(पहेलो पोते, हसिलो मुहार क्या राम्रो खुलेको)
घुमीफिरी फेरी उही १० दिने बैंगलोरको वर्कशपको क्रममा उब्जिएको कुरो । स्मरणग्योग्य विभिन्न पक्षमध्ये पहेलो रङको पोतेको सन्दर्भ मलाई घरीघरी याद आउँछ । वर्कशपको अन्तिम दिन बंगलादेश र केरला, भारतका केही साथीहरुसँग गफगाफ गर्दै साँझको बेला यसो आश्रम बाहिर निस्कियौँ । कुराकानी गर्दै हिड्दै जाँदा आश्रम नजिकैको फार्म हाउसमा पुग्यौँ । त्यहाँ विभिन्न प्रजातिका गाईगोरु तथा बाख्राहरु नेमप्लेटसहित व्यवस्थित रुपमा बाँधेर राखिएको थियो । रुचिपूर्वक साथीहरुले नियाल्दै लगे । म पछिपछि लागेर हिडिरहेको थिए । फार्म हाउसको एक छेउमा बच्चा कराएको आवाज आयो । गाली गर्ने हुन् कि भन्ने मनसायले फर्किने सल्लाह गर्दैथियौँ । मधुरो बत्ती बलेको कोठाबाट एक्कासी अपरिचित महिला मतर्फ झम्टिदै आइन् । झँस्किएर ठूलो आवाजमा मुख छोपेर म कराउन पुगेछु । त्यतातिर चोर निकै लाग्छ होशियार रहनु भन्ने एकजना आफन्तले नेपाल छाड्नेबेलामा भनेको कुराले पनि धेरै त्रसित बने हुँला सायद ।
बंगलादेशको एक साथीले मलाई हल्लाउँदै भन्यो, 'सी इज सेइङ्ग समथिङ्ग... नेपाल । सी मे बी वान्ट टु टक विथ यु' । आँखा खोलेर यसो हेरे । मैले लगाएको पहेलो रंगको पोते समातेर छाम्दै हेरीरहेकी थिइन । 'ये तो हमारा नेपालका हे, आप नेपाली है ? में भी नेपालमे पहेनती थि, लेकिन यहाँ नही मिल्ता', मेरो अनुहारमा हेर्दै नहेरी बोलिरहेकीथिइन् । मेरो चाहिँ मुटुको धड्कन सामान्य भईसकेको थिएन । केही सहभागी साथीहरुसँग सल्लाह गरेर अन्तिम दिनमा आ आफ्नो जातिगत या सांस्कृतिक पहिरन लगाएका थियौँ । उनको कुरा सुनेर मलाई पनि खुशी लाग्यो र केही क्षण वार्तालाप गर्यौँ । मैले लगाएको पोतेले नेपालमा बिताएको पुराना पलहरुको चित्र अगाडि ल्याइदिएको थियो । उनले धेरैबेर पोतेबाट आफूलाई अलग्याउन नसकेको देखेर मैले फुकाएर लगाउनुस भनेर दिए । खुशी हुँदै उनले लगाइन् ।
घर र माइती दुवै नेपालको पश्चिम भेग भारतको सीमानामा पर्छ भन्नेबाहेक उनलाई खासै अरु कुरा थाहा थिएन । नेपाली भाषा बुझ्ने तर बोल्न नजान्ने, हिन्दी र कन्नड भाषा बोल्ने उनी नेपालमा रहेका परिवार र आफन्तहरुको धेरै सम्झना आउने बताउँथिन् । २ बच्चा र श्रीमान्हित बस्दै आएको, श्रीमान्न् ज्यालादारी गर्ने र आफू त्यही फार्म हाउसमा काम गर्दै गुजारा चलाइरहेका थिए । अरु कुरा सोध्दा श्रीमान्लाई सबै कुरा थाहा छ भन्थिन् । झमक्क रात परीसकेकोले साथीहरु मलाई चाँडो जाउँ भनी रहेका थिए भने उनी चाहिँ दुध खाएर जानुस् भन्दै स्टोभमा दम दिन लागिन् । हतार भएको भन्दै हामी हिड्यौँ । अलिकति अगाडि बढेका थियौँ उनले बोलाइन् । पोते फुकालेर दिइन् । फिर्ता लिउँ कि नलिउँ भन्ने दोधारमा म परे । कारण त्यो पोते अर्को साथीको थियो । अरुको सामान म कसरी अरुलाई नै दिउँ भन्ने सोचेर फिर्ता लिए ।
यत्तिकैमा उनको श्रीमान् आइपुगे । राती भइसकेकोले उनी हामीलाई आश्रमसम्म पुर्याउन आए । बाटोमा कुराकानीको क्रममा मेरो अन्य जिज्ञासा मेटियो । शसस्त्र माओवादी विद्रोहको बेलामा सेना र माओवादी दुवैतर्फबाट चेपुवामा परेको हुँदा भारततिर छिरेको र अब केही समय पैसा कमाएर मात्रै नेपाल फर्कने उनको योजना थियो । आश्रममा आएर नेपालका अरु साथीहरुसँग कुराकानी गरेपछि पोते उनकै हातमा पठाइदिए । अन्तिममा उनी भन्दैथिए, 'राम्रोसँग जानुस् अनि हाम्रो फोटो पठाइदिनुस् है बैनी' ।
Friday, February 29, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment