Friday, August 01, 2008

रिक्सा र ठेला चालकसँग चौतारीमा बिसाउँदा

आ-आफ्नो अनुभव साट्दैः बायाबाट क्रमशः कुमारी थापा, अर्जुन खत्री र बम बहादुर श्रेष्ठ।

बुधबारबाहेक साताभरि नै विभिन्न विषयमा नियमित छलफल हुँदै आइरहेको मार्टिन चौतारीमा साउन ५ गते आइतबारको दिन रिक्सा र ठेला चालकको कथा, व्यथा र दृष्टिकोण बुझ्ने र उनीहरुसँग गफिने मौका जुर्‍यो। प्रायजसो ठूल्ठूला विषयमा ठूल्ठूला मान्छे भनिएकाहरुकै विचार र दृष्टिकोण सुन्दासुन्दाको 'ह्याङओभर'मा त्यो गफले उनीहरुको जीवनको भोगाईबारेको जानकारीसहित देशमा चलिराखेको माहौलबीच 'रिफ्रेसमेन्ट' दियो। उनीहरुसँग गफ गरिसकेपछि मलाई भित्री मनमा लागेको कुरा साँच्चै नै रहेछ भन्ने लाग्योः हामी श्रमिकहरु आमाबाबुको कठिनाई र पीरहरुबीच जन्मिन्छौ, हुर्किन्छौ अनि त्यही पीरलाई थाप्लोमा थुपार्दै गाँसबाँसको जोरजममा पौरख लगाउँछौ। बिस्तारै आफ्नो गुम्दै गएको पौरखलाई अनुभव गर्दै मर्न बाध्य हुन्छौ।

ठेलागाडा चालक बमबहादुर श्रेष्ठ र रिक्सा चालक अर्जुन खत्रीलाई मार्टिन चौतारीले मुख्य वक्ताको रुपमा निम्तो गरेको थियो। साथै घरेलु कामकाज गर्दै आएकी कुमारी थापाले पनि आफ्ना दु:खसुखका पोको फुकाइन्। 'हामीजस्तो मान्छेलाई पनि सरहरुले बोलाउनुभो, खै... बोल्नु त आउँदैन', शुरुमा तीनैजना केही असहज देखिन्थे। अन्य सहभागीसँग दोहोरो कुराकानी गर्दै जाँदा बडो रमाइलोसँग खुले। श्रम र पसिनाको कमाईमा जीवन चलाउँदै आएका ३ जना परिश्रमीको जीवनगाथा र भोगाईहरुले नेपाली जनजीवनको वास्तविकतालाई टड्‍कारो गरी झल्काउँछ। तैपनि बेवास्तामा पर्नु नौलो कुरा हैन। त्यसैले म उनीहरुकै बोलीलाई यहाँ राख्ने कोशीश गर्दैछु।

अरु काम केही नपाउँदा भाँडा माझ्ने र लुगा धुने कामको खाँचो नहोस् भन्नाका खातिर घरमालिक या साहूहरुको मनोभाव र आनीबानी बुझेर काम गर्नुपर्ने, खुशी पार्नुपर्ने बाध्यतालाई कुमारी थापाले चौतारीमा पोखिन्। उनको आफ्नै व्यथा छ। उनी २ सन्तानकी आमा, श्रीमान‍की कान्छी (तेस्रो) श्रीमति। अघिल्लापट्टीको सन्तान नहुँदा उनी भित्रिएकी। सौता र श्रीमान‍सँगको बेमेलपना र झमेलासँग भाग्दै काठमाडौं छिरिन्। अनि घरेलु कामदार तथा ईटा, बालुवा बोक्दै गुजारा गर्न थालिन्।

दोलखाबाट उपत्यका छिरेका बमबहादुर, २०४२ सालदेखि लगातार ठेलागाडासँग हिड्‍दै आइरहेका उनी दिनहूँ विहान ७/८ बजेदखि बेलुकी ८ बजेसम्म काम गर्छन्। हामी मनुवालाई गलफत्ते गर्न पनि खुब आउँछ। 'पैसा दिने बेलामा शुरुमा भनेको जति दिँदैनन् अनि तेल चाहिने हो र? भन्दै उल्टै आफैलार्इ थर्काएर जान्छन्', कामको मूल्य लिँदा पनि जस नपाएको तिक्तता औँल्याउँदै थिए उनी । पहिलेको तुलनामा धेरै नै छलकपट, लुटपाट र जटिलता मौलिएको अनुभव सुनाउँदै राजनीतिक दल र उनीहरुको आश्वासनप्रति छड्‍के हान्न पनि पछि परेनन् बमबहादुर: 'राजनीतिक दलले बच्चालाई चक्लेट दिएर फकाएझैँ गरी हामीलाई फकाउँनेबाहेक केही काम गरेन, त्यसमाथि यो एमाले र काँग्रेसले त केही पनि गरेन'।

पहिले पहिले रिक्सा तथा ठेलागाढा चालकलाई समेत 'खाते' नामले बोलाइने गरेको र साहू तथा मालिकहरुलाई जसरी हुन्छ खुशी पार्ने ध्याउन्नमै आफ्नो श्रम खर्चिदै आएकोमा रिक्सा चालक संघ माओवादीको मातहतमा गठन भएपछि भने काम गर्न सजिलो भएको अनुभव अर्जुन खत्रीको थियो । यो सहुलियतको सट्टाभरना स्वरुप माओवादीको भनेको स्थान र समयमा धर्ना, जुलुस तथा र्‍यालीहरुमा सहभागी हुनुपर्ने र हुँदै आएको पनि बताए । आफ्नो पेसामा थोरै भएपनि सम्मान पाउँदा र किचलो कम भएकोले उनीहरु यसलाई नराम्रो मान्दैनन् । ऐँचौपेचौँ गरी काम टारेझैँ नै हो भन्छन् ।

काम भएको बेला महिनामा १५/१६ हजार कमार्इ हुने अनि नभएको बेला सुख्खा हुने हुँदा गुजारा चलाउँन कठिन छ । रमाइलो पारामा अर्जुनले भने, 'चुइँचुइँ रिक्सा चलाउनुपर्दा, ठस्‌ठस‍ कन्दै ठेलागाढा ठेल्नुपर्दा एक्कैछिनमा भोक लागिहाल्छ, भारी मात्रै लोड गरेर कहाँ भो र, आफ्नो भुँडीमा पनि एकैदिनमा ४ पल्ट लोड गर्नु पर्छन्त', उनको रमाइलो मिजास र भनाईको तरिकाले सहभागीहरु गललल हासे, 'नत्र त कहाँ सकिन्छ र काम गर्न?' । कुरो एकदम सही हो । ज्यानले त्यत्रो भारी धानेको छ भने ज्यानलाई धान्ने खुराक पनि चाहियो नि । खाना भन्दा पनि पिउनुमा चालकहरुमध्ये धेरैको कमाई खर्च भइरहेको पनि उनीहरु स्वीकार्छन् ।

जड्‍याहा, बदमास तथा सानातिना फटाहा र गुण्डाहरुद्वारा खुब सताइने यो पेसामा अन्य सवारी साधनभन्दा मोटरसाइकल चालकद्वारा बढी पेलिदै आएको उनीहरुले बताए । उनीहरुकै ठम्याईअनुरुप यो पेशामा दोलखा रामेछाप, काभ्रे, नुवाकोट, धादिङतिरका धेरै छन् । रिक्सा/ठेलागाढा चालकहरु आफ्नो पौरख घट्‍दै गएपछि के गर्छन् त ? 'सकुञ्जेल गर्, नसकेपछि त्यत्तिकै भगवान भरोसा मर्'को स्थितिबाट छुटकारा पाउने अवस्था भने छैन ।

4 comments:

Unknown said...

चौतारीको गफ्गाफ त राम्रै राख्नु भएछ, यस्को लागि धन्यवाद । तर कुरा के भने नि लेख राख्नु अघी एक्छोति पढ्दा राम्रो हुन्थ्यो कि ? लेखम उल्लेख गरेको पत्र कमला महिला होइन र ? तेसो भए उन्को श्रीमतीसँग बेमेल कसरी भयो हौ ? एनिवे कीप इत अप ।

Aakar said...

सबैको कथाव्यथा आ-आफ्नै छ । मजदुर को आँखा बाट हेर्दा मजदुर को समस्या ठूलो, साहूको आँखा बाट हेर्दा साहू कै समस्या ठूलो ।
विद्यार्थीको आँखाबाट हेर्दा विद्यार्थीको समस्या ठूलो अनि शिक्षकको आँखाबाट हेर्दा शिक्षकको समस्या ठूलो । यहाँ पेलिने पेलिइराखेको छ, मर्ने मरिराखेको छ अनि जोतिने जोतिइरहेको छ । यस्तै छ सारासंसार अनि त्यस्तै छ नेपाली समाज पनि ।

जेहोस् मार्टिन चौतारी को गफगाफ राख्नुभएको मा धन्यवाद । फरक केही लागेन, बरु मात्र लाग्यो एउटा अर्को व्यक्तिको कथाको सार्वजानिकिकरण भयो, अनि मैले अर्को एकजनाको कथा थाहा पाएँ । मात्र थाहा पाएँ उसको व्यथा । म गर्न केही सक्दिन, जस्तो उनीहरु त्यस्तै म, मात्र फरक होला त समस्या । उनीहरुको आफ्नै समस्या, अनि मेरो, तपाई, उसको, उनको अर्कै समस्या ।

Dilip Acharya said...

समाजले केवल "जोताउने" कार्यमा मात्रै प्रयोग गरिएका वर्गको जिवनको यो पाटो पढदा रमाईलै लाग्यो ।

बाँकी आकार जीले भन्नु भएको जस्तै समस्या र बाध्यता सबैको हुन्छ। दृष्टीकोण फरक गरेर हेर्दा र बेला मौकाको कुरा गर्ने हो भने नेपाल बन्दको बेलाको रिक्सा र ठेलागाढाको भाऊ को पनि प्रसंग उठन सक्छ। समष्टिमा सबै बर्ग र क्षेत्रमा सहि र गलत मानिस छन।

जे भएपनि श्रम गरेर खानेमा मेरो सहानुभूति भने सधै रहेको छ ।

Jotare Dhaiba said...

चौतारीमा प्रत्यक्ष पलेँटी कसेर आम मान्छेहरूका यस्ता कथा सुन्न नपाएको धेरै भएथ्यो । खासमा, यति साधारण अनुहार पनि चौतारीका पाहुना हुन्छन् भन्ने नै थाहा थिएन । तपाईँको प्रयासले त्यो झल्को मेटिन पायो । ठेलागाडा, रिक्सा चालक तथा घरेलु कामदारका कुराकन्था उनीहरूकै बोलीमा आएको देख्दा गजब लाग्यो, मानौँ म चौतारीकै चकटीमा मग्न भइरहेछु ।
चौतारीले गराउने यस्तो फरक धारका पण्डितहरूको जमघटबाट टपक्क टिपेर कैलाशजीले तिनको जीवनको यथार्थ धरातल पस्किएर सर्सर्ति पुलको काम मात्र गर्नुभएन, तिनको दुःखको स्वानुभूतिमा पाठकलाई डुबाउनुभएको पाएँ । छुटकाराको नाममा दैनन्दिनी जाँतोमा पिसिँदै आएका कुमारी थापा, अर्जुन खत्री र बम बहादुर श्रेष्ठ जस्तालाई श्रमशील जीवनबाट झिकिदिनु त उनीहरूकै बिजोगको बाटो खोलिदिनु हो, बरु त्यो जीवनलाई सहजता प्रदान गर्न हामी सर्वसाधारणहरूले आफ्नो तवरबाट भूमिका खेल्न सक्छौँ ।
यस्तै गफगाफ चौतारीबाट सोझै ब्लगको जालोमा उनिएर माइकिङ भएको देख्‍न पाऊँ ।