Tuesday, August 05, 2008

भोकमा भोजन नै प्यारो

गणतान्त्रिक नेपालका उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ ग्रहण गरेपछि चर्किदै गएको विरोध जुलुसले सडक तात्तिने क्रम चलीरहेको थियो। प्रायजसो सञ्चारका विविध माध्यमहरुमा पनि निकै नै तात्तातो बहस र सवाल बनीरहेको थियो। जता हेर्यो उही कुरा, जहाँ गयो उही बारेमा चर्चा परिचर्चा हुँदैथियो। गएको साता- साउन १३ गते सोमबार-का दिन नयाँ बानेश्वरबाट अनामनगरतिर आउँदै थियौ तीनजना। त्यस दिन अरु दिनभन्दा बढी नै विरोध गरी उपत्यका बन्द गरिएको थियो। बाटो बाटोमा उपराष्ट्रपतिले सपथ खाँदा प्रयोग गरेको भाषालाई केन्द्रमा राखेर विभिन्न खालका नारासहित बाटो अबरुद्ध गरि टायर बालिदै थियो। धेरैजसो युवा जमात नै जोशिएर अगाडी अगाडी उफ्रिरहेका देखिन्थे। एकादुई बाइक देखिएमा डोर्याउन लगाएर फर्काइदिने गरिएको दृश्य हेर्दै हिडीरहेथ्यौ। अन्य दिनको तुलनामा सडक खुल्ला भएपनि धुवाँको मुश्लो र विरोधकर्मीहरुको जमातले भरिएको थियो सडक।

थापा गाउँनेर थोरै भिरालो परेको बाटोबाट बिजुली बजारको मनकामना हलछेउमा रहेको पूलनेर टायर बालिएको कालो मुश्लो आकाशतिर फैलिदै गरेको प्रष्टै देखिन्थ्यो। अनि बल्दै गरेको टायर छेउमा एक हूल युवाहरु उफ्रिरहेका थिए। धेरैजसो यात्रुहरु टायरको धुँवाबाट बच्न नाक र मुख छोप्दै आफ्नो नजर र ध्यान त्यतै केन्द्रित गरि हिडिरहेका थिए। हामी हिडीरहेको सडक पेटीको पारीपट्टी फोहोरको थुप्रो थियो। त्यसैको छेवैमा उभिएका एकजना युवाले फोहोरलाई मजाले नियालीरहेका थिए। मेरो पाइला चलिरहेकै थिए। तर कसो कसो गर्दा मेरो नजर त्यही अडिएको थियो। त्यत्तिकैमा उनले निर्धक्कसँग एउटा प्लाष्टिकको पोको उठाए। त्यसको छेवैमा टुसुक्क बसे। हतारिदै पोकोको एक छेउमा औँला छिराएर च्याते। ह्वात्तै पोको फुट्यो। खानेकुरा छरियो। कुनै कुराको फिक्री नगरीकन क्वाप-क्वाप खानेकुरा उठाउँदै खान थाले उनले। म अलिकति उनको नजिक गएर मोबाइलमा उनलाई कैद गर्दै थिए। मसँगैका साथीहरु निकै नै हतारिदै थिए। त्यसैले उनीहरु अगाडी पुगिसकेका थिए। मलाई छिटो आउने संकेत गर्दै 'के के गरिरहन्छ, छिटो आऊ न' भन्दै लम्कदै थिए। साथीहरुलाई भेट्न म पनि अघि बढे। मैले मोबाइलमा कैद गरेको त्यो तस्बीर, जुन यहाँ राखिदिए।

त्यसको १०० मिटर पर- सडकको बीचमा बालिएको टायरको रन्को र चर्को नाराको घन्कोले वरपरका सब कुरा गौण लाग्थ्यो। सब पसलहरु बन्द थिए। घरका झ्याल-झ्यालबाट मान्छेका टाउका बाहिर निस्किएको थियो। कोही बटुवाहरु त्यहाँ पुगेपछि हतार हतार हिड्थे भने कोही चाहि केही बेर दृश्यावलोकन गरेर मात्रै जान्थे। बालिएको टायरको रुप पनि मोबाइलमा कैद गरे। त्यसलाई पनि मैले यहाँ राखिदिए।

सडक अवरुद्ध हुनु, बन्द, हड्ताल, चक्काजाम हुनु नौलो कुरा रहेन। त्यसैले कतिपय अवस्थामा किन बन्द भएको भन्ने कुरा सबैलाई जानकारी नहुनु सक्छ। तर त्यत्तिबेलाको अवस्थामा प्रायजसोलाई थाहा थियो। र त्यो विरोधको कारणको समर्थन नगर्ने पनि कमै थिए होलान् (मेरो अनुमान मात्रै हो)। तर ती युवा (उनी जोसुकै भएपनि, जुनसुकै पृष्ठभूमिका भएपनि यहि देशका नागरिक हुन्), जो फोहोरबाट उठाएको खानेकुरा मजासँग खाइरहेका छन् उनको लागि के राष्ट्र/राष्ट्रियता? के भाषा? के धर्म? उनको त्यो तत्कालीन अवस्था हेर्दा लाग्थ्यो- जे सुकै भएपनि भोकलाई भोजन नै मानवको पहिलो र नभइ नहुने अत्यावश्क कुरा हो।

एउटा विशेष परिस्थितिले ल्याएको विशेषा माहोलको जग्जगीको बेला केही पाइलाको दुरीमा देखेको युवाको फरक अवस्थाको यो दृश्यले मलाई केही दिनसम्म मन खेलाउन बाध्य भए। त्यसैले कुटीमा राखे। मैले भनेको कुराको तुक रहला नरहला, सान्दर्भिक होला नहोला, विषयवस्तुले मेल खाला नखाला या व्यक्तिको दृश्टिकोणले निर्धारण गर्ला, त्यो बेग्लै कुरा हो। राष्ट्रियताको सवालमा उर्लेको जनमानसबारे यत्रतत्र खैलाबैला भएकै हो। तर यही रन्किएको माहोलबाट बिल्कुलै अछुतो रहेर भोक मेटाउने उनको संघर्षलाई वर्णन गर्नकै लागि मैले यसलाई 'अलि बेग्लै कुरो'को बिल्ला भिराइदिए। र, जुनसुकै समस्या पनि भोग्नेहरुको लागि उत्तिकै ठूलो हुनसक्छ, चाहे त्यो ठुलो देखियोस्/ठानियोस् या नठानियोस्, भन्ने मनसायले राखे। अहिलेलाई यति नै है। नत्र 'नमिठो जाँडको धेर निघार' पो होला कि?

11 comments:

Administrator said...

kati dardamaya chha photo haru. haamro nepal kahile paribartan hola? sayad kalpana maa sibaya kahile pani ......

दीपक जडित said...

कैलाशजी , मान्छेको आवश्यकतामा पनि अत्यावश्यक आवश्यकता भित्र पर्ने ३ ( आजभोली यता अमेरिकातिर ४ भन्न थालिएछ ) मध्येको पहिलो आवश्यकता हो ति युवाको ( तपाईंले युवा भन्नुभएको छ तर तस्विरमा हेर्दा किशोर देखिन्छ है ) तर मान्छेले आवश्यकता पुर्तिको निंती गर्ने सामुहिक संघर्षमा त्यो आवश्यकताको क्रम अन्तिममा पर्न जान्छ र त्यो अन्तिमको पालो सायदै आउला मानव समाजमा । यस्तो घोर अन्यायको अगाडी हामी कुन न्यायको निंती लड्दैछौं ? सोचनिय कुरा राख्नुभएको छ ब्लगमा । धन्यवाद !

Blogger Dai said...

this one is compelling ...

Admin Dummali said...

न १ को तस्वीर प्रोफेसनल फोटो ग्राफारको भन्दा कम छैन ।

दिलीप आचार्य said...

यो फोटो हेर्दा मेरो मनमा आउने भावहरु माथी दिपक जी ले लेखिसक्नु भएको छ।

हाम्रो समाजको यौटा अत्यन्तै कटु यथार्थ।

Anonymous said...

HI Kailash,

Your Blog is so beautiful, and so nice articles, keep is up.

Your Friends

sangamkirati said...

