Tuesday, September 30, 2008

शुभकामना

खुला आकाशमा बेफिक्रीसँग उडेका यी बलुनझैँ हामी सबैको जीवन स्वस्थ र स्वतन्त्र अनि फुर्तिलो रहीरहोस्।

आज घटस्थापना, विधिपू्र्वक दशैँले गृह प्रवेश गरेको दिन। यहि अवसरमा कुटीको सम्पुर्ण सारथी-साथीहरु तथा सम्पूर्ण नेपाली दिदिबहिनी-दाजुभाई तथा अभिभावक वर्गहरुमा हार्दिक मंगलमय शुभकामना छ। स्वच्छ, स्वस्थ र स्वस्फुर्त रुपमा दशैँलाई मनाऔँ। सबैमा दुर्गा भवानीको कृपा दृष्टी र साथ रहीरहोस्।

Sunday, September 28, 2008

सिरियल हैन ग्याँस

केही समययता खाना बनाउने ग्याँसको अभावले सबैलाई निकै नै पिरोलेको छ। ग्याँसको कारणले सबैलाई आ-आफ्नै समस्या उत्पन्न भएको छ। सबैलाई समस्या भएपनि खाना पकाउँने मामिलामा गृहिणीहरुको लागि ग्याँस नहुनु निकै नै समस्याको कुरो हो।

केही महिना अघिसम्म पसलमा किनमेलमा जाँदा होस् या फुर्सदमा दिदीबहिनीहरुसँग गफगाफ गर्दाखेरी होस् भारतीय टेलि सिरियलको कुरा ननिक्लेको सायदै हु्न्थ्यो। पसलहरुमा पनि त्यही सिरियलहरु हेरिरहेका हुन्थे पसल कुर्ने पसले दिदीबहिनीहरु। सिर्फ दिदीबहिनीहरुमा मात्रै हैन सम्पूर्ण परिवारमा नै त्यसको प्रभाव परेको भान हुन्थ्यो। आजकाल त्यही गल्ली, चोक र पसलहरुमा सिरियलको सट्टा ग्याँस र सजिलै उपलब्ध हुन छाडेको अन्य दैनिक उपभोग्य बस्तुको बारेमा चर्चा र गफगाफ चलिरहेको हुन्छ। गृहिणी दिदीबहिनीहरु छरछिमेकसँग एकअर्कासँग सामान्य बोलचालमा 'खाना पाक्यो?' भन्नुभन्दा पनि 'ग्याँस छ?' भन्ने गरेको सुनिन्छ। अनि 'फलाना सिरियल हेर्यौ?' भन्नुको सट्टा 'आज कतै ग्याँस आयो?' भन्ने गरेको सुनिन्छ (हुन त नेपालको स्पेस च्यानल र भारतीय च्यानल- सोनी र स्टार प्लसबीच समझदारी कायम हुन समय लाग्दा केही समय ती च्यानल थिएनन्। हाल पुनः प्रसारण भइसकेको छ)।

कतिपय (सबैको नहोला) गृहिणी दिदीबहिनीहरुको मनोरञ्जनको साधन भनेपनि या उनीहरुको कामकाजबाट बचेको फुर्सदको समय बिताउँने साधन जे भनेपनि, टेलिभिजन र त्यसमा प्रसारण हुने विभिन्न कार्यक्रमहरु मुख्य मुख्य चासोको विषय हुन्। त्यसमा पनि भारतीय च्यानल सोनी र स्टार प्लसबाट प्रसारण हुने हिन्दी टेलिसिरियल र तिनका पात्रहरु नै भएको कुरा हामीले विभिन्न माध्यमबाट सुन्न र पढ्न पाइरहेका हुन्छौ। नेपाल टेलिभिजनबाट प्रसारण हुने केही हाँस्य टेलिश्रृंखलाहरुले पनि यो विषयलाई उठाएका थिए। अस्मिता नामक एक संस्थाले सर्भे गरेर नेपाली महिलाहरुमा टेलिभिजनको प्रभाव नामक एउटा किताब २००३ मा प्रकाशित गरेको थियो। जसअनुसार धेरै उत्तरदाताले नेपाल टेलिभिजन हेर्ने र त्यसमा पनि समाचारलाई नै बढी प्राथमिकता दिएको उल्लेख गरिएको छ। त्यसको साथसाथै भारतीय च्यानलबाट प्रसारित हुने सिरियलहरुले नै टेलिभिजन हेर्ने बानीको ठूलो समय लिएको र एकआपसमा छलफल, चर्चा-परिचर्चा र टीकाटिप्पणी गर्ने गरेको विषय पनि तिनै भएको देखायो। सो पुस्तकमा टेलिभिजन कार्यक्रम र टेलिभिजन हेर्ने महिलकाबारेमा अन्य थुप्रै कुराहरु छन्। अहिलेको अवस्थामा त्यो कत्तिको मिल्दोजुल्दो हुनसक्ला/नसक्ला। त्यो आफ्नै ठाउँमा छ।

म कामबाट घरको कम्पाउण्ड छिर्दाछिर्दै जहिले नि कसै न कसैले ग्याँसको बारेमा सोध्न या कुरा सुनाउँन भ्याएकै हुन्छ आजकाल। मैले भर्खरै भर्खेरै एउटी छिमेकी दिदीलाई सोधे- 'दिदी आजकाल कसौटीमा के हुँदैछ?', 'कसौटी न कसौडी, ह्याँ आफ्नो भड्डुमा भात नपाक्लाझैँ भा'छ। यो पनि बेला हो र त्यस्तो कुरा गर्ने'। आब्बुई म पो चकित परे। नत्र तिनै दिदीबहिनीहरु सिरियलको गरगहना र ड्रेसअप, मेकअप अनि पात्रहरुको हाउभाउको बारेमा चर्चा परिचर्चा गर्नमा बढो चासो राख्थे। कम्तीमा हप्तामा दुई-तीनपटकसम्म यो कानमा त्यस्ता कुरा ठोक्किन आउँथ्यो। तर अहिले कसैले ग्याँस ल्याएमा निकै खुशी र हल्लाखल्लाको समाचार बन्छ।

एकजना दिदीले १५५० मा ग्याँस ल्याएछिन् ४ दिन अघि मात्रै। निकै खुशी थिइन् उनी। हिटरमा र मट्टीतेलको भरमा खाना पकाउँदै थिइन्। भन्दैथिइन्- 'ए बैनी मैले आज ग्याँस ल्याए। अब दशैँमा ढुक्क भो। पुरै कोठा अनि ज्यानै मट्टितेल गन्हाउँन थालेको थियो', अझै उनी ग्याँस पाउँनुको रहस्य खोल्दैथिइन्- 'थाहा छ पसलेहरु चलाख छन् नि। यसो मौका हेरेर पसलमा गएर फुत्काउँनु सक्नुपर्छ नि'। दिदीबहिनीहरु आजकाल पनि समय मिलाएर सिरियल हेर्ने गर्छन्। तर उनीहरुको मुखमा ग्याँस सकिएको, ग्याँस नपाएको कुरा नै झुण्डिएको हुन्छ। दशैँको मुखमा पकाउँन गाह्रो हुने, फेरी बिजुलीको पनि टुंगो नहुनु, मट्टितेलको पनि अभाव हुनु, महंगी बढ्नुजस्ता कुरामा बढी चिन्तित देखिन्छन्। त्यसैको बारेमा एकआपसमा कुराकानी गरेको सुन्न पाइन्छ। न की कसौटीको प्रेरणा-अनुराग-बजाज अनि क्यू किको तुलसी-मिहिर-मन्दिराले अब के गर्लान् भन्ने बारेमा।

कुन सिरियलमा क-कस्ले के भन्यो र के गर्यो भन्ने भन्दापनि आजकाल कुन पसलमा कहिले ग्याँस आयो र क-कसले ग्याँस लगे भन्ने कुरा प्रमुख हुन थालेको छ। अनि कुन कुन पसलेले कसरी ग्याँस बितरण गर्दैछन्? भन्ने बारेमा चासो बढेको देखिन्छ। साना-साना नानीहरु र बृद्धबृद्धा सासूससूराहरुको खानपान, मझौला नानीहरुको स्कूल/कलेज र श्रीमान्‌को अफिसको लागि समयमा खाना बनाउँनुपर्ने हुनाले उनीहरुमा यो चासो पलाउनु स्वभाविक हो। एउटा ग्याँस पाउनको लागि एउटा ग्राहकले ३ महिनासम्म कुर्नुपर्ने। अनि पसलेहरुको पनि आ-आफ्नै बाध्यता र गुनासाहरु पनि छन्। त्यस्तो बेला ग्राहकले किचकिच गर्नु एकातिर छ अनि पसलेले ग्राहकलाई राम्रोसँग ब्यवहार नगर्नु अर्कोतिर छ।

२ महिना अगाडीदेखि मेरो ग्याँस लाइनमा थियो। बेला बेलामा सोध्नलाई पसल जाने गर्थे जाँदाखेरी केही भन्नु अघि नै पसले आफ्नै लम्बातान कुरा सुनाउँथ्यो- 'अब म यो ग्याँसको पसल नै छाडीदिन्छु। नाफा न साफा दिनदिनै किचकिच सुन्नुपर्छ, फोकटमा पसल कुर्नुपर्ने।' चलाउँदै गरेको ग्याँसले सकिने संकेत दिन थालेपछि म फेरी गएँ। तर त्यहाँ साहुजी नै थिएनन्। छेउछाउँका पसलेहरुसँग सोध्दा नि पत्तो लागेन। मसँग भएको नम्बरमा डायल गरे पसको एक छेउमा भएको टेलिफोन बज्यो। आडैमा एउटा सूचना टाँसिएको थियो त्यहाँ। त्यसलाई खर्रर पढे अनि लेखिएको सूचना मोबाइलमा कैद गरे।
जहिले हेर्यो ग्याँस पसलमा पसले साहुजीसँग कसै न कसैको गलफत्ते चल्दै गरेको हुन्थ्यो। सायद त्यसैले पसले साहुजी धेरै दिक्क भएछन् क्यारे। अनि सूचना टाँसेर, त्यही सूचनालाई पसल कुर्ने र ग्राहकहरुसँग 'डिल' गर्ने जिम्मा दिएर हिडे एताउति, कतै।

अब मेरो ग्याँस सकियो। पर्यो फसाद। अनि सकिएको अर्को ग्याँस सिलिण्डरसँगै म र छिमेकी दिदी सोझै ग्याँस पसल पुग्यौँ। त्यत्ति खेर पनि साहुजी थिएनन्। अब ग्याँसको खाली सिलिण्डर बोकेर फर्किने कुरा पनि भएन। सबै पसलेहरुसँग सोध्दा कोठा गाको छ भन्थे। केहीबेरमा एउटा १२/१३ वर्ष जतिको सानो भाई देखा परे पसलमा।
'भाई तिमी हो यहाँ बस्ने?',
'हैन। अंकल हो म त के हुँदैछ यहाँ भनेर हेर्न मात्र आको'।
'अंकललाई यहाँ जानु रे भनिदेउ न है'।
'हुन्छ'।
पसले दाई खुरुखुरु आए। त्यत्तिन्जेलमा अरु ३ जना मान्छे जम्मा भइसकेका थिए। नाम लेखाउँनु थियो भन्दाखेरी 'उ त्यहाँ पढ्नुस्' भन्दै सूचनातिर औँल्याइदिएर साहुजी आफ्नो सूर गर्न थाले। पहिलेको सूचनाको ठाउँमा नयाँ सूचना टाँसीसकेछन्। त्यहाँ लेखिएको थियो- लौ खा। पुरानो ग्याँस नि पाको छैन। त्यसमाथि नयाँ ग्याँसको लागि नामै लेख्न बन्द।
'तपाईहरुकै लागि हो यो सबै। यहाँ खाली सिलिण्डर राख्ने ठाउँ नै छैन। नाम लेखेर मात्रै के गर्नु। तपाईहरुलाई बिनासित्तिमा आश लाग्छ। मलाई चाहि किचकिच सुन्दा र दिमाग दुखाउँदाको हैरान' पसले साहुजी यस्तरी बोले की मानौ उसलाई सासै फेर्न पनि मन लागेको छैन। सकभर आफ्नो कुरा बुझाउँने प्रयत्नमा थिए उनी।

सानो परिवार अनि सबैजना बयस्क भएको परिवारमा केही दिन या केही समय मिलाउँन सकिएला। तर जसको घरमा बृद्धबृद्धा, बिरामी, बच्चाबच्ची अनि स्कुले नानीहरु छन्। त्यस्तो परिवारमा खाना बनाउनको लागि ग्याँसको अभाव हुनुले सबैलाई पिरोल्नु त छँदैछ। खाना बनाउँने व्यक्तिलाई अझ कत्रो हण्डर हुन्छ। त्यसैले पनि आजकाल गृहिणीहरु सिरियल हैन ग्याँसको कुराकानी गर्छन् र ग्याँस चलाइराखेकाहरु 'सकिने पो हो कि?' भन्दै सतर्क भइराखेका छन्। अनि ग्याँस सकिएकाहरु दिनदिनै पसलमा सोध्न जानु र साथीभाइसँग 'ग्याँस पायो भने खबर गर्नु है' भन्ने गर्छन्।

Tuesday, September 23, 2008

दशैँ आयो खाउँला पिउँला

'हलो, ए कैलाश म बोल्दैछु, म। चिनिस्? तँ सन्चै छस् नि हैन?'
शनिबारको दिन। खानपिन सकेर सरसफाई गर्दैथिए। कानै खाने गरी हजुरमाको आवाज सुनियो। धेरैपछि कुराकानी हुँदै थियो हाम्रो। औद्यी खुशी लाग्यो मलाई। आफ्नो भन्दानि हजुरमाको कुरा सुन्नु छ मलाई। त्यसैले हजुरमालाई नै बोल्न दिन्छु।
'म'नि अहिलेसम्मन् त ठिकै छु। अब दशैँको सूरसार हुँदैछ। यो पाली त आउँछस् होला नि?' खुशी हुँदै हजुरमा पनि चर्को चर्को आवाजमा बोल्दैहुनुहुन्थ्यो- 'दशैमा जसरी नि आइज भन्नु पनि खै कसरी भन्नु। गाडी बाटो छैन रे भन्छन्। सक्छस् भने आइज है। म बूढी, अर्को पालीको दशैँ भेट्छु कि भेट्दिन कुन्नी' ४ साल भइसक्यो दशैँमा घर नगाको। त्यसैले हजुरमा आफू पाको भाको हुँदै गाको कुरालाई जाहेर गर्नुहुन्छ।
'अर्को पालीको दशैँको किन चिन्ता लिएको नि अहिलदेखि। बेकारमा' रिसाउँदै भनिदिन्छु म।
'काम गर्ने बेलामा नआए'नि खाने बेलामा त भेला होओ न नानी हो' छोरा-बुहारी, छोरी-ज्वाइँ, नातीनातीनीहरु सबै लाखापाखा। चाडबाडमा मात्रै भएनि भेला हुन पाएमा हजुरमाको मुहारमा बेग्लै चमक हुन्थ्यो। वर्षभरी एक्लै घरव्यवहार धानेको पीडा बिर्सनुहुन्थ्यो सायद।

'ए एता सुन त- यो पालीको बंगुर निकै सप्रेको छ। खाने मान्छे छैनन्। आइज है बरु टीका लगाएर भोलिपल्ट फर्की हाल्नु नि है' फकाउँदै बोलीरहनुहुन्छ हजुरमा। त्यत्तिकैमा क-याककुरुक क-याककुरुक आवाजले हजुरमाको आवाज अस्पष्ट हुन थाल्छ। कहिले झिरिरि झिरिरि आवाजमा हजुरमाको स्वरलाई यो मोबाइलले कन्भर्ट गरेर सुनाउँछ। केही पनि नबुझेपछि राम्रो आवाज सुनिने आशमा कोठाको चारैपाटा घुम्छु। कोठा बाहिर निस्किन्छु।
'हेलो, हेलो, हेलो मैले केही'नि बुझिन हजुरमा' मेरो आवाज पनि हजुरआमाले बुझ्नुभो कि भएन कुन्नी। त्यहीबेला ट्वाक्कै लाइन काटिन्छ झ्यार-झ्यारे आवाजसँगै। त्यसपछि फेरी घण्टी बज्यो। फेरी काटियो। फेरी घण्टी बज्यो। फेरी उस्तैगरी काटियो। तीनपल्ट यही क्रम चलिरह्यो। एकछिनपछि न फोन आयो। न त मैले गर्दा नै फोन लाग्यो। निल्नु न ओकल्नुको घाँडो मोबाइल सर्भिससँग रिस उठ्यो। न मोबाइल रिसिभ गर्दा धर पाइने, न त डायल गर्दाखेरी नै।

'अपर्झट काम पर्दा त झनै यसले त ठ्याम्मै पो काम दिँदैन त। त्यसबेला जङ त चल्छ नि। भए'नि के पो गर्नु र?' एक्लै कोठामा फत्फतिदै मोबाइल सेटलाई ओल्टाइपल्टाइकन हेर्छु। किट्‌किटिदै थुचुक्क भुइमा बस्छु। पलङमा आड लगाएर केही छिनको फरकमा नम्बर डायल गर्छु। लाग्दै लाग्दैन। न त उताबाट नै फोन आउँछ। दिक्क मान्दै मोबाइललाई पलङमाथि फ्याकिदिन्छु। २ घण्टाको बाटो धाएर फोनमा बोल्नलाई आउनुपर्छ। अनि पालो पर्खनुपर्छ। ६० नाघ्न थालेको हजुरमालाई कत्ति सास्ती छ। कामकाज माया मारेरै आउनुपर्ने बाध्यता पनि छँदैछ।

हजुरमा फरासिली र रमाइलो हुनुहुन्छ। हरेक साल दशैँ आउने बेला जसरीनि फोन गर्नुहुन्छ। घर बोलाउनुहुन्छ। आफूलाई'नि जाउँ जाउँ लाग्छ। तर कहिले के कहिले के हुन्छ। हेर्दाहेर्दै दिन खर्लप्पै खाईदैछ। यही सोच्दै पलङमाथि चढेर ढल्किन्छु।
'ए कैलाश कहाँ छस्? त्यहाँ हल्ला गर्न छाडेर यहाँ आइज त, मलाई सघा सघा' घर वरपर र आँगन छेउछाउ उम्रेको मसिनो झार उखाल्दै हुनुहुन्छ हजुरमा। म त्यतै दौडिन्छु। बोजुले उखालेको झारलाई मेरो सानो डोकोमा बोकेर मलखाडीमा खन्याउँछु। वर्षभरीको झरी र घामले खुईलिएको घरभित्र र बाहिर चुन, कमेरो माटो र रातोमाटोले लिप्ने काम चल्दैछ। घरका सबैजना सरसफाईमा व्यस्त छन्।
'लु लु यो नासपाती'नि लगेर बंगुरलाई हालिदे हालिदे' आँगनै मुन्तिरको करेसाबारीमा नासपातीका दानाहरु भुईमा झरेको छ। त्यसलाई बटुल्दै हजुरमा मलाई अराउँनुहुन्छ। त्यसलाई पनि डोकोमा बोकेर बंगुर खोरमा हाल्न सघाउँछु। खोरमा ३ वटा बंगुर छन्। एउटा मारको दिनमा काट्ने। दुईटा पाल्ने। मारको दिनमा काट्ने सुँगुरमा मेरो विशेष रुचि छ। किनकी त्यसलाई चाँडै मारिदैछ। त्यसलै नासपाती खाएको एकछिन हेरिरहन्छु।
'हजुरमा मार आउन कत्ति दिन बाँकी छ अब?' मारका दिन एकाविहानै उठेर बंगुर केलाएको हेर्ने इच्छाले सोध्छु म।
'१० दिन जति छ अब'।
'अझ्झै १० दिन?' धेरै दिन रहेछ भन्ने लाग्छ, 'अनि कि, टीका लगाउँने चाही कहिले हो?'
'मारको भोलिपल्ट'।
'माथिल्लो घरको कान्छीले भनेको, उस्को हजुरमाले त धेरै पैसा दिन्छ रे उसलाई। मलाई त्यो भन्दा धेरै दिनु है हजुरमा'।
'के गर्न चाहियो तँलाई धेरै पैसा?'।
'किन चाहिनु नि अब, के के हो के के किन्न नि। अनि माथिल्लो घरको कान्छी, अनि त्यो पल्लोघरको माइलीसँग बसेर खाने हामी' फूर्ती लाउँदै आफ्नो योजना सुनाउँछु।
'ल ल दिउँला नि' फुरुङ्ग हुँदै म साथीहरुसँग खेल्न जान्छु।

'ए कैलाश दशैँमा लाउने लुगा कस्तो छ तेरो?', 'चेप्ली (चप्पल)किनेको छ?' साथीहरु सोध्छन् मलाई।
'राम्रो जामा छ नि ओई, हजुरमाले दशमी बजारबाट ल्याइदिनुभाको। अनि तेरो जामा सिलाउने दर्जी छ नि, हो उसैले सिलाको' तिमेरुभन्दा के कम भन्दै नाक फुल्याउँछु म। कस्तो रङको, क-कस्को के के छ दशैँमा लगाउँने? जामा हो कि सट-फरक (फ्रक) हो? दशैमा कस्ले पहिला के के गर्ने भन्ने होडबाजी गर्छौ हामी। नयाँ लुगा लगाएर को पहिला बरडाँडामा बरको रुखमा सालैपिच्छे लगाइने पीङ खेल्न पुग्ने, टीका लगाउन को पहिला मामाघर जाने, दशैमा टीका लाको पैसाले के के गर्ने भन्ने कुरामा पनि जोशिदै तँछाडमछाड कुरा गर्छौ।
'दशैँको पैसाले म धेरै मिठ्ठाई किन्छु, ओइ कैलाश म तँलाई'नि दिन्छु है'।
'म'नि धेरै बलगम किन्छु अनि हामी सँगै खाने है कैलाश' अर्को साथीले पनि थप्छ।
'ल। अनि कि, म चाहिँ धेरै नरिवल किन्छु। अनि हामी भेला भएर खाउँ है'।
'दशैँ आयो खाउँला पिउँला' दशैँमा के के गर्ने भन्ने योजना बनाएर हामी सबै खुशी हुदै, कराउँदै उफ्रिन्छौँ।

एकाविहानै आँखा उघ्रिन्छ। झसङ्ग हुन्छु। आज त मारको दिन। ढिला भो कि कतै? पीर पर्छ। बाहिर निस्केर हेर्छु। माथिल्लो घरको काका, पल्लो घरको दाजु र बाबाले बंगुरलाई आँगनमा राखेर केलाउँन थालीसक्नु भएछ। घरको डिलमा बसेर हेर्छु। चित्त बुझ्दैन अनि छेवैमा जान्छु।
'हन के गर्दैछस् त यहाँ, पर्तिर जा खुकुरीले लाग्ला। बरु एउटा डालो ले, जा' बाबाले अह्राउँनासाथ म खुर्रर कुदेर भित्र जान्छु। हजुरमासँग डालो मागेर तुरुन्तै ल्याउँछु। हेर्दाहेर्दै बंगुरलाई चिरफार गरेर काटकुट पारेर सक्छन्। माथिल्लो घरको काकाले 'मेरोमा मार हान्न जाउँ' भनेपछि तीनैजना आँगनदेखि उकालो ढुंगाको खुड्किला चढ्न थाल्नुहुन्छ।
'ए जेठा, मार हानी सकेर यतै आओ है खानालाई। अरुतिर भरे भोली खाओ पालो गर्दै। वर्षभरीको कामको थकाई मेट्नुपनि पर्छ नि' हजुरमा आँगनमा छरिएका मालमत्ताहरु थन्कोमन्को गर्दै खान आउने उर्दी गर्नुहुन्छ।
केही बेरमा मासुको बिभिन्न परिकार पाक्छ, बडेबडेमानको कराईमा। जाड, रक्सीको छेलोखेलो छ। सबैजना भएर भेला हुन्छन्। अगेना छेवैमा कासको डबकाभरी भरी मासु पस्किदै जानुहुन्छ हजुरमा। त्यसलाई खाने मान्छेहरुलाई दिने मेरो काम हो। त्यो गर्दा खुब मजा आउँछ।
'त्यो भित्तामा भाको पाती टिपेर ले त' टीकाको दिन हजुरमा र बाबा पूजा गर्ने सूरसारमा हुनुहुन्छ। म चाही पाती टिपेर ल्याएर दिन्छु बाबालाई।
'कतिबेला टीका लाउँने?' टीका लाउने हतार गर्दै हजुरमालाई सोध्छु म।
'अब एकछिनपछि। जा, नुहाउँदै पानी लिएर आइज। अनि म टीका लाइदिन्छु' ।
डोको टिपेर सँधै पानी ओसार्ने गरेको २ वटा चिण्डो र चिण्डोकै उघाउने भाँडो अनि एउटा साबुन बोकेर म धारातिर जान्छु। ज्यानमा पानी मात्रै खन्याएर हतार हतार फर्किन्छु। डोको बिसाएर सिँधै नयाँ जामा लगाउँन जान्छु। अनि मुन्टो बङ्ग्याई बङ्ग्याईकन आफैले आफैलाई हेर्छु। असाध्यै मन पर्छ त्यो जामा। अनि ज्यादै खुशी हुन्छु आफैसँग।

'ए कैलाश, लु लु छिटो बढारेर राडी ओछ्या' नयाँ जामा लगाएर टीका लाउँने कत्रो हुट्हुटी छ आफूलाई'नि। त्यसैले टीका लगाउँने ठाउँ छिटो छिटो बढारेर हजुरमाले बुनेको गुन्द्री अनि गुन्द्रीमाथि राडी बिछ्याउँछु। छेउमा खोसेल्टाको पीरा राखिदिन्छु हजुरमाको लागि। टीका लगाउँनलाई हामी सबै लस्करै बस्छौ- बुबा, काका, काकी, दाजु, म अनि भाई। हजुरमाले मेलैमारी टीका लगाइदिँदै खै के के हो फलाक्दै जानुहुन्छ। सानो-सानो चिटिक्कको दुनामा सप्रेको जमरालाई अछेताले पर्छिदै पैसा हाल्दै सबैलाई दिँदै जानुहुन्छ। अनि ढोगभेट चल्छ एकचोटी सबैसँग। टीकाटालोको काम सकिएपछि सबैजना मजाले बसेर खान थाल्छौ। निकै रमाइलो हुन्छ। टीका लगाइसकेपछि हामी दौतरीहरु भेला भएर आ-आफ्ना पैसा देखाउँदै, आ-आफूले लगाएको नयाँ नयाँ लुगाहरुसँग रमाइरहेका छौ। सन्तुष्ट भएर उफ्रिरहेका छौ कराउँदै- 'दशैँ आयो खाउँला पिउँला'।

हाम्रो खुशी र हाम्रो रमाइलो हेरीरहनुभएको छ हजुरमा जुठेल्नामा भाँडा मोल्दै। एकैछिनमा हामी सबैलाई बोलाउनुहुन्छ अनि सोध्नुहुन्छ- 'कस्ले सिकायो तिमेरुलाई यस्तो भन्न?'। हामी अलमल पर्यौँ।
'ल म पनि तिमेरुसँग खेल्छु है' हजुरमा हामीलाई सिकाउँन थाल्नु भो हत्केलाको पाँच औँला देखाउँदै, पालैशान्ती भाँच्दै-
यो कान्छो औँलाले भन्छ 'दशैँ आयो', काइँलो औँलाले भन्छ 'खाउँला पिउँला', साइलो औँलाले भन्छ 'कहाँबाट ल्याउँला', अनि माइलो औँलाले भन्छ 'चोरी ल्याउँला', चोर्नु त नराम्रो कुरा हो अनि जेठो चाही 'धत् हुन्न' भन्दै छुट्टिन्छ। हामी निकै चाख मान्दै कुरा सुन्छौ, हजुरआमाको फिँजिएको हत्केला र औँलालाई हेर्छौ।
'ल तिमेरले'नि गर त मैले जस्तै' सबैजना औँला भाच्दै त्यसै गर्न थाल्छौ- 'दशैँ आयो, खाउँला पिउला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत् हुन्न'।
टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ्, टाङ्टाङ्टुङ्टुङ् मोबाइलको घण्टी बज्छ।

(त्यस्तैउस्तै कामले एक साताभन्दा धेरै हराएर हाजिर भए म आज। हिजै दिपकजीले ठेल्नुभएको अनुरोध आज पढे 'हामीलाई माया मारेपनि यसो कुटीमा पसेर दीपक बाल्दै त गर्नुस्'। माया त कहाँ मार्न सक्छु र हौ म। अनि अनुरोध स्वीकार्दै धन्यवाद छ दीपकजी तपाईलाई।)

Saturday, September 13, 2008

सिस्नु खाने गरेको छ?

