साउन २३, विहिबारको दिन फिल्म@चौतारी (मार्टिन चौतारी)मा सो वृत्तचित्र हेर्ने मौका जुर्यो। सबैजना हलभित्र छिरिसकेपछि अँध्यारो छाउँछ। एकैछिनमा ओमविक्रमको चर्चित गीत 'म मौनतामा अल्झिरहेको एउटा जीवन' भन्ने गीत भिजुअलसहित स्क्रीनमा देशा पर्छ। वृत्तचित्र शुरु हुन्छ। ओमविक्रमको साथमा अन्य पप गायक/व्याण्ड/म्युजिक कम्पनी/सञ्चारका माध्यमहरुमा ख्याति कमाइसकेका व्यक्तिहरुसँगको कुराकानीको आधारमा वृत्तचित्रको माला गाँसिएको छ। बेला बेलामा चलेका पप गीतहरुको भिज्यूअलको क्लिपिङस्ले सबैलाई रमाइलै भएको भान हुन्थ्यो।
२०६२ साल। ओमविक्रमको जीवन संगीनी आइसीयुमा मृत्युसँग लड्दै गरेकी हुन्छिन्। उनी चाहिँ भक्तपुरको डबलीमा भइरहेको सांगीतिक कार्यक्रममा दर्शकहरु माझ परफरमेन्स दिइरहेका हुन्छन्। त्यस्तो अवस्थामा पनि तपाई किन यहाँ? भन्ने प्रश्नमा 'मैले यसरी यहाँ गीत गाउँदा कतै उनी व्युझिहाल्छिन् कि भन्ने मन पनि भयो' गह्रुगो मनले उत्तर दिइरहेका देखिन्छन्। केही समय नबित्दै श्रीमतिसँग विछोडिन पुग्छन् ओमविक्रम। श्रीमतिसँगको फोटो क्लिपिङसहरु एकपछि अर्को गर्दै पर्दामा देखिन्छ। अब यो वृत्तचित्रले कता डोर्याउँला? भन्ने सोच्दासोच्दै वृत्तचित्र सकिन्छ। हल उज्यालो हुन्छ। हलको एक छेउमा बसेर ओमविक्रम आफ्नो आँखा ओभानो पार्न कोशीस गर्दै गरेको देख्छु।
.jpg)
ओहो, यत्तिकै पो सकियो! मलाई स्वाद लागेन। कता कता अव्यवस्थित रुपमा सामान राख्दा लथालिङ्ग देखिएको कोठाको दृश्यजस्तै- मनमनै सोच्छु म। झटपट मनका एउटा तर्कना उब्जिन्छ- श्रीमतिसँगको साथ छुटेपछि ओमविक्रमको सांगीतिक जीवन सकिएको भनेझैँ कत्ति नमिठो अन्त्य। वृत्तचित्र सकेपछि थाहा भो- अपेक्षा धेरै नै राखिएछ। वृत्तचित्र हेरिसकेपछिको छलफलमा पनि यस्तै यस्तै विचार अगाडि आयो। पप संगीतको फाँटमा यो भन्दा गतिलो अर्को वृत्तचित्र निर्माण गर्नलाई उपयोगी र सहयोगी डकुमेन्टेसन भएको छ। खैर वृत्तचित्रलाई चिरफार गर्ने मेरो विचार छैन। तैपनि कुरोमा कुरो मिलाउँदा खप्टिएर आइहाल्छ जसरी'नि। फेरी त्यसो नहुँदो हो त के हुन्थ्यो होला??