होइन होउ कैलास जि फोटो त कुनै फोटोग्राफर
को भन्दा कम्ती छैन है ।

धाइबा said...

सटीक अनि शाश्‍वत कुरो ! तपाईँको निबले उप्काएका कुराहरू जनजीवनकै भित्री पत्रबाट ज्वालामुखीसमान आएकामा यस क्रममा लेखकीय अभिभारा वहन गर्दै आउनुभएको मेरो मूल्याङ्कन छ । तर, यो ज्वालामुखीलाई देख्‍नुपर्ने, सुन्नुपर्ने र बुझ्नुपर्नेहरूले कस्तो चश्मा र इयरफोनबाट ग्रहण गरेर सोचको काँचुली फेर्लान्, यसै भन्न गाह्रो पो छ हौ । र यसो भन्दैमा ज्वालामुखी नफुटाई त हामीलाई आफ्नो चेतनाले छुट्टी पनि दिने होइन । यसैले जस्तो देख्दै छौँ, लेख्दै छौँ ।

अचेल आन्दोलन, धर्ना र उफ्रिपाफ्री जुलुश भीषण अराजकतामा मोडिँदै र नाङ्गिँदै गएको छ । यसो हुनुको एउटा कारण राज्यसत्ताको गान्धारी आँखा र कानेगुजीग्रस्त कान पनि होला, जसले हत्तपत्त लरतरो विरोधको लहरलाई मुसो गन्दैन । र नतिजा, नागरिकहरू नागरिकता प्रमाणपत्रमा अङ्कित दुई कान देखिएको भलाद्‍मी भावको ढ्याके फोटोबाट फाल हालेर अनागरिक तालमा बाह्रै मास आन्दोलनको खेती गरिरहेछन् ।

उता गरिब-गुरुबा, श्रमिक एवम् मजदुर्रवर्ग र आकाशको छाना अनि खुला सडकको मार्बलघरमा बाँचिरहेका दीनहीनहरूलाई भने त्यस्ता आन्दोलनले केही दिनु त परै जाओस्, तातोभुत्लो अर्थ राख्दैन । बरु भएको एकाध गेडो पनि उनीहरूबाट खोसेको छ । एउटा आकलनबाट हेर्दा, हुनेखानेहरू आन्दोलनमा टायर पोल्लान्, हुँदाखानेहरू भने उपायनास्ती भएपछि सडकछेउकै फोहोरको पोको खोल्लान् । युवा मात्र होइनन्, यो देशका नागरिक र नेता नै थरीथरीका !

कैलाश said...

आइया हौ ऽऽऽ मरे म त । एकछिन सास फेर्छु है पहिला ....।

अब सबै साथीहरुलाई मनको अन्तर कुन्तरदेखि नै धन्यवाद । तपाईहरुको छोटो भन्दा छोटो शब्दले मलाई धेरै ठूलो प्रेरणा दिइरहेको छ । साथै आगामी दिनमा पनि यस्तै अपेक्षा राख्छु ।

खास कुरो नि धाइबा जीले मलाई भेट भा बेला रोचक तरिकाले प्रतिक्रिया दिने र केही सुझाब पनि दिने गर्नुहुन्थ्यो। दोस्रो पाली ब्लगमै कमेन्ट गर्नु भएछ । म बबुरोलाई उहाँको खँदिलो शब्द संयोजनको शैलीले कताकता किचेको भान पो भो। म सिकारुलाई त काम पुगिहाल्यो नि अब। तर बडो रमाइलो । धाइवाजीको फरक फरक तरिकाको प्रतिक्रयाले अलग अलग स्वाद चखायो मलाई।

ती तस्बीरका युवा या किशोर भन्ने कुरामा म पनि दोधारमा छु दीपकजी । छेवैबाट नियाल्दाखेरी पनि मैले खासै फरक छुट्याउन सकिन। हुनसक्छ उ किशोर नै होलान् ।

Anonymous said...

hi kailash,i read your article. this one is very heart feeling. you said truely that untill a person is hungry, he can't think about right, duties and responsibilities.
i wish your success for further coming days.
Mina jarga
pokhara

Anonymous said...
This comment has been removed by a blog administrator.