Thursday, August 28, 2008

म बिन्दास डेरावाल

कोठा त मेरो अत्ति नै सेक्रेट थलोमा छ यार। घाम, जुन, हावाजस्ता कुरा देख्न र महशुश गर्न अलिक गाह्रो हुन्छ। तर ढुसी चाही Good partner सरह छ। घरैघरको चेपभित्रभित्रै मसिना गल्ली, त्यही गल्ली पछ्याउँदै जाँदा अलि अग्लोलाई टाउको निहुराउँनुपर्ने बाटो भएरभित्र छिर्दा फरक पर्दैन। चारैतिर घुम्दा कुन चाही कोठा होला भन्ने कुरामा मात्रै अलिकति कन्फ्यूज हुन्छ। आफू त नेपाली साइजको। So Dam Care! कोठाको मालमत्ता दिउँसैपनि बत्ति बालेर घोरिएर हेर्नुपर्ने। दिउँसो त त्यत्ति बसिदैन। त्यसैले No Tension। घरबेटी पनि Not Bad। धेर Idea हुनेले Idea share गर्न चाहीरहन्छन् नि। त्यसलाई Boaring मानेर हुन्न नि Bro.

'राधे राधे राधे... बाबु घर कता पर्‍यो?' - पुर्वको पुछारतिर।
'के गर्छौ?' - पढ्दैछु, एउटा प्राइभेट कार्यलयमा काम पनि गर्छु (भित्री कुरो भन्नुपर्दा त हाम्रो देशको systemजस्तै झुण्डीएको छु, चटक्कै छोड्न पनि नमिल्ने-जति गरेनि माथि उक्लिन पनि नसकिने तालमा)।
'कमाई कति हुन्छ?' - आफुलाई पुग्ने (नपुगेपनि anyhow पुगाउँनैपर्यो)।
'को को बस्ने?' - सिङ्गै म।
'मतलब बिहे भाको छैन!' - भइसक्यो (हुन त म अझै अविवाहित त्यसमाथि पनि कुमारै छु, तर घरबेटीको मनसाय बुझेर कहिलेकाहीँ कुरो थपघट पार्नु परिगो)।
'अनि खै त परिवार?' - उतै छन्।
'कुलत, अम्मल?' - केही पनि छैन (यसो कहिलेकाही शरिरको तापक्रम मिलाउन चढ्काउनु अनि साथीभाईसँगको भेटघाटमा रमाइलो गर्नु के को कुलत र अम्मल नि। कि कसो Company Man?)।

यत्तिका विधि solo अन्तर्वार्तापछि छानिएको म भलाद्मी डेरावालकै सूचिमा परिन र? No doubt।

परिक्षा नजिकिएपछि चाहि हप्तादिन जति कोठामा बसेर पढ्ने हुँदा पाको सुविधा उपभोग नगर्ने कुरै हुन्न। दिउँसै बत्ति बालेर यसो अक्षरमा आँखा लगाए। नयाँ नेपालको विद्यार्थी पो त। साथीहरुसँग Combine study गर्न भेला पनि भइयो।
'राधे राधे राधे... यो महंगीमा दिउँसैभरी बत्ती बालेर साध्य हुन्छ' मनको पीडा पोख्दै भर्याङबाट तल झर्दै मलाई कोट्याउँछन् 'ए कैलाश बाबु, यसको अलग्गै चार्ज लाग्छ नि' राधे आमैको आँखा न हो, खाँटी खानदानी व्यपारी घरानाकी, नयाँ सम्भावनाको ढोका खोलिहाल्छिन् बेलाबेलामा।

यत्रो ठूलो शहरमा जाबो यस्ता स-सानो कुरो। Who Care! Leave it यार। यही सोच्दै म चाहिँ खेपैपिच्छे प्रीति जिन्टाको गालामा देखिने कामूक डिम्पल सम्झिदै, मेरो आफ्नै गालामा पनि ठ्याक्कै त्यस्तैगरी डिम्पल बनाउँदैछु भन्ने चेतन-मनको भ्रमसँगै फिसिक्क-फिसिक्क हासीदिन्छु।

अनुशासनको डोरो मोटामोटी रुपले टाँगेर सुनाउँछु म।
कोठामा खाना पकाउँन मनाही। - केही छैन, ग्यास-मट्टितेल केहीपनि नपाइएको बेलामा रेडीमेड खान्की र होटेलहरुको भीडमा लन्ठा किन बेसाउँनु छ र? फेरी पकाइतुल्याइमा मलाई जाँगर छैन। ठीकै गर्यौ राधे आमै।

रातको ९ बजेपछि घरको मुख्य ढोका नखुल्ने। - कोही बात छैन, बेलामौकामा आफनै कोठामा बस्नु नपर्दा बेग्लै मज्जा नि। यही बहानामा कहिलेकाही Chance मा Dance गर्न पनि मिल्ने भो।

सकभर धेर मान्छे नल्याउँने ल्याइहालेमा पनि नराख्ने। - अनिकाल र महंगीमा बेसै छ (तर मान्छे बसेको घर हो भने त मान्छे नै आउछन् नि हैन र?)।

पानी फारो गरी चलाउने। - काठमाडौमा धेर त जाडोकै मौसम रहन्छ, अरुबेला धीत मर्नेगरी धाराको प्वाल हेर्दाहेर्दै कहाँ फूर्सद हुनु र पानी धेर चलाउनु।

धेर हल्लाखल्ला गर्न मनाही। - त्यो रहर चाहिँ सडकमै पूरा गरिँदै आइएको छ प्रायजसो। त्यसमा Over Time गर्नको लागि किन कोठा प्रयोग गर्नुपर्यो र हैन?

घरभाँडा अघिल्लै महिना हात लाउनुपर्ने। - नाथे हातको मैलो। खल्तीमा पैसा पर्नासाथ बुरुक बुरुक उफ्रिन थाल्छ। आफ्नो खल्ती मत्ते खिइन्छ। बरु जे जे खिइनु छ राधे आमैकै भागमा परोस्।

डेरावालहरुको लागि एउटै मात्र पाइखाना प्रयोग गर्नुपर्ने। - राम्रै हो त्यसैको बाहानामा घरमा बस्ने सबैको नालीबेली बुझिन्छ। राधे आमैको भरभराउँदी छोरीको बाहेक। खैर त्यो पनि मौका जुरीहाल्छ कुनै दिन।

'हाम्रा चेलीबेटी, छोरीचेली छन्। उरन्ठेउला देखिन्छौ बाबु कुनै पनि कुराको गुनासो गर्ने ठाउँ नदिनु है मलाई।' (यहाँनेर आएर म नौजवान डेरावालले पालना गर्नुपर्ने अनुशासनको डोरोलाई गाँठो पारिन् राधे आमैले) - अहो बडो मजाको गाँठो पर्यो क्यार। त्यसो त म पनि कूल घरानाकै ठिटो पो त हौ। तरिकाबद्ध काम गरौला नि। यो गणतान्त्रिक नेपालमा पनि छोरीको लागि आमालाई दुःख दिनु Old Fashion हो नि। हातहातैमा मोबाइल भाको काम लगाउँला नि।

बेलामौकामा बाहेक राधे आमैको अनुशासनको पालना गर्थे। सबै ठीकठाकै चल्दै थियो। घरबेटी परिवर्तन भयो। अर्कैको पोल्टामा सत्ता गएझैँ। के फरक पर्छ र? तर हैन रहेछ। अघिल्लो कालको विपक्षी दलका मन्त्रीले नियुक्त गरेको कर्मचारीको जस्तै हाल भो।

यत्तिका घरैघर छन् यहाँ। सबै आफ्नै हुन्। वर्षदिन पुग्दानपुग्दै ३ पल्ट त घर सरेको छु बल्ल। ४ औँ पटक पुर्याउन के को आइतबार! बस्नेलाई माटो-जानेलाई बाटोको कमी हुन्छ र। खाट्टी कुरोः

म बिन्दास डेरावाल,
एक किलो मासु ल्याउँछु छेलबेल दशै
कुम्लो कुटुरो बाँध्छु व्यवस्थित बसाइँ
Be Always Bindass!!!

Sunday, August 24, 2008

What an Idea !

अध्ययन/अनुसन्धानको क्रममा ३ जना व्यक्तिले अपनाएको तरिकाबारे छोटो गफ गरौँ आज। त्यसो भन्दाखेरी Research Method/Methodology बारेमा चाहि होइन नि फेरी। अध्ययन/अनुसन्धानको क्रममा आवश्यक सामग्री संकलन गर्दा बाधा आएपछि गाँठो फुकाउँन अपनाएको Tricky कुरो मात्रै हो। जसले अरुलाई थप Idea फुर्ला कि?

घटना १- एकजना साथी, जो अध्ययनमा रमाउँछन्, लेख रचना लेखीरहन्छन्। ३ वर्ष अगाडि ब्लग खोले उनले। त्यो ब्लग हेर्दा मैले केही बुझिन। अफडेट पनि हुन छाडेको थुप्रै भाको। मैले त केही बुझिन तपाईको ब्लगबारे भनेर मैले मेरो जिज्ञासा राखे। उनले सरल जवाफ दिए 'मैले ब्लगिङको लागि खोलेकै थिइन'। अनि के को लागि त? अध्ययनको लागि काठमाडौको नामी डकुमेन्टेसन सेन्टर/पुस्तकालयमा गएछन्। त्यहाँ अनलाइन सर्भिसमा कम्प्यूटरमा बसेर मजाले पढ्न सकिने। आफूलाई चाहिने जति कुरा कपीमा लेख्न जत्ति पनि सकिने। तर त्यो बाहेक print/photocopy/email केही गर्न नपाइने। आफूलाई चाहिने कुरा कपीमा लेख्दै गएछन्। तर जति पढ्दै गयो आवश्यकीय लेख बढ्न थाल्यो। अब कपीमा लेखेर साध्य नहुने भो। चाहिने भएपछि उनले टिरिक निकाले। साइबर क्याफेमा गएर ब्लग बनाए। अनि डकुमेन्टेसन सेन्टरमा गएर आफूलाई चाहिने जति कुरा कपि गर्दै खुरुखुरु ब्लगमा थन्काएछन्। पछि ब्लगमा भएको कुरालाई भेला पारेर मजाले काम फत्ते पारेछन्। अहो ! What an Idea sir jee।

घटना २- अध्ययन/अनुसन्धान कै लागि त्रिविको पुस्तकालयमा दैनिक पत्रिकामा लेख रचना हेरेर/छानेर फोटोकपी गरेर डाटा संकलन गर्नु थियो अर्को एकजना साथीलाई। त्यहाँको पत्रिका हेर्न/पढ्न त सकिन्छ। तर फोटोकपी गर्न निकै झन्झट अनि पालो पनि नआउँने। अन्य पुस्तकको फोटोकपी गर्नुभन्दा निकै नै झन्झट हुने हुनाले पनि पत्रिकाको पालो त्यहाँ सितिमिति आउँदैन। त्यो साथी १/२ दिन गएर यसो पत्रिका हेरेछन्। अनि फोटोकपि गर्ने मामिलामा हप्तादिन भन्दा बढी कुर्नुपर्ने। अनि उनले दिमाग लगाएर साथमा क्यामेर लिएर गएछन्। अनि पत्रिकामा छापिएको लेख/रचना/समाचारलाई क्यामेरामा कैद गरेर ल्याएछन्। अफिसमा ल्याएर मिलाउँदै प्रिन्ट गरेपछि त काम चलि गो नि। यार Good Idea। यस्तै काममा म पनि २ वर्ष अघि फसेको हुनाले सम्झेर ल्याउँदा ढंग पुर्याइएन छ भन्ने लाग्छ।

घटना ३- म काम गर्ने कार्यलय कोठाभित्र छिर्दा आफूलाई उपयोगी हुने अनुसन्धानमूलक लेख, जर्नलहरु अनलाईन साइटहरुमा सर्च गर्दै थिए- अनुसन्धानकर्ता एकजना दाई। आफ्नो अध्ययनसँग मिल्ने सामाग्री पाएपछि उत्साहित बन्दै थिए। PDF फाइल खोल्नासाथ १ पेज खुल्यो। अरु पेज हेर्नको लागि पैसा माग्यो। त्यसले छुटकारा पायो। अर्को फाइल खोल्नु भो। त्यो चाहि सबै खुल्यो। तर त्यो अनलाईन पढ्नबाहेक अरु केही गर्न नसकिने रहेछ। न प्रिन्ट गर्न मिल्ने, न त Copy गर्न मिल्ने। महत्वपूर्ण लेख छ, जसरी पनि पढ्नुपर्ने हुनाले एकछिन सोचमग्न भए।

केही बेरपछि 'तिमीसँग क्यामेरा छ?' भनेर मलाई सोधे। मसँग थिएन। केहीबेर कोठाबाट हराउनुभो। एकैछिनमा क्यामेरा लिएर कम्प्यूटर अघिल्तिर बसे। अघिदेखि कम्प्यूटरको स्क्रीनमा झोक्राएर रहेको डकुमेन्टको फोटो खिचे उनले। खिचेको कुरा प्रिन्ट भएर आउदा पढ्न सकिन्छ कि सकिन्न भनेर जाँच पनि गरे। कुरो मिल्ने भो। पेजवाइज ख्याच्याक्क ख्याच्याक्क गर्दै क्यामेरामा थन्काएपछि एकैछिनमा प्रिन्ट निकालेर मजाले पढ्न मिल्ने भो। काइदा! ब्लगमा गफ जोत्ने मनसायले मैले पनि एउटा दृश्य कैद गरे।

'हो हो होऽऽ हो हो होऽऽ... What an Idea सर जी' भारतीय टेलिभिजन च्यानलहरुमा प्रसारण हुने यो विज्ञापन धेरैलाई थाहा होला। हो हो होऽऽ को ट्यून गाउँदै ३ जना साना भाईबहिनी उफ्रिदै/नाच्दै What an Idea भन्दै खेल्दै गरेको देखेथे आफन्तहरुकहाँ। अहिले म त्यस्तै भन्दैछु- हो हो होऽऽ हो हो होऽऽ... What an Idea सर जी ।

Wednesday, August 20, 2008

केक मन पर्छ?

हुन त म आफ्नो जन्मदिन मनाउँदिन। तैपनि कहिलेकाही केक पकाउने मूड चल्छ। यसो क्यालेण्डरतिर नजर लगाउँदा थाहा भो। भोली (५ भदौ) र आउने आइतबार (८ भदौ)मा मेरो दिदी र सँगीहरु (३ जना)को जन्मदिन परेको छ। त्यही अवसरमा मलाई केक बनाउँने idea फुर्यो। 'कसरी बनाउँने केक?' भन्दै कतिपय साथीहरुले मलाई धेरैपल्ट सोधेका पनि छन्। अबको आइतबार जन्मदिन पर्ने साथीहरुले पनि सोधेका थिए। त्यसैले आज मलाई केक बनाउने तरिका Share गर्ने मन भो। अनि मेरो भदईको 2nd Birthday मनाउँदाखेरीको केकको तस्बीर पनि साथैमा चिप्काइदिए। पढेर मात्रै सबैलाई खाउँ खाउँ नलाग्ला, तस्बीर देखेपछि त खाउँ खाउँ लाग्ला र बनाउँन पनि जाँगर पो चलिहाल्छ कि भनेर नि।

अब आउनुस् आज Medium size को Banana Cake बनाउनतिर लागौ है त-
पहिला सामान ठीकठाक पारौँ-
केक पकाउँने ओभन त हुनैपर्यो। अन्य सामाग्रीहरुमाः
- मैदाको पीठो (२ कप)
- केरा ३ कोसा (केराको सट्टा स्याउ, गाँजर आदि पनि राख्न मिल्छ) उछिलेर स-सानो टुक्रा पार्ने
- बटर १५० ग्राम
- बेकिङ पाउडर (सानो चम्चाले २ चम्चा)
- दुध (१ कप)
- चिनी (१ कप)
- अण्डा (३ वटा) फिट्ने
- नुन (३ चिम्टी)

बनाउँने तरिका
- मैदाको पिठोमा बेकिङ पाउडर र नुन हालेर मोल्ने।
- बटरलाई पगाल्ने अनि त्यसमा चिनी र अण्डा राखेर चम्चाले फिट्ने। त्यसैमा मोलेर राखेको पिठो, केरा र दुध हाल्ने अनि मिक्सचरमा राखेर फिट्ने। अब केक पकाउनको लागि सबैकुरायुक्त घोल तयार भयो।
- अब ओभनमा सो घोललाई खन्याउँने, ओभनलाई बन्द गरेर ग्यासमा बसाल्ने या बिजुलीमा जोड्ने (ग्यास या बिजुली दुबैमा केक पकाउन मिल्ने ओभन पाइन्छ, ग्यासमा पकाउँने हो भने धेरै ठूलो ग्यास नबाल्ने)।
- ३५ मिनेटसम्म पाक्न दिने (बीचमा बिर्को खोलिएमा केक कच्पचिन्छ/राम्रोसँग पाक्दैन)।
- ३५ मिनेट भयो अब केक तयार भयो (यतिञ्जेलमा केकको बासना फैलिसक्छ)।

केराको साधा केक तयार भयो। यसलाई अझ सुन्दर र झिल्के बनाउने भएमा कलरफूल क्रिम, किसमिसलगायतका थुप्रै चीजहरुद्वारा सजाउन सकिन्छ। कसैलाई स्पेसल उपहार दिनको लागि माथीबाट स्टायल स्टायलमा मजाले लेख्न पनि सकिने भो। लौ है साथीहरु केक मन पर्छ र पकाउँने मन भएमा यी माथि भनिएका कुराले पक्कै पनि मद्दत गर्छ।

Thursday, August 14, 2008

उल्कै भो

उत्तम बहाना -लोडसेडिङको
संगीहरुसँग हल्लाखल्ला
डेटिङ पार्टनर कसलाई बनाउँने?
उडन्ते नै सही
बेलाबखतमा गरिन्छ रमाइलो

ओहो नि !
आफ्नो ह्याँ कत्रो धोको
लौन,
कमरेड प्रचण्डसँगै फुकाउनु छ यो मनको पोको
पाए त जान्थे नि
उनैसँग डेटिङ
long driving
अनि,
कत्ति धुवाँदार गफ होला हगि?
walking with him in the evening

आम्मै नि !
बडो Handsome भइकन म तिरै पो आए
सँधै झैँ थोरै कुम हल्लाए
मुसुक्क मुस्काउँदै -मने
मुठ्ठी पारेको हात उज्याउँदै
अँग्रेजीमै I Love U पो भने

मेरी आम्मै नि !!!
थाहै भएन
कता-कता
मलाई के भो, के भो
pick hour मा पिर्लिक्कै आँखा पो खुल्यो
हत्तेरिका,
जत्ति बिधि उल्कै भो

(एक महिना अघिको कुरो। बत्ती गएको बेलामा यसै साथीहरुसँग जिस्किदै थियौ। कुराकानीको क्रममा अब के गर्ने भन्ने प्रश्न आयो। त्यत्तिकैमा मैले प्रचण्डसँग डेटिङ जान मन छ भने'थे। अनि एक्कैछिन भएपनि कुरा चर्केको थियो। त्यही कुरालाई मैले गए राति लोडसेडिङ भाकै मौका पारेर आफ्नै लागि यो भाँतीको 'ठट्यौलो कविता' बनाए- उसो त गाइजात्रा पनि नजिकिदैछ। आफैले मात्रै पढ्ने गरी तर एकदमै थोरै कविता लेख्दै फाल्दै गर्थे। मेरो ब्लगका पाठक मित्रहरुमा कविहरु पनि थुप्रै हुनुहुन्छ। म बाहेक अरुको लागि के नामको 'चीज' बन्यो कुन्नी, कष्ट गरेरै भएपनि भनीदिनु होला है। धरोधर्म स्वीकार्छु, म कविता लेख्न भेउ पाउदिन। बूता पुग्दैन भनौ न। अनि धाइवा जी तपाईले मलाई बारम्बार 'खै त तपाईको कविता हामीले पढ्न नपाउने?'भन्ने गर्नुहुन्थ्यो। यो पोष्टले तपाईको प्रतिक्षाको के हाल बनायो कुन्नी। सत्ते सत्ते बकीदिनुस् है। )

Saturday, August 09, 2008

ओमविक्रम हेरे, अनि आफैले बिट मारे

ओमविक्रम- नेपाली पप संगीतको एकमात्र पर्यायवाची नाम। नेपालको सांगीतिक फाँटमा नयाँपन/नयाँ स्वाद भित्त्र्याउने, नेपाली पप संगीतको ढोका उघार्ने र जग बसाल्ने पहिलो व्यक्ति। यो मेरो मान्यता हैन। पप गायक धीरज राईद्वारा निर्देशित वृत्तचित्र ओमविक्रमले बताउँन खोजेको सार हो। नाम सुन्दा दिमागमा खाका बन्छ- ओमविक्रमको सांगीतिक जीवनी, पप संगीतको शुरुवाती कालदेखि अहिलेसम्मको उनको भोगाई र संघर्षको कथा-व्यथालाई गजबले उनीएको हुनुपर्छ।

साउन २३, विहिबारको दिन फिल्म@चौतारी (मार्टिन चौतारी)मा सो वृत्तचित्र हेर्ने मौका जुर्‍यो। सबैजना हलभित्र छिरिसकेपछि अँध्यारो छाउँछ। एकैछिनमा ओमविक्रमको चर्चित गीत 'म मौनतामा अल्झिरहेको एउटा जीवन' भन्ने गीत भिजुअलसहित स्क्रीनमा देशा पर्छ। वृत्तचित्र शुरु हुन्छ। ओमविक्रमको साथमा अन्य पप गायक/व्याण्ड/म्युजिक कम्पनी/सञ्चारका माध्यमहरुमा ख्याति कमाइसकेका व्यक्तिहरुसँगको कुराकानीको आधारमा वृत्तचित्रको माला गाँसिएको छ। बेला बेलामा चलेका पप गीतहरुको भिज्यूअलको क्लिपिङस्‌ले सबैलाई रमाइलै भएको भान हुन्थ्यो।

२०६२ साल। ओमविक्रमको जीवन संगीनी आइसीयुमा मृत्युसँग लड्‍दै गरेकी हुन्छिन्। उनी चाहिँ भक्तपुरको डबलीमा भइरहेको सांगीतिक कार्यक्रममा दर्शकहरु माझ परफरमेन्स दिइरहेका हुन्छन्। त्यस्तो अवस्थामा पनि तपाई किन यहाँ? भन्ने प्रश्नमा 'मैले यसरी यहाँ गीत गाउँदा कतै उनी व्युझिहाल्छिन् कि भन्ने मन पनि भयो' गह्रुगो मनले उत्तर दिइरहेका देखिन्छन्। केही समय नबित्दै श्रीमतिसँग विछोडिन पुग्छन् ओमविक्रम। श्रीमतिसँगको फोटो क्लिपिङसहरु एकपछि अर्को गर्दै पर्दामा देखिन्छ। अब यो वृत्तचित्रले कता डोर्‍याउँला? भन्ने सोच्दासोच्दै वृत्तचित्र सकिन्छ। हल उज्यालो हुन्छ। हलको एक छेउमा बसेर ओमविक्रम आफ्नो आँखा ओभानो पार्न कोशीस गर्दै गरेको देख्छु। सहभागीहरुसँगको कुराकानीमा मस्त ओमविक्रम।

ओहो, यत्तिकै पो सकियो! मलाई स्वाद लागेन। कता कता अव्यवस्थित रुपमा सामान राख्दा लथालिङ्ग देखिएको कोठाको दृश्यजस्तै- मनमनै सोच्छु म। झटपट मनका एउटा तर्कना उब्जिन्छ- श्रीमतिसँगको साथ छुटेपछि ओमविक्रमको सांगीतिक जीवन सकिएको भनेझैँ कत्ति नमिठो अन्त्य। वृत्तचित्र सकेपछि थाहा भो- अपेक्षा धेरै नै राखिएछ। वृत्तचित्र हेरिसकेपछिको छलफलमा पनि यस्तै यस्तै विचार अगाडि आयो। पप संगीतको फाँटमा यो भन्दा गतिलो अर्को वृत्तचित्र निर्माण गर्नलाई उपयोगी र सहयोगी डकुमेन्टेसन भएको छ। खैर वृत्तचित्रलाई चिरफार गर्ने मेरो विचार छैन। तैपनि कुरोमा कुरो मिलाउँदा खप्टिएर आइहाल्छ जसरी'नि। फेरी त्यसो नहुँदो हो त के हुन्थ्यो होला??

सांगीतिक क्षेत्रमा रुचि राख्नेहरुको लागि वृत्तचित्रमा नयाँ लाग्ने कुरा कम भएकोले सबैको ध्यान केन्द्रित भयो- गायकद्वय ओमविक्रम विष्ट र धीरज राईतिरै। गायकद्वय ओमविक्रम र धीरज बृत्तचित्र हेरीसकेपछि सहभागीहरुसँग छलफल गर्दै।

तुलनात्मक रुपमा ओमविक्रमकै फ्यान बढी भएको र विषयवस्तु पनि उस्तै भएको हुँदा बढी केन्द्रमा ओमविक्रम नै रहे। कुराकानीको क्रममा ओमविक्रमकै मुखाबाट वृत्तचित्रले समेट्‍न नसकेको थुप्रै कथा व्यथा अगाडि आयो। २०२८ सालतिर इलेक्ट्रोनिक गिटार बजाउँदा उब्जेको अनौठो उमगंसहितको अनुभव र संस्मरणको साथमा रेडियो नेपालभित्रै लगभग ३६ वटा गीत हराएको तितो अनुभव पनि सुनाए। उनी भन्छन् 'कुनै कुनैको ट्‍यून झल्झली याद आउँछ तर शब्द बिर्सीसके'। हराएपछि ती गीतहरु हराए। न सर्जकसँग छ, न कम्पनीसँग, न त अरु कसैसँग नै।

परम्परागत गीत संगीतभन्दा नयाँ पारामा गीत गाउँदा उत्पातै मानिने भएपनि उनी आफू मात्रै स्थापित भएनन् पप संगीतको क्षेत्रलाई नै उनले सम्भावनाको ढोका खोलिदिए। दुई घण्टाको बसाईमा ओमविक्रमसँगको दोहोरो कुराकानीमा थुप्रै सहभागी साथीहरुले भाग लिए। भनौँ न छलफल जम्यो। छलफलको अन्त गर्ने छाँटकाँट देखिएको बेला अचानक सुइट्ट एउटा वाक्य सुनियो- 'तपाईहरुमध्ये कतिले एल्बम किनेर सुन्नुहुन्छ ?' गायकद्वयको प्रश्न थिएन यो। न त छलफलको विषय नै। सहभागीमध्येकै एक, अझ भनौँ विशेष अनुहार (Special appearence) भनिन्छ नि फिल्मतिर, त्यस्तैमध्येकै एकजनाको जिज्ञासा थियो यो। यो कुराले सहभागीहरुमाझ ह्वात्तै खैलाबैला मच्चियो। यो सवाल आफैमा एउटा गहन सवाल हो। तर कहिलेकाही सही कुरालाई सही ठाउँमा र सही ढंगले उठान नगर्दा झमेला हुन्छ नि, हो त्यस्तै भयो। अरु त के हुन्छ र। अन्तिममा ओमविक्रम दाईले एउटा गीत त सुनाउँदै पर्छ भन्ने अनुरोध आउँछ। सबैले समर्थन गर्छन्।

"म मौनतामा अल्झिरहेको एउटा जीवन
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
म मौनतामा अल्झिरहेको एउटा जीवन..."
ओमविक्रम गाउँन थाल्छन्। सहभागीहरु कोही स्वरमा स्वर मिलाउँदै रमाइरहेका, कोही आँखा चिम्लिएर गीतको भावमा डुबीरहेका देखिन्थे। त्यत्तिकैमा म भने वृत्तचित्रको अन्त्यलाई आफ्नै ढंगले ठाकठोक पार्दै, सम्याउँदै, बिट मार्दै थिए- वृत्तचित्रमा शुरुमा बजाइनुको सट्टा अन्तिममा गीत बजीरहेको छ- "म मौनतामा अल्झिरहेको एउटा जीवन..."। धीरज राईले न्यारेसन गर्दैछन् (शब्द ठ्‍याक्कै यस्तै हुनुपर्छ भन्ने छैन भाव चाहि मिलेभो)- 'छाडी गईन‍ जीवनसंगीनी, उनलाई। दैवको नटारिने खेला। तर पप संगीतको क्षेत्रमा ओमविक्रमप्रति अझ बढी विश्वास गर्ने ठाउँ बनाएर गईन‍्। ओमविक्रम- पप गीत/संगीतसँग हर मौसममा भिजीरहने व्यक्ति, जो उस्तै र उत्तिकै समर्पित रहीरहनेछन्, अन्तिम सास रहुञ्जेलसम्म'।

पर्रर्रर ताली बज्छ। कसैले थाहै नपाई मनमनै वृत्तचित्रको बिट मारेर, मन बुझाएर फिसिक्क मुस्कानसहित ताली बजाउँछु। केही बेरमा सबैजना हलबाट बाहिरिन थाल्छन्। म पनि बाहिरिन्छु उनीहरुसँगै।

Tuesday, August 05, 2008

भोकमा भोजन नै प्यारो

गणतान्त्रिक नेपालका उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ ग्रहण गरेपछि चर्किदै गएको विरोध जुलुसले सडक तात्तिने क्रम चलीरहेको थियो। प्रायजसो सञ्चारका विविध माध्यमहरुमा पनि निकै नै तात्तातो बहस र सवाल बनीरहेको थियो। जता हेर्यो उही कुरा, जहाँ गयो उही बारेमा चर्चा परिचर्चा हुँदैथियो। गएको साता- साउन १३ गते सोमबार-का दिन नयाँ बानेश्वरबाट अनामनगरतिर आउँदै थियौ तीनजना। त्यस दिन अरु दिनभन्दा बढी नै विरोध गरी उपत्यका बन्द गरिएको थियो। बाटो बाटोमा उपराष्ट्रपतिले सपथ खाँदा प्रयोग गरेको भाषालाई केन्द्रमा राखेर विभिन्न खालका नारासहित बाटो अबरुद्ध गरि टायर बालिदै थियो। धेरैजसो युवा जमात नै जोशिएर अगाडी अगाडी उफ्रिरहेका देखिन्थे। एकादुई बाइक देखिएमा डोर्याउन लगाएर फर्काइदिने गरिएको दृश्य हेर्दै हिडीरहेथ्यौ। अन्य दिनको तुलनामा सडक खुल्ला भएपनि धुवाँको मुश्लो र विरोधकर्मीहरुको जमातले भरिएको थियो सडक।

थापा गाउँनेर थोरै भिरालो परेको बाटोबाट बिजुली बजारको मनकामना हलछेउमा रहेको पूलनेर टायर बालिएको कालो मुश्लो आकाशतिर फैलिदै गरेको प्रष्टै देखिन्थ्यो। अनि बल्दै गरेको टायर छेउमा एक हूल युवाहरु उफ्रिरहेका थिए। धेरैजसो यात्रुहरु टायरको धुँवाबाट बच्न नाक र मुख छोप्दै आफ्नो नजर र ध्यान त्यतै केन्द्रित गरि हिडिरहेका थिए। हामी हिडीरहेको सडक पेटीको पारीपट्टी फोहोरको थुप्रो थियो। त्यसैको छेवैमा उभिएका एकजना युवाले फोहोरलाई मजाले नियालीरहेका थिए। मेरो पाइला चलिरहेकै थिए। तर कसो कसो गर्दा मेरो नजर त्यही अडिएको थियो। त्यत्तिकैमा उनले निर्धक्कसँग एउटा प्लाष्टिकको पोको उठाए। त्यसको छेवैमा टुसुक्क बसे। हतारिदै पोकोको एक छेउमा औँला छिराएर च्याते। ह्वात्तै पोको फुट्यो। खानेकुरा छरियो। कुनै कुराको फिक्री नगरीकन क्वाप-क्वाप खानेकुरा उठाउँदै खान थाले उनले। म अलिकति उनको नजिक गएर मोबाइलमा उनलाई कैद गर्दै थिए। मसँगैका साथीहरु निकै नै हतारिदै थिए। त्यसैले उनीहरु अगाडी पुगिसकेका थिए। मलाई छिटो आउने संकेत गर्दै 'के के गरिरहन्छ, छिटो आऊ न' भन्दै लम्कदै थिए। साथीहरुलाई भेट्न म पनि अघि बढे। मैले मोबाइलमा कैद गरेको त्यो तस्बीर, जुन यहाँ राखिदिए।

त्यसको १०० मिटर पर- सडकको बीचमा बालिएको टायरको रन्को र चर्को नाराको घन्कोले वरपरका सब कुरा गौण लाग्थ्यो। सब पसलहरु बन्द थिए। घरका झ्याल-झ्यालबाट मान्छेका टाउका बाहिर निस्किएको थियो। कोही बटुवाहरु त्यहाँ पुगेपछि हतार हतार हिड्थे भने कोही चाहि केही बेर दृश्यावलोकन गरेर मात्रै जान्थे। बालिएको टायरको रुप पनि मोबाइलमा कैद गरे। त्यसलाई पनि मैले यहाँ राखिदिए।

सडक अवरुद्ध हुनु, बन्द, हड्ताल, चक्काजाम हुनु नौलो कुरा रहेन। त्यसैले कतिपय अवस्थामा किन बन्द भएको भन्ने कुरा सबैलाई जानकारी नहुनु सक्छ। तर त्यत्तिबेलाको अवस्थामा प्रायजसोलाई थाहा थियो। र त्यो विरोधको कारणको समर्थन नगर्ने पनि कमै थिए होलान् (मेरो अनुमान मात्रै हो)। तर ती युवा (उनी जोसुकै भएपनि, जुनसुकै पृष्ठभूमिका भएपनि यहि देशका नागरिक हुन्), जो फोहोरबाट उठाएको खानेकुरा मजासँग खाइरहेका छन् उनको लागि के राष्ट्र/राष्ट्रियता? के भाषा? के धर्म? उनको त्यो तत्कालीन अवस्था हेर्दा लाग्थ्यो- जे सुकै भएपनि भोकलाई भोजन नै मानवको पहिलो र नभइ नहुने अत्यावश्क कुरा हो।

एउटा विशेष परिस्थितिले ल्याएको विशेषा माहोलको जग्जगीको बेला केही पाइलाको दुरीमा देखेको युवाको फरक अवस्थाको यो दृश्यले मलाई केही दिनसम्म मन खेलाउन बाध्य भए। त्यसैले कुटीमा राखे। मैले भनेको कुराको तुक रहला नरहला, सान्दर्भिक होला नहोला, विषयवस्तुले मेल खाला नखाला या व्यक्तिको दृश्टिकोणले निर्धारण गर्ला, त्यो बेग्लै कुरा हो। राष्ट्रियताको सवालमा उर्लेको जनमानसबारे यत्रतत्र खैलाबैला भएकै हो। तर यही रन्किएको माहोलबाट बिल्कुलै अछुतो रहेर भोक मेटाउने उनको संघर्षलाई वर्णन गर्नकै लागि मैले यसलाई 'अलि बेग्लै कुरो'को बिल्ला भिराइदिए। र, जुनसुकै समस्या पनि भोग्नेहरुको लागि उत्तिकै ठूलो हुनसक्छ, चाहे त्यो ठुलो देखियोस्/ठानियोस् या नठानियोस्, भन्ने मनसायले राखे। अहिलेलाई यति नै है। नत्र 'नमिठो जाँडको धेर निघार' पो होला कि?

Friday, August 01, 2008

रिक्सा र ठेला चालकसँग चौतारीमा बिसाउँदा

आ-आफ्नो अनुभव साट्दैः बायाबाट क्रमशः कुमारी थापा, अर्जुन खत्री र बम बहादुर श्रेष्ठ।

बुधबारबाहेक साताभरि नै विभिन्न विषयमा नियमित छलफल हुँदै आइरहेको मार्टिन चौतारीमा साउन ५ गते आइतबारको दिन रिक्सा र ठेला चालकको कथा, व्यथा र दृष्टिकोण बुझ्ने र उनीहरुसँग गफिने मौका जुर्‍यो। प्रायजसो ठूल्ठूला विषयमा ठूल्ठूला मान्छे भनिएकाहरुकै विचार र दृष्टिकोण सुन्दासुन्दाको 'ह्याङओभर'मा त्यो गफले उनीहरुको जीवनको भोगाईबारेको जानकारीसहित देशमा चलिराखेको माहौलबीच 'रिफ्रेसमेन्ट' दियो। उनीहरुसँग गफ गरिसकेपछि मलाई भित्री मनमा लागेको कुरा साँच्चै नै रहेछ भन्ने लाग्योः हामी श्रमिकहरु आमाबाबुको कठिनाई र पीरहरुबीच जन्मिन्छौ, हुर्किन्छौ अनि त्यही पीरलाई थाप्लोमा थुपार्दै गाँसबाँसको जोरजममा पौरख लगाउँछौ। बिस्तारै आफ्नो गुम्दै गएको पौरखलाई अनुभव गर्दै मर्न बाध्य हुन्छौ।

ठेलागाडा चालक बमबहादुर श्रेष्ठ र रिक्सा चालक अर्जुन खत्रीलाई मार्टिन चौतारीले मुख्य वक्ताको रुपमा निम्तो गरेको थियो। साथै घरेलु कामकाज गर्दै आएकी कुमारी थापाले पनि आफ्ना दु:खसुखका पोको फुकाइन्। 'हामीजस्तो मान्छेलाई पनि सरहरुले बोलाउनुभो, खै... बोल्नु त आउँदैन', शुरुमा तीनैजना केही असहज देखिन्थे। अन्य सहभागीसँग दोहोरो कुराकानी गर्दै जाँदा बडो रमाइलोसँग खुले। श्रम र पसिनाको कमाईमा जीवन चलाउँदै आएका ३ जना परिश्रमीको जीवनगाथा र भोगाईहरुले नेपाली जनजीवनको वास्तविकतालाई टड्‍कारो गरी झल्काउँछ। तैपनि बेवास्तामा पर्नु नौलो कुरा हैन। त्यसैले म उनीहरुकै बोलीलाई यहाँ राख्ने कोशीश गर्दैछु।

अरु काम केही नपाउँदा भाँडा माझ्ने र लुगा धुने कामको खाँचो नहोस् भन्नाका खातिर घरमालिक या साहूहरुको मनोभाव र आनीबानी बुझेर काम गर्नुपर्ने, खुशी पार्नुपर्ने बाध्यतालाई कुमारी थापाले चौतारीमा पोखिन्। उनको आफ्नै व्यथा छ। उनी २ सन्तानकी आमा, श्रीमान‍की कान्छी (तेस्रो) श्रीमति। अघिल्लापट्टीको सन्तान नहुँदा उनी भित्रिएकी। सौता र श्रीमान‍सँगको बेमेलपना र झमेलासँग भाग्दै काठमाडौं छिरिन्। अनि घरेलु कामदार तथा ईटा, बालुवा बोक्दै गुजारा गर्न थालिन्।

दोलखाबाट उपत्यका छिरेका बमबहादुर, २०४२ सालदेखि लगातार ठेलागाडासँग हिड्‍दै आइरहेका उनी दिनहूँ विहान ७/८ बजेदखि बेलुकी ८ बजेसम्म काम गर्छन्। हामी मनुवालाई गलफत्ते गर्न पनि खुब आउँछ। 'पैसा दिने बेलामा शुरुमा भनेको जति दिँदैनन् अनि तेल चाहिने हो र? भन्दै उल्टै आफैलार्इ थर्काएर जान्छन्', कामको मूल्य लिँदा पनि जस नपाएको तिक्तता औँल्याउँदै थिए उनी । पहिलेको तुलनामा धेरै नै छलकपट, लुटपाट र जटिलता मौलिएको अनुभव सुनाउँदै राजनीतिक दल र उनीहरुको आश्वासनप्रति छड्‍के हान्न पनि पछि परेनन् बमबहादुर: 'राजनीतिक दलले बच्चालाई चक्लेट दिएर फकाएझैँ गरी हामीलाई फकाउँनेबाहेक केही काम गरेन, त्यसमाथि यो एमाले र काँग्रेसले त केही पनि गरेन'।

पहिले पहिले रिक्सा तथा ठेलागाढा चालकलाई समेत 'खाते' नामले बोलाइने गरेको र साहू तथा मालिकहरुलाई जसरी हुन्छ खुशी पार्ने ध्याउन्नमै आफ्नो श्रम खर्चिदै आएकोमा रिक्सा चालक संघ माओवादीको मातहतमा गठन भएपछि भने काम गर्न सजिलो भएको अनुभव अर्जुन खत्रीको थियो । यो सहुलियतको सट्टाभरना स्वरुप माओवादीको भनेको स्थान र समयमा धर्ना, जुलुस तथा र्‍यालीहरुमा सहभागी हुनुपर्ने र हुँदै आएको पनि बताए । आफ्नो पेसामा थोरै भएपनि सम्मान पाउँदा र किचलो कम भएकोले उनीहरु यसलाई नराम्रो मान्दैनन् । ऐँचौपेचौँ गरी काम टारेझैँ नै हो भन्छन् ।

काम भएको बेला महिनामा १५/१६ हजार कमार्इ हुने अनि नभएको बेला सुख्खा हुने हुँदा गुजारा चलाउँन कठिन छ । रमाइलो पारामा अर्जुनले भने, 'चुइँचुइँ रिक्सा चलाउनुपर्दा, ठस्‌ठस‍ कन्दै ठेलागाढा ठेल्नुपर्दा एक्कैछिनमा भोक लागिहाल्छ, भारी मात्रै लोड गरेर कहाँ भो र, आफ्नो भुँडीमा पनि एकैदिनमा ४ पल्ट लोड गर्नु पर्छन्त', उनको रमाइलो मिजास र भनाईको तरिकाले सहभागीहरु गललल हासे, 'नत्र त कहाँ सकिन्छ र काम गर्न?' । कुरो एकदम सही हो । ज्यानले त्यत्रो भारी धानेको छ भने ज्यानलाई धान्ने खुराक पनि चाहियो नि । खाना भन्दा पनि पिउनुमा चालकहरुमध्ये धेरैको कमाई खर्च भइरहेको पनि उनीहरु स्वीकार्छन् ।

जड्‍याहा, बदमास तथा सानातिना फटाहा र गुण्डाहरुद्वारा खुब सताइने यो पेसामा अन्य सवारी साधनभन्दा मोटरसाइकल चालकद्वारा बढी पेलिदै आएको उनीहरुले बताए । उनीहरुकै ठम्याईअनुरुप यो पेशामा दोलखा रामेछाप, काभ्रे, नुवाकोट, धादिङतिरका धेरै छन् । रिक्सा/ठेलागाढा चालकहरु आफ्नो पौरख घट्‍दै गएपछि के गर्छन् त ? 'सकुञ्जेल गर्, नसकेपछि त्यत्तिकै भगवान भरोसा मर्'को स्थितिबाट छुटकारा पाउने अवस्था भने छैन ।