राजनीति भनेको फोहोरी खेल भन्ने कुरा सानैदेखि सुन्दै आएँ । अनि मनमनै सोच्थे, जानजानी यस्तो फोहोरी खेल किन खेल्नु त ? म भएदेखि नखेलीकन हाइसन्चोले बस्थे । अहिले बल्ल थाहा हुँदैछ, राजनीति भनेको देश चलाउने संयन्त्र वा कडी रहेछ । र यो आफैमा फोहोरी हुँदैन ।
अहिले निकै चहलपहल छ । सबै भन्छन् कमैको जीवनमा संविधान बनाउने सुवर्ण मौका आउँछ । मेरो एकजना दाइ पनि त्यसै भन्छन् । ऋण तिर्नलाई विदेशीएका उनी चुनावमा भोट हाल्न नपाउँदा न्यास्रिरहेका छन् । अर्काको नून खाएपछि गुण मान्नै पर्यो । गुण् मानेपछि ऋण तिर्नेपर्यो । के गर्ने ? धेरैजसो नातेदार, आफन्तहरु उपल्लो मुलुकमा हड्डी घोट्दैछन् । यहाँ भने सबै दलका नेता तथा कार्यकर्ताहरु संविधान बनाउनलाई धुमधामसँग बाँझो फोरे सरह भाषण जोत्दैछन् । मलाई पनि दिनमा ३, ४ पटक चुनावी रन्कोले फन्को मारेकै छ । बडो गजब छ । जे होस् रमाइलो लागेको छ, नयाँ संविधान बन्ने कुरा सोच्दा । त्यही माथि दिनदिनैको अनेक घटना र परिघटना सुन्न र देख्न पनि पाइएकै छ । सञ्चारका माध्यमहरु जति सबैमा रौनाक बेग्लै छ । उता राजनीतिक पार्टीहरुको आ-आफ्नो नारा र घोषणfपत्रसहितको उर्दी, अनुरोध वा स्वार्थको कुरा फेरी छुट्टै छ ।
मेरो पनि कत्रो सपना थियो, जिन्दगीमा पहिलो चोटि भोट हाल्ने त्यो पनि संविधान लेख्ने उम्मेदवार छान्नको लागि । तर सपना साकार नहोला जस्तो छ । गाउँमा नाम टिपाउने कस्ले ? यहाँ आफैले नै टिपाइएन, अनि कुरा ख्याउरिएन त । हुन त घर बस्नु सट्टा हाफ पाइन्ट लगाई लगाई पोहोर-परार सालको जनआन्दोलनमा कुदैकै हो नि । तैपनि यो राजनीति भन्ने जिनिस के चाहिँ हो त भन्ने यो दिमागमा स्पष्ट हुन सकेकै छैन । अर्कोतिर घरपरिवार र नातागोतालाई सोध्यो भने झन् अर्को अलमलमा पर्छु । सबै भन्छन् यो राजनीतिबारे हामीलाई थाहा छैन र थाहा पाउनु पनि छैन । अनि यो चुनाव त झन नेतालाई कुर्सीको जोहो गरिदिने चुनावबाहेक अरु हुँदै होइन भन्ने लेँडे ढिपी नै गर्छन् । अनि कसरी भयो एक जुगमा एक दिन मात्र हुने संविधान सभाको चुनाव ?
नेताहरुको भाषण, भोट माग्ने शैली, तँछाड र मछाँड गर्दै एकअर्कामा आरोप प्रत्यारोप गरेको देख्दा त मलाई पनि यो संविधान लेख्ने उम्मेदवार चयनको चुनाव होइन की भन्ने भान हुन्छ । ४८ सालको चुनावमा गाउँमा 'घाम', 'रुख' अनि 'घर' मा भोट हाल्ने भनेझैँ लाग्थ्यो । त्यत्तिबेला आफू परियो एक नम्बरको गोक्ते । पछि ५२ सालमा पनि चुनाव भयो । त्यसमा भोट हाल्ने उमेर नभएको भन्थे मलाई । तर खै कसले हो कुन्नी हातमा थमाएको झण्डा बोकेर अगाडि अगाडि त हिडेकै थिएँ । गाठ्ठी कुरा नबुझीकन हिडेकोले लाज पनि निकै लागेको थियो ।
त्यत्तिबेला गाउँमा निकै चहलपहल र विभाजन पनि आएको थियो । त्यो पनि मलाई याद हुँदैन थियो होला । खेतीपाती शुरु भएको बेला भएकोले दैनिक कामकाज र मेलापातमा समेत निकै असर पुर्याएको हुँदा याद भयो । गाउँका बुझ्ने र जान्ने भनाउँदा पुरुषहरुको बास घरमा एकछिन पनि नहुने । अनि वर्षायामको बेला घर, खेत सबैको बोझ जति आइमाइ केटाकेटीको थाप्लोमा । अनि कहाँ कहाँका मान्छेहरु आएर स्कूल स्कूलमा पनि नाचगान गर्थे भोट खसाल्नेबारेमा गीत गाउँदै । गाउँमा भने फलाना एमालेको पर्ममा हामी किन जाने, फलाना काँग्रेसको बारी खन्न र जोत्न हामी किन जाने भन्ने गर्थे । पूजाआजा तथा सामान्य रीतभातको बेला पनि त्यही भन्थे । चुनाव सकिएपछि पनि यो कुराले केही समय गाउँघर निकै बिथोल्यो । पछि विस्तारै सेलाउँदै गयो र फेरी स्थिति सामान्य हुँदै गयो ।
अहिले फेरी त्यही स्थिति छैन भन्न सक्दिन म । किनकी अहिले पनि धेरै ठाउँमा यो चुनाव अरु सबै भन्दा भिन्न र महत्वपूर्ण त भन्ने कुरा बुझ्न र बुझाउनै सकिएको छैन भन्ने मेरो ठम्याइ छ । जो राजनीतिमा चासो राख्दैनन् उनीहरुलाई बुझाउने कसरी र कस्को दायित्व ? भन्न त प्वाक्कै भनिन्छ हामी सबैको हो । म पनि त्यसै भन्छु । तर त्यो जाँगर र अभिप्राय बोकेर खट्ने मान्छे कति नै होलान् र ? धेरैजसोको भोट सामेल नभइकन चुनाव सकिन्छ होला, यदि चुनाव भइहालेछ भने । नत्र त के के हुन्छ कुन्नी ? कसैलाई थाहा छैन सायद । नेपालको धेरैजसो युवा जनशक्ति अर्काको मुलुकमा, ६१ सालमा भोट लिस्ट बनाउँदा उमेर नपुगेका कति छुटेका छन् । कतिपय पढ्ने र कामको चक्करमा चोकेमा झुण्डिएकाहरु होलान् (जो भोट हाल्न गाउँ जान पनि सक्छन्, नजान पनि सक्छन्), अनि अर्को राजनीतिप्रति भुत्लो भाङ चासो नराख्नेहरु पनि कति छन् ।
एकचोटि मात्रै आउने यो मौका त हो । र, उलटपुलट उथलपुथल पनि हुन्छ होला । तर लाटा सोझा बोल्ने, मरे भनिएकाहरु जुरुक जुरुक उठ्ने चाहिँ कुन्नी है ।
Friday, April 04, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment