङ्‌ग मन बोकेर म चाही लागे कोठातिर। अनि किचनतिरको पदभार सम्हाल्नु पर्ने पनि त छ नि, मैले । लौ अब हेरौ यो खुशीको आयू कस्तो हुने हो?

4 comments:

aAkaR said...

मैले बुझ्न नसकेको कुरो, एकै जातका लाग्ने अनि एकै क्षेत्र का व्यक्ति उठेकाछन्, राष्ट्रपतिको लागि । म छक्क यसअर्थमा परेको छु कि, मधेसी उठे भने समावेशी हुँदोरहेछ ।

बल्ल समावेशीकरण को अर्थ बुँझे !

दिलीप आचार्य said...

Well siad Aakar bro!

मलाई पनि ज्ञान प्राप्त भो !

दीपक जडित said...

बडा नाटक बुझ्न कठिन हुन्छ नै यसैपनि र यहि नबुझेको कुरोबाट गहिरो कुरो आकारजीले बुझाउनु भयो । गज्जब छ हाम्रो देश र यसको राजनीति ।

कैलाश said...

नाटक भनौ या जे भनौ, यो त सानो भन्दा पनि सानो अंश मात्रै हो भन्ने कुरा त दुईदिनमै बुझीहालियो नि। यहाँ खुशी व्यक्त गर्ने व्यक्तिको आसय चाहिँ निकै नै व्यक्तिगत र भावनात्मक तवरले सिर्जित भएकोले एकलकाँटे देखियो। र पहिलोपल्ट मधेश/तराईको प्रतिनिधित्व भयङकर ढंगमा अगाडी आएकोमा सँधै बोल्दै आइरहेको शब्द 'समावेशीकरण' दोहोर्याइहाले सायद।