सांगीतिक क्षेत्रमा रुचि राख्नेहरुको लागि वृत्तचित्रमा नयाँ लाग्ने कुरा कम भएकोले सबैको ध्यान केन्द्रित भयो- गायकद्वय ओमविक्रम विष्ट र धीरज राईतिरै।
.jpg)
तुलनात्मक रुपमा ओमविक्रमकै फ्यान बढी भएको र विषयवस्तु पनि उस्तै भएको हुँदा बढी केन्द्रमा ओमविक्रम नै रहे। कुराकानीको क्रममा ओमविक्रमकै मुखाबाट वृत्तचित्रले समेट्न नसकेको थुप्रै कथा व्यथा अगाडि आयो। २०२८ सालतिर इलेक्ट्रोनिक गिटार बजाउँदा उब्जेको अनौठो उमगंसहितको अनुभव र संस्मरणको साथमा रेडियो नेपालभित्रै लगभग ३६ वटा गीत हराएको तितो अनुभव पनि सुनाए। उनी भन्छन् 'कुनै कुनैको ट्यून झल्झली याद आउँछ तर शब्द बिर्सीसके'। हराएपछि ती गीतहरु हराए। न सर्जकसँग छ, न कम्पनीसँग, न त अरु कसैसँग नै।
परम्परागत गीत संगीतभन्दा नयाँ पारामा गीत गाउँदा उत्पातै मानिने भएपनि उनी आफू मात्रै स्थापित भएनन् पप संगीतको क्षेत्रलाई नै उनले सम्भावनाको ढोका खोलिदिए। दुई घण्टाको बसाईमा ओमविक्रमसँगको दोहोरो कुराकानीमा थुप्रै सहभागी साथीहरुले भाग लिए। भनौँ न छलफल जम्यो। छलफलको अन्त गर्ने छाँटकाँट देखिएको बेला अचानक सुइट्ट एउटा वाक्य सुनियो- 'तपाईहरुमध्ये कतिले एल्बम किनेर सुन्नुहुन्छ ?' गायकद्वयको प्रश्न थिएन यो। न त छलफलको विषय नै। सहभागीमध्येकै एक, अझ भनौँ विशेष अनुहार (Special appearence) भनिन्छ नि फिल्मतिर, त्यस्तैमध्येकै एकजनाको जिज्ञासा थियो यो। यो कुराले सहभागीहरुमाझ ह्वात्तै खैलाबैला मच्चियो। यो सवाल आफैमा एउटा गहन सवाल हो। तर कहिलेकाही सही कुरालाई सही ठाउँमा र सही ढंगले उठान नगर्दा झमेला हुन्छ नि, हो त्यस्तै भयो। अरु त के हुन्छ र। अन्तिममा ओमविक्रम दाईले एउटा गीत त सुनाउँदै पर्छ भन्ने अनुरोध आउँछ। सबैले समर्थन गर्छन्।
"म मौनतामा अल्झिरहेको एउटा जीवन
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
म मौनतामा अल्झिरहेको एउटा जीवन..."
ओमविक्रम गाउँन थाल्छन्। सहभागीहरु कोही स्वरमा स्वर मिलाउँदै रमाइरहेका, कोही आँखा चिम्लिएर गीतको भावमा डुबीरहेका देखिन्थे। त्यत्तिकैमा म भने वृत्तचित्रको अन्त्यलाई आफ्नै ढंगले ठाकठोक पार्दै, सम्याउँदै, बिट मार्दै थिए- वृत्तचित्रमा शुरुमा बजाइनुको सट्टा अन्तिममा गीत बजीरहेको छ- "म मौनतामा अल्झिरहेको एउटा जीवन..."। धीरज राईले न्यारेसन गर्दैछन् (शब्द ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने छैन भाव चाहि मिलेभो)- 'छाडी गईन जीवनसंगीनी, उनलाई। दैवको नटारिने खेला। तर पप संगीतको क्षेत्रमा ओमविक्रमप्रति अझ बढी विश्वास गर्ने ठाउँ बनाएर गईन्। ओमविक्रम- पप गीत/संगीतसँग हर मौसममा भिजीरहने व्यक्ति, जो उस्तै र उत्तिकै समर्पित रहीरहनेछन्, अन्तिम सास रहुञ्जेलसम्म'।
पर्रर्रर ताली बज्छ। कसैले थाहै नपाई मनमनै वृत्तचित्रको बिट मारेर, मन बुझाएर फिसिक्क मुस्कानसहित ताली बजाउँछु। केही बेरमा सबैजना हलबाट बाहिरिन थाल्छन्। म पनि बाहिरिन्छु उनीहरुसँगै।
1 comment:
नेपाली पप-संगीतले लामो यात्रा तय गरिसकेको छ र यसको एउटा स्पष्ट पहिचान बनिसकेको छ। यो भन्दा धेरै पहिला जन्मिएको 'नेपाली चलचित्र' अझै वामे सर्न समेत सकेको छैन।
यो प्रगतिमा ओमविक्रमजस्ता 'पायोनियर'हरुको ठूलो योगदान रहेको कुरामा कुनै शंका छैन। उनको सम्मानमा आयोजना गरिएको कार्यक्रम र वृत्तचित्रको बारेमा जानकारी दिनुभएकोमा धन्यबाद!
Post a Comment