सिस्नु पनि खान मिल्छ र? यस्तो जिज्ञासा थुप्रै सुनेको छु मैले। हुन पनि हाम्रै वरपर भएका स्वास्थ्यको लागि राम्रो मानिने र खान मिल्ने सागपातबारेमा सबैलाई थाहा हुन्छ नै भन्ने हुँदैन। ठाउँअनुसार केही खानपिनहरु पनि फरक-फरक हुन्छन्। प्राय धेरैजसो पहाडी भेगमा सिस्नु खाने गरिन्छ। सिस्नु खाने मध्य सिजन पनि भदौ महिनालाई मानिन्छ (हुन त अरु बेला खान नमिल्ने भन्ने हैन। सिस्नु पाइने मौसममा जुनसुकै बेला पनि खान मिल्छ)। साउन जाँदोदेखि भदौ जाँदो छेकसम्म सिस्नु गर्भिनी हुने (फूल्न थालेको बेला), र पानी पनि कम पर्ने मौसम हुँदा रसिलो, चिप्लो र स्वादिलो हुन्छ। त्यसैले सिस्नु खाने हो भने यसो अलिकति लन्ठा त बेसाउँनै पर्छ। किनकी अरु परिकारझैँ सिस्नु पकाएर बेच्ने गरेकै मैले थाहा पाएको छुइन। कहीँ कतै पाइन्छ होला तर मलाई थाहा भएन।

अब पकाउँने सिस्नु नै कहाँ पाइन्छ? गाउँघरमा त बारी-कान्ला-कुना काप्चातिर छ्याप्छ्याप्ती पाइन्छ। काठमाडौंमा चाहि तरकारी बजारहरुमा पाइन्छ। तर अरु सागपातझै जहीतहीँ पाउँन मुश्किल छ। एकादुई तरकारी पसलहरुमा मात्रै पाइन्छ। र थोरै भएपनि आफ्नै ग्राहकहरु हुँदा रहेछन् सिस्नु व्यापारीको। आज म यहाँ त्यही सिस्नु पकाउँने तरिका सेयर गर्न चाहन्छु।

सामान के के चाहिन्छ त?
+ खाने संख्याअनुसार सिस्नुको मुन्टा
+ थोरै मकै या गहुँको पीठो
+ नून स्वादअनुसार, लसुन ४ बिरा या स्वादअनुसार, टिम्बुर ५ गेडा या स्वादअनुसार लिने (इच्छाअनुसार कागती या अमिलो चुकपनि प्रयोग गर्न सकिन्छ)
+ किनामा (भटमासबाट बनाइएको एक खालको तरकारी, यसबारेमा पछि कुनै बेला लेखौला) १ या २ चम्चा वा रामतोरी (Ladies Finger)२ वा ३ वटा लिने र सानो सानो टुक्रा पार्ने।(गाउँघरको बिना कुनै रासायनिक मलको सिस्नु भएमा यीमध्ये कुनैपनि चाहिँदैन। सिस्नुमा चिप्लोपना ल्याउनको लागि मात्रै यसको प्रयोग गर्ने गरिन्छ। आजकाल अर्गानिक सागसब्जी कम पाइने हुनाले मिठासको लागि अनेक उपाय पनि निस्किहाल्छ।)पकाउँनलाई केलाएर ठिक्क पारेको भदौरे (फूल फुल्न थालेको डुकु) सिस्नु।

अब पकाउँने तरखरमा लागौ है तः
+ पहिला सिस्नु केलाउँने (कलिलो-पिटिक्क पिटिक् भाँचिने टुप्पा र पात छान्ने)।
+ केलाइएको सिस्नु पखाल्नुको सट्टा सबैतिर लाग्नेगरी थोरै पीठो (मकै या गहूँको पीठो) छर्किएर एकछिन राख्ने (किरा लागेको सिस्नुको लागि त्यसो गर्ने गरिन्छ, सिस्नु पखालिएमा मिठो हुँदैन त्यसैले सिस्नु सफा हुनुपर्छ)। केहीछिनपछि सिस्नु टक्टकाएर पीठो झार्ने।
+ गहिरो भाँडा (प्रेसर कुकर या अरु कुनै गहिरो भाँडा)मा पानी (अड्कलेर) उमाल्ने।
+ पानी उम्लिएपछि तयार पारिएको किनामा वा राम तोरी हाल्ने।
+ केहीछिनमा सिस्नु हाल्ने। त्यसलाई केहीबेर उम्लिन दिने।
+ उम्लिराखेको सिस्नु घोट्दै चलाउँने। फिर्के हाल्ने पनि भनिन्छ त्यसलाई। (सिस्नु उम्लीएर बाहिर गएमा मिठो हुँदैन। त्यसैले पानी अड्कलेर हाल्ने। पानी अपुग भएमा बरु उम्लेको तातो पानी थप्न सकिन्छ)।
+ स्वादअनुसार नून हाल्ने। मकै या गहूँको पीठो २ चम्चा हाल्ने र फेरी चलाउँने (यसले थप ग्रेबीपना ल्याउँछ)।
+ अब लसुन र टिम्बुर किच्चाए हाल्ने (धेरै मसिनो हुनेगरी नपिस्ने)।
+ त्यसपछि एकैछिन उमाल्ने।

अब तात्तातो सिस्नु खान मिल्ने भयो (स्वाद मिल्नेहरुले पाकेको सिस्नुमा कागतीको रस या अमिलो चुक हालेर पनि खाने गर्छन्)। प्रायजसोले सिस्नुसँग ढिँडो खाने गर्छन्। त्यसो नभए साविकको खाना र तरकारीसँग पनि खान मिल्छ। तर सिस्नु पकाउँनु अगावै अरु कुरा पकाईसक्नु पर्छ। नत्र सिस्नु सेलाउँछ। सेलाएपछि स्वाद कम हुनसक्छ। मैले माथि उल्लेख गरेको सामग्रीबाट पकाइएको सिस्नुले ४ जनालाई पुग्छ। जय भुँडी।

Thursday, September 11, 2008

मेरो तर्फबाट थप केही कुरा

मेरो मनको बहको लेखन शैली र त्यसपश्चातको कुराले उजेलीजीलाई यत्तिका स्पष्टिकरण दिने अवस्थामा पुर्याउँला भन्ने मैले अनुमानै गरेको थिइन। त्यसमा क्षमा चाहन्छु। त्यही कुरालाई लम्बाउने मन छँदै थिएन। न त मैले उजेलीजीको प्रतिक्रियलाई नै भयंकर ठानेको थिए। उजेलीजीको स्पष्टीकरणमा आएको केही कुराले फेरी मलाई स्पष्टीकरण दिन मन लाग्यो। मलाई मन लागेको कुरा नै मेरो ब्लगमा लेख्दै आएकोमा फेरी पनि उही दोहोर्याउँदैछु। उजेलीजीको कुरामा आएका धेरै कुरा सान्दर्भिक छन्। साहित्य मात्रै हैन जुनसुकै क्षेत्रमा पनि जानीबुझी, त्यस क्षेत्रको मर्म, महत्व, उपयोगिताबारे बुझेर हात हाल्नु जरुरी छ। साहित्य लेखनमा अनेकौ खालका विसंगति र विकृति भित्रिरहेको, गहन र मिहिन ढंगले साहित्य क्षेत्रलाई लिन नसकिरहेको अवस्थामा पक्कै पनि उजेलीजीले उप्काउनु भएको कुरा मननयोग्य छ। जसको पहुँचमा जे छ त्यसबारेमा धेरै जानकार हुनु आश्चर्यजनक कुरा हैन। त्यसको उपयोग कसरी गरिन्छ भन्ने कुरा प्रमुख हो। सम्मानित हुनुपर्ने थुप्रै साहित्यकारहरु बेवास्तामा परेका र जो लायक छैनन् उनीहरु नै माथि देखिएको कुरा सही हो (हुन त साहित्य क्षेत्रमा मात्रै हैन, यो प्रवृत्ति कुन क्षेत्रमा पो छैन र?)। जसमा मेरो दह्रो सहमति छ। त्यत्ति हुँदाहुँदै पनि केही मेरो सन्दर्भबाटै उल्लेख भएका कुराप्रति आफ्नो विचार राख्छु यहाँ (हुन त मैले यसपल्टको पोष्टमा पकाउँने मेलोमेसोलाई तयार पारीसकेको थिए। उजेलीजीको स्पष्टीकरण पढेपश्चात मैले त्यस पोष्टलाई भोलीको लागि re-schedule गरिदिए)।

मैले उजेलीजीको मेरो सप्रष्टीकरण शिर्षकमा लेखिएको स्पष्टीकरण आज मात्रै पढ्न पुगे। पढ्न ढिलो गरेछु। त्यो पढेपछि मेरो मनमा पनि केही कुरा आयो। उजेलीजीको स्पष्टीकरण पढ्न यहाँ जानुहोस्। मुख्य कुरा मैले जे जति जानेको थिए, जति मेरो बूताले भ्यायो त्यत्ति नै लेख्ने काम गरे। नत्र कसलाई रहर हुन्न होला कि राम्रो गरु भन्ने। तैपनि मेरो कविता लेखनको अक्षमताले साहित्य क्षेत्रमा भइरहेको र देखिइरहेको समस्याप्रति उजेलीजीको विचार बाहिर आयो। त्यसमा मेरो अमेल (उजेलीजीकै भाषामा माथिल्लो र तल्लो हरफ मिलाएको) कविता निहुँ भयो। त्यो त राम्रै भयो। कमसेकम त्यसले साहित्यसम्बन्धी थुप्रै अरु कुरा हामीसामु ल्याउने भूमिका निभायो।

त्योसँगै के पनि भन्न चाहन्छु भने मसँग जे जति ज्ञान छ त्यो सबैसँग हुनैपर्छ भन्ने जरुरी छैन। उजेलीजी राम्रो कवि हुनुहुँदो रहेछ (त्यो कुरा उहाँ आफैले क्लेम गर्नुभएकै छ, साथमा भर्खरै पोष्ट गर्नुभएको कविताले पनि थप पुष्टी हुन्छ)। जुन कुरा साहित्य क्षेत्रमा मात्रै नभएर अन्य युवा जमातको लागि, हामी ब्लगरहरुको लागि या कुनै निश्चित क्षेत्र नछुटाइकनै भन्दा नेपालीहरुकै लागि राम्रो कुरा हो। तर यहाँ एउटा मननयोग्य लाग्यो मलाई, कसैको आँगनैमा पँधेर छ र तर अरु कसैको लागि त्यही पँधेराको पानी १ किमी टाढा गाग्रोमा बोकेर लग्नु छ भने दुवैले उत्तिकै परिमाणमा पानी चलाउँन सक्छन् र? के दुबैजनाले आ-आफूसँग भएको पानीले उत्तिकै रुपमा नुहाइधुवाई र सरसफाई गर्न सक्लान र? भन्नुको मतलब उजेलीजी आफ्नो रुचि र क्षमताले कविता लेख्नुहुन्छ। घरैमा पँधेरा भएको भाग्यमानी पर्नुभएछ र सारो गाह्रो परेको बेलामा सफा र योग्य बन्नमा त्यसले अवश्य पनि धेरै नै सघाएको छ। त्यसैले पनि हुनसक्छ उजेलीजीले आत्मविश्वासका साथ भन्नुभएको छ- "म साहित्य क्षेत्रलाई धेरै नजिकबाट चिन्ने र जान्ने मान्छे हुँ । यद्यपि म उमेरमा कलिलै छु तर यो कुरा चाहिँ दावीका साथ भन्न सक्छु कि मेरो उमेरमा मभन्दा बढी साहित्यको अध्ययन गर्ने मान्छे कमै होलान् अहिलेको समयमा"। तर फेरी उजेलीजीको आत्मविश्वास देखिनुमा यही मात्रै कारण हो पनि भन्ने खोजेको हैन मैले।

आफ्नो लागि लेख्ने भए किन पर्सनल डायरीमै नलेख्ने भन्ने कुरामा, आफ्नो लागि र अर्काको लागि भन्ने कुरा के ले निर्धारण गर्छ? त्यसको निर्धारण गर्ने को? हो, हामी एकआपसमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अन्तरसम्बन्धमा गाँसिएका छौ। समाजमा बसेपछि सामाजिक हुनैपर्छ। त्यही कुराको ख्याल गर्नु जरुरी छ। बाँकी सब त आफ्नै विचार, कुरा र इच्छाले निर्धारण गर्छ। म ब्लगिङ गर्दैछु। जानीनजानी सिक्दै आइरहेको छु। र मैले बुझेको कुरा पनि के हो भने, ब्लग एउटा खुल्ला डायरी हो जहाँ आफ्नो कुरा मजाले राख्न सक्छु। र त्यसमा जोसुकैले पनि आफ्नो कुरा मन खोलेर राख्न सक्नु हुनेछ। तर मेरो ब्लगमा मैले के लेख्ने के नलेख्ने भन्ने कुरा म आफ्नै विवेकले निर्णय गर्छु। सबै ब्लगरको हकमा यही लागू हुन्छ होला सायद। यदी कुनै बौद्धिक लेख या डकुमेन्ट या कुनै अनुसन्धानमूलक लेख रचना लेखनझैँ आफ्नै मापदण्ड हुने र चरणबद्ध ढंगले सम्पादकहरुले सम्पादन गरेपश्चात मात्रै सार्वजनिक हुने भए यो ब्लग यत्तिका विधि चलनचल्तीमा आउँथ्यो र? अनि सबैको पहुँचमा हुन्थ्यो होला र? मेरो सन्दर्भमा भन्नुपर्दा मैले गरेको ब्लगिङ अरुको लागि पक्कै पनि हैन। जुनसुकै कुरा लेखुँ तर म आफ्नै लागि व्लगिङ गर्छु। र त्यसमा लेखिएको कुरा जुनसुकै विषयमा होस् त्यो मेरो नितान्त व्यक्तिगत विचार नै हुनेछ। त्यसमा प्रतिक्रिया राख्न, सहमति या विमति जनाउँने हक सबैलाई छ। तब न ब्लगिङको उपयोगिताको केही अर्थ रह्यो।

उजेलीजीको सुझाबलाई सकारात्मक सुझाबको रुपमा लिएर आफूमा भएको कमजोरीलाई भित्रैदेखि ओकलीदिए मैले। उजेलीजीले दिनुभएको प्रतिक्रियाको तेन्द्रो समाएर मैले आफूलाई कविता लेख्न नआउने भनी आत्मालोचना गरे। म आफूले नजानेको कुरामा पूर्ण रुपमा स्विकार्दैमा धम्कीपूर्ण शैलीको लेख बन्छ भने त मेरो भन्नु के छ र। उजेलीजीले त्यसरी बुझ्नु उहाँको अधिकार र आफ्नो विश्लेषण हो। त्यो गर्न उहाँलाई छुट छ। तर त्यसमा मेरो आपत्ति छ। मैले आफुमा भएको कमजोरीलाई पुर्ण रुपमा स्वकार्नलाई उजेलीजीको सुझाबलाई एउटा नमूना बनाए। त्यसले धम्कीको रुप लेला भन्ने सोच नै आएन। यद्यपि अहिले पनि म त्यो ठान्दिन। म कसैलाई धम्की दिने को हुँ? र किन धम्की दिनु मैले? यसको कुनै सान्दर्भिकता छ र? मैले धम्की दिनुको औँचित्य के छ? म त छक्क परे। खैर मैले हैन भन्दा भन्दै पनि मेरो लेखनमा धम्कीको गन्ध टाँसिएकै भएमा कृपया मेरो अनुरोध छ- कसैले पनि त्यसलाई धम्कीको रुपमा नलिइदिनुहोला। मैले त धम्कीको 'ध' लाई पनि कहीँ कतै सोचेको, लेखेको र देखेकै छुइन। अरु त आ-आफ्नै विचार हो।

जहाँसम्म मैले कविता लेख्न असमर्थ भएको कुरामा उजेलीजीको प्रतिक्रियाकै हात छ भन्ने ठान्नु सही हैन। मैले सही रुपमा बुझाउँन सकिनछु। अनि त्यसै सन्दर्भमा उजेलीजीले सकारात्मक र नकारात्मक भन्ने जुन खालको जोड घटाउको विश्लेषण राखिदिनुभो। त्यो पनि व्यक्तिकै दृष्टिकोण, क्षमता र रुचिमा भर पर्छ। मानिलिउँ मैले धुरन्धर कविता लेख्ने भए। त्यो नै सकारात्मक ठहरिएला अहिलेलाई। अनि उजेलीजीको लागि मैले परिमार्जनकै बाटो समाए। अब कविता लेख्नलाई मैले शून्यदेखि नै सिक्नुछ र त्यसमा लाग्ने मिहिनेत र समयमा अरु कुनै काम या लेखन शैली, जुन मैले कविता लेखन भन्दा सहज ढंगमा मेसो पाउन सक्छु भन्ने लाग्यो र त्यतैतिर मेरो रुचि छ र त्यही मेरो प्राथमिकतामा पर्यो। सबैको आ-आफ्नै विशेषता र क्षमता हुन्छ र कमजोरी पनि हुन्छ। मेरो थुप्रै कमजोरीमध्ये कविता लेख्न नजान्नु पनि हो र त्यतातिर लाग्नुभन्दा अरुतिरै लाग्दा उपयोगी हुन्छ भन्ने निर्णयमा पुगे। के अब पनि उजेलीजीकै प्रतिक्रियाको डोरो समाइराख्नु जरुरी छ र। अनि मैले आफ्नै रुचि विरुद्ध गएर कविता लेखनलाई नै निरन्तरता दिई नै राख्नु पर्छ? मेरो लागि सकारात्मक कुरा कुन भयो त? मैले भन्न खोजेको कुरा यति मात्रै हो कि, जोसुकैको पनि जुनसुकै कुरामा आ-आफ्नो विचार हुनसक्छ। तर यहाँ जुन प्रतिक्रियालाई समाएर मच्चियौ, त्यसले मेरो लेखनलाई नकारात्मक हैन सकारात्मक नै बाटो दिएको मेरो ठम्याई छ। त्यसैले यसबारेमा आ-आफ्ना विचार र प्रतिक्रिया दिने जतिपनि साथीहरु हुनुहुन्छ। सबैलाई धन्यवाद दिँदै आभार प्रकट गर्छु म।