Monday, April 14, 2008

गति परिन्थ्यो कि प्रचण्डलाई हेर्न पाए ...

भोट हाल्ने रहर हुँदाहुँदै विभिन्न कारणवस मत खसाल्न नपाएको झोँकमा चुनावको अघिल्लै दिनदेखि रन्थनिएका थियौँ- हामी ३ जना मनुवाहरु। छट्‍पटिदै कहिले चोकतिर कुद्‍दै, कहिले टेलिभिजनमा चुनावी माहौल हेर्दै समय काट्‍दै थियौँ। धेरैजसो आफन्तजनले 'चुनावको दिन बाहिर नजानु' भनेपनि मन कहाँ मान्थ्यो र। अन्ततिर केही झडप र झमेला भएपनि उपत्यकामा निकै संयम र शान्तिपूर्ण तवरले चुनाव सम्पन्न भएकोमा औधी खुशी लाग्न थाल्यो। अब फेरी खुल्दुली रह्यो चुनावी परिणामको। विशेषगरी नेकपा माओवादीका उम्मेदवारका साथै बौद्धिक वर्गमा निकै रुचाइएका र असल मानिएका अन्य दलका उम्मेदवारहरुको पनि विजयले हामीमा एक किसिमको उत्साह र उमंग छायो। चारैतिर अन्य दललाई उछिन्दै अगाडि अगाडि मत परिणाम बटुल्न सफल भएका माओवादीका उम्मेदवारहरुको विजय घोषणासँगै कौतुहलता निकै बढ्‍दै गयो ।

काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहको विजयसँगै बेग्लै रौनकको शुरुआत भएपश्चात राजधानीको माहोल तातियो। विस्तारै विजय जुलुसको रौनक बाक्लियो। शनिवारको दिनमा हामी सबै माओवादी अध्यक्ष प्रचण्डको विजय घोषणा र विजय उत्सवको दृश्य हेर्न निकै लालायित थियौँ। टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेकोले र एफएमहरुबाट पनि जानकारी आइरहेकोले सजिलो थियो कहाँ के भइरहेछ भन्ने थाहा पाउन। उपत्यका बाहिर जानुपर्ने मेरो काम भएपनि अन्तर्राष्ट्रय सम्मेलन केन्द्रतर्फ लाग्ने निधो गरे। बाटोमा एक मित्रसँग भेट भयो र लम्कियौँ त्यतातिर। तर आधा बाटोमा पुग्दानपुग्दै आँखा उघार्नै नहुनेगरी बटारिदै तीब्र बेगमा आएको हावा हुण्डरी र मुसलधारे पानीले अगाडि जान सकेनौँ र खाजा खाने निहुँ पारेर कुनै एउटा पसलमा छिर्‍यौँ।

हावा हुरी र पानी थामिएपनि मन खल्लो पार्दै कोठामा फर्केर आए। मेरा दुइजना साथी या आफन्त जे भनेपनि हुन्छ, हरु के हावा हुरी, के पानी नभनीकन प्रचण्डको विजय जुलुसमा एकैछिनभएपनि सामेल हुन पुगेका थिए। निथ्रुक्क भिजेर, हावा र हुरीले उडाउँनै खोजेपनि प्रचण्डको एक झलक पाउने आशामा भेला भएका ठूलो जमातमाझ २-३ घण्टा उभिएर आएका उनीहरु गनगन मलाई सुनाउँन थाले। त्यसले मेरो मनलाई केही मात्रामा भएपनि राहत मिल्यो। भीडमा एक बृद्धा भन्दैथिइन रे 'आज प्रचण्डलाई हेर्न मात्रै पाएपनि गति परिन्थ्यो कि'। प्रचण्डको दर्शन पाइने पर्खाइमा २ नम्बरको गेटबाहिर सारा जमात बसेका थिए रे। तर प्रचण्ड कतिबेला कुन गेटबाट बाहिरिए र कता लागे त्यस भीडलाई थाहै भएनछ। त्यही भीडबाट कोही एकजनाले प्रचण्ड बाहिरिएको खबर दिएपछि उनीहरु निराश हुँदै फर्केर आएका थिए। मलाई थम्थमाउँदै भन्दैथिए-'टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमा राम्ररी हेर्न पाईन्थ्यो, त्यहाँ गएर त न प्रचण्डलाई हेर्न पाइयो, न अरुतिरको चुनावी परिणामबारे राम्ररी सुन्न पाइयो, बरु हावाहुरी र पानीले बिजोग बनायो'। तर कोठामा फेरी अर्को आपत- लोड सेडिङको। त्यसपछि त लोड सेडिङको फाइदा उठाउँदै घमासान रुपमा चुनावी गफ शुरु भइ त हाल्छ।

प्रचण्डलाई भेटेर फूल दिने इच्छा बोकेका एक छिमेकी पनि निराश हुँदै फर्केका थिए। विजय घोषणा भएपश्चात प्रचण्डले दिएको मन्तव्यले प्राय उनका शुभचिन्तकहरु दंग र फुरुङ्ग भएका थिए। विजय जुलुसमा सामेल हुन पुगेका कैयौँ जनमानसहरु त्यही मन्तव्यको भरमा फर्किनु परेको थियो। (फोटो साभारः हिमाल खबर.कम)

No comments: