Sunday, July 27, 2008

तिमी'नि "पत्रकार"

नयाँ बानेश्वर चोकनेर, विहानको ६ बजे ट्याक्सीको पर्खाईमा थिई निशा। एयरपोर्ट जानको लागि। पेट्रोलको अभावको बेलामा १५० भन्दा घटीमा जाँदै नजाने चालकको अडानलाई स्वीकार्दै हुइँकिई ट्याक्सी चढेरै। उ प्लेन चढेर कतै जान लागेकी थिइन। १० केजी तौलको एक बण्डल पत्रिकालाई जसरी पनि बाहिर पठाउनुपर्ने उसको काम थियो। एउटा एयरलाइन्सको काउन्टरमा एकजना मान्छेलाई छाडीदिँदा काम फत्ते हुन्छ भन्ने उसको बुझाइ थियो। किनकी उसलाई त्यसै भनिएको थियो।

एयरलाइन्सको बाहिरीपट्टीको सानो प्वालबाट भेट्नुपर्ने मान्छेलाई सोधिन्। खै सौभाग्य नै भन्नुपर्ला, भेट्नुपर्ने मान्छे त लुक्लातिर पो गएका रहेछन्। अब के गर्ने? खल्तीबाट मोबाइल निकालेर नम्बर डायल गरिन् सामानको मालिकलाई। 'कार्गो गरेर पठाइदिनु न' भन्ने सुझाब पाएपछि सोधखोज गरिन्। 'पास काट्नुस् त्यहाँ गएर'। एक हातमा ह्याण्ड ब्याग अर्कोमा सामानको बण्डल बोकेर खुरुखुरु त्यतै गई निशा। 'चिठ्ठी छ अफिसको?' पास काट्ने काउन्टरबाट प्रश्न आयो। 'छैन'। 'त्यसो भा यहाँबाट पास दिन मिल्दैन' प्रष्टसँग जवाफ पाई उसले। अब झमेला शुरु भयो। केही बेरको कुराकानीपछि भित्र छिरिन्। सोझै एउटा (प्रा‌लि)‌ एयरलाइन्सको काउन्टरमा गएर फेरी सोधिन्। सामान जोखिन्। १०० रु. प्रतिकेजीको दरले हजार तिर्नुपर्ने भो। एकछिन अल्मलिई निशा। किनकी उसलाई पैसा लाग्दैन भनिएको थियो, लागीहालेमा पनि २६ रु. प्रतिकेजी पर्ला भनिएको थियो। 'महिनैपिच्छे २६ रु.को दरले पठाउँदै आइएको सामान कसरी १०० भो?' निशाको प्रश्नमा '२६ मा त कहिले पनि पठाइएकै छैन, पठाउने हो भने त्यत्ति नै हो अरु तपाईको विचार' भन्ने जवाफ पाइन्।

फेरी मोबाइल उठाएर डायल गरिन् 'अब के गर्नु?', '१०० रुपे केजी त खै हौ...' उतापनि अल्मल्ल परेझै जवाफ आयो। एकैछिनमा 'आर्को सरकारी एयरलाइन्सको काउन्टरमा दिइराख्नुस् न त अब, अरु उपाय केही भएन अहिलेलाई', ल्याएको सामान के फिर्ता गर्नु फेरी पनि आफैले ल्याउनुपर्ने हुन्छ भन्ने सोचेर 'हुन्छ' भन्दै सामान उठाएर अर्को काउन्टरतिर लागिन्।

'excuse me, सामान कार्गो गर्नुपर्ने थियो', ३,४ जना भलाद्मीहरु काउन्टरमा चिया खाँदै थिए। 'उहाँलाई भन्नुस्', छेउको मान्छेले कुनातिर बसेको मान्छेतिर देखायो। 'के भो?', निशा छेउमा पुग्न नपाउँदै प्रश्न आयो। फेरी उही कुरा दोहोर्याई निशाले। 'के नामको पत्रिका?', नाम सुनेपछि 'पहिलोचोटि निकालेको हो? अनि हामीलाई खै त?', टेबुलमा छरिएको राष्ट्रिय दैनिक र साप्ताहिक पत्रिका देखाउँदै 'ई हामीलाई यसरी पत्रिका दिनुपर्छ'। गोट्टागन्ती एक-एक जनालाई पत्रिका भाग लगाउँदै 'खै हामीले हेर्नुपर्दैन कस्तो पत्रिका हो भनेर'। 'प्याक गरेको पत्रिकालाई खोलेर दिउँ त?' पर्दैन भन्ने संकेत पाएपछि 'मैले के गर्नुपर्छ' भन्दै निशा हतारिई। तर कसैले केही वास्ता गरेनन्। एकजनाले अर्कोलाई देखायो। अर्कोले फेरी अर्कोलाई। त्यत्तिकैमा 'यो प्याक गरेको भएन, यसरी पठाउन मिल्दैन' भन्दै एकजना चर्को स्वरमा बोल्यो। निशाले आफूसँग उपाय नभएको बताइन्। प्लाष्टिकले बेरेर नाइलनको डोरीले बाँधेको पत्रिकाको बण्डललाई हेरेर केहीछिन त्यो मान्छे गायब भयो। फेरी देखा पर्यो उही कुरा लिएर। केहीछिनपछि 'ए बैनी वहाँ हाकिम हुनुहुन्छ नि उहाँलाई गएर भन्नुस्' भन्दै अर्को कोठामा पत्रिका हेर्दै गरेका अर्को मान्छेलाई देखाउँदै 'नमस्कार हजुर मेरो यस्तो छ भनेर भन्नुस्'।

'तपाईको सामान बाटैमा फुटेर केही होला अनि तपाईलाई नै मार पर्ला भनेर हो' भन्दै ठूलो स्वरमा बोल्दै थियो। सामुन्नेको टेबलमा बसेको अर्को मान्छेले पत्रिका रहेछ त्यत्तिको हुन्छ भनेपछि निशा त्यहाँबाट बाहिरियो । अघि निस्केर हिडेकै कोठामा छिर्दै 'हुन्छ रे, अब त बिल काटीदिनुहुन्छ होला नि?'। तैपनि निशाको कुरातर्फ कसैलाई चासो भएन। एक छेउमा उभिएर निशाले गन्‌गन् शुरु गरिन्। केहीबेरको गन्गन् नसुनेझै गरिराखेपनि 'हेर्ने पत्रिका नै हो, कसलाई पठाउनुपर्ने?' भन्ने प्रश्न आयो। 'पत्रिका के गर्ने हुन्छ त?' निशा अलिक चर्को स्वरमा बोल्न थालिन् 'जिल्लाको पत्रकार महासंघमा'। 'ए भनेपछि तिमी'नि पत्रकार?' निशा चुपचाप थिइन्। 'कुनमा काम गर्ने हो', के गलफत्ते गरिराख्नु भन्ने सोचेर निशाले एक शब्द फुत्काइन् 'फ्रिलान्सर'।

'बसौ न, एक्कैछिनमा हुन्छ काम, त्यत्तिन्जेल चिया खादै गर्नु', कुर्सीमा बस्ने इशारा गर्दै 'त्यत्ति जाबो कामको लागि किन उता गाको नि, हामीलाई राम्ररी भनेको भए भइहाल्थ्यो नि'। निशा छक्क परिन्। अन्जानमै पत्रकार भन्ने स्वीकारेपछि एक्कासी उनीहरुको रवैया बदलियो। 'नेपालका महिलाहरु किन ब्याक? बैनीले हेर्नुभो होला नी, एउटा च्यानलमा नाम चलेको पत्रकारले खुलेआम नेपाली महिलालाई नराम्रो भन्यो' अगाडि थप्दै 'एउटा विदेशीलाई- तपाई भाँडा माझेपनि, फटाही गरेपनि नेपाल आएपछि नेपाली केटीको लाइन लाग्छ- भन्यो। हाम्रो चेलीबेटीलाई त्यस्तो भन्ने हो?' अर्को टेबुलमा बस्नेले थप्यो 'उसैको दिदीबहिनीलाई पछाडि लगाओस् न'। निशा चुपचाप सुनीरहेकी थिई। 'खै त यस्तो कुरामा तपाईहरु जस्ताले लेखेको? बोलेको' निशातर्फ कुरा सोझिन्छ। 'शोभराज र निहिताको प्रसङ्गमा निस्केको कुरालाई कत्ति तन्काइराख्ने?' निशाको प्रतिप्रश्नले कुराको बिट मर्ने काम गर्छ।

तयार भएको बिल हातमा लिएर पैसा तिर्छे निशा। चिया आइपुग्छ। चिया खाने अनुरोधलाई सहर्ष स्वीकार्दै चिया हातमा लिएर 'फुरुरु फुरुरु' फुक्दै मनमनै फिसिक्क हाँस्दै भन्छे 'म'नि पत्रकार'। 'पत्रकार' दिमागमा यही शब्द खेलाउँदै सुरुप सुरुप चिया पिइसक्छे अनि बिदाबरी भएर एयरपोर्टबाट बाहिरिन्छे।

8 comments:

दीपक जडित said...

हाम्रो समाज र देशको रोग " सकेसम्म सरल भेटुञ्जेल हेप्ने , थर्काउने र वक्र देखिएपछि आफैं थर्किने " अथवा यस्लाई मनोदशा भनौं , लाई सजिव उतार्नु भएको छ अझ कथा जस्तै कथा भन्ने तपाईंको काईदा र कथा लेखाईमा समेत झल्किने मौलिक पना राम्रो लाग्छ मलाई । अझ कथा जस्तै कथामा कथालाई अलिबढि कथा जस्तै बनाउने प्रयास गर्नुभए सुनमा सुगन्ध भनेझैं हुन्थ्यो कि भन्छु है म ।

aAkaR said...

तपाई को आफ्नै व्यथा जस्तो लाग्यो है, यो कथा ।
ढिलासुस्ति अनि बेक्कार मा अरुलाई सताउने यस्ता कर्मचारीहरु को यो रोग पुरानै हो ।

Blogger Dai said...

aaha kasto katha jastai rahechha!

Nepal ko din charya ta gajab ko hunchha hai...

Basanta Gautam said...

रमाइलो प्रसंग रहेछ! कम्तिमा पत्रकार भनेपछि त डराउन थालेछन् कामचोर कर्मचारीहरु। यो पनि एउटा क्रान्तिनै हो नेपालको लागि।

कैलाश said...

सबै ब्लगर मित्रहरुको कुरो सही हो। अनि दीपकजीले भन्नु भएझैँ कथालाई अझ कथा पार्ने कुरो छ नि, अब लेख्दै जाँदा र तपाईहरुको संगतले केही त पक्कै कसो नहोला हैन?

पहिलो आकारजीको कुरोमा सही थप्दै दीपकजोको सल्लाहलाई apply गरेझै गरेर अलिकति कथाको मात्रा बढाइदिउँ न त। यो कथामा त्यत्तिखेर निशा केन्द्रमा परिन्। त्यही दिन १२ घण्टा नबित्दै त्यस्ता सर्वसाधारण मनुवाहरुः उषा, रमा, झुमा, दीपक, आकार, आषिश, माया, बसन्तलगायतका कत्ति पर्छन् कत्ति। यस्तो अनुभव त मेरा थुप्रे छन् नै आकारजी। तर यसलाई मेरो मात्रै हैन समग्र नेपालीको अनुभव भन्न रुचाउँछु म।

किनकी मलाई बारम्बार भन्ने गर्छे निशाः
'कहाँ पोखिन्छ आँशु जबसम्म दुख्दैन छाती,
त्यही छाती शान्त पार्न आँशु पोखिएकै जाती'।
कि कसो हो कुन्नी???

Job in Nepal. said...

nice blog!

Administrator said...

मलाई धेरै खुसी लाग्यो। काठमाडौंको एअरपोर्ट अलि पढे लेखेको मान्छे लाई त त्यस्तो गर्छ भने झन साधारण मान्छे लाई कस्तो व्यबहार गर्दो हो, एक पटक सबै को ध्यान त्यता तिर गए नेपालका निमुखा हरुले अलि सजिलो हुन्थ्यो त्यो काँढे बार रुपी एअरपोर्टमा .

धाइबा said...

Really yar,
This text justify there is any where narrow minded (Specially in NEPAL).
N there is no other options to get service whatever Nisha